काठमाडौँ प्रहरीमा २० प्रतिशत जनशक्ति अभाव, वर्षमा हजारभन्दा बढी आन्दोलनको सामना
सारांश
- काठमाडौं प्रहरीले गत आर्थिक वर्षमा एक हजारभन्दा बढी विरोध प्रदर्शन र राजनीतिक कार्यक्रमको सुरक्षा व्यवस्थापन गरेको जनाएको छ।
- काठमाडौं प्रहरीमा करिब २० प्रतिशत जनशक्ति अभाव रहेको र सीमित स्रोतसाधनका बाबजुद शान्ति सुरक्षा कायम राख्न खटिएको छ।
- गत वर्ष काठमाडौंमा २,७२२ वटा आगलागीका घटना भए, जसमध्ये अधिकांश बिजुलीको तार सर्ट भएर भएको थियो।
काठमाडौँ । जिल्ला प्रहरी परिसर, काठमाडौँले करिब २० प्रतिशत जनशक्ति अभावकाबिच गत आर्थिक वर्षमा एक हजारभन्दा बढी विरोध प्रदर्शन तथा राजनीतिक कार्यक्रमको सुरक्षा व्यवस्थापन गरेको जनाएको छ ।
परिसरले आफ्नो वार्षिक कार्यसम्पादन सार्वजनिक गर्न बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा काठमाडौँ प्रहरी प्रमुख एसएसपी बिश्व अधिकारीले सीमित स्रोतसाधन र जनशक्तिका बाबजुद शान्ति सुरक्षा कायम गर्न प्रहरी अहोरात्र खटिएको जानकारी दिए ।
उनका अनुसार काठमाडौँ प्रहरीका लागि स्वीकृत ४ हजार १६ दरबन्दीमध्ये हाल ३ हजार २३३ जना मात्र कार्यरत छन् । जुन ८१५ जनाको प्रत्यक्ष अभाव हो ।
उनले भने, ’हामी स्वीकृत दरबन्दीभन्दा करिब २० प्रतिशत कम जनशक्तिमा काम गरिरहेका छौँ। ५६ वटा प्रहरी इकाईको दरबन्दीले थप ७३ वटा दरबन्दी नभएका इकाईलाई समेत धान्नुपर्ने अवस्था छ।’
गत आर्थिक वर्षमा मात्रै काठमाडौँमा १ हजार १८ वटा राजनीतिक तथा अन्य प्रकृतिका विरोधका कार्यक्रमहरू भएका थिए । जसमा ३ लाख ८६ हजारभन्दा बढी प्रहरी परिचालन भएको उनले जानकारी दिए ।
यीमध्ये ४४४ वटा धर्ना र ३७२ वटा विरोध प्रदर्शन थिए। एसएसपी अधिकारीले भने, ’देशभर हुने कुल घरनामध्ये ४२ प्रतिशत र विरोध र्यालीमध्ये २१ प्रतिशत काठमाडौँमा हुने गरेको तथ्याङ्कले यहाँको सुरक्षा चुनौतीलाई स्पष्ट पार्छ ।’ उनले सहकारी पीडित, शिक्षक महासङ्घ र राजनीतिक दलहरूका ठुला प्रदर्शनहरू सफलतापूर्वक व्यवस्थापन गरिएको स्मरण गरे ।
प्रहरीले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत वर्ष काठमाडौँमा २ हजार ७२२ वटा आगलागीका घटना भए। तीमध्ये १ हजार ८७६ वटा घटना (करिब ६९ प्रतिशत) बिजुलीको पोलमा तार सर्ट भएर भएको थियो ।
चुनौतीकाबिच प्रहरीले प्रविधिको प्रयोग बढाउँदै लगेको छ। प्रहरीको हटलाइन ‘१००’ मा गत वर्ष ४ लाख २८ हजारभन्दा बढी कल आएको थियो। प्रहरीको तथ्याङ्कअनुसार ४२ प्रतिशत घटनामा प्रहरी ५ मिनेटभित्र घटनास्थल पुगेको थियो भने २४ प्रतिशत घटनामा ५ देखि १० मिनेटभित्र पुगेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
भारतका राहुल र प्रियंका गान्धीले गरे मोदी निवासबाहिर प्रदर्शन
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण