‘भ्रष्टाचार संरक्षणमा सरकारकै संलग्नताको आशङ्का पुष्टि भयो’
सारांश
- अर्जुननरसिंह केसीले पोखरा विमानस्थल निर्माण अनियमिततासम्बन्धी प्रतिवेदन कार्यान्वयन नभएकोमा सरकारको संलग्नताको आशङ्का गरे।
- केसीले लेखा समितिको प्रतिवेदनलाई बेवास्ता गर्नु संसदीय मर्यादामाथि प्रश्न उठाउने काम भएको बताए।
- उनले अख्तियार र सरकारले प्रतिवेदन कार्यान्वयनमा चासो नदेखाएको भन्दै आपत्ति जनाए।
काठमाडौँ । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको अनियमितता सम्बन्धी सार्वजनिक लेखा समितिको प्रतिवेदन कार्यान्वयन नगर्दा भ्रष्टाचार संरक्षणमा सरकारकै संलग्नताको आशङ्का पुष्टि भएको आरोप लगाएका छन् ।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै सांसद केसीले समितिको प्रतिवेदन कुनै व्यक्तिको निष्कर्ष नभई समितिको आधिकारिक निर्णय भएको भन्दै त्यसलाई बेवास्ता गर्नु संसदीय समितिको मर्यादामाथि प्रश्न उठाउने काम भएको बताएका हुन् ।
उनले समितिको प्रतिवेदनलाई नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकले प्रमाणविहीन र मनगढन्ते भनेर प्रतिवाद गरेकोप्रति पनि सरकारको ध्यानाकर्षण गराए । उनले प्रतिवेदन कार्यान्वयनमा अख्तियार र सरकारले चासो नदिएको भन्दै आपत्ति समेत जनाए ।
उनले भने, ‘सभामुख महोदय संसदीय समितिहरू बेवारिसे भएका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको सार्वजनिक लेखा समितिको प्रतिवेदन कुनै व्यक्तिको निष्कर्ष नभई समितिको आधिकारिक प्रतिवेदन हो । नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकले यसलाई प्रमाणविहीन, हावादारी र मनगढन्ते भनेर प्रतिवाद गर्नुभएको छ । प्रतिवेदन सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई कार्यान्वयनको लागि पठाइयो तर दुवै निकायको मौनता र प्रतिवेदन कार्यान्वयन नहुनु दुःखद र खेदजनक छ । यसले संसदीय समितिको मर्यादामाथि प्रश्न उठाएको छ भने भ्रष्टाचार संरक्षणमा सरकारकै संलग्नताको आशङ्काको पुष्टि गरेको छ । अख्तियारले सत्यतथ्य छानबिन गरी यथार्थताको आधारमा कारबाही र निलम्बन प्रक्रिया सुरु गरोस् ।’
सांसद केसीले अख्तियारलाई सत्यतथ्यको आधारमा छानबिन गरी आवश्यक कारबाही र निलम्बन प्रक्रिया अघि बढाउन आग्रह गरे । नेपाल नागरिक उड्डयन प्राधिकरण र चिनियाँ निर्माण कम्पनी चाइना सीएएमसी कन्स्ट्रक्सनको मिलेमतोमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको ठेक्का प्रक्रियादेखि निर्माणसम्म अर्बौँ रुपैयाँ भ्रष्टाचार भएको संसदीय समितिको छानबिन प्रतिवेदनमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण