शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे १० समाचार : ‘दीपक मनाङेलाई पदमुक्त गर्दा सर्वोच्चले लियो यस्ता आधार’देखि ‘रवि लामिछानेका तर्फबाट रिट दर्ता’सम्म

सोमबार, ०९ भदौ २०८२, २२ : ००
सोमबार, ०९ भदौ २०८२

आज २०८२ भदौ ९ गते सोमबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ–  

आजका मुख्य समाचारमा दीपक मनाङेलाई पदमुक्त गर्दा सर्वोच्चले लियो यस्ता आधार, रवि लामिछानेका तर्फबाट रिट दर्ता, इम्बोस्ड नम्बर प्लेटविरुद्ध यातायात व्यवसायी, राज्य व्यवस्था समितिको सभापतिबारे कांग्रेस अनिर्णीत, विप्लव–प्रचण्ड भेट, कवाड व्यवसायीले घेरे काठमाडौँ महानगर लगायत छन् ।

१. दीपक मनाङेलाई पदमुक्त गर्दा सर्वोच्चले लियो यस्ता आधार
मनाङ प्रदेश सभा क्षेत्र नम्बर (२) बाट निर्वाचित भएका दीपक मनाङे (राजीव गुरुङ)लाई पदमुक्त गर्ने फैसलामा सर्वोच्च अदालतले विभिन्न कानुनी आधारलाई उद्धृत गरेको छ । सर्वोच्च अदालतले उक्त मुद्दाको फैसला यसअघि नै गरे पनि फैसलाको पूर्णपाठ सोमबार सार्वजनिक गरेको हो । फैसलाको पूर्णपाठ आएसँगै मनाङ प्रदेश सभा (२) मा उपनिर्वाचन गर्ने बाटो खुलेको छ ।

२. रवि लामिछानेका तर्फबाट रिट दर्ता
रवि लामिछानेका तर्फबाट उच्च अदालत बुटवलमा रिट निवेदन दर्ता भएको छ । बिगो बुझाएर रिहा गर्न माग गर्दै रिट निवेदन दर्ता भएको उनकै पत्नी निकिता सोमबार सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी हुन् ।

३. इम्बोस्ड नम्बर प्लेटविरुद्ध यातायात व्यवसायी
इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने सरकारी कदमको विरुद्धमा यातायात व्यवसायी उत्रिएका छन् । उनीहरूले सरकारलाई उक्त निर्णय सच्याउनसमेत आग्रह गरेका छन् । 

४. राज्य व्यवस्था समितिको सभापतिबारे कांग्रेस अनिर्णीत
राज्य व्यवस्था समितिको सभापति कसलाई बनाउने भन्नेबारे नेपाली कांग्रेसले सोमबार निर्णय गर्न सकेन । सभापति शेरबहादुर देउवासहित उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहितको बैठकले समितिको सभापति कसलाई बनाउने भन्नेबारे निर्णय गर्न नसकेको हो । बैठक मंगलबार फेरि बस्ने जनाइएको छ ।

५. विप्लव–प्रचण्ड भेट
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’सँग अर्थपूर्ण भेट गरेका छन् । सोमबार बिहान हरिसिद्धिस्थित विप्लव निवास पुगेर प्रचण्डले करिब ४५ मिनेट समसामयिक राजनीति, पार्टी एकता, समाजवादी मोर्चालाई थप प्रभावकारी बनाउने विषयमा छलफल गरेका हुन् ।

६. कवाड व्यवसायीले घेरे काठमाडौँ महानगर
कवाड व्यवसायीले सोमबार काठमाडौँ महानगरपालिकाको कार्यालय घेरेका छन् । आफूहरूको व्यवसायमाथि महानगरले दमन गरेको भन्दै कवाड व्यवसायी आन्दोलित भएका हुन् ।

७. एकीकृत समाजवादीका तीन शीर्ष नेताका तीनथरी कुरा
नेकपा एकीकृत समाजवादीका तीन शीर्ष नेताका तीनथरी कुरा प्रकाशमा आएका छन् । अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र नेता वामदेव गौतमले पार्टीको आन्तरिक विषयमा फरकफरक कोणबाट अभिव्यक्ति दिएका हुन् ।

८. शिक्षक महासंघ आन्दोलित
नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा विधेयक २०८० मा आफ्ना माग सम्बोधन नभएको भन्दै सोमबारदेखि देशव्यापी आन्दोलन सुरु गरेको छ । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले विधेयकले शिक्षकहरूको सेवा–सुविधा, स्थायित्व र अधिकारलाई कमजोर बनाएको आरोप लगाए ।

९. रुपन्देही–३ कालागि उम्मेदवार छनोट गर्दै रास्वपा  
रुपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रारम्भिक उम्मेदवारहरूको बहुआयामिक पक्ष केलाउन व्यस्त छ । उम्मेदवार छनोट विधिअन्तर्गत साउन २७ गतेदेखि प्रारम्भिक उम्मेदवारहरूको ‘लिडरसिप एकेडेमी’ र ‘पोलिटिकल प्रोक्सिमिटी’ सहितका बहुआयामिक पक्षको मापन भइरहेको रास्वपाले जनाएको छ ।

१०. लुम्बिनी प्रदेश सभा अन्तर्गतका संसदीय समिति कति प्रभावकारी ?
लुम्बिनी प्रदेश सभा अन्तर्गतका संसदीय समितिका काम–कारबाही प्रभावकारी हुन नसकेको गुनासो व्याप्त छ । प्रदेश सभा अन्तर्गतका संसदीय समितिले गत आर्थिक वर्ष के–कस्ता काम गरे भन्नेबारे रातोपाटीले विशेष सामग्री तयार पारेर लेखाजोखा गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप