काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार पदबाट राजीनामा दिएका छन् । तर, जेनजीहरुको आन्दोलन भने जारी नै छ । प्रदर्शनकारीहरु मंगलबार तोडफोडमा उत्रिएका छन् भने व्यापक जनधनको क्षति भएको छ । अबको कदमबारे जेनजीहरुले केही बताएका छैनन् ।
काठमाडौं । देशभर जेनजी आन्दोलनमा भएको सरकारी दमनपछि उत्पन्न परिस्थितिप्रति दु:ख व्यक्त गर्दै नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले संयमता अपनाउन आग्रह गरेका छन्।
उनले मंगलबार जारी अपिलमार्फत निजी तथा सार्वजनिक सम्पत्तिमा क्षति नगर्न आग्रह गर्दै दीर्घकालीन सुधार र सकारात्मक परिवर्तनतर्फ अघि बढ्नुपर्नेमा जोड दिएका छन्।
उनले भनेका छन्, 'प्रधानमन्त्रीको राजीनामा स्वीकृत भइसकेको अवस्थामा अब संयमित हुने समय आएको छ। सार्वजनिक सम्पत्ति तपाईं हाम्रै करबाट निर्माण भएको हो र पुनर्निर्माणमा पनि हाम्रै पैसा खर्च हुने भएकाले यसलाई जोगाउन सबैलाई अनुरोध गर्दछु।'
काठमाडौं । जेनजी आन्दोलनले आन्दोलनमा सहभागी सबैलाई संयमता अपनाउन र सार्वजनिक सम्पत्तिमा क्षति नपुर्याउन आग्रह गरेको छ। आन्दोलनले जारी गरेको अपिल पत्रमा आन्दोलनकारीहरूको योगदानप्रति आभार व्यक्त गर्दै शहीदप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ भने घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ।
अपिल पत्रमा भनिएको छ, 'हाम्रो आन्दोलनको परिणामस्वरूप सरकारले घुँडा टेकेको छ। प्रधानमन्त्री केपी ओलीले राजीनामा दिएका छन् र राष्ट्रपतिबाट स्वीकृत भएको छ। यसले नयाँ राजनीतिक निकासको बाटो खोलेको छ।'
जेनजी आन्दोलनले अब देश नयाँ नेतृत्वतर्फ गएको दाबी गर्दै आन्दोलनमा संलग्न साथीहरूलाई संयमित रहन आह्वान गरेको छ। सार्वजनिक सम्पत्ति सबैको साझा सम्पत्ति भएको भन्दै त्यसमा क्षति पुर्याउन नहुने प्रष्ट पारिएको छ।
सुर्खेत । सुर्खेतमा जेनजीहरुको आन्दोलनले उग्र रूप लिएसँगै कर्फ्यु आदेश जारी भएको छ ।
जिल्ला प्रशासन कार्यालय सुर्खेतले मंगलबार बेलुका ४ः ३० बजेदेखि लागू हुने गरी वीरेन्द्रनगर नगरपालिकाका केही क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको हो ।
शान्ति सुरक्षा कायम गर्न र सम्भावित प्रदर्शन तथा भेलालाई रोक्न यो आदेश जारी गरिएको हो । प्रमुख जिल्ला अधिकारी जगदीशवर उपाध्यायद्वारा जारी आदेशअनुसार, अर्को आदेश जारी नभएसम्मका लागि कर्फ्यु लागू हुनेछ । कर्फ्युको अवधिमा कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न पूर्ण रूपमा निषेध गरिएको छ ।
काठमाडौं । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउतले प्रतिनिधि सभाको सदस्य पदबाट राजीनामा दिएका छन्।
सभामुखलाई सम्बोधन गरेर लेखिएको राजीनामा पत्रमा उनले देशमा जारी आन्दोलन र वर्तमान अवस्थालाई नौलो गणतन्त्रले मात्रै सम्बोधन गर्न सक्ने भन्दै सोको स्थापनाका लागि आफ्नो पद त्यागेको स्पष्ट पारेका छन्।
डा. राउतले विगतमा पटक–पटक मन्त्री र उपप्रधानमन्त्री बन्ने अवसर आउँदा पनि पदको लालच नराखी जनतासँग उभिएको स्मरण गराएका छन्।
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले जेनजी आन्दोलनकारीलाई घर फर्किन आग्रह गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत एक आह्वान गर्दै बालेनले भनेका छन्, ‘ प्लिज जेनजी, देश तपाईँहरूकै हातमा हो । तपाईँहरूले नै बनाउने हो । अब जति क्षति हुन्छ तपाईं हाम्रो नै हुने हो । अब घर फर्कनुहोस् ।
काठमाडौं । वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रुइतले देशभर भइरहेको विरोध प्रदर्शनका क्रममा सार्वजनिक सम्पत्तिको संरक्षण गर्न प्रदर्शनकारीहरूलाई विशेष अपिल गरेका छन्।
मंगलबार उनले आन्दोलनरत युवा–विद्यार्थीहरूको साहस र दृढताले असहिष्णु र भ्रष्ट राजनीतिक नेतृत्वलाई पछि हट्न बाध्य पारेको भन्दै यो उपलब्धिलाई थप सशक्त बनाउन संयमित रूपमा अघि बढ्न आग्रह गरेका हुन्।
डा. रुइतले भने, 'सार्वजनिक सम्पत्ति माथि आगजनी गर्नु र नष्ट गर्नु उचित हुँदैन। सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु हरेक नागरिकको पहिलो दायित्व हो। तसर्थ सार्वजनिक सम्पत्तिको नोक्सानी नगरौं र गर्न नदिउँ। संयम बनौं।'
काठमाडौँ । प्रदर्शनकारीहरुले पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका दम्पतीमाथि कुटपिट गरेका छन् । मंगलबार प्रदर्शनमा उत्रिएका जेनजीहरूले देउवा र उनकी पत्नी आरजु राणा देउवालाई कुटपिट गरेका हुन् ।
जेनजी युवाहरूले सिंहदरबार, संसद् भवन लगायतका शीर्ष नेताहरूको घरमा आगजनी गरेका छन् ।
काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रदर्शनकारीहरु छिरेका छन् । राज्यका अंगहरुमा एकपछि अर्को नियन्त्रण कायम गरिरहेका प्रदर्शनकारी मंगलबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा प्रवेश गरेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले केहीअघिमात्रै पदबाट राजीनामा दिएका थिए ।
काठमाडौँ । नेपालका प्रशासन प्रमुख र सुरक्षा निकायका प्रमुखहरूले राजनीतिक संवादको माध्यमबाट यथाशक्य छिटो शान्तिपूर्ण समाधान निकाल्न सम्बद्ध सबैमा हार्दिक अपिल गरेका छन् ।
मुख्यसचिव एकनारायण अर्याल, प्रधान सेनापति अशोक राज सिग्देल, गृहसचिव गोकर्णमणी दुवाडी सशस्त्र प्रहरी बल, महानिरीक्षक नेपाल राजु अर्याल, नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुवेर खापुङ र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापाले विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन् ।
काठमाडौँ । सोमबारबाट सुरु भएको जेनजी आन्दोलनकारीले राज्यका प्रमुख तीन वटै अङ्ग नियन्त्रणमा लिएका छन् ।
व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका आन्दोलनकारीले नियन्त्रणमा लिएका हुन् । उनीहरुले तीन वटै निकायका मुख्य भवनहरूमा आगजनी र तोडफोड गरेका छन् ।
सुरक्षा निकाय, प्रशासनिक निकायका सबै प्रमुखहरूले स्थिति आफ्नो नियन्त्रणमा नरहेको भन्दै संयुक्त विज्ञप्ति जारी गर्दै स्थितिको समाधानका लागि मंगलबार अपिल गरिसकेका छन् ।
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले संसद् विघटन गर्नुपर्ने माग अघि सारेका छन् ।
जेनजी आन्दोलन चर्किएपछि प्रधानमन्त्रीले राजीनामा दिएसँगै बालेनले मंगलबार आन्दोलनकारीलाई संयमित हुन आग्रह पनि गरेका छन् ।
‘हामीले स्पष्ट रूपमा भनेका थियौँ । यो नितान्त जेनजीको आन्दोलन हो’, बालेनले भनेका छन्,‘प्रिय जेनजी तपाईँहरूको हत्याराको राजीनामा आइसकेको छ । अब संयमित हुनुहोला !!’
काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले संयमित रहन जेनजीलाई आह्वान गरेका छन् ।
मंगलबार काठमाडाैँ महानगरका मेयर बालेन शाहले फेसबुकमा लेख्दै भनेका छन्,'हामीले स्पष्ट रूपमा भनेका थियौं । यो नितान्त Gen Z को आन्दोलन हो । प्रिय Gen Z, तपाईंहरूको हत्याराको राजीनामा आइसकेको छ । अब संयमित हुनुहोला !! देशको जनधनको क्षति भनेको तपाईं हाम्रै सम्पत्तिको क्षति हो । तपाईं–हामी अब संयमित हुनु जरुरी छ । अब तपाईंको पुस्ताले नै देशको नेतृत्व गर्नु पर्नेछ । तयार रहनुहोला ! साथै, सेना प्रमुखसँग वार्ता गर्न पनि तयार हुनुहोला । तर याद रहोस् — वार्ता गर्नु अघि संसद् विघटन भएको हुनु पर्छ ।'
काठमाडौँ । धनगढीमा मुख्यमन्त्रीको कार्यालय देखि मन्त्रालयमा आगजनी भएको छ ।
यस्तै सुदूरपश्चिम प्रदेश सभा भवन पनि जलाइएको छ । धनगढीमा रहेका नेकपा एमालेको जिल्ला र प्रदेश पार्टी कार्यालय, नेपाली कांग्रेसको जिल्ला र प्रदेश पार्टी कार्यालय पनि जलेका छन् ।
यस्तै नेकपा माओवादी पार्टी जिल्ला कार्यालयमा पनि आगजनी भएको छ । कैलालीको लम्किचुहा नगरपालिकामा पनि आगो लगाइएको छ । त्यहाँको कांग्रेसको पार्टी कार्यालयमा पनि आगलागी भएको छ ।
काठमाडौं । प्रदर्शनकारीहरुले काठमाडौंको गौशालामा प्रहरीमाथी सुलती बम प्रहार गरेका छन् । ठुलो संख्यामा चावहिलबाट गौशालातर्फ बढेका जेनजी प्रदर्शनकारीहरुले प्रहरीमाथी सुतली बम प्रहार गरेका हुन् ।
काठमाडौं उपत्यकामा प्रदर्शन नियन्त्रण बाहिर गएको छ । प्रदर्शनकारीहरुले नेताका घर र प्रहरी कार्यालयहरुलाई निशाना बनाएर आक्रमण गरिरहेका छन् ।
काठमाडौँ । जेनजी प्रदर्शनकारीहरूले प्रहरीको तीनकुने स्थित प्रहरी वृत्तमा आगजनी गरेका छन् । डीएसपीले नेतृत्व गर्ने कार्यालयमा आगजनी गरेर प्रदर्शनकारीहरूले हतियार लुटेका छन् ।
एउटा राइफल प्रदर्शनकारीहरूले लगेको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले रातोपाटीलाई बताए ।
वृत्तमा राखिएका थुनुवाहरू हिरासतबाट निस्किएका छन् । प्रदर्शनकारीहरूले प्रहरी प्रभाग कोटेश्वर र कोटेश्वरको ट्राफिक प्रहरी कार्यालयमा पनि आगजनी गरेका छन् ।
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार पदबाट राजीनामा दिएका छन् ।
हाल मुलुकमा उत्पन्न असामान्य परिस्थितिलाई ध्यानमा राख्दै आफूले पदबाट राजीनामा दिएको ओलीले राष्ट्रपति रामचन्द्र पौडेललाई सम्बोधन गरेर पठाएको पत्रमा उल्लेख छ ।
‘सम्माननीय राष्ट्रपतिज्यू, संवत् २०८१ साल असार ३१ गते नेपालको संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्री नियुक्त भएकोमा हाल मुलुकमा उत्पन्न असामान्य परिस्थितिलाई ध्यानमा राख्दै संविधान सम्मत राजनीतिक निकासका र समस्या समाधानको थप पहलको लागि संविधानको धारा ७७ (१) क बमोजिम आजैका मितिदेखि लागु हुनेगरी प्रधानमन्त्री पदबाट राजीनामा दिएको छु’, ओलीको पत्रमा भनिएको छ । जेनजीको आन्दोलन नियन्त्रणबाहिर पुगेसँगै ओली राजीनामा दिन बाध्य भएका हुन् ।
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीको सङ्घ र प्रदेशका ४२ सांसदले राजीनामा दिएका छन् ।
राप्रपाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘देशमा विकसित पछिल्लो घटनाक्रमबाट वर्तमान सरकार, संसद् र संविधानको औचित्य समाप्त भइसकेको छ। यस सन्दर्भमा राप्रपाका प्रतिनिधिसभा र प्रदेशसभाका सदस्यहरूले सामूहिक राजीनामा दिई संसद्बाट बाहिरिने निर्णय गरेको छ । आन्दोलनरत जेनजी पुस्ताको मागको सम्बोधन र नवीन समझदारीको दिशामा अघि बढ्न राप्रपा सबैमा हार्दिक अपिल गर्दछ ।’
विराटनगर । कर्फ्यू उल्लंघन गर्दै आन्दोलनकारीहरु कोशी प्रदेश सभा भवनमा प्रवेश गरेर प्रदेशसभा भवनमा आगजनी गरेका छन् । विराटनगरको देवकोटा चोकस्थित प्रदेशसभा भवन अगाडि विहानदेखि नै झडप भइरहेकोमा प्रहरीको सुरक्षालाई पन्छाउँदै प्रदर्शनकारी प्रदेशसभाभित्र प्रवेश गरेका हुन् ।
प्रदेशसभामा छिरेपछि प्रदर्शनकारीले सभाहलमा आगो लगाएका हुन् । अहिले सभाहल दनदनी बलिरहेको छ । सुरक्षाकर्मी पनि प्रदर्शनकारीको सामू निहिर बनेका छन् ।
विराटनगरको अवस्था सुरक्षा नियन्त्रण बाहिर पुगेको छ । नेकपा एमालेको पार्टी कार्यालय पाञ्चालीमा प्रदर्शनकारीले आगजानी गरेका छन् । यस्तै ट्राफिक चोकस्थित आन्तरिक राजश्व कार्यालयमा पनि आगजनी गरेका छन् ।