काठमाडौँ । जेनजीको आन्दोलनका क्रममा व्यापक तोडफोड र आगजनीको घटनासँगै अवस्था नियन्त्रणबाहिर पुगेसँगै सुरक्षाको सम्पूर्ण कमाण्ड गएराति १० बजेदेखि नेपाली सेनाले लिएको छ ।
राजधानीका सडकमा सेना छन् भने सेनालाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले पनि सघाएको छ । सेनाले समाजमा अवाञ्छित गतिविधि हुन नदिनेतर्फ सचेत रहन तथा निरन्तर निगरानी गर्न आम नेपाली नागरिकमा आग्रह गरेको छ ।
काठमाडौँ । देशमा शान्तिसुरक्षा तथा अमन चइन कायम गर्न नेपाली सेनालगायत अन्य सुरक्षा निकाय अहोरात्र खटिएका जनाउँदै सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले समाजमा अवाञ्छित गतिविधि हुननदिनेतर्फ सचेत रहन तथा निरन्तर निगरानी गर्न आम नेपाली नागरिकमा आग्रह गरेको छ ।
सूचना निर्देशनालयले आज जारी गरेको सूचनामा सुरक्षा संयन्त्र पुग्नुअगावै स्थानीय समुदायले एकजुट भई स्थितिको खबर आदानप्रदान गरी आफू र आफ्नो टोल छिमेकमा सुरक्षित भएर रहन आग्रह गरेको छ ।
देशमा विद्यमान सुरक्षा चुनौती तथा विभिन्न स्थानहरुमा उछृङ्खल तत्वबाट लुटपाट तथा आगजनी र जीउधनको क्षति गर्ने मनसायले विध्वंसात्मक तथा अराजक गतिविधिहरु आफ्नो समुदायमा देखिएमा यथाशीघ्र नेपाली सेनाको ९८६३०२९०२९ नम्बरमा सन्देश पठाउन सेनाले अनुरोध गरेको हो ।
लन्डन । नेपालमा भइरहेको 'जेन-जी' आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूलाई श्रद्धाञ्जली अर्पण गर्न बेलायतका विभिन्न सहरमा रहेका नेपाली समुदायले श्रद्धाञ्जली तथा दीप प्रज्वलन कार्यक्रमको आयोजना गरेका छन्।
लन्डनको ट्राफलगर स्क्वायरदेखि कार्डिफ, अल्डरसट र रिडिङलगायतका स्थानमा बसोबास गर्ने सयौँ नेपाली स्वतःस्फूर्त रूपमा भेला भएर शहीद युवाप्रति सम्मान व्यक्त गरेका हुन्। सहभागीहरूले नेपाली झण्डाको वरिपरि दीप प्रज्वलन गर्दै शोकमा रहेका परिवारजनप्रति समवेदना पनि प्रकट गरे।
काठमाडौँ । जेनजी प्रदर्शनकारीको आक्रमणमा परेर महारागजञ्जमा मृत्यु भएका ३ जना प्रहरीको पहिचान खुलेको छ । मंगलबार प्रदर्शनकारीहरूले प्रहरी वृत्त महाराजगञ्जमा आगजनी गर्दा उनीहरुको मृत्यु भएको थियो ।
प्रहरी स्रोतका अनुसार मृत्यु हुनेमा प्रहरी सहायक निरीक्षक (असई) मिलन राय, जवान उत्तम थापासहित ३ जना रहेका छन् । वरिष्ठ हवल्दार पवित्रा गौलीकाे आईसीयूमा उपचार भइरहेको छ ।
जेनजी प्रदर्शनकारीहरूले प्रहरी वृत्तमा आगजनी सुरु गरेपछि निसास्सिएर उनीहरूको मृत्यु भएको बताइएको छ । आगजनी सुरु भएपछि त्यहाँ फसेका केही प्रहरीहरूलाई सेनाको हेलिकप्टरबाट उद्धार गरिएको थियो ।
काठमाडौँ । जेनजी प्रदर्शनमा घाइते भएका ६७ जना राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत छन् । यसमध्ये ७ जना घाइतेको अवस्था गम्भीरको अवस्था रहेको निर्देशक डाक्टर बद्री रिजालले बताए ।
स्वास्थ्य अवस्था गम्भीर भएकाहरूको सघन उपचार कक्ष (आईसीयू) मा उपचार भइरहेको छ ।
मंगलबारको प्रदर्शनमा ४० जना घाइते भएका थिए भने सोमबार प्रदर्शनमा २७ घाइते भएका थिए । सोमबार ट्रमा सेन्टरमा आठ जना घाइतेको मृत्यु भएको थियो ।
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भवनमा आगजनी गरेपछि सर्वोच्च अदालतको काम कारबाही ठप्प भएको छ । अदालत प्रशासनले एक सूचना जारी गर्दै अर्को सूचना नआएसम्मका लागि सम्पूर्ण पेसी स्थगित गरिएको जनाएको छ ।
'आगजनीको कारण सर्वोच्च अदालत पूर्ण रूपमा जली अदालतमा रहेको मुद्दाका मिसिल, सर्भर, इजलाससमेत जलेर नष्ट भएको हुँदा आजको लागि तोकिएका मुद्दाको पेसी स्थगित गरिएको र भोलिदेखिका पेसीमा रहेका मुद्दाहरूको सुनुवालाई अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको ब्यहोरा समेत जानकारीको लागि अनुरोध छ', सूचनामा भनिएको छ ।
यसबाट सर्वसाधारण सेवाग्राहीमा पर्न गएको असुविधाको लागि सर्वोच्च अदालतले दुःख पनि व्यक्त गरेको छ ।
काठमाडौँ । जेनजीको नाममा भएको आन्दोलनका क्रममा तीव्र आगजनीका साथै लुटपाटका घटनासमेत भएपछि नेपाली सेना सक्रिय भएको छ । मंगलबार राति १० बजेदेखि नेपाली सेना स्थितिलाई नियन्त्रणमा लिन परिचालित भएको हो ।
सेना परिचालन भएसँगै बुधबार राजधानीको स्थिति सामान्य छ । उपत्यकाका सडकमा नेपाली सेना छ्यापछ्याप्ती देखिएको छ भने चेकजाँचमा कडाइ गरिरहेको छ।
सामान्य हिँडडुलमा समेत सेनाले कडाइ गरिरहेको छ भने यातायातका साधन चलेका छैनन् । दमकल, प्रेससहितका अत्यावश्यक सवारी साधन निर्बाध चलिरहेका छन् । बजार पनि बन्द छ ।
वीरगन्ज । वीरगन्जको सडकमा सेनासहित सुरक्षा फौज तैनाथ भएका छन् । मुख्य सडक तथा अन्य गलीहरुमा ब्यापक संख्यामा सेनासहितको सुरक्षा फौज परिचालित छन् ।
हिडडुल गरिरहेका सर्वसाधारण तथा पसलेहरुलाई आवतजावत नगर्न सुरक्षा फौजले आग्रह गरिरहेको छ । अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्कन सर्वसाधारणलाई नेपाली सेनाले अनुरोध गरेको छ ।
अवाञ्छित गतिविधि हुन लागेको जानकारी पाएमा तत्काल स्थानीय सुरक्षा फौजलाई खबर नेपाली सेनाले पुनः आग्रह गरेको छ ।
मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले कर्फ्यु आदेश जारी राखेको छ । मंगबार दिउँसो १ बजेबाट लगाइएको आदेशलाई निरन्तरता दिएको हो ।
प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम प्राप्त अधिकार प्रयोग गरी अर्को आदेश जारी नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरेकी हुन् ।
आदेशअनुसार, कर्फ्यु लागू भएको अवधिभर मकवानपुर जिल्लाभरि कुनै पनि प्रकारको आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक र घेराउ जस्ता गतिविधि गर्न पूर्ण रूपमा निषेध गरिएको छ ।
काठमाडौँ । धरानका मेयर हर्क साम्पाङले सामाजिक सञ्जालमार्फत जनतालाई आफूलाई समर्थन गर्न आह्वान गरेका छन्। उनले लेखेका छन्, “देश बचाउने हो भने मलाई समर्थन गर्नुहोस्। जनताको हितमा दिनरात दुःख गर्ने सरकार चाहिन्छ कि भेट्नै नसकिने सरकार चाहिन्छ ? आकाशको ताराको कथा होला, विचार गर्नुहोस् !”
सोमबारदेखि देशव्यापी रूपमा सुरु भएको ‘जेनजी आन्दोलन’ मंगलबार पनि निरन्तर रह्यो। आन्दोलनकारीहरूले सिंहदरबार, राष्ट्रपति भवन, अदालत र नेताहरूका घरमा तोडफोड तथा आगजनी गरेका छन्।
स्थिति नियन्त्रण बाहिर जान थालेपछि साँझदेखि नेपाली सेनाले हस्तक्षेप गरी केही नियन्त्रणमा लिएको छ। सेनाको पहलमा बुधबार राष्ट्रपति र जेनजी सेनाबीच त्रिपक्षीय वार्ता हुने तयारी भइरहेको छ। वार्तामा अबको आन्दोलनको बाटो कसरी निर्धारण गर्ने भन्ने विषयमा छलफल हुने जनाइएको छ।
काठमाडौँ । बङ्गलादेशको राष्ट्रिय फुटबल टोलीका खेलाडी नेपालमा अलपत्र परेका छन् । नेपालमा दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्न आएका खेलाडीहरू जेनजीको आन्दोलनका कारण नेपालमा अलपत्र परेका हुन् ।
नेपाल र बङ्गलादेशबिचको दोस्रो मैत्रीपूर्ण खेल मंगलबार हुने तालिका रहेको थियो । तर, अखिल नेपाल फुटबल संघ (एन्फा)ले पछिल्लो परिस्थिति हेरेर खेल स्थगित गरेको थियो ।
एन्फाका प्रवक्ता सुरेश शाहले बङ्गलादेशका खेलाडी सबै सुरक्षित भएको र आज १२ बजेपछि त्रिभुवन विमानस्थल खुलेपछि घर पठाउने तयारी भएको बताएका छन् ।
काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशभर नेपाली सेनासहितका सुरक्षा फौज देशमा शान्ति सुरक्षा कायम गर्न परिचालन भएका छन् ।
सेनाको गस्ती टोलीद्वारा टोल–टोलमा खोलिएका पसलहरू पनि बन्द गर्न आग्रह गरिरहेका छन् । नेपाली सेनाले अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्कन सर्वसाधारणलाई अनुरोध गरेको छ ।
ऐतिकासिक, सामाजिक, सांस्कृतिक, धार्मिकस्थल तथा व्यक्तिगत सम्पत्तिको सुरक्षामा सबै सुरक्षा निकाय तैनाथ भएकाले अवाञ्छित गतिविधि हुन लागेको जानकारी पाएमा तत्काल सुरक्षा फौजलाई खबर सेनाले पुनः आग्रह गरेको छ ।
वीरगन्ज । पर्साको वीरगन्ज कारागारमा कैदीहरूले भाग्ने प्रयास गरेपछि अवस्था तनावग्रस्त बनेको छ। सुरक्षाकर्मीहरूले बल प्रयोग गरी अवस्था नियन्त्रणमा लिएका छन्। यस क्रममा सयौँ राउन्ड हवाई फायर र अश्रुग्याँस प्रहार गरिएको थियो।
कैदीहरूले कारागारको पर्खाल भत्काएर भाग्ने प्रयास गरेपछि नेपाली सेनासहितको सुरक्षा निकाय परिचालन गरिएको थियो। सुरक्षाकर्मीहरूसँगको झडपमा चार जना कैदी गम्भीर घाइते भएका छन् । तर उनीहरूको परिचय खुलाइएको छैन।
मकवानपुर । चितवनको भरतपुर कारागारबाट बुधबार बिहान करिब ६० जना कैदीबन्दी भागेका छन्। कारागार प्रशासनका अनुसार उनीहरूले कारागारमा तोडफोड तथा आगजनी गर्दै सुरक्षा घेरा तोडेर र पर्खाल भत्काएर भागेका हुन्।
कारागार प्रशासक रवीन्द्र ढुंगानाले दिएको जानकारीअनुसार, कैदीबन्दीहरूले बिहानैदेखि नाराबाजी र तोडफोड सुरु गरेका थिए। त्यसपछि उनीहरूले आगजनीसमेत गर्न थालेपछि स्थिति तनावपूर्ण बनेको थियो। यस क्रममा कैदीबन्दी र सुरक्षाकर्मीबिच झडप पनि भएको थियो।
७४० जनाभन्दा बढी कैदीबन्दी रहेको उक्त कारागारमा १५० जना सुरक्षाकर्मी तैनाथ थिए। कैदीबन्दीहरूको तोडफोड र आगजनी नियन्त्रणमा लिन सुरक्षाकर्मीहरूलाई हम्मेहम्मे परेको ढंगानाले बताए।
काठमाडौँ । नेपालमा विद्यमान विषम परिस्थिति र शान्ति सुरक्षा कायम राख्नका लागि देशभर निषेधाज्ञा र कर्फ्यु जारी गरिएको छ।
नेपाली सेनाले आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै अपराधजन्य गतिविधि नियन्त्रणमा सहयोग गर्न सबैलाई अपिल गरेको छ।
नेपाली सेनाले जारी गरेको विज्ञप्तिअनुसार, आज (भाद्र २५ गते) बेलुका ५ बजेसम्म देशभर निषेधाज्ञा कायम रहनेछ भने त्यसपछि भोलि भाद्र २६ गते बिहान ६ बजेसम्म कर्फ्यु आदेश लागू हुनेछ। परिस्थितिको विश्लेषण गरेर थप जानकारी गराइने सेनाले बताएको छ।
मकवानपुर । बागमती प्रदेशसभा सदस्य शैलेन्द्र मान बज्राचार्यले पद बाट राजीनामा दिएका छन् । ‘हाम्रो नेपाली पार्टी’ बागमती प्रदेशका संसदीय दलका नेतासमेत रहेका बज्राचार्यले सांसद पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।
जेनजीको पक्षमा समर्थन गर्दै उनले पदबाट राजीनामाको घोषणा गरेको बताएका छन् । सकारात्मक सोचका साथ मेहनती र इमानदार बन्न आग्रह गर्दै उनले अब देश नेपाललाई दिनरात खटेर मौलिक विकास गर्नुपर्नेमा जोड दिए ।
काठमाडौँ । सेयर बजार आइतबारसम्म बन्द हुने भएको छ । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) ले सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो ।
विषम परिस्थितिमा लगानीकर्ताबिच माग भई आएकोले बुधबार र बिहीबारका लागि बजार बन्द गर्ने निर्णय भएको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिए ।
शुक्रबार र शनिबार भने नेप्सेको कारोबार नियमित रूपमै बन्द रहनेछ । सोही कारण बजारमा सो दिनपछि मात्रै कारोबार सुरु हुनेछ । मंगलबार समेत बजारमा कारोबार भएको थिएन ।
बुटवल । जेनजी आन्दोलनको मौका पारेर कपिलवस्तु कारागारबाट ठुलो सङ्ख्यामा कैदी बन्दीहरू फरार भएका छन्। कारागारमा रहेका कुल ४७० जनामध्ये ३५ जनाबाहेक अन्य कैदी बन्दीहरू भागेको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले जानकारी दिए।
आज बिहान ७ बजेतिर कारागारबाट भागेका कैदी बन्दीहरूले नजिकै रहेको कपिलवस्तु जिल्ला अदालतमा समेत तोडफोड र आगजनी गरेका छन्। आगजनीका कारण अदालतका महत्त्वपूर्ण कागजातहरू जलेका छन् भने भवनको संरचना र अन्य उपकरणहरूमा पनि क्षति पुगेको छ।
प्रजिअ तामाङका अनुसार फरार कैदी बन्दीहरूलाई नियन्त्रणमा लिन सुरक्षाकर्मी परिचालन गरिएको छ। अहिलेसम्म २५ जनालाई नियन्त्रणमा लिइएको र अन्यको खोजी कार्य जारी रहेको उनले बताए। यो घटनाले कारागार सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको छ।
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौँडाको मुख्य बजार क्षेत्रमा सुरक्षा व्यवस्था कडाइ गरिएको छ । नेपाली सेनाको टोली परिचालन गरेर हेटौँडा बजारको मुख्य चोकसम्म सुरक्षा व्यवस्था गरिएको हो ।
हेटौँडा बजारको बुद्ध चोक सिमाचोक क्षेत्रमा सेनाले सुरक्षा व्यवस्था कडा गरेको छ । सेनाको टोलीले बुद्ध चोक क्षेत्र आवतजावत गर्न रोक लगाइएको छ । अस्पताल वा आपत्कालीन कामबाहेक हिँडडुलमा रोक लगाएको छ भने सवारीहरूलाई बजारको मुख्य चोक बाहेक वैकल्पिक मार्ग प्रयोग गर्न सेनाहरू निर्देशन गरिएको छ ।
रौतहट। जेनजी आन्दोलनका कारण दिनभर तनावग्रस्त बनेको रौतहटको सदरमुकाम गौरस्थित कारागार मंगलबार राति रणभूमि बनेको छ।
कारागारमा भएको हुलहुज्जतपछि सयौँ कैदी भाग्न सफल भएका हुन्। सुरक्षाकर्मीले प्रारम्भिक अवस्थामा ३४ जनालाई नियन्त्रणमा लिन सफल भए पनि अझै धेरै कैदी फरार रहेको पुष्टि भएको छ।
गौर कारागारमा २९१ कैदीबन्दी रहेका थिए। तीमध्ये २४ जना बाहेक सबैले कारागार तोडफोड गरी भाग्ने प्रयास गरेका थिए। प्रहरी स्रोतका अनुसार सुरुवाती रूपमा ३० जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो भने थप केही जनालाई भारतको सीमा नजिकै पुगेपछि भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले पक्राउ गरेको खबर आएको छ।
काठमाडौँ । काठमाडौँ उपत्यकाको जनजीवन क्रमशः सामान्य बन्दै गएको छ । नेपाली सेनासहितका सुरक्षा फौज देशमा शान्ति सुरक्षा कायम गर्न परिचालन भएपछि यहाँको जनजीवन क्रमशः सामान्य बन्दै गएको हो ।
साथै नेपाली सेनाले अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्कन सर्वसाधारणलाई अनुरोध गरेको छ । ऐतिहासिक, सामाजिक, सांस्कृतिक, धार्मिकस्थल तथा व्यक्तिगत सम्पत्तिको सुरक्षामा सबै सुरक्षा निकाय तैनाथ भएकाले अवाञ्छित गतिविधि हुन लागेको जानकारी पाएमा तत्काल सुरक्षा फौजलाई खबर सेनाले पुनः आग्रह गरेको छ ।
हाल यहाँका सडकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ । यद्यपि मानिस र सवारीसाधनको उपस्थिति न्यून छ । प्रदर्शनकारीले सार्वजनिक र निजी सम्पत्तिमा झोसेको आगो निभाउने प्रयासमा सुरक्षाकर्मी छन् ।
हेटौँडा । मकवानपुरको भिमफेदी कारागारबाट गएराति २६० कैदीबन्दी भागेका छन् । भीमफेदीका कैदीबन्दी मध्यरातमा सुरक्षा घेरा तोडेर भागेका हुन् ।
कैदीबन्दी भाग्न थालेपछि कारागारमा तनावको स्थिति सिर्जना भएको थियो । कारागारको पर्खाल तोडेर भाग्न खोज्ने क्रममा नेपाली सेनाले २०० बढी हवाई फायर गरेको थियो ।
जेलर सुवास पौडेलका अनुसार घटनापछि कारागारमा ठूलो क्षति पुगेको छ। उनका अनुसार, गएराति करिब १२:२५ बजे कारागारको 'क' ब्लकमा रहेका कैदीबन्दीहरूले सिलाइकटाइ मेसिन रहेको कोठाको गेटको बार ह्याक्सो ब्लेडले काटेर भाग्ने प्रयास गरेका थिए। सिसिटिभी फुटेजबाट घटनाबारे थाहा पाएलगत्तै नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त सुरक्षा टोलीले स्थिति नियन्त्रणमा लिने प्रयास गरेको उनले बताए । कैदीबन्दीहरूले होहल्ला र तोडफोड गरेका थिए।
बागलुङ । बागलुङमा जेनजी आन्दोलनले उग्ररुप लिएको छ । प्रदर्शनकारीहरूले राजनीतिक दलका पार्टी कार्यालयहरू तोडफोड गरी क्षति पुर्याएका छन् ।
उनीहरूले मङ्गलबार साँझ बागलुङस्थित नेकपा (एमाले), नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)को पार्टी कार्यालय तोडफोड गरेका हुन् ।
एमालेको पार्टी कार्यालयबाट कागजपत्र र फर्निचरका सामग्री निकालेर सडकमा ल्याएर जलाएका उनीहरूले त्यसपछि माओवादी केन्द्र बागलुङको पार्टी कार्यालय तोडफोड गरेर कागजपत्र जलाइएको छ ।
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले जेनजी पुस्ताप्रति धन्यवाद व्यक्त गर्दै अब बन्ने सरकारले नेपाली जनताको प्रमुख मागहरू पूरा गर्नुपर्ने बताएका छन्।
२०७९ साल फागुन १ गते मेचीको बगरबाट राजाको हातले दियो बालेर सुरु गरिएको आफ्नो अभियान आंशिक रूपमा सफलताको उचाइमा पुगेको उल्लेख गर्दै उनले शोक र वियोगका बीचमा पनि सपनाले यथार्थको रूप लिन थालेको बताएका छन्।
उनका अनुसार अभियानको प्रमुख लक्ष्य चर्को ब्याजदरका कारण घरबारविहीन बनेका लाखौँ नेपालीलाई आफ्नो घर–जग्गा फिर्ता गराउनु र गरिब नेपालीहरूको ऋण मिनाहा गर्नु हो। त्यस्तै सहकारी पीडितको डुबेको रकम सरकारले जिम्मा लिनुपर्ने, मध्यम वर्गीय व्यापारीलाई २५ वर्षसम्म ५% ब्याजदरमा ऋण तिर्ने व्यवस्था मिलाउनुपर्ने माग उनले दोहोर्याएका छन्।
विराटनगर । मोरङ जिल्लाको विराटनगर महानगरपालिकाका विभिन्न स्थानमा चोरी तथा लुटपाट गर्दै हिँड्ने गिरोहका चार जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङ र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले उनीहरूलाई चोरी गरेको सामानसहित रंगेहात पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कोपिला चुडालले जारी गरेको प्रेस विज्ञप्ति अनुसार, पक्राउ पर्नेमा विराटनगर महानगरपालिका-१८ का ७० वर्षीय चन्दन मण्डल र ३९ वर्षीय गंगा प्रसाद मण्डल रहेका छन्। यसका साथै, भारतका २० वर्षीय अभिषेक प्रसाद र २५ वर्षीय रामतेश प्रसाद पनि पक्राउ परेका छन्।
प्रहरीले उनीहरूको साथबाट चोरी गरिएका विभिन्न सामानहरू समेत बरामद गरेको छ। बरामद भएका सामानहरूमा मे १ ह ६५०५ नम्बरको टेम्पो, बीआर ३८ एन ४५४१ र बीआर ३८ भी २१२९ नम्बरका दुई वटा मोटरसाइकल, 'ग्रीन नेपाल' लेखिएको १२ भोल्टको ७ वटा ब्याट्री, ३ वटा इन्भर्टर, १ थान सोफा र अन्य पुराना फर्निचरका सामानहरू रहेका छन्।