शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१२ बजे १२ समाचार: प्रचण्डको सम्पादकहरूसँग अन्तरक्रिया, मन्त्री थप्ने तयारीमा प्रधानमन्त्री कार्की

शनिबार, २५ असोज २०८२, ०० : ००
शनिबार, २५ असोज २०८२

सारांश

  • प्रधानमन्त्रीले मन्त्रिपरिषद्मा जेनजी पुस्ताका चार जना प्रतिनिधि थप्ने तयारी थालेकी छिन्।
  • प्रचण्डले प्रधानमन्त्री कार्कीको नियुक्ति ओलीको सिफारिसमा भएको दाबी गरे, भने काठमाडौंमा मोटरसाइकल र्‍याली तथा सभा-प्रदर्शनमा रोक लगाइएको छ।
  • राष्ट्रपतिले निर्वाचनबारे छलफल गरे, र पाँच पूर्वप्रधानमन्त्रीबाट सुरक्षाकर्मी फिर्ता गरियो, भने नेपालले जापानलाई क्रिकेटमा हरायो।

काठमाडौँ । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रीकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा १२ बजे १२ समाचार लिएर उपस्थित भएका छौँ–

१. जेनजी मन्त्री थप्ने तयारीमा प्रधानमन्त्री कार्की

चमार समुदायबाट पहिलो डाक्टर बनेका रौतहटका रामजी रामसहित चार जना जेनजी पुस्ताका प्रतिनिधिलाई मन्त्रिपरिषद्मा समावेश गर्न प्रधानमन्त्री सुशीला कार्कीले तयारी थालेकी छिन्। आगामी सोमबारसम्म शपथ गराइने गरी मन्त्रीहरूको नाम टुङ्गो लागेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ।

२. प्रचण्डको सम्पादकहरूसँग अन्तरक्रिया

नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति तत्कालीन कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीकै लिखित सिफारिसमा भएको दाबी गरेका छन्।

शुक्रबार सम्पादकहरूसँगको अन्तरक्रियामा बोल्दै उनले राष्ट्रिय सङ्कटको अवस्थामा आवश्यकताको सिद्धान्त अनुसार जेनजी युवाहरूको भावनालाई सम्मान गर्दै कार्कीलाई नियुक्त गरिएको भए पनि संवैधानिक प्रक्रियामा ओली नै सिफारिसकर्ता रहेको बताएका हुन् ।

३. प्रदर्शनमा रोक

काठमाडौँ जिल्ला प्रशासन कार्यालयले शनिबारका लागि विभिन्न समूहले आयोजना गर्न लागेको भनिएका मोटरसाइकल र्‍याली तथा सभा–प्रदर्शनहरूमा प्रतिबन्ध लगाएको छ।

४. राष्ट्रपतिद्वारा छलफल

राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार सरकार र दलहरुसँग निर्वाचनबारे छलफल गरेका छन् । तर, शीतलनिवासको उक्त छलफलमा प्रमुख दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका संयोजक प्रचण्ड गएनन् । उनीहरुले दोस्रो तहका नेतालाई मात्रै पठाएर राष्ट्रपतिले बोलाएको बैठकलाई महत्व नदिएका हुन् ।

यसैबीच राष्ट्रपति पौडेलले देश, जनता, लोकतन्त्र र संविधानको रक्षाका लागि निर्वाचन एक मात्र विकल्प भएको बताउँदै फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनमा केन्द्रित हुन दलहरूलाई आग्रह गरेका छन्।

५. सुरक्षा सुविधा

पाँच जना पूर्वप्रधानमन्त्रीले नियमविपरीत लिएका सुरक्षाकर्मी फिर्ता गरिएको छ । गृह मन्त्रालयको निर्णय अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी फिर्ता भएका हुन् ।

विशिष्ट व्यक्ति सुरक्षा व्यवस्थापन कार्यविधि–२०७७ (परिमार्जित) अनुसार पूर्वप्रधानमन्त्रीहरूले विशिष्टस्तरको सुरक्षा पाउँछन् । पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, शेरबहादुर देउवा, माधव कुमार नेपाल र झलनाथ खनालले कार्यविधिमा निर्धारितभन्दा धेरै सुरक्षाकर्मी प्रयोग गरेका थिए ।

तर, पूर्वप्रधानमन्त्रीद्वय लोकेन्द्र बहादुर चन्द र बाबुराम भट्टराईले भने कार्यविधि अनुसार नै सुरक्षाकर्मी लिएको भेटिएको छ ।

६. जेनजी आन्दोलनको एक महिना

भ्रष्टाचार र बेथितिविरुद्ध जेनजी पुस्ताले विद्रोह गरेको शुक्रबार एक महिना पुगेको छ । भदौ २३ र २४ गते जेनजीले गरेको विद्रोहका कारण केपी ओली नेतृत्वको जननिर्वाचित सरकार ढलेको थियो ।

७. ओलीको राजीनामा माग

नेकपा एमालेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजीनामा माग गरिएको छ ।

शुक्रबार बसेको सचिवालय बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र पार्टी पुनर्गठनका सवालमा धारणा राख्ने ९ नेतामध्ये सात जना नेताहरूले अध्यक्ष ओलीले मार्ग प्रशस्त गर्न राजीनामा दिनुपर्ने धारणा राखेका हुन् ।

८. कांग्रेस बैठक

नेपाली कांग्रेसले असोज २६ गते बोलाएको केन्द्रीय कार्यसमिति बैठकमा मुख्यगरी तीन वटा एजेण्डामा छलफल हुने भएको छ ।  बिहीबार र शुक्रबार बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा तीन एजेण्डा उठेको सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले जानकारी दिइन् ।

९. विश्वासको मत

मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री सिंहले असोज २८ गते मंगलबार प्रदेश सभामा विश्वासको मत लिन लागेका हुन् ।

१०. एटीएममा नयाँ नियम

नेपाल राष्ट्र बैंकले डेबिट कार्डबाट गर्न सकिने कारोबार अधिकतम सीमा घटाएको छ । शुक्रबार परिपत्र जारी गर्दै राष्ट्र बैंकले यो सीमा खुम्च्याएको हो ।

११. मन्त्रिपरिषद् निर्णय

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकका निर्णय सार्वजनिक गरिएको छ । शुक्रबार सञ्चार मन्त्रालयमा सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलनमार्फत बैठकका २० निर्णय सार्वजनिक गरेका हुन् ।

१२. जापानमाथि नेपालको जित

नेपाली राष्ट्रिय क्रिकेट टोलीले जापानमाथि जित निकाल्दै आईसीसी टी–ट्वान्टी विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा दुई अङ्क जोडेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप