कार्तिक १६ गतेदेखि अस्पताल खाली गर्दै आन्दोलनमा उत्रिने निजी अस्पतालका स्वास्थ्यकर्मीको चेतावनी
सारांश
- मधेस प्रदेशका निजी स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरूले श्रम शोषणविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन्।
- स्वास्थ्यकर्मीहरूले कार्तिक १६ गतेदेखि अस्पताल खाली गरेर शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा गरेका छन्, जसमा ८ बुँदे मागहरू छन्।
- स्वास्थ्यकर्मीहरूले तलब स्केल, सुरक्षा, बीमा, कामको समय र सेवा सुविधासम्बन्धी मापदण्ड पालना गर्नुपर्ने माग राखेका छन्।
जनकपुरधाम । मधेस प्रदेशका निजी स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरूले आफूहरूमाथि भइरहेको असमान व्यवहार र श्रम शोषणविरुद्ध आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।
जनकपुरधाममा सोमबार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्यकर्मीहरूले आठ बुँदे माग सार्वजनिक गर्दै माग पूरा नभए कार्तिक १६ गतेदेखि अस्पताल खाली गरेर शान्तिपूर्ण आन्दोलनमा जाने घोषणा गरेका हुन् ।
स्वास्थ्यकर्मी नवेश अधिकारीले स्वास्थ्य मन्त्रालयले पटक–पटक सूचना जारी गरे पनि निजी अस्पतालहरूले आफ्ना माग कार्यान्वयन नगरेको आरोप लगाए । उनका अनुसार निजी अस्पतालहरूले तलब, सुरक्षाको व्यवस्था, बीमा, कामको समय र सेवा सुविधासम्बन्धी सरकारले तोकेको मापदण्ड पालना नगरी स्वास्थ्यकर्मीहरूको मनोबल तोड्ने काम गर्दै आएका छन् ।
उनले यसअघि नै जिल्ला प्रशासन कार्यालय, श्रम मन्त्रालय, मुख्यमन्त्री कार्यालय र मधेस प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आफ्ना समस्या र मागबारे ध्यानाकर्षण गराइसके पनि कुनै ठोस पहल नभएकाले अब आन्दोलनमा जान बाध्य भएको प्रस्ट पारे ।
स्वास्थ्यकर्मीहरूले नेपाल सरकारको ऐन अनुसार सबै निजी अस्पतालमा तलब स्केल लागु गर्नुपर्ने, सरकारी स्वास्थ्य संस्थामा कार्यरत करारका कर्मचारी हटाई प्रदेश लोकसेवाबाट विज्ञापन गर्नुपर्ने, स्वास्थ्यकर्मीहरूको सुरक्षा र बीमा अनिवार्य गर्नुपर्ने, हप्ताको ४२ घण्टाभन्दा बढी काम नगराउने व्यवस्था गर्नुपर्ने, स्वास्थ्यकर्मीहरूको परिवारलाई निःशुल्क उपचार सुविधा दिनुपर्ने र प्रत्येक वर्ष १० प्रतिशत तलब वृद्धि गर्नुपर्ने माग गरेका छन् ।
मधेस प्रदेशका विभिन्न निजी अस्पतालहरूमा हाल २० हजारभन्दा बढी स्वास्थ्यकर्मी कार्यरत छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण