पार्टी एकताबारे नारायणकाजीको फरक मत
सारांश
- माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले एकीकृत समाजवादीसँगको पार्टी एकता हतारमा गर्न नहुने बताएका छन्।
- विप्लवले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएपछि माओवादीका नेताहरूले असन्तुष्टि जनाएका छन्।
- प्रचण्डले वामपन्थी शक्तिहरूलाई एकताबद्ध हुन र लोकतान्त्रिक शक्तिहरूसँग सहकार्य गर्न आह्वान गरेका छन्।
काठमाडौँ । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्ड नेकपा एकीकृत समाजवादीसँग एकता गर्न हतारिएका बेला अर्का नेता नारायणकाजी श्रेष्ठ हतारमा एकता गर्न नहुने पक्षमा उभिएका छन् ।
पछिल्लो समय प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल पार्टी एकताका लागि घनिभूत छलफलमा छन् । तर हतारमा पार्टी एकता गर्न नहुने पक्षमा दुवै पार्टीभित्र तीव्र बहस चलिरहेको हो ।

एकीकरण प्रक्रियालाई समग्र कम्युनिस्ट आन्दोलनले माग गरे अनुसारको रूपान्तरण र पुनर्गठन सहितको एकीकरणको रूपमा अघि बढाउन सकिए मात्र औचित्यपूर्ण र सकारात्मक परिणामयुक्त हुने श्रेष्ठले स्पष्ट पारेका छन् । माओवादी र एकीकृत समाजवादीबिच पार्टी एकता प्रक्रियालाई पनि यही कोणबाट हेरिनु पर्ने उनको भनाइ छ । श्रेष्ठले सम्बन्धित पार्टीहरू विभाजित भएर नभई समष्टिरुपमा नै एकता प्रक्रियामा जोडिने सुनिश्चित हुनुपर्नेमा जोड दिएका छन् ।
‘यो एकता प्रक्रियाले समग्र कम्युनिस्ट आन्दोलनको रूपान्तरण एवं पुनर्गठन अभियानको प्रस्थान विन्दुको भूमिका खेल्न सक्नुपर्छ र सम्बन्धित पार्टीहरू विभाजित भएर होइन समष्टिरूपमा नै एकता प्रक्रियामा सामेल हुने सुनिश्चित हुनुपर्छ। त्यस निम्ति धैर्यतापूर्वक प्रयत्न गरौँ । हतार गरेर न समग्र एकता न सार्थक पुनर्गठनको स्थिति नबनोस् भन्नेमा सचेत होऔँ’, उनले भनेका छन् ।
एकीकृत समाजवादीभित्र महासचिव घनश्याम भुसाल, सम्मानित नेता झलनाथ खनाल, जीवनराम श्रेष्ठ, डा.विजय पौडेल, रामकुमारी झाँक्री लगायत नेताहरू एकताको विपक्षमै उभिएका छन् । माओवादीसँग एकता गर्ने/नगर्ने अन्तर्विरोधका बिच अध्यक्ष नेपालले बुधबारदेखि केन्द्रीय समिति बैठक बोलाएका छन् ।
उता, असोज १९ गतेदेखि स्थगित माओवादीको महाधिवेशन आयोजक समितिको सचिवालय बैठक एकीकृत समाजवादीको निर्णय पर्खिँदा अहिलेसम्म बैठक बस्न सकेको छैन । दुवै पार्टीभित्र हतारमा एकता गर्न नहुने पक्षमा आवाज बढ्दै गएपछि अप्ठ्यारोमा परेका प्रचण्डले देशका सामु अहिले राष्ट्रिय स्वाधीनता र लोकतन्त्रमाथि देखा परेका चुनौती हल गर्ने ऐतिहासिक जिम्मेवारी आएकाले सङ्कट समाधानका लागि सम्पूर्ण प्रगतिशील, वामपन्थी, कम्युनिस्ट शक्तिहरूलाई एक ठाउँमा आउन आग्रह गरेका छन् । राष्ट्रले भोगिरहेका समस्या र सङ्कटहरूको समाधान अग्रगामी क्रान्तिकारी विचार, प्रतिबद्ध संगठन र इमानदार राजनीतिक पहलकदमीबाट मात्रै सम्भव रहेको स्पष्ट पारेका छन् ।

मंगलबार विज्ञप्ति जारी गर्दै प्रचण्डले भनेका छन्, ‘यस सन्दर्भमा देशभक्त, प्रगतिशील, वामपन्थी शक्तिहरुबीच संगठनात्मक ध्रुवीकरण तथा लोकतान्त्रिक शक्तिहरूबिच राष्ट्रिय सहकार्य अपरिहार्य बनेको छ ।’ साथै राष्ट्रिय स्वाधीनता, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र समाजवाद निर्माणको आधार तयार पार्न माओवादी सहितका वामपन्थी शक्तिहरूको एकता र साझा आन्दोलनमार्फत अघि बढ्नु आजको आवश्यकता भएको प्रचण्डको भनाइ छ ।
‘म देशका सबै माओवादी धारासहितका वामपन्थीहरूलाई कम्युनिस्ट पार्टीको एउटै झण्डामुनि एकताबद्ध हुन हार्दिक अपिल गर्दछु। साथै, संविधानको रक्षा गर्दै समुन्नत लोकतन्त्रको विकास र राष्ट्रिय स्वाधीनताका लागि सबै गणतान्त्रिक शक्तिलाई राष्ट्रिय एकताको साझा मोर्चामा गोलबन्द हुन आह्वान गर्दछु’, उनको आह्वान छ ।
यता सिङ्गो समाजवादी मोर्चाबिच नै पार्टी एकताको विषयमा छलफल चलिरहेको बेला नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका छन् । नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा सहितका नेताहरू मंगलबार आयोग पुगेर कम्युनिस्ट पार्टी नेपाल दल दर्ताका लागि निवेदन दिए ।
_F1fRWKwj2j.jpg)
संसदीय राजनीति बहिस्कार गरेको १३ वर्षपछि फेरि संसदीय प्रतिस्पर्धात्मक राजनीतिमा फर्किएका विप्लवको कदमप्रति पक्ष/विपक्षमा विभिन्न प्रतिक्रिया आएका छन् । जेनजी विद्रोहपछि असोज २५–३० सम्म कपिलवस्तुमा बसेको केन्द्रीय समितिको विशेष बैठकले आयोगमा दल दर्ता गर्ने निर्णय गरेको थियो । यद्यपि माओवादी सहित विभिन्न वामपन्थी घटकसँग एकता र ध्रुवीकरण गर्ने, आगामी निर्वाचनमा भाग लिने निर्णय गत वर्ष वैशाखमै गरेको थियो ।
समाजवादी मोर्चाका संयोजक समेत रहेका विप्लव असोजको पहिलो हप्ता काठमाडौँ आएका थिए । त्यतिबेला प्रचण्ड, नेपाल, एमाले अध्यक्ष केपी ओली लगायत नेताहरूसँग छलफल गरेका थिए ।
प्रचण्ड र नेपालसँगको भेटमा संयोजक सहित नयाँ कम्युनिस्ट केन्द्र निर्माणको प्रस्ताव राखेपछि एकता तत्कालका लागि टरेको दुवै पक्षका नेताहरू बताउन थालेका छन् । नेकपाको पछिल्लो केन्द्रीय समिति बैठकले आफ्नै नेतृत्वमा नयाँ कम्युनिस्ट केन्द्र बनाउने निर्णय गर्यो । राजनीतिक दलहरूकै नेतृत्वमा सर्वपक्षीय अन्तरिम सरकार गठन गर्ने निर्णय भएकाले एकतामा समस्या आएको माओवादीका नेताहरूले बताएका छन् । एक नेताका अनुसार विप्लव एमाले र माओवादी दुवैतिर बार्गेनिङमा रहेका छन् ।

‘एकीकृत समाजवादीसँग एकता लगभग सुनिश्चित जस्तै देखिन्छ । माधवजीले केन्द्रीय समितिको बैठकसम्म पुग्दा सिङ्गो पार्टी नै एकतामा आउने विश्वास दिलाउनुभएको छ । तर विप्लवले अवसरवादी चरित्र देखाउनुभएको छ’, ती नेताले भने, ‘एकताको विरोध पनि गर्नु भएको छैन । कहिले ओलीसँग कहिले प्रचण्डसँग बाग्रेनिङ गरिरहनुभएको छ । एकताबारे छलफल गरिरहेको बेला आयोग पुगेर दल दर्ता निवेदन दिनुभएको छ । त्यसैले नेकपासँग तत्काल एकता हुने सम्भावना देखिँदैन । यद्यपि प्रयास जारी छ ।’
पार्टी र नेतृत्वबारे विभिन्न टीकाटिप्पणी आउन थालेपछि विप्लवले चुनाव, संसद् र सरकारलाई हेर्ने उपयोग र बहिस्कारको नीति बदलेर एकीकृत जनक्रान्तिको स्कुल अनुसार दल दर्ता गरिएको दाबी गरे ।
चुनाव, संसद् र सरकारलाई हेर्ने उपयोग र बहिष्कारको लेनिनवादी स्कुललाई बदलेर एकीकृत जनक्रान्तिको स्कुल अनुरूप समग्र संघर्षको मोर्चाका रूपमा आत्मसात् गर्दै पार्टीलाई दर्ता गर्ने र चुनावी मोर्चामा डट्ने पहल गरेका छौँ । नयाँ स्कुल अनुरूप सबै देशभक्त, समाजवादी, कम्युनिस्ट शक्तिहरूसँग सहकार्य गर्दै देशको स्वाधीनता, नेपाली विशेषताको समाजवाद,जनताको विशेषतः युवाहरूको शिक्षा,रोजगारीका लागि निरन्तर लड्ने प्रतिबद्धता व्यक्त गर्दछौँ’, बुधबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
विप्लवको कदमलाई लिएर माओवादीका युवा नेताहरू माधव सापकोटा र लेखनाथ दाहालले असन्तुष्टि पोखेका छन् । पछिल्लो प्रतिनिधिसभामा कांग्रेस–एमाले गठबन्धन सरकारको विरोधमा खरो उत्रिएका उनीहरूले विप्लवको सम्बन्धमा पनि कडा प्रतिक्रिया दिएका छन् । सापकोटाले कुनै विलम्ब नगरी तत्काल एकतामा आउन आग्रह गरेका छन् ।
‘तपाईंको यो कदममा अन्य भित्री चालबाजी छैन र तपाईंले नै भने जस्तै ‘समग्र सङ्घर्षको मोर्चा’ को रूपमा इमानदारीपूर्वक आत्मसात् गरेको हो भने त्यो मोर्चा त्यतिबेला मात्र सफल र सम्भव छ, जतिबेला नेपालमा बलियो कम्युनिस्ट केन्द्र निर्माण हुन्छ। त्यसैले विलम्ब नगरी तत्काल पार्टी एकता गरौँ’, सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
माओवादीका अर्का नेता दाहालले विप्लवलाई अन्ततः संसदीय राजनीतिमा नै आउनु थियो भने एकताबद्ध र मजबुत केन्द्रीयकरण भएको पार्टी किन विभाजन गरेको भनेर प्रश्न उठाएका छन् । उनले दाहाल लगायत माओवादी नेताहरूलाई मार्न बम बिछ्याएको गम्भीर आरोप समेत लगाएका छन् । ‘अन्ततः यही बाटोमा आउनु थियो भने जन विश्वास आर्जन गरेको एकताबद्ध र मजबुत केन्द्रीकरण भएको पार्टी किन विभाजित गरेको ? नेता, कार्यकर्ता र जनताको मनोविज्ञान किन विभाजित गरेको ? श्रद्धेय अध्यक्ष कमरेड प्रचण्ड लगायत माओवादीका नेताहरूलाई मार्न बम किन बिछ्याएको ? अरू पार्टीलाई भोट हाल्न लगाएर माओवादीलाई किन हराउन लागेको ?’, सामाजिक सञ्जाल फेसबुकमार्फत उनले प्रश्न उठाएका छन् ।
साथै १३ वर्षमा विप्लवलाई अध्यक्ष नै दिएर पुरस्कृत गर्नु पर्ने गरी के योगदान गरेको छ र अध्यक्ष मागेको भनेर प्रश्न उठाए । विचार मिल्नेसँग एकताको लागि वार्ता जारी रहँदारहँदै विना जानकारी केपी ओली र पूर्वराजा ज्ञानेन्द्र शाहसँग गोप्य छलफल गरेका पनि उनले आरोप लगाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण