शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
रातोपाटी ब्रिफिङ

१० बजे १० समाचार : एकताको विपक्षमा उभिए समाजवादीका नेता, नयाँ पार्टी दर्ताका लागि रेशमले दिए निवेदन

बिहीबार, १३ कात्तिक २०८२, २२ : ००
बिहीबार, १३ कात्तिक २०८२

सारांश

  • माओवादीसँग पार्टी एकताको तयारीमा माधवकुमार नेपाल, तर केही नेताहरूको विरोध।
  • प्रधानमन्त्री सुशीला कार्कीले पूर्व प्रधानन्यायाधीश र न्यायाधीशलाई कार्यकारी पदमा राखेकोमा आपत्ति जनाइन्, रिट विचाराधीन छ।
  • जेनजी आन्दोलनमा प्रहरीको गोलीबाट मारिएका ३४ जनाको पोस्टमार्टम रिपोर्टमा कम्मरमाथि गोली लागेको देखियो।

आज मिति २०८२ साल कात्तिक महिनाको १३ गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती रातोपाटी ब्रिफिङमा ‘१० बजे १० समाचार’ लिएर हाजिर भएका छौँ–

१. एकताको तयारी

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले माओवादी केन्द्रसँग पार्टी एकता गर्ने अन्तिम तयारी गरिरहेका बेला पार्टीका केही नेताहरू भने तत्काल माओवादीसँग हुने एकताको विपक्षमा उभिने भएका छन् । एकताको विपक्षमा उभिने तयारी गरेका नेताहरूले एकीकृत समाजवादी नै पुनर्गठन गर्ने वा एमालेमा समाहित हुने भन्नेबारे आन्तरिक छलफल जारी राखेका छन् ।

२. सुशीला कार्की

प्रधानमन्त्री सुशीला कार्कीले बुधबार राजनीतिक दल, जेनजी र सरकारबिचको त्रिपक्षीय छलफलमा प्रधानन्यायाधीश र न्यायाधीश भइसकेको व्यक्तिलाई कार्यकारी पदमा रोकेको भन्दै बाहिर आलोचना भएकोमा आपत्ति जनाइन् । प्रधानन्यायाधीश र न्यायाधीश भएको व्यक्ति प्रधानमन्त्री र मन्त्री भएको भन्दै कार्की नेतृत्वको सरकार गठनविरुद्ध सर्वोच्चको संवैधानिक इजलासमा १६ वटा रिट विचाराधीन छ ।

३. जेनजी आन्दोलन

भदौ २४ मा भएको प्रदर्शनमा १७ वर्षीया निकिता गौतमलाई प्रहरीले प्रहार गरेको गोली लाग्यो । प्रहरीको गोलीबाट उनले ज्यान गुमाइन् । चितवनको कालिका–८ घर भएर काठमाडौँ बस्ने गौतमको त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गरिएको छ ।

त्रिवि शिक्षण अस्पतालमा उनीजस्तै जेनजी प्रदर्शनमा प्रहरीको गोली लागेर ज्यान गुमाएका ३४ जनाको पोस्टमार्टम गरिएको छ ।

गोलीबाट मारिएकाहरू सबैको कम्मरमाथि गोली लागेको पोस्टमार्टमबाट थाहा भएको छ ।

४. रेशमको पार्टी

आफैं संरक्षक र रञ्जिता श्रेष्ठ अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टीबाट अलग भएर रेशम चौधरीले नयाँ पार्टी दर्ताका लागि निवेदन दिएका छन् । बिहीबार निर्वाचन आयोगमा ४५ सदस्यीय केन्द्रीय कार्यसमितिसहित उनले नागरिक उन्मुक्ति पार्टी नेपाल दर्ताका लागि निवेदन दिएका हुन् । रोचक त के छ भने हालै डा.सीके राउत नेतृत्वको जनमत पार्टी छाडेका अब्दुल खानलाई उक्त पार्टीको वरिष्ठ उपाध्यक्ष बनाइएको छ । 

५. स्मार्ट लाइसेन्स

लामो समयदेखि सवारी चालक अनुमति पत्र (लाइसेन्स)को प्रतीक्षामा रहेका सेवाग्राहीले अब कागजको ‘चिर्कटो’ बोकिराख्नुपर्ने झन्झटबाट राहत पाउने भएका छन् । सुरक्षण मुद्रण केन्द्रले ‘क्युआर कोड’ समावेश गरिएको स्मार्ट लाइसेन्स छपाइको तयारी गरेसँगै सेवाग्राहीले राहत पाउने भएका हुन् ।

६. सिन्डिकेटको प्रयास

मलेसिया रोजगारीमा सिन्डिकेटको प्रयास भएको भन्दै आलोचना भइरहेको बेला प्रधानमन्त्री सुशीला कार्कीले चासो देखाएकी छन् ।

प्रधानमन्त्री कार्कीले वैदेशिक रोजगार व्यवसायीका लागि तोकिएको नयाँ मापदण्डका कारण पर्न सक्ने सम्भावित असर अध्ययन गरी आवश्यक पहलकदमीका लागि गृहकार्य गर्न श्रम मन्त्रालयका सचिव कृष्णहरि पुष्करलाई निर्देशन दिएकी हुन् ।

७. रविको मुद्दा

सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको सुनुवाइ स्थगित गरिएको छ।

यो पनि...

८. मन्त्रिपरिषद् निर्णय

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले गरेका निर्णयहरू बिहीबार सार्वजनिक गरिएको छ । सरकारको प्रवक्ता समेत रहेका सञ्चारमन्त्री जगदीश खरेलले बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी निर्णय सार्वजनिक गरेका हुन् ।

९. कांग्रेस बैठक

नेपाली कांग्रेसका अधिकांश केन्द्रीय सदस्यहरूले नियमित महाधिवेशन गर्नुपर्ने धारणा राखेका छन् । पार्टीभित्र नियमित महाधिवेशन वा विशेष महाधिवेशनका लागि रस्साकस्सी चलिरहेका बेला पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय समिति बैठकमा बोल्ने सदस्यहरूले नियमित महाधिवेशनमा जानु नै उपयुक्त हुने धारणा राखेको पार्टी प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।

१०. वर्षा

भारतमा आएको चक्रवातका कारण नेपालको मौसममा परिवर्तन हुँदा बिहीबार बिहानैदेखि काठमाडौँ उपत्यका झरीमा लुछुप्पै भिजेको छ ।

पानी परेसँगै काठमाडौँको तापक्रम पनि घटेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बङ्गालको खाडीमा विकसित चक्रवात ‘ मोन्था’का कारण २०८२ कार्तिक १३ गते बिहीबार दिउँसोदेखि कार्तिक १५ गते शनिबार बिहानसम्म कोशी, मधेस र बागमती प्रदेशको मौसम प्रभावित हुनेछ ।

 

यो पनि...

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप