बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

दिल्ली विमानस्थलमा नेपाली युवालाई अपमानित गरिएको घटनाबारे भारत सरकारले के भन्यो ?

शनिबार, १५ कात्तिक २०८२, २० : ५२
शनिबार, १५ कात्तिक २०८२

सारांश

  • बर्लिनमा हुने सम्मेलनमा भाग लिन दिल्ली विमानस्थल पुगेकी एक नेपाली युवतीलाई आठ घण्टासम्म हिरासतमा राखियो।
  • सम्भवी अधिकारीलाई नेपाली राहदानीका कारण शंका गर्दै बोर्डिङ पास च्यातेर फर्काइएको थियो।
  • भारत सरकारले घटनामा भारतीय अध्यागमनको संलग्नता नभएको र एयरलाइन्सको निर्णय भएको जनाएको छ।

काठमाडौँ । जर्मनीको बर्लिनमा हुने वर्ल्ड हेल्थ समिटमा सहभागी हुन जान लागेकी एक नेपाली युवा प्रतिनिधिलाई दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा आठ घण्टासम्म हिरासतमा राखेर अपमानित गरिएको घटना सार्वजनिक भएको छ। आफ्नो देश र संस्थाको प्रतिनिधित्व गर्न जान लागेकी सम्भवी अधिकारीले नेपाली राहदानी बोकेकै कारण आफूमाथि शङ्का गरिएको अनुभव सामाजिक सञ्जालमार्फत व्यक्त गरेकी हुन्।

बर्लिन जानका लागि सबै कागजात, भिसा, प्रायोजन पत्र, दुवैतर्फको हवाई टिकट, र आवासको विवरणसहित तयार भएर हिँडेकी सम्भवीलाई दिल्ली एयरपोर्टमा एयर इन्डियाबाट कतार एयरवेजमा ट्रान्जिट गर्दा रोकिएको थियो। 

एयरपोर्टमा अधिकारीहरूले उनलाई ‘तपाईंलाई कसले निम्तो दियो?, किन जाँदै हुनुहुन्छ?, नेपाली भएर किन यस्तो सम्मेलनमा जाने?, तपाईं विद्यार्थी नै हो?, पुग्ने पैसा छ कि छैन?’ लगायतका धेरै प्रश्नहरू सोधेका थिए। शान्त रहेर सबै प्रमाण देखाउँदा पनि उनीहरू सन्तुष्ट नभएको अधिकारीको गुनासो छ।

‘आधा घण्टाको सोधपुछपछि मैले नदेखेको एकजना मान्छेले फोनबाटै मलाई झूटो बोलिरहेको जसरी जिकिर गरिरहे। अन्तमा एक अधिकारीले मेरो बस्ने अवधिको लम्बाई शङ्कास्पद छ मात्र भने,’ सम्भवीले लेखेकी छिन्।

त्यसपछि ती अधिकारीले सम्भवीको बोर्डिङ पास उनको सामुन्ने च्यातेर फालिदिए र उनलाई आठ घण्टासम्म एयरपोर्टभित्रै हिरासतमा राखियो। यस अवधिमा उनलाई राहदानी र सामानबिनै, खानपिन र इन्टरनेटको सुविधाबिना बस्न बाध्य पारिएको उनको भनाई छ। उनलाई स्वतन्त्र रूपमा हिँडडुल गर्न वा शौचालय प्रयोग गर्न पनि नदिएको उनले बताएकी छन्।

रात बिताएपछि, नेपाल एयरलाइन्स कर्पोरेसनको हस्तक्षेपमा सम्भवीलाई घर फर्काइयो। भोलिपल्टै उनी कतार एयरवेजको उडानबाट दोहा हुँदै बर्लिन पुगिन्।

उनले लेखेकी छन्, ‘समस्या मेरो कागजातमा थिएन। समस्या मेरो राहदानीमा थियो। नेपाली पासपोर्ट बोकेकाले ममाथि शङ्का गरियो।’ 

  • घटनामा भारतीय अध्यागमनको संलग्नता छैन : भारत सरकार

यता, अधिकारीलाई दिल्ली विमानस्थलमा रोकेर काठमाडौँ फिर्ता पठाइएको घटनामा भारतीय अध्यागमन अधिकारीहरूको कुनै भूमिका नरहेको भन्दै भारतको गृह मन्त्रालयले स्पष्टीकरण दिएको छ। गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उक्त घटनालाई नेपाली नागरिकहरूविरुद्धको पूर्वाग्रह वा भेदभावको रूपमा गलत चित्रण गरिएको उल्लेख छ।

विज्ञप्ति अनुसार, अधिकारी एयर इन्डियामार्फत काठमाडौँबाट दिल्ली आइन् र त्यहाँबाट उनले कतार एयरवेजको कनेक्टिङ उडान लिनुपर्ने थियो। उनलाई यही कनेक्टिङ उडान चढ्नबाट रोक्दा यो घटना भएको हो।

विज्ञप्तिमा भनिएको छ, ‘उनको भिसाको वैधतालाई ध्यानमा राख्दै, उनलाई जर्मनीको यात्रा अगाडि बढाउन नदिने निर्णय सम्बन्धित एयरलाइन्स (कतार एयरवेज) ले गरेको थियो।’ एयरलाइन्सहरूले यस्तो निर्णय गन्तव्य देश (जर्मनी) को नियम वा आवश्यकता अनुसार लिने गरेको मन्त्रालयको भनाइ छ।

सम्भवी अधिकारीले पछि आफ्नो यात्राको मिति पुनर्तालिकीकरण गरी अर्को रुटबाट काठमाडौँबाट यात्रा गरेको कुरा पनि मन्त्रालयले उल्लेख गरेको छ।

अन्तर्राष्ट्रिय ट्रान्जिट यात्रुहरूले आफ्नो अगाडिको यात्राका लागि भारतीय अध्यागमनसँग सम्पर्क गर्नु नपर्ने मन्त्रालयले स्पष्ट पारेको छ । ‘यो एयरलाइन्स र यात्रु बिचको मामला हो र यसमा भारतीय अध्यागमन अधिकारीहरूको कुनै भूमिका हुँदैन,’ मन्त्रालयले भनेको छ

भारतले नेपालसँगको आफ्नो सुदृढ सम्बन्धको कदर गर्ने बताउँदै कुनै पनि भारतीय अधिकारीले नेपाली नागरिकहरूप्रति पूर्वाग्रह वा भेदभाव नगरेको कुरामा पुनः आश्वासन दिएको छ।

d

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप