मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१२ बजे १२समाचार: अरुकै भरमा मधेसकेन्द्रित दल, रमेश लेखक सोमबार बयान दिन जाने

शुक्रबार, ११ पुस २०८२, ०० : ००
शुक्रबार, ११ पुस २०८२

सारांश

  • राष्ट्रिय सभा निर्वाचनका लागि दलहरू उम्मेदवार चयनमा जुटेका छन् र माघ ११ गते मतदान हुँदैछ।
  • मेयर बालेनको सक्रियता र छलफलले नयाँ राजनीतिक तरंग पैदा गरेको छ, उनले संसदीय मोर्चा सम्हाल्ने संकेत गरे।
  • रास्वपाले समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु गर्यो भने विप्लवको पार्टीले युवा अभियान चलाउने निर्णय गर्यो।

काठमाडौँ । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती रातोपाटी ब्रिफिङमा १२ बजे १२ समाचार लिएर उपस्थित भएका छौँ–

१.  मधेस केन्द्रित दल

राष्ट्रिय सभा निर्वाचनका लागि दलहरू उम्मेदवार चयनदेखि अन्य आन्तरिक तयारीमा जुटेका छन् । क्षेत्र, जिल्ला तथा प्रदेश समितिले उम्मेदवार सिफारिस गरी केन्द्रमा पठाइरहेका छन् । माघ ११ गते राष्ट्रिय सभाका १८ सिटका लागि मतदान हुँदै छ ।

हाल राष्ट्रिय सभामा तराईकेन्द्रित दलका चार जना सदस्य छन् । लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट शेखर सिंह तथा जनता समाजवादी पार्टी नेपालबाट मोहम्मद खालिद, मृगेन्द्रकुमार सिंह यादव र पूजा चौधरी राष्ट्रिय सभा सदस्य छन् । उनीहरूको पदावधि पनि माघमा सकिँदै छ । यी दलहरू आ–आफ्नो सिट कसरी जोगाउने भन्ने गृहकार्यमा लागेका छन् ।

२. लेखक बयानमा जाने

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका बेला गृहमन्त्री रहेका नेपाली कांग्रेसका नेता रमेश लेखक सोमबार आन्दोलनपछि गठित जाँचबुझ आयोगमा बयान दिन जाने भएका छन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार बसेको नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै लेखकले आफू सोमबार आयोगमा बयान दिन जाने बताएका हुन् ।

३. बालेनको सक्रियता

ललितपुरको ज्वागलस्थित कुमार व्यञ्जनकार (बेन)को घर मंगलबार र बुधबार नेपालको वैकल्पिक राजनीतिको मुख्य केन्द्र बन्यो ।

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)को सक्रियतामा भएको दुई दिने ‘म्याराथन’ छलफलले नेपाली राजनीतिमा नयाँ तरङ्ग पैदा गरेको छ । मेयर बालेनले ज्वागलबाट प्रस्ट सन्देश दिएका छन्, अब उनी स्थानीय राजनीतिमा मात्र सीमित रहने छैनन्, संसदीय राजनीतिको मोर्चा सम्हाल्न तयार छन् ।

उनले छरिएर रहेका सबै नयाँ र वैकल्पिक शक्तिहरूलाई एकै ठाउँमा आउन अपिल गर्दै त्यसको नेतृत्व र केन्द्र आफू नै भएको संकेत गरेका छन् ।

४. पुराना शक्तिलाई तनाव

जेनजी आन्दोलनले बदलिएको मुलुकको राजनीतिक अवस्था र सम्मुखमा रहेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई केन्द्रमा राखेर नयाँ तथा पुराना दलहरू एकता र ध्रुवीकरणतर्फ केन्द्रित भएका छन् । त्यसमा पनि नयाँ र वैकल्पिक भनेर चिनिएका दलहरुको सक्रियतालाई निकै चासोपूर्वक हेरिएको छ ।

५. कुलमानका कुरा

बिहीबार बिहान काठमाडौँका महानगरपालिका मेयर बालेन्द्र शाह र उज्यालो नेपाल पार्टीका संरक्षक तथा मन्त्री कुलमान घिसिङबिच भेट भयो । दुई नेताबिचको भेटघाटको विषय सर्वत्र चासो बन्यो । नयाँ राजनीतिक समीकरण बनाउनेदेखि वैकल्पिक भनिएका दलहरू बिच एकता वा सहकार्यका बारेमा दुई जनाबिच छलफल भएका थिए । तर उक्त छलफलबारे औपचारिक रूपमा दुवै पक्षले जानकारी दिएको छैन ।

६. कांग्रेस बैठक

नेपाली कांग्रेसको क्रियाशील सदस्यता व्यवस्थापन समितिले पार्टीका ७५ प्रतिशत क्रियाशील सदस्यता नवीकरणको काम सकिएको जनाएको छ ।

समितिको बिहीबार बसेको बैठकमा ७५ प्रतिशत क्रियाशील सदस्यले सदस्यता नवीकरण गरेको प्रतिवेदन पेस भएको सदस्य प्रकाश स्नेही रसाइलीले जानकारी दिए ।

७. शाहीको ‘कू’

नेपाल सरकारको मातहतमा एउटा संस्था छ राष्ट्रिय प्रकृति संरक्षण कोष । राजतन्त्र हुँदासम्म ‘महेन्द्र प्रकृति संरक्षण कोष’ भनेर चिनिने उक्त संस्थाको नाम गणतन्त्रसँगै परिवर्तन त भयो, तर नामसँगै संरचनागत सुधारमा ध्यान नदिँदा यो एउटा ‘तानाशाही’ संस्थाको रुपमा कायमै छ । अहिले त्यसको नेतृत्व गरिरहेका छन् पूर्व वनमन्त्री ऐनबहादुर शाहीले ।

केपी शर्मा ओली नेतृत्वमा गठन भएको तत्कालीन सरकारमा उनी वनमन्त्री थिए । मन्त्री भएको एक महिनापछि साउन अन्तिममा संरक्षकको हैसियतमा ओलीले शाहीलाई कोषको अध्यक्ष नियुक्त गरेका थिए । शाही कोषमा मन्त्रीको हैसियतमा भित्रिए, हटेपछि छाडेनन् र अहलिे सेटिङमा सदस्य सचिवको पुनर्नियुक्ति भएको छ ।

८. अदालत

गत भदौ २४ मा सर्वोच्च अदालतमा भएको आगजनीका कारण जलेका कुल २० हजार ३४ थान मुद्दामध्ये ८ हजार थान मिसिल पुनः प्राप्त भएका छन् । आगजनीमा परेका चालु मुद्दामध्ये ४ हजार २०० मिसिल सुरक्षित रहेको सर्वोच्च प्रशासनले जानकारी दिएको छ ।

९. मुख्यमन्त्री र यातायातमन्त्रीका फरक निर्देशनले अन्योल

यातायात क्षेत्रको सेवा विस्तारका क्रममा बागमती प्रदेशका मुख्यमन्त्री र मन्त्रीले छुट्टाछुट्टै निर्णय र निर्देशन दिएपछि अन्योल बढेको छ ।

बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री जयराम थापाले यातायात सेवा विस्तारको क्रममा यातायात व्यवस्था कार्यालय बालाजुको ट्रायल सेन्टर सञ्चालनको टेन्डर प्रक्रिया रोक्न पत्राचार गरेका छन् । मन्त्रिपरिषदको निर्णय र आफ्नै पूर्वनिर्देशन विपरीत मन्त्री थापाले यातायात व्यवस्था कार्यालय बालाजुको सेवा विस्तार प्रक्रिया रोक्न आफ्नै लेटरहेडमा मंसिर ९ गते ७ बुँदे निर्देशनसहित पत्राचार गरेका हुन् ।

१०. रास्वपाको समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु गरेको छ । पार्टीले आज र भोलि ‘ब्लूप्रिन्ट संवाद’ तथा ‘शून्य समय’ कार्यक्रममार्फत आकांक्षीहरूको प्रस्तुति राख्ने व्यवस्था मिलाइएको प्रवक्ता मनिष झाले जानकारी दिए ।

११. विप्लवको बैठक

नेकपा माओवादीले पुस २० गतेदेखि मेची–महाकाली युवा अभियान चलाउने निर्णय गरेको छ । काठमाडौँको बुद्धनगरमा बिहीबार बसेको केन्द्रीय समितिको विशेष बैठकले मेची–महाकाली अभियान सहित विभिन्न संघर्षको कार्यक्रम गर्ने निर्णय गरेको हो । बैठकले देशमा विदेशी साम्राज्यवादी हस्तक्षेप बढेको निष्कर्ष निकाल्दै देशव्यापी संघर्षको कार्यक्रम गर्ने निर्णय भएको प्रवक्ता खड्गबहादुर विश्वकर्माले जानकारी दिए ।

१२. खेलकुद

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप