शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

मेटाबाट एकैसाथ ८ हजार कर्मचारीको जागिर चट् हुँदै

शनिबार, ०५ वैशाख २०८३, ०८ : ४३
शनिबार, ०५ वैशाख २०८३

सारांश

  • मेटाले आगामी मे २० देखि आफ्ना कुल जनशक्तिको १० प्रतिशत अर्थात् करिब ८ हजार कर्मचारी कटौती गर्ने योजना सार्वजनिक गरेको छ।
  • आर्टिफिसियल इन्टेलिजेन्सको विकास र कार्यक्षमता बढाउने रणनीतिका कारण मेटाले कर्मचारी कटौतीको निर्णय लिएको हो।

न्युयोर्क । सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्रामको मातृ कम्पनी 'मेटा' ले यो वर्षको ठुलो कर्मचारी कटौतीको योजना सार्वजनिक गरेको छ । रोयटर्सका अनुसार आगामी मे २० मा मेटाले आफ्नो कुल जनशक्तिको १० प्रतिशत अर्थात् झन्डै ८ हजार कर्मचारीलाई बिदा गर्ने तयारी गरेको छ ।

मेटाले यो वर्षको पहिलो चरणमा मे २० मा ठुलो सङ्ख्यामा कर्मचारी निकाल्ने र दोस्रो चरणको कटौती वर्षको उत्तरार्धमा गर्ने योजना बनाएको छ । यद्यपि दोस्रो चरणमा कति कर्मचारी निकालिनेछन् भन्नेबारे ठोस निर्णय भइसकेको छैन । कम्पनीका प्रमुख कार्यकारी अधिकृत मार्क जुकरवर्गले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षमताको विकाससँगै व्यवस्थापकीय तहलाई कम गर्ने र कार्यक्षमता बढाउने रणनीति लिएपछि यो स्थिति आएको हो ।

मेटाले एआई प्रविधिमा अर्बौँ डलर लगानी गरिरहेको छ । कम्पनीले आफ्ना इन्जिनियरहरूलाई नयाँ एप्लाइड एआई विभागमा स्थानान्तरण गर्दै स्वायत्त रूपमा कोड लेख्न र जटिल कार्यहरू गर्न सक्ने एआई एजेन्टहरूको विकासलाई तीव्रता दिएको छ । प्रविधिको प्रयोगबाट काम छिटो र कम जनशक्तिमा हुने भएपछि कम्पनीले कर्मचारी कटौतीको बाटो रोजेको हो ।

यो वर्ष अमेरिकी प्रविधि क्षेत्रमा मेटा मात्र होइन, अन्य दिग्गज कम्पनीहरूले पनि कर्मचारी कटौतीलाई प्राथमिकता दिएका छन् । हालैका महिनाहरूमा अमेजनले ३० हजार र फिन्टेक कम्पनी 'ब्लक' ले आफ्ना आधा कर्मचारीलाई कामबाट निकालेका छन् । लेअफ डट एफवाईआईका अनुसार यो वर्ष अहिलेसम्म विश्वभर ७३ हजार भन्दा बढी प्रविधि क्षेत्रका कर्मचारीले जागिर गुमाइसकेका छन् ।

मेटाका लागि यो कटौती सन् २०२२ र २०२३ को द इयर अफ इफिसिएन्सी पछिको सबैभन्दा ठुलो पुनर्संरचना हो । त्यसबेला मेटाले २१ हजार कर्मचारी निकालेको थियो । गत वर्ष २०० अर्ब डलरभन्दा बढी आम्दानी र ६० अर्ब डलर नाफा कमाएको मेटा अहिले आर्थिक रूपमा सबल रहे पनि भविष्यको एआई केन्द्रित कार्यशैलीका लागि भन्दै कर्मचारी कटौतीमा उत्रिएको हो ।

गत डिसेम्बर ३१ सम्मको तथ्याङ्क अनुसार मेटामा करिब ७९ हजार कर्मचारी कार्यरत थिए । कम्पनीले आफ्नो 'रियालिटी ल्याब्स' डिभिजनलाई पुनर्गठित गर्दै केही कर्मचारीलाई नयाँ स्थापना गरिएको 'मेटा स्मल बिजनेस' इकाईमा समेत स्थानान्तरण गर्ने योजना बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप