बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

त्रिभुवन विमानस्थलका सबै पसलमा नेपाली उत्पादन अनिवार्य गर्न सांसद श्रेष्ठको माग

मङ्गलबार, १२ जेठ २०८३, १२ : ३९
मङ्गलबार, १२ जेठ २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद अनुष्का श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सबै पसलमा नेपाली उत्पादन अनिवार्य गर्न सरकारसँग माग गरेकी छन्।
  • विमानस्थलबाट बाहिरिने यात्रुहरूलाई नेपाली स्वाद र पहिचान दिलाउन नेपाली उद्यमीका वस्तुहरूलाई प्राथमिकता दिनुपर्ने उनको तर्क छ।
  • सांसद श्रेष्ठले नेपालको पहिचान विश्वमाझ चिनाउन र स्वदेशी उत्पादनलाई बढावा दिन नेपाली वस्तुहरूको विश्व बजारमा पहुँच पुर्याउन आवश्यक रहेको बताइन्।

काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद अनुष्का श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सबै पसलहरूमा अनिवार्य रूपमा नेपाली वस्तुहरूको बिक्री वितरण हुने गरी आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गरेकी छन्। 

विमानस्थलबाट दैनिक हजारौँ यात्रुहरू नेपालबाट बाहिर जाने भएकाले उनीहरूलाई नेपाली स्वाद र नेपाली पहिचान विश्वभर दिलाउनका लागि पनि सरकारले नेपाली उद्यमीहरूले उत्पादन गरेका वस्तुहरूलाई त्यहाँ प्राथमिकताका साथ बिक्रीका लागि राख्न आवश्यक हुने उनको तर्क थियो।

मंगलबार प्रतिनिधि सभा बैठकमा शून्य समयमा बोल्दै सांसद श्रेष्ठले सरकारले घरेलु तथा साना उद्योग र स्वदेशी वस्तुहरूको प्रवर्द्धनका लागि उक्त विमानस्थललाई उपयोग गर्नुपर्नेमा जोड दिइन्।

बैठकमा बोल्दै सांसद श्रेष्ठले भनिन्, ‘हाम्रो त्रिभुवन विमानस्थलमा नेपाल चिनाउने स्वाद, हस्तकला र मेड इन नेपालको उपस्थिति अझै कमजोर देखिन्छ। दैनिक हजारौँ यात्रु नेपालबाट प्रस्थान गरिरहँदा स्थानीय उत्पादनमा स्वाद बोकेर पठाउन सक्नु नेपालको पहिचान विश्वसामु पुर्‍याउने एक अवसर हो। म सरकार र टिआइए व्यवस्थापनलाई आग्रह गर्न चाहन्छु, विमानस्थलका सबै पसल तथा टेन्डर प्रक्रियामा अनिवार्य रूपमा नेपाली उत्पादनका डेडिकेटेड सेक्सन व्यवस्था गरियोस्। विशेष गरी साना र स्वदेशी उद्यमीहरूलाई प्राथमिकता दिइयोस्। मेड इन नेपाललाई विश्वभर फैलाउनका लागि यो कदम प्रभावकारी हुन सक्छ।’

सांसद श्रेष्ठले नेपालको पहिचान विश्वमाझ चिनाउन र स्वदेशी उत्पादनलाई बढावा दिनका लागि पनि नेपाली वस्तुहरूको विश्व बजारमा पहुँच पुर्‍याउन आवश्यक रहेको बताएकी छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप