मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

दक्षिण कोरियामा युट्युबर पक्राउ, यस्तो छ अभियोग

बुधबार, १३ जेठ २०८३, ११ : ४३
बुधबार, १३ जेठ २०८३

सारांश

  • दक्षिण कोरियाली प्रहरीले एआई प्रयोग गरी चर्चित अभिनेता किम सु–ह्युनविरुद्ध झुटा आरोप फैलाएको आरोपमा एक युट्युबरलाई पक्राउ गरेको छ ।
  • युट्युबरले चलाउने च्यानलले अभिनेता किम सू–ह्युनले अभिनेत्री किम से–रोन नाबालिका हुँदा नै सम्बन्ध राखेको भन्ने आरोप लगाएको थियो, जुन आरोप अभिनेताले अस्वीकार गर्दै आएका छन् ।
  • प्रहरीका अनुसार होभर ल्याबले सार्वजनिक गरेको अडियो रेकर्डिङ एआई प्रयोग गरेर बनाइएको थियो र यसले अभिनेताको सामाजिक प्रतिष्ठा र आर्थिक गतिविधिमा व्यापक क्षति पुर्याएको छ ।

सोल । दक्षिण कोरियाली प्रहरीले एआई प्रयोग गरेर चर्चित अभिनेता किम सु–ह्युनविरुद्ध झुटा आरोप फैलाएको आरोपमा एक युट्युबरलाई पक्राउ गरेको छ । 

अधिकारीहरूका अनुसार किम से–उइ नाम गरेका युट्युबरले चलाउने होभर ल्याब नामक युट्युब च्यानलले अभिनेता किम सू–ह्युनले दिवंगत अभिनेत्री किम से–रोन नाबालिका हुँदा नै सम्बन्ध राखेको भन्ने आरोप लगाएको थियो। अभिनेता किम सू–ह्युनले भने उक्त आरोप अस्वीकार गर्दै आएका छन् ।

सियोल केन्द्रीय जिल्ला अदालतले प्रमाण नष्ट गर्न वा फरार हुन सक्ने सम्भावनालाई आधार बनाउँदै मंगलबार युट्युबरविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । किम सू–ह्युनको एजेन्सीले बुधबार जारी गरेको वक्तव्यमा ‘सत्य प्रमाणित भएको’ जनाएको छ । वक्तव्यमा होभर ल्याबले प्रस्तुत गरेका सबै आरोप र प्रमाण आधारहीन रहेको अनुसन्धानबाट पुष्टि भएको दाबी गरिएको छ ।

प्रहरीका अनुसार होभर ल्याबले सार्वजनिक गरेको एउटा अडियो रेकर्डिङ एआई प्रयोग गरेर बनाइएको थियो। उक्त रेकर्डिङमा अभिनेत्री किम से(रोनले आफू मिडिल स्कुलमा हुँदा देखि अभिनेता किम सू–ह्युनसँग सम्बन्धमा रहेको दाबी गरेको सुनिन्थ्यो ।

अधिकारीहरूले अभिनेत्रीको मोबाइलबाट पठाइएका सन्देशहरूको स्क्रिनसटसमेत फेरबदल गरेर अभिनेता र अभिनेत्रीबीचको कुराकानी जस्तो देखाइएको आरोप लगाएका छन् । लगभग १० लाख सब्सक्राइबर रहेको होभर ल्याब दक्षिण कोरियाको विवादास्पद युट्युब च्यानल हो । यसले राजनीति, मनोरञ्जन तथा सेलिब्रिटी गसिपसम्बन्धी सामग्री नियमित रूपमा प्रकाशित गर्दै आएको छ ।

उक्त आरोप सार्वजनिक भएपछि दक्षिण कोरियामा ठूलो हलचल मच्चिएको थियो । विभिन्न लोकप्रिय टेलिभिजन कार्यक्रम र विज्ञापनमा देखिने किम सू–ह्युनको करिअरमा गम्भीर असर पर्यो । प्रहरीका अनुसार यस घटनाले अभिनेता किम सू–ह्युनको सामाजिक प्रतिष्ठा र आर्थिक गतिविधिमा व्यापक क्षति पु‍र्याएको छ ।

प्रहरीले अभिनेता अझै मनोवैज्ञानिक उपचारमा रहेको पनि जनाएको छ। किम सू–ह्युनले मार्च २०२५ मा आयोजित पत्रकार सम्मेलनमा आफूले किम से–रोनसँग सम्बन्ध राखेको स्वीकार गरे पनि त्यो सम्बन्ध उनी वयस्क भएपछि मात्र सुरु भएको बताएका थिए । ‘मैले नगरेको कुरा स्वीकार गर्न सक्दिनँ,’ उनले त्यसबेला भनेका थिए । त्यसपछि उनले युट्युबर र अभिनेत्रीको परिवारविरुद्ध झुटा आरोप लगाएको भन्दै फौजदारी उजुरी र मुद्दा दायर गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप