मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय
फर्केर हेर्दा

वर्ष २०७९ : यी सेलिब्रेटीले रोजे जीवनसाथी

बिहीबार, ३० चैत २०७९, २३ : ०५
बिहीबार, ३० चैत २०७९

काठमाडौँ । वर्ष २०७९ सेलिब्रेटीको प्रेम, डिभोर्स र विवाहको वर्षका रूपमा पनि चिनियो । यो वर्ष केही कलाकारको प्रेम सार्वजनिक भयो भने केहीको ब्रेकअप सुनियो । केहीले विवाह गर्दै जीवनसाथ पनि रोजे । गायक, गायिका, फिल्म कलाकारदेखि पूर्वमिस नेपालसम्मले यो वर्ष लगनगाँठो कस्न सफल भए । यस्ता छन् यो वर्ष विवाह गर्ने सेलिब्रेटी ।

केकी अधिकारी (अभिनेत्री)
अभिनेत्री केकी अधिकारीले पनि गत वैशाखमै प्रेमी रोहित तिवारीसँग विवाह गरेकी हुन् । काठमाडौँको धापासीस्थित ग्रान्डी भिल्ला अपार्टमेन्टमा उनीहरूको विवाह समारोह आयोजना भएको थियो । उनको विवाहमा परिवारका सदस्य र निकट आफन्त तथा साथीहरूको उपस्थिति रहेको थियो ।

Keki_Adhikari_pEhIuhXLzX

सुरक्षा पन्त (अभिनेत्री)
अभिनेत्री सुरक्षा पन्तले गत फागुनमा विवाह गरेकी छन् । अभिनेता मानव सुवेदीसँग ६ वर्ष लामो प्रेम उनले विवाहमा परिणत गरेकी हुन् । चितवनको सौराहको एक रिसोर्टमा उनको विवाह समारोह आयोजना भएको थियो । विवाहमा दुवै पक्षका सीमित व्यक्ति सहभागी थिए । विवाहको केही दिनअगाडि इन्गेजमेन्टको तस्बिर सार्वजनिक गर्दै उनले विवाहका विषयमा खुलासा गरेकी थिइन् ।

Surakshya-Panta_xdmDVnaq5F

इन्दिरा जोशी (गायिका)
चर्चित गायिका इन्दिरा जोशीले प्रेमी शरद केडियासँग गत असारमा विवाह गरेकी हुन् । उनको विवाह समारोह चितवनको बाराही जङ्गल लजमा आयोजना भएको थियो । उनले सामाजिक सञ्जालमार्फत तस्बिर सार्वजनिक गर्दै प्रेमी शरदसँग विवाह गरेको जानकारी दिएकी थिइन् । इन्दिरा र शरद तीन वर्षदेखि प्रेममा थिए ।  

indira2-1_KwtujjBjyD

भूमिका गिरी (लोकगायिका)
चर्चित लोकगायिका भूमिका गिरी पनि गत फागुनमा विवाह बन्धनमा बाँधिएकी हुन् । सल्यानका हिजन विष्टसँग उनले सल्यानमै परम्परागत विवाह गरेकी हुन् । भूमिका र हिजनले केही वर्षको प्रेमलाई पारिवारिक सहमतिमा विवाहमा परिणत गरेका थिए । गायिका गिरीको ‘देउरालीमा’, ‘चोली मैलो भो’लगायतका गीत पछिल्लो समय हिट छन् ।

bhumika

प्रहिल कार्की (भिडियो निर्देशक)
मोडल तथा म्युजिक भिडियो निर्देशक प्रहिल कार्कीले पनि प्रेमीका भावना पाण्डेसँग फागुनमा लगनगाँठो कसेका छन् । झापा भद्रपुरका कार्कीले चितवनकी प्रेमिका पाण्डेसँग केही वर्षको प्रेम विवाहमा परिणत गरेका हुन् । करिब दुई सयभन्दा बढी म्युजिक भिडियो निर्देशन गरेका कार्कीको विवाहमा केही सेलिब्रेटीको सहभागिता थियो ।  

332745096_747425506710322_5297221802364111458_n_lRyWJxln1I

शिला गजुरेल (मोडल)
मोडल शिला गजुरेलले पनि गायक गायक, सर्जक तथा सङ्गीत व्यवसायी रमेश पाठकसँग गत फागुनमै विवाह गरेकी छन् । धादिङ गजुरीका पाठक र नुवाकोट पीपलटारकी गजुरेलले केही समयको प्रेम विवाहमा परिणत गरेका थिए । शिलाले थुप्रै म्युजिक भिडियो अभिनयमा गरेकी छन् । 

त्रिशाला गुरुङ (गायिका)
गायिका तथा डाक्टर त्रिशाला गुरुङले पनि गत फागुनमै प्रेमी सङ्गीतकार रोहित शाक्यसँग विवाह गरेकी छन् । विवाहपछि उनले तस्बिर सार्वजनिक गर्दै विवाहको जानकारी दिएकी थिइन् । प्रेम लुकाउँदै आएकी उनले सार्वजनिक भएको केही समयमै लगनगाँठो कसेकी हुन् ।

traisala

रामशरण आलेमगर (लोकगायक)
लोकगायक रामशरण आले मगरले पनि गत फागुनमै प्रेमिका रिशु गर्ताैलालाई श्रीमतीको रूपमा घर भित्र्याएका थिए । गोदावरी मन्दिरमा सीमित आफन्त र साथीभाइको उपस्थितिमा उनले विवाह गरेका हुन् । शिवपुरी गाउँपालिका–५, नुवाकोटका गायक मगरले थाहा नगरपालिका– ७ की प्रेमिका गर्ताैलासँग ४ वर्षको प्रेम विवाहमार्फत पूर्णता दिए हुन् । गायक मगरको लोक तथा दोहोरी गीत ‘घैया मकै’, ‘बाँसको डोको’, ‘पीपल छायाँले’ लगायत चर्चित छन् ।

ramsharan11_piFyndWsDS

जेबिका कार्की (अभिनेत्री तथा मोडल)
अभिनेत्री तथा मोडल जेबिका कार्कीले प्रेमी मनोज जोशीसँग विवाह गरेकी छन् । उनले गत फागुनमा आफन्त र सीमित साथीभाइको उपस्थितिमा लगनगाँठो कसेकी हुन् । पाँच वर्षको प्रेम विवाहमा परिणत गरेकी कार्कीले थुप्रै म्युजिक भिडियोका साथै ‘हिजो आजका कुरा’, ‘जयश्री दाम’, ‘कारखाना’, ‘पर्व’, ‘जन्मभूमि’ लगायतका दर्जन हाराहारीका फिल्म अभिनय गरेकी छन् ।

jebika_LWf4j7JfuA

बर्तिका राई (गायिका )
गायिका बर्तिका राईले प्रेमी युगल गुरुङसँग गत माघमा विवाह गरेकी छन् । युगल सङ्गीतकार हुन् । गत असोजमा यी दुईले इन्गेजमेन्ट गरेका थिए । बर्तिका अमेरिकामा र युगल लन्डनमा बस्छन् । यी दुई केही समयदेखि प्रेममा थिए । बर्तिका विशेषगरी युवापुस्तामाझ निकै चर्चित छिन् ।

bartika_ZO3KvAEXfU

संयम पुरी (अभिनेता)
अभिनेता संयम पुरी र अभिनेत्री आश्मा डिसी गत मङ्सिरमा विवाह बन्धनमा बाँधिएका छन् । बौद्धस्थित हायात रिजेन्सीमा यी दुईको विवाह समारोह आयोजना भएको थियो । संयम र आश्माले करिब १० वर्षको प्रेमलाई विवाहमार्फत जीवनभरको साथी बनेका हुन् । सन् २०१२ मा रिलिज भएको ‘सायद’बाट अभिनयमा डेब्यु गरेका संयमले ग्याङस्टर ब्लुज, आभास, नाइँ नभन्नु ल ३, पुन्टे परेड, रातो घर, कर्तव्य र अल्पविराम जस्ता फिल्ममा अभिनय गरेका छन् । आश्माले पनि ‘आभाष’ र ‘नाइँ नभन्नु ल ३’ मा अभिनय गरेकी छिन् । फिल्म ‘आभास’ संयम र आश्मा एकसाथ देखिएका थिए । सोही समयदेखि दुवैको प्रेम बसेको हो । संयम वरिष्ठ फिल्म निर्देशक नारायण पुरीका छोरा हुन्, आश्मा गोपीकृष्ण हलका म्यानेजर प्रदीप दाहालकी छोरी हुन् । संयम र आश्मा दुवै पछिल्लो समय अमेरिका रहँदै आएका छन् ।

Samyam-Puri-Aashma-Dc

सलोन बस्नेत (अभिनेता)
अभिनेता सलोन बस्नेतले पनि गत मङ्सिरमै विवाह गरेका हुन् । उनले करिश्मा केसीसँगको तीन वर्षको प्रेम विवाहमा परिणत गरेका थिए । चन्द्रागिरि रिसोर्टमा आयोजना भएको विवाह समारोहमा उनका पारिवारिक सदस्य, आफन्त र फिल्मकर्मी सहभागी थिए । 

saloman_iGMXPEuClw

 
कमल खत्री (गायक)
गायक तथा सङ्गीतकार कमल खत्रीले गत असोजमा गायिका मेलिना मैनालीसँग विवाह गरेका हुन् । सामान्य तरिकाले विवाह गरेका कमलले विवाहमा लाग्ने खर्च गरिब तथा असहायलाई सहयोग गर्ने घोषणा गरेका थिए ।

Kamal-Khatri-and-Melina-Mainali-Wedding_1dBT9emYhc

रेमनदास श्रेष्ठ (अभिनेता)
अभिनेता रेमनदास श्रेष्ठले यसै वर्ष प्रेमिका जना मुद्रासँग विवाह गरेका हुन् । गोप्य विवाह गरेका उनले असारमा विवाह सार्वजनिक गर्दै पार्टी दिएका थिए । विवाहको पार्टी ज्ञानेश्वरको एटिक रेस्टुरेन्टमा दिइएको थियो । रेमनले जनासँगको ५ वर्षभन्दा लामो प्रेम विवाहमा परिणत गरेका हुन् । रेमन कलाकार मदनदास श्रेष्ठका छोरा हुन् । उनले ‘जाइरा’, ‘द ब्रेकअप’, ‘आधा लभ’, ‘जालो’, ‘मेघा’, ‘कर्कस’, ‘भिसा गर्ल’लगायत एक दर्जन फिल्म अभिनय गरेका छन् । 

reman_das_shrestha_0OjuNtnI3K

नीता ढुङ्गाना (अभिनेत्री)
अभिनेत्री नीता ढुङ्गानाले ज्योतिष तथा अभिनेता हरिहर अधिकारीसँग गत असारमा लगनगाँठो कसेकी हुन् । नीता र हरिहरको विवाह समारोह दरबारमार्गस्थित होटल याक एन्ड यतीमा आयोजना भएको थियो । विवाहमा दुवैतर्फका नजिकका आफन्त र सीमित साथीभाइलाई मात्र निम्त्याइएको छ । नीताले हरिहरसँगको केही वर्षको प्रेमलाई विवाहमा परिणत गरेकी हुन् । 

सदीक्षा श्रेष्ठ (पूर्वमिस नेपाल)
पूर्वमिस नेपाल सदीक्षा श्रेष्ठले पनि गत असारमै प्रेमी राहुल मोक्तानसँग विवाह गरेकी हुन् । गैरीधाराको सिल्भर ओके पार्टी प्यालेसमा उनको विवाह समारोह आयोजना भएको थियो । विवाहअगाडि उनले सिल्भरमै रिसेप्सन पार्टी दिएकी थिइन् । सदीक्षा र राहुलले नेवारी परम्पराअनुसार विवाह गरेका थिए । राहुल र सदीक्षाले एक वर्षभन्दा लामो प्रेम विवाहमा परिणत गरेका हुन् । राहुल पेसाले जिम व्यवसायी हुन् भने सदीक्षाले २०१० मा मिस नेपाल उपाधि जितेकी थिइन् । 

sadixa_Dawgc1rMxp

राज आचार्य (अभिनेता)
हास्यशृङ्खला ‘तीतो सत्य’मा दीपकराज गिरी र दीपाश्री निरौलाको छोरा ‘राज’को भूमिकाबाट चिनिएका कलाकार राज आचार्यले गत असारमै विवाह गरेका हुन् । मोडल सुनिसा बजगाईंसँग उनको प्रेम विवाह भएको थियो । परिवार र निकट आफन्तको उपस्थितिमा उनको विवाह समारोह रातोपुलस्थित शिवम् पार्टी प्यालेसमा आयोजना भएको थियो । बाल कलाकारका रूपमा अभिनय सुरु गरेर राजले अहिले सीए (चार्टर एकाउन्टेन्ट)को अध्ययनसमेत सकेका छन् । सुनिशा पेसाले मोडल हुन् ।

raj-sunish_DJcasAGMOK

कल्पना दाहाल (लोक गायिका)
चर्चित लोकगायिका कल्पना दाहालले गत जेठमा ‘कोर्ट म्यारिज’ गरेकी हुन् । उनले अमेरिका निवासी प्रेमी पुण्यप्रसाद आचार्यसँग विवाह गरेकी हुन् । ‘कोर्ट म्यारिज’ गरेकी उनका परिवारका सदस्य साक्षी थिए ।

kalpana-dahal1_pJz9fJhTGV

स्वप्न सुमन (गायक)
गायक स्वप्न सुमन पनि यसै वर्ष विवाह बन्धनमा बाँधिएका हुन् । उनले मोडल ज्योत्सना योगीसँग लगनगाँठो कसेका हुन् । सामाजिक सञ्जालमार्फत दुवैले तस्बिर सेयर गर्दै विवाहको जानकारी दिएका थिए । तस्बिरका साथ सामाजिक सञ्जालबाटै माया र आशीर्वाद मागिएको थियो ।

swapran_V4oz9003m2

वर्षा सिवाकोटी (अभिनेत्री)
यसैबीच अभिनेत्री वर्षा सिवाकोटीले प्रेमी आशिष गेलालसँग गत वैशाखमा लगनगाँठो कसेकी थिइन् । नागार्जुन रानीवनस्थित रेसु भिल्ला रिसोर्टमा नजिकका आफन्त र साथीभाइको उपस्थितिमा उनले अमेरिकामा निवासी प्रेमी गेलालसँग लगनगाँठो कसेकी थिइन् । तर विवाहको केही समयमै उनको आशिषसँग डिभोर्सको हल्ला चल्यो । अहिले उनको डिभोर्स भएर हल्ला सत्य सावित भइसकेको छ । आशिषले अर्काे विवाहसमेत गरिसके ।

barsha

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप