शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
नक्कली भुटानी शरणार्थी प्रकरण

‘बालकृष्ण खाणले १ करोड २४ लाख लिएको प्रमाण खोइ ?’

पैसा कहाँ कसरी लिए भन्ने अनुसन्धानबाट नखुलेको जिकिर
बुधबार, ३१ जेठ २०८०, २० : ४१
बुधबार, ३१ जेठ २०८०

काठमाडौँ । पूर्व गृहमन्त्री बालकृष्ण खाणका तर्फबाट प्रतिरक्षा गर्ने कानुन व्यवासायीले भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउन खोज्ने गिरोहसँग खाणले पैसा लिएको पुष्टि नहुने जिकिर गरेका छन् ।

बुधबार वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, सुरेन्द्र कुमार महतो, गोपालकृष्ण घिमिरे, खम्मबहादुर खाती र अधिवक्ता ललित बस्नेतले खाणको पक्षबाट प्रतिरक्षा गरे ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेम प्रसाद न्यौपानेको इजलासमा सुरुवाती बहस गरेका वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले बालकृष्ण खाणलाई संगठित अपराध र ठगी मुद्दामा मात्र बयान गराएको बताए । श्रेष्ठले भने, ‘दुईवटा मुद्दामा मात्रै बयान गराउने अनि, अरु मुद्दा जोडेर अभियोगपत्र ल्याउन मिल्दैन ।’

खाणविरुद्ध सरकार पक्षले राष्ट्रहित विरुद्धको कसुर, किर्ते र एकीकृत कसुरमा पनि सजाय मागदाबी लिएको छ । शरणार्थी प्रकरणका योजनाकार मध्येका केशव प्रसाद दुलालले बालकृष्ण खाणलाई १ करोड २४ लाख ५० हजार नगद बुझाएको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

तर, वरिष्ठ अधिवक्ता श्रेष्ठले सो निष्कर्ष पुष्टि गर्न चुनौती दिएका छन् । ‘केशव दुलालले बयानमा बालकृष्ण खाणलाई पैसा दिएको खुलाएका छैनन्,’ श्रेष्ठले प्रश्न गरे, ‘पैसा कहाँबाट कसरी लिएको भनेर अनुसन्धानले भन्नुपर्दैन ?’

बालकृष्ण खाणलाई कसैले पोलेको अवस्था नभएको जिकिर गर्दै श्रेष्ठले भने, ‘जुन मुद्दामा बयान गराएको छैन, त्यो मुद्दा अदालत आउन सक्दैन ।’

खाणले पैसा लिएको पुष्टि नहुने हुनाले बिगो कायम हुन नसक्ने र उनलाई साधारण तारेखमा रिहा गर्नुपर्ने श्रेष्ठले बताए ।

वरिष्ठ अधिवक्ता सुरेन्द्र कुमार महतोले प्रहरीले प्रमाणको रुपमा पेस गरेको ‘चिट’ बालकृष्णलाई पक्राउ गरेको भोलिपल्ट मात्र बरामद गरेको खानतलासी मुचुल्का अभियोजनकर्ताले अदालतमा बुझाएको बताए । ‘खाणलाई पक्राउ गरेको भोलिपल्ट किन खानतलासी मुचुल्का गरियो ?’ महतोले भने, ‘पक्राउ गर्दाको अवस्थामा नगरेर भोलिपल्ट ब्यहोरा थपेर कागज बरामद गरेको अवस्था छ ।’

‘कागज’ बरामद गर्दा प्रतिवादी खाणलाई रोहवरमा नराखेको महतोको जिकिर छ । ‘विवादास्पद’ र नभएको प्रमाणको आधारमा खाणलाई थुनामा राख्न नमिल्ने महतोले बताए ।

वरिष्ठ अधिवक्ता खम्म बहादुर खातीले बालकृष्ण खाणलाई पक्राउ गरेर उनको विरुद्धमा प्रहरी अधिकृतहरुले मिडियामा सूचना चुहाएको आरोप लगाए । इजलासमा पत्रकारलाई प्रवेश दिएकोमा असन्तुष्टि जनाउँदै खातीले भने, ‘यो मुद्दा बन्द इजलासमा सुनुवाइ हुनुपर्ने थियो ।’

भुटानी बनेर अमेरिका जान खोज्नेहरु नै ‘अभियुक्त’ भएको उनको तर्क छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराधसम्बन्धी रिपोर्टिङ गर्छन् 

लेखकबाट थप