बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

रातोपाटी ब्रिफिङ : आजका शीर्ष समाचार

बुधबार, ०४ पुस २०८०, २० : ४२
बुधबार, ०४ पुस २०८०

काठमाडौँ । आज मिति २०८० साल पुस महिनाको ४ गते बुधबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुत ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ–

रुसी सेनामा नेपाली

रुसी सेनामा कार्यरत मृत्यु हुने नेपालीको संख्या ७ पुगेको छ । रुसी सेनामा कार्यरत थप एक नेपाली नागरिकको मृत्यु भएसँगै हालसम्म मृत्यु हुने नेपालीको संख्या ७ पुगेको हो । परराष्ट्र मन्त्रालयले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै  नेपाली राहदानी भएका कुन्दन सिंह नागलको मृत्यु भएको जनाएको छ । मन्त्रालयले नेपालका लागि रुसका राजदूतमार्फत रुसी सेनामा भर्ना भएर निधन भएका नेपाली नागरिकहरुको शव नेपाल पठाउन र घाइतेलगायतका पीडित परिवारहरुलाई क्षतिपूर्ति उपलब्ध गराउन पुनः आग्रह गरेको जनाएको छ ।  

युक्रेनी जेलमा ४ नेपाली रहेको सरकारले पुष्टि गरेको छ । परराष्ट्र मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै युक्रेनमा चार जना नेपाली बन्दी अवस्थामा रहेको जनाएको हो । 

न्यायाधीश नियुक्ति

सर्वोच्च अदालतमा ६ जना न्यायाधीश नियुक्त भएका छन् । संसदीय विशेष सुनुवाइ समितिबाट अनुमोदन भएसँगै बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरुलाई नियुक्त गरेका हुन् । नियुक्त हुनेहरुमा सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेक प्रसाद ढुंगाना, सुनील कुमार पोखरेल र बालकृष्ण ढकाल रहेका छन् । 

केही सांसदको असन्तुष्टिका बिच संसदीय सुनुवाइ समितिबाट सर्वोच्च अदालतका लागि ६ जना न्यायाधीश अनुमोदित भएका छन् । समितिबाट अनुमोदित भएका ६ जनालाई नै राष्ट्रपतिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरिसकेका छन् ।

सेना र सांसदबिच जुहारी

काठमाडौँ–तराई/मधेस द्रुत मार्ग (फास्ट ट्रयाक) को सम्बन्धमा संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले आज चार वटा निर्णय गरेको छ । चार घण्टाभन्दा बढी समय चलेको बैठकमा प्रधान सेनापति प्रभुराम शर्मालाई छलफलका लागि निम्त्याइएको थियो ।

प्रधान सेनापति प्रभुराम शर्माले फास्ट ट्रयाकको काममा भ्रष्टाचार हुन नदिने प्रतिबद्धता जनाएका छन् ।

सांसद रवि लामिछानेले फास्ट ट्र्याक निर्माणको गति कछुवा ट्र्याकमा अघि बढेको बताएका छन् । बुधवार राज्य व्यवस्था समितिको बैठकमा बोल्दै सांसद लामिछानेले नेपाली सेनाले पेश गरेको रिपोर्टप्रति असन्तुष्टि जनाउँदै सो कुरा बताएका हुन् ।

सांसद गगन थापाले सेनाले परिभाषित जिम्मेवारी गर्ने कि पूर्वाधार निर्माण भन्ने गम्भीर प्रश्न उठेको बताएका छन् । सांसद थापाले बुधवार राज्य व्यवस्था समिति बैठकमा बोल्दै सो कुरा बताएका हुन् ।

 

जनमत पार्टीको आन्दोलन

 जनमत पार्टीले विभिन्न समयमा आन्दोलन गरेका आन्दोलनकारीलाई काठमाडौँ बोलाएको छ । तर आन्दोलनकारीलाई काठमाडौँ बोलाएकोमा सो पार्टीको आलोचना भएको छ ।

बुढीगण्डकी जलविद्युत आयोजना

राष्ट्रिय गौरवका आयोजनामध्येको एक बुढीगण्डकी जलविद्युत आयोजनामा विगत १० वर्ष यता ४२ अर्ब ७१ करोड रुपैयाँ खर्च भइसक्यो । भौतिक प्रगति भने जम्मा २२ प्रतिशतमात्रै भएको छ । अहिलेसम्म भएको भौतिक प्रगति भनेको मुआब्जा वितरण मात्रै हो ।

सरकारको एक वर्ष

गत भदौ २५ र २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १२ देशका राजदूतलाई बोलाएर छलफल गरे । दुई दिनसम्म ‘श्रम आप्रवासनका सवाल र कूटनीतिक नियोग’ का विषयमा गहन छलफल भयो । छलफलबाट विभिन्न निर्णय गरियो ।

शेखर–गगन सहयात्रा

नेपाली कांग्रेसमा नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापाबिच समूहगत सहयात्राको मुकामबारे चर्चा भइरहेको छ । मङ्सिर २७ मा काठमाडौँको बत्तिसपुतलीमा भएको संस्थापन इतर पक्षको भेलापछि कोइराला र थापाको सहकार्यको मुकाम बहसमा आएको हो ।

नेपाली अभिनेत्रीको व्यस्तता

पछिल्लो समय नेपाली फिल्म क्रियाशील दुई दर्जनभन्दा बढी अभिनेत्री छन् । तै पनि यो क्षेत्रमा नायिकाको अभाव नै बताइन्छ । निर्माता निर्देशकको खोज सधैँ नव नायिकाको हुने गर्छ ।

अम्बर विष्ट सभामुख

कोशी प्रदेशसभाको सभामुख राप्रपाका सांसद अम्बरबहादुर विष्ट बन्ने पक्कापक्की भएको छ । प्रदेशसभामा सत्ता गठबन्धन दलहरु यसअघि नै राप्रपालाई सभामुख पद दिन तयार भएका थिए ।

ऋण थपियो

सरकारले चालु आर्थिक वर्षको पाँच महिनामा सार्वजनिक ऋणको साँवा र ब्याज भुक्तानमा ९१ अर्ब रुपैयाँ खर्च गरेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको रिपोर्ट अनुसार सरकारले मंसिर मसान्तसम्म आन्तरिक तथा बाह्य गरी कूल ९१ अर्ब ७६ करोड २३ लाख रुपैयाँ साँवा र ब्याज भुक्तान गरेको हो । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप