शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

दिनभरका शीर्ष समाचार : अध्यागमनमा कुटपिटदेखि क्रिकेटमा नेपाललाई सफलतासम्म

शुक्रबार, १२ माघ २०८०, २१ : ५०
शुक्रबार, १२ माघ २०८०

काठमाडौँ ।  आज मिति २०८० साल माघ महिनाको १२ गते शुक्रबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुति ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ–

अध्यागमनमा कुटपिट

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा भएको कुटपिटबारे छानबिन गर्न समिति गठन गरिएको छ । शुक्रबार अध्यागमनका कर्मचारीमाथि प्रहरीले कुटपिट गरेको घटना सार्वजनिक भएको थियो ।

गृह मन्त्रालयले सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो । समितिमा प्रहरीका प्रहरी नायब महानिरीक्षक राजेशनाथ बास्तोला र सीमा तथा अध्यागमन प्रशासन शाखाका उपसचिव कुल बहादुर जिसी सदस्य छन् ।

शुक्रबार बिहान चेकजाँच गर्ने क्रममा अध्यागमनका कर्मचारीले असभ्य बोलेको भन्दै प्रहरीले हातपात गरेका हुन् । शुक्रबार बिहान आफ्नो काम सकी फर्कने क्रममा अराइभलतर्फ रहेका प्रहरी कर्मचारीले शरीर खानतलासी गर्ने क्रममा अध्यागमनका कर्मचारीले असभ्य बोलेको भन्दै प्रहरीले कुटपिट गरेका हुन् ।

मेटल फ्री भई फर्कने क्रममा प्रहरीले शरीर खानतलासी गरेपछि कर्मचारीले मेटल फ्री भएपछि सधैँ यसरी त चेक गर्नु पर्दैन होला नि भनेकामा प्रहरीले कुटपिट गरेको अध्यागमन कर्मचारीको गुनासो छ । यद्यपि प्रहरीले आफ्नो जिम्मेवारी पूरा गर्दा कर्मचारीले असभ्य बोलेकाले धकेलाधकेलसम्म भएको तर कुटपिट नभएको दाबी गरेको छ ।

पाण्डेयको तीन वटा नागरिकता

नीति निर्माणको दायित्व बोकेको संघीय संसद् सचिवालयको महासचिवमा प्रस्तावित पद्मप्रसाद पाण्डेयले किर्ते गरी तीन वटा नागरिकता लिएको पुष्टि गर्ने कागजात  गृह मन्त्रालयले प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा पठाएको छ ।  मन्त्रालयले तयार गरेको छानबिन प्रतिवेदनमा पाण्डेयले दुई वटा राहदानी समेत लिएको उल्लेख छ ।

१५ दिनभित्र राय दिनुपर्ने

मन्त्रालयहरूले अर्को मन्त्रालय वा निकायमा राय, परामर्श वा सहमतिका लागि पठाएका फाइल अड्किएर धेरै काम रोकिएको गुनासो आएपछि सरकारले यस सम्बन्धमा नयाँ निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले रायरसहमति माग भएको १५ दिनभित्र फाइल उपलब्ध नगराए स्वतः सहमति प्रदान गरेको सरह मानी आवश्यक कारबाही प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।

१६ वर्षपछि पक्राउ

लागुऔषधका थुनुवालाई भगाएर फरार रहेका तत्कालीन प्रहरी १६ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहटको पथरावुधराम–३ का ४१ वर्षीय विरवलराय यादव रहेका छन् ।

इमेज सहकारी ठगी आरोपपछि फरार ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीविरुद्ध रेड कर्नर नोटिस जारी भएको छ । बागलुङ र पोखराका इमेज सहकारीको रकम अपचलन गरेको आरोपमा उनीविरुद्ध यसअघि नै पक्राउ पुर्जी जारी भएको थियो । तर हालसम्म उनलाई प्रहरीले समात्न सकेको छैन ।

माओवादी सुदूरपश्चिममा खटपट

माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता परिवर्तन गरिएसँगै पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको छ । सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता खगराज भट्टलाई संसदीय दलको बहुमतले हटाएको हो ।

शुक्रबार बसेको बहुमत सदस्यहरूको बैठकले सभाका प्रमुख सचेतक समेत रहेका मानबहादुर धामीलाई दलको नेता चयन गरेको थियो । उक्त निर्णय प्रदेशसभा सचिवालयमा पठाइसकेको नेता धामीले बताएका छन् ।

पण्डितद्वारा विभेदको आरोप

काभ्रेको भुम्लु गाउँपालिकामा दलितसँग बिहे गरेको भन्दै पुरेत नआएपछि पितृ कार्य रोकिएको छ । भुम्लु–२, सिमथलीका धर्मध्वज भण्डारीले दलित महिलासँग विवाह गरेकै कारण उनको घरमा गर्नुपर्ने पितृ कार्यका लागि पुरेत नआएको परिवारको आरोप छ ।

नेपाल विजयी

नेपाल आईसीसी यू–१९ विश्वकप  क्रिकेटको सुपर सिक्समा पुगेको छ । नेपालले अफगानिस्तानलाई १ विकेटले हराउँदै आफ्नो अघिल्लो यात्रा तय गरेको हो ।

नेपालको जितमा आकाश चन्द र कप्तान देव खनालको उत्कृष्ट प्रदर्शन रह्यो । समूह 'डी'बाट सुपर सिक्समा पुगेको नेपालले ४४.४ ओभरमा ९ विकेट गुमाउँदै लक्ष्य भेट्टाएको हो ।

नेपालको जितमा खनालले सर्वाधिक ५८ रनको योगदान दिए । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ४१ औँ ओभरको पहिलो बलमा सबै विकेट गुमाउँदै १४५ रन बनाएको थियो ।

र, यो पनि

नेकपा एकीकृत समाजवादीले केही नेताहरूको जिम्मेवारी हेरफेर गरेको छ । शुक्रवार बसेको सो पार्टीको सचिवालय बैठकले लुम्बिनी प्रदेश कमिटीका अध्यक्षसमेत रहेका सोमप्रसाद पाण्डेलाई रुपन्देहीको इन्चार्ज तोकेको छ ।

काठमाडौँको मुख्य सडक नयाँ बानेश्वर चोकको सडक भासिएको छ । सडक भासिँदा गुड्दै गरेको बस फसेको छ ।

चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री सुन हेयान नेतृत्वको प्रतिनिधि मण्डल नेपाल आइपुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप