सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
ब्रिफिङ

रातोपाटी ब्रिफिङ : आजका शीर्ष दश समाचार

आइतबार, १३ फागुन २०८०, २० : ५१
आइतबार, १३ फागुन २०८०

आज २०८० फागुन १३ गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

आजका मुख्य समाचारमा दुई न्यायाधीश बर्खास्त, बच्चा चोरी गर्ने महिलाविरुद्ध अपहरण तथा शरीर बन्धक मुद्दा, मन्त्री हेरफेरको चर्चा एकाएक सेलायो, सोमबार अर्थमन्त्रीले प्रि–बजेट प्रस्ताव पेस गर्ने, पशुपतिनाथको जग्गा खोज्न समिति गठन, प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचन वैशाख १५ मा, मिटरव्याज पीडितलाई सरकारले बोलायो वार्तामा लगायत छन् ।

१. दुई न्यायाधीश बर्खास्त
आइतबार बसेको न्याय परिषद् बैठकले न्यायाधीशद्वय डा. नवराज थपलिया र अम्बिकाप्रसाद निरौलालाई बर्खास्त गरेको छ । उच्च अदालत सुर्खेतको जुम्ला इजलासमा कार्यरत रहँदा न्यायाधीश थपलियाको सम्बन्धमा परेको उजुरीमाथिको प्रारम्भिक छानबिनले विस्तृत छानबिनका लागि सिफारिस गरेको थियो । त्यसैगरी काठमाडौँ जिल्ला अदालतमा रहँदा अपहरण तथा फिरौती लिने कार्यमा संलग्न नेपाली नागरिकलाई भारतीय नागरिक भनी सफाइ दिएको आरोप न्यायाधीश निरौलामाथि थियो ।

२. बच्चा चोरी गर्ने महिलाविरुद्ध अपहरण तथा शरीर बन्धक मुद्दा
थापाथलीस्थित प्रसूति तथा स्त्रीरोग अस्पतालबाट बच्चा चोरेको आरोपमा पक्राउ गरिएकी महिलाविरुद्ध प्रहरीले अपहरण तथा शरीर बन्धक मुद्दा चलाउने भएको छ । दैलेखको नौमुले गाउँपालिका–१ घर भएर काँडाघारी बस्ने मनकुमारी सिंहबिरुद्ध अपहरण तथा शरीर बन्धक मुद्दा चलाउने निर्णय गरिएको काठमाडौँका एसएसपी भुपेन्द्र खत्रीले रातोपाटीलाई बताए ।

३. मन्त्री हेरफेरको चर्चा एकाएक सेलायो
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्री हेरफेर गर्ने घोषणा गरे पनि पछिल्लो समय सो चर्चा एकाएक सेलाएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार मन्त्री हेरफेरको विषय गठबन्धनमा प्रवेश गरे पनि घनिभूत छलफल भइसकेको छैन ।

४. सोमबार अर्थमन्त्रीले प्रि–बजेट प्रस्ताव पेस गर्ने
सोमबारको प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८१/०८२ को प्रि–बजेट प्रस्ताव पेस हुने भएको छ । आइतबार बसेको संसदको कार्यव्यवस्था परामर्श समितिको बैठकले फागुन महिनाको संसदको क्यालेन्डर तय गर्दै सोमबारको बैठकमा अर्थमन्त्रीले प्रि–बजेट प्रस्ताव पेस गर्ने सहमति भएको हो ।

५. पशुपतिनाथको जग्गा खोज्न समिति गठन
पशुपतिनाथको गायब भएको दुई सय ३१ रोपनी १० आना सहितको जग्गा खोज्न सरकारले पूर्व सचिव दामोदर रेग्मीको नेतृत्वका समिति गठन गरेको छ । रातोपाटीले गत माघ १७ गते ‘जय शम्भो ः पशुपतिनाथको जग्गा २३१ रोपनी कम भो !’ शीर्षकमा समाचार छापेको करिब एक महिनापछि समिति गठन भएको हो ।

६. प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचन वैशाख १५ मा
निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको रिक्त सिटमा उपनिर्वाचनको मिति घोषणा गरेको छ । जस अनुसार प्रतिनिधिसभा अन्तर्गत इलाम निर्वाचन क्षेत्र नम्बर २ र प्रदेशसभा अन्तर्गत सुदूरपश्चिम प्रदेशको बझाङ ‘१’को रिक्त प्रदेशसभा सिटमा उपनिर्वाचन हुने भएको हो ।

७. मिटरव्याज पीडितलाई सरकारले बोलायो वार्तामा
सरकारले मिटरब्याज पीडितहरूलाई वार्ताका लागि बोलाएको छ । काठमाडौँ केन्द्रित आन्दोलनमा रहेका पीडितहरूलाई गृह मन्त्रालयले वार्ताका लागि बोलाएको हो । गृहले मन्त्रालयका सहसचिव रुद्र प्रसाद पण्डितको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ । आन्दोलनरत पीडितहरूलाई बढीमा पाँच सदस्यीय वार्ता टोली गठन गरी मन्त्रालयमा उपस्थित हुन गृह मन्त्रालयले अनुरोध गरेको हो ।

८. नौलो गणतन्त्र र सामाजिक लोकतन्त्रका लागि जनमत पार्टीले आन्दोलन गर्ने
डा. सीके राउत नेतृत्वको जनमत पार्टी यतिखेर नौलो गणतन्त्र र सामाजिक लोकतन्त्रका लागि आन्दोलनको तयारीमा जुटेको छ । सो पार्टीले गणतन्त्र दिवसका दिन जेठ १५ गते काठमाडौँमा त्यसका लागि पहिलो शक्ति प्रदर्शन गर्ने भएको छ ।

९. राष्ट्र बैंक अगाडि भाँडा ठटाएर लघुवित्त पीडितको प्रदर्शन
देशका विभिन्न स्थानबाट पैदल यात्रा गरेर आएका लघुवित्त पीडितहरूले आज पनि प्रदर्शन जारी राखेका छन् । उनीहरूले सिफलबाट थाल चम्चालगायतका भाँडा ठटाउँदै राष्ट्र बैंक छिर्ने बाटोसम्म पुगेर कोणसभा गरेका हुन् ।

१०. घरेलु मैदानमै नेपाली क्रिकेट टोलीको निराशाजनक प्रदर्शन
आईसीसी क्रिकेट विश्व कप लिग–२ प्रतियोगिता अन्तर्गतको त्रिकोणात्मक शृङ्खला सकिएको छ । आगामी आईसीसी एकदिवसीय विश्वकपमा छनोट हुनका लागि निकै महत्त्वपूर्ण प्रतियोगिताका रूपमा रहेको लिग–२ शृङ्खलामा घरेलु टोली नेपालको सुरुआत निराशाजनक रह्यो ।

लिग–२ प्रतियोगिताको नयाँ सिजनमा यो पहिलो शृङ्खला हो । पहिलो शृङ्खला नै घरेलु मैदानमा हजारौँ समर्थकबिच खेल्ने अवसर पाए पनि नेपालले गतिलो प्रदर्शन गर्न सकेन । शृङ्खलामा नेपालले चारमध्ये एक खेलमा मात्र जित हात पार्न सक्यो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप