शनिबार, १० जेठ २०८२
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१२ बजे, १२ समाचार : रघु जी पन्त शिक्षामन्त्री नियुक्तदेखि सिंहदरबारमा बोतल र जारको पानी प्रयोग बन्द गरिनेसम्म

बिहीबार, ११ वैशाख २०८२, ०० : २२
बिहीबार, ११ वैशाख २०८२

काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ– 

हजार बढी योजना
कोशी प्रदेश आयोजना बैंकमा सोमबार एकै दिन एक हजारबढी आयोजना इन्ट्री भयो । आयोजना बैंकमा समावेश भएका योजनालाई मात्रै बजेटमा समावेश गर्ने कानुनी व्यवस्था कार्यान्वयनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि कडाइ गर्दै आएको छ । सोही अनुसार प्रदेश योजना आयोगले वैशाख १० गतेसम्मका लागि प्रदेशका सबै मन्त्रालयलाई आयोजना प्रविष्ट गर्ने समयावधि तोकेको छ । 

शिक्षक आन्दोलनले निम्त्याएको असर
शिक्षकहरू विगत २१ दिनदेखि सडक आन्दोलनमा छन् । गत चैत २० गतेदेखि सामुदायिक विद्यालयका शिक्षक तथा विद्यालय कर्मचारीहरू सडक आन्दोलनमा रहेका हुन् । उनीहरूले विगतमा आफूहरूसँग गरिएको सहमतिअनुसार विद्यालय शिक्षा ऐन जारी नहुँदासम्म सडक नछाड्ने अडान राखेका हुन् । 

रघुजी पन्त शिक्षामन्त्री नियुक्त
प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ ‘कान्छाराम’ लाई बर्खास्त गरेका छन्। सरकारले गरेका निर्णय विरुद्ध सार्वजनिक विरोध गरेसँगै ओलीले तामाङलाई बुधबार अपराह्न बर्खास्त गरेका हुन्। 

सरकार
राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षामन्त्रीमा एमाले नेता रघुजी पन्तलाई नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले बुधबार पन्तलाई शिक्षामन्त्रीमा नियुक्त गरेका हुन् । 

ओलीको चुनौती
 ‘केपी ओलीविनाको एमाले कसैले कल्पना गरेको छ भने त्यो पूरा हुँदैन,’ एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा दिएको चुनौती हो यो ।

तीनकुने घटना
 मेडिकल व्यवसायी दुर्गा प्रसाईं र रवीन्द्र मिश्र सहितका २४ जनालाई अदालतले थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । न्यायाधीश ध्रुवराज कार्कीको इजलासले थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो । 

कांग्रेस केन्द्रीय समिति बैठक
वैशाख १७ गतेका लागि बोलाइएको सत्तारुढ नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ ।  वैशाख १२ गतेबाट बोलाइएको संघीय संसद्को बर्खे अधिवेशन नियमित बस्ने निर्णय भएसँगै पार्टीको बैठक स्थगित गरिएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

गभर्नर नियुक्ति प्रकरण
नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा अन्योल बढेको छ । गभर्नर नियुक्तिका लागि बनेको सिफारिस समितिका सदस्य पूर्वगभर्नर डा। विजयनाथ भट्टराईले मंगलबार राजीनामा दिएसँगै अन्योल बढेको हो ।

नेपाल सुपर लिग
धनगढी एफसीलाई स्तब्ध बनाउँदै पोखरा थन्डर्स नेपाल सुपर लिगको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको दोस्रो क्वालिफायरमा पोखरा १–० गोलले विजयी बनेको हो ।

एनआरएनए एकता महाधिवेशनको निर्वाचन तालिका 
गैरआवासीय नेपाली संघ (एनआरएनए)को उच्चस्तरीय समितिले एकता महाधिवेशनको निर्वाचन तालिका सार्वजनिक गरेको छ । निर्वाचन समितिले बुधबार वैशाख २१ गते निर्वाचन गराउने गरी कार्यतालिका सार्वजनिक गरेको हो । एनआरएनएको एकता महाधिवेशन भने वैशाख २० देखि २२ गते ९मे ३–५० सम्म काठमाडौँमा भौतिक रुपमा सम्पन्न हुँदैछ । 

सिंहदरबारमा बोतल र जारको पानी प्रयोग बन्द गरिने
काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा बोतल र जारको पानी प्रयोग बन्द गरिने बताएका छन् । आज सिंहदरबारभित्रमा मेलम्चीको खानेपानी वितरणका लागि धारा निर्माण गर्ने ठाउँको अनुगमन गर्दै उनले वर्षौंदेखि सिंहदरबारमा प्रयोग गरिँदै आएको जार र बोतलको पानी प्रयोग अब सदाका लागि बन्द गरिने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?