आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
रातोपाटी ब्रिफिङ

१२ बजे १२ समाचार : चिकित्सकसँग ३ बुँदे सहमति, दुई महामन्त्रीलाई देउवा सन्देश

बुधबार, २५ असार २०८२, ०० : ००
बुधबार, २५ असार २०८२

सारांश

  • चिकित्सक संघ र सरकारबीच ३ बुँदे सहमति, स्वास्थ्य सेवा पुनः सुचारु हुने।
  • भोटेकोशी नदीमा आएको बाढीमा परेर २० जना बेपत्ता, उद्धार कार्य जारी।
  • सर्वोच्च अदालतले कर फर्छ्यौट आयोगका पदाधिकारीविरुद्धको मुद्दामा विशेष अदालतको फैसला बदर गर्यो।

आज २०८२ असार २४ गते मंगलबार । आज दिनभरका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटी डटकम नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा १२ बजे १२ समाचार  लिएर आएको छ–

  • ३ बुँदे सहमति 

नेपाल सरकार र चिकित्सक संघबीच ३ बुँदे सहमति भएको छ । मंगलबार सहमति भएसँगै आजैबाट स्वास्थ्य सेवा सुचारु भएका छन् । कानुनी संशोधन गर्न सुझावसहित प्रतिवेदन पेस गर्न कार्यदल गठन गर्ने सहमति भएको छ । 

  • भोटेकोशी नदीमा बाढी

भोटेकोशी नदीमा मंगलबार बिहान आएको बाढीमा परेर २० जना बेपत्ता भएका छन् । जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार बेपत्ता हुनेमा ३ जना नेपाल प्रहरी तथा ६ जना चिनियाँ नागरिक रहेका छन् । चीनतर्फबाट बिहान ३ बजे रसुवागढी नाका भई नेपाल प्रवेश गर्ने भोटेकोशी नदीमा बाढी आएको थियो । बाढीमा फसेका ५५ जनाको नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीको उद्धार गरेको कार्यालयले जानकारी दिएको छ ।

  • एमसीसीको अन्योल

गत असार ४ गते बुधबार नेपालस्थित अमेरिकी दूतावासले अमेरिकाको अनुदानसम्बन्धी सम्झौता ‘मिलेनियम च्यालेन्ज कम्प्याक्ट’ कार्यान्वयनलाई निरन्तरता दिने र पूर्ण कार्यान्वयन गर्ने भन्दै विज्ञप्ति निकाल्यो । अमेरिकी सरकारी प्रभावकारिता विभाग (डज) को सिफारिसमा विश्वभर तीन महिनाका लागि परियोजना स्थगित गर्ने निर्णय भएपछि पछिल्लो पाँच महिनादेखि एमसीसी परियोजनाको कार्यान्वयन निरन्तर हुने वा नहुने भन्नेमा अन्योल थियो । उक्त अन्योलबिच दूतावासको विज्ञप्तिले पूर्ण कार्यान्वयनका लागि निरन्तरता पाउने जानकारी गरायो ।

  • बीमा प्राधिकरणले ल्यायो वार्षिक नीति

नेपाल बीमा प्राधिकरणले आफ्नो इतिहासमै पहिलोपटक वार्षिक बीमा नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । साउन १ गतेदेखि लागू हुने गरी प्राधिकरणले आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । 

  • प्रधानमन्त्रीको स्पेन भ्रमणबारे प्रश्न

प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणका क्रममा भिजिट भिसामा गएका व्यक्तिहरू नफर्किएको आरोप लगाएको छ । मंगलबारको प्रतिनिधिसभा बैठकमा रास्वपा सांसद सोविता गौतमले प्रधानमन्त्रीसँग स्पेनमा हुने कार्यक्रममा सहभागी हुने बहानामा गएको र नफर्किएको समाचारहरू आएको बताइन् । 

  • न्यायालय

 सर्वोच्च अदालतले कर फर्छ्यौट आयोगका पदाधिकारीहरूविरुद्धको मुद्दामा विशेष अदालतले गरेको फैसला बदर गरेको छ । 

नेपाल बार एसोसिएसनले सर्वोच्च अदालत र उच्च अदालतमा रिक्त रहेका न्यायाधीशको नियुक्ति सिफारिस गर्दा कानुन व्यवसायीको सम्मानजनक प्रतिनिधित्व हुने गरी नियुक्ति सिफारिस गर्न न्याय परिषद् समक्ष आग्रह गरेको छ ।

 सर्वोच्च अदालतले कर फछ्र्यौट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत र आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणी शर्मालाई थुनामुक्ता गर्न अस्वीकार गरेको छ ।

नेपाल टेलिकमकी निलम्बित प्रबन्ध निर्देशक सङ्गीता पहाडीलाई विशेष अदालतले पुर्पक्षका लागि २ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश गरेको छ । 

गभर्नरमा अर्थविद् विश्व पौडेलको नियुक्ति बदरका लागि दायर रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीशद्वय कुमार रेग्मी र महेश शर्मा पौडेलको इजलासले पौडेलको गभर्नर पद बदर गर्न आदेश दिन अस्वीकार गरेको हो । 

  • कांग्रेस बैठक

 मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरूको बैठकमा कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा उठेका विषयबारे चर्चा भएको छ ।

 सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकको अन्तिम दिन सोमबार सभापति शेरबहादुर देउवा र महामन्त्री विश्वप्रकाश शर्माबिच नोकझोक नै भयो । पार्टी कार्यालय सानेपामा बसेको बैठकको अध्यक्षता गरिरहेका सभापति देउवाले महामन्त्री शर्मालाई मात्रै होइन, धारणा राख्ने क्रममा बिचमै अर्का महामन्त्री गगन थापालाई समेत रोके । 

यसैबीच देउवाले दुई महामन्त्रीलाई बैठकबाटै सन्देश दिएका छन् ।

  • महामन्त्रीमा लफडा

 राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) एकपछि अर्को कानुनी तथा संवैधानिक झमेलामा फस्दै गएको छ । सहकारी ठगी आरोपमा मुद्दा खेपेका पार्टी सभापति रवि लामिछाने अहिले पुर्पक्षका लागि भैरहवा जेलमा छन् । रवि जेलमै रहेको वेला पूर्वमहामन्त्री डा. मुकुल ढकालले पार्टीको आधिकारिक महामन्त्री आफू नै भएको दाबी सहित असार १२ गते सर्वोच्च अदालतमा मुद्दा दायर गरे । ढकालले दायर गरेको रिटमाथि सुनुवाइका लागि अदालतले बुधबार दुवै पक्षलाई बोलाएको छ ।

  • देशको वर्तमान आर्थिक स्थिति 

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको ११ महिनाको तथ्यांकमा आधारमा ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ सार्वजनिक गरेको छ । बैंकले मंगलबार सार्वजनिक गरेको साउनदेखि जेठसम्मको तथ्यांक अनुसार वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति २.७२ प्रतिशत रहेको छ ।

  • हितेन्द्रको १०० दिन

 नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पद बहाली गरेको सय दिनमा गरिएकाे कामको प्रगति विवरण सार्वजनिक गरेका छन् ।  मंगलबार प्राधिकरणकै कार्यालयमा पत्रकार सम्मेलन गरी बहाली गरेको सय दिनमा गरेका कामको विवरण सार्वजनिक गरेका हुन्।

  • दमक भ्यूटावरको जग्गा प्रकरण

देशकै एक महत्त्वाकाङ्क्षी परियोजनाको रूपमा प्रचार गरिएको दमक भ्यूटावर उदघाटन भएको एक वर्ष हुन लाग्दा पनि सञ्चालनमा आउन सकेको छैन । भ्यूटावर सञ्चालनमा नआउँदै निर्माणस्थलको जग्गा प्राप्तिको सहमति र सम्झौता कार्यान्वयन नभएको भन्दै हाउजिङ कम्पनीले जग्गा फिर्ता मागेपछि नयाँ विवाद सुरु भएको छ ।

  • कर्णालीमा रमिता

 कर्णाली प्रदेश सभाको मंगलबारको बैठकमा अनौठो दृश्य देखियो । प्रदेशसभामा सत्तारुढ गठबन्धनकै सबैभन्दा ठुलो दल नेपाली कांग्रेसका सांसदले सरकारविरुद्ध उभिएर सदन अवरुद्ध गरेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप