१२ बजे, १२ समाचार: बीमा प्राधिकरणका अध्यक्षमाथि छानबिन गर्न समिति गठन, एमालेमा रडाको
आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा ‘१२ बजे १२ समाचार’ लिएर उपस्थित भएका छौँ–
१. एमालेमा रडाको
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको एघारौँ महाधिवेशनमा अध्यक्षको दाबी गर्ने प्रस्ट सन्देश दिएपछि पार्टीभित्र हलचल पैदा भएको छ । असार १४ गते तत्कालीन महासचिव मदन जयन्तीको अवसर पारेर भण्डारीले पुनः एमालेको राजनीतिमा जोडिएको घोषणा गरेकी थिइन् ।
२. अर्बौँको राजस्व गुमाउँदै राज्य
जुम्लाको तिला गाउँपालिकाले चालु आर्थिक वर्षको लागि ल्याएको बजेटमा आन्तरिक स्रोतबाट जम्मा २० लाख रुपैयाँ बराबरको राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको छ । यो माथिल्ला तहका सरकारबाट प्राप्त हुने चार प्रकारका अनुदान र सूत्रमा आधारित राजस्व बाँडफाँट बाहेकको हिस्सा हो ।
३. मन्त्रिपरिषद् बैठक
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार साँझ नियमित मन्त्रिपरिषद् बैठक बसेको ।
- छानबिन
सरकारले पूर्व न्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझामाथि छानबिन गर्न समिति बनाएको छ ।
- शर्मा नियुक्त
राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्षमा खगराज शर्मा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई अध्यक्ष पदमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए ।
यसअघि अध्यक्ष सिफारिसका लागि लोक सेवा आयोगका अध्यक्षको नेतृत्वमा रहेको समितिले शर्मासहित तीनजनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो ।
४. तीन दलका शीर्ष नेताहरूबिच छलफल
प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता साझेदार नेकपा (एमाले), नेपाली कांग्रेस र जनता समाजवादी पार्टी नेपालका शीर्ष नेताहरुबिच सोमबार छलफल भएको छ ।
५. सरकारको एक वर्ष
नेपाली कांग्रेस र नेकपा एमाले संसद्का दुई ठुला दल मिलेर सरकार बनेको असार ३० गते एक वर्ष पूरा हुँदै छ । तर यी दुई दलले जुन सहमति गरेर सरकार निर्माण गरेका थिए त्यो आफैँले पूरा गर्न नसकेको देखिएको छ । अर्थात् निकै ठुलो उपलब्धि हासिल गर्न भनेर रातारात बनाइएको सरकार ‘फेल’ भएको धेरैले टिप्पणी गरेका छन् । उनीहरूसबिचको सहमति कार्यान्वयन पक्ष अति नै कमजोर देखिएको छ ।
६. पाँच करोडमै खरिद !
कोशी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयअन्तर्गत आपूर्ति व्यवस्थापन केन्द्रले स्वास्थ्य उपकरण खरिदमा व्यापक अनियमितता गर्ने गरेको आशङ्कालाई बल पुग्ने गरी मन्त्रालयबाटै एक तथ्याङ्क सार्वजनिक भएको छ ।
७. संसद्मा प्रचण्ड
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार र सत्ता गठबन्धनले सार्वभौम संसद्लाई नै बिचौलियाको खेल मैदान बनाएको गम्भीर आरोप लगाएका छन् । सोमबार प्रतिनिधिसभा बैठकलाई विशेष सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले आफू नेतृत्वको सरकारलाई हटाएर दुई ठुला दल मिलेर बनेको सरकारले एक वर्षको अवधिमा जनताको पक्षमा कुनै काम गर्न नसकेको बरु सरकार र संसद् दुवै बिचौलियाको खेल मैदान बनेको आरोप लगाएका हुन् ।
८. गण्डकीको बजेट
चालु आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारले २२ अर्ब ९३ करोड रुपैयाँ बजेट खर्च गर्यो । ३२ अर्ब ९७ करोडको बजेट ल्याएको सरकारले करिब ७० प्रतिशत खर्च गरेको हो । चालुतर्फ ६० प्रतिशत अर्थात् ७ अर्ब ९३ करोड र पुँजीगततर्फ ७६.७३ प्रतिशत अर्थात् १४ अर्ब ९९ करोड खर्च भएको हो ।
९. शेखर–गगनबिच कित्ताकाट
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले २०७९ सालमा भएका तीन तहका निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध लागेको भन्दै असार २३ गते बुधबार २३ नेता–कार्यकर्तालाई कारबाही गर्यो । ५ सदस्यीय अनुशासन समितिमा बहुमतले अनुशासनको कारबाही गरेपछि पार्टीभित्र नेता डा. शेखर कोइराला नेतृत्वको इतर समूहले विरोध गरेको छ ।
१० .जग्गाको मूल्य
काठमाडौँ महानगपालिकाले जग्गाको सरकारी मूल्यांकन गरेको छ । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि ल्याएको आर्थिक ऐन अनुसार सबैभन्दा उच्च मूल्य ५० लाख रुपैयाँ प्रतिआना छ । महानगरपालिकाले सम्पत्ति कर मूल्यांकन गर्न जग्गाको प्रतिआना मूल्य तोकेर प्रस्ताव गरेको हो ।
११. वनमन्त्रीको एक वर्ष
नेपाल सरकारका वन तथा वातावरणमन्त्री ऐन बहादुर शाही ठकुरीले जिम्मेवारी सम्हालेको एक वर्ष पूरा भएको अवसरमा आफ्ना उपलब्धि सार्वजनिक गरेका छन् । उनले मन्त्रीको जिम्मेवारी सम्हालेको सोमबार एक वर्ष पूरा भएको हो ।
१२. काठमाडौँ भ्यु टावरको ‘निर्माण साझेदार’ नरेश चेङवाङ पक्राउ
पुरानो बसपार्कमा ‘काठमाडौँ भ्यु टावर’ निर्माणको काम गरिरहेका व्यवसायी मनोज भेटवालका साझेदारलाई प्रहरीले पक्राउ गरेको छ । व्यापारिक साझेदार नरेश कुमार चेङवाङ काठमाडौँको न्युरोडबाट पक्राउ परेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण