१२ बजे १२ समाचार: भूमि विधेयकमा सांसदहरुको शंका, मधेसमा सवारी दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या बढ्दो
सारांश
- संसदीय समितिमा भूमि सम्बन्धी विधेयक पारित हुन सकेन, सांसदहरूको शंकाका कारण बैठक स्थगित गरियो।
- काठमाडौँ उपत्यकामा गाईजात्रा पर्व मनाइयो, जसमा दिवंगत आफन्तको सम्झनामा विभिन्न कार्यक्रमहरू भए।
- रास्वपाले रुपन्देही-३ को उपनिर्वाचनका लागि ९ जना उम्मेदवारको सूची सार्वजनिक गर्यो, जसमा उम्मेदवार छनोट विधिमा परिवर्तन आउन सक्ने सम्भावना छ।
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ–
१. संसदीय समितिमा अड्कियो भूमि सम्बन्धी विधेयक
संसदीय समितिमा विचाराधीन भूमि विधेयक आज पनि पारित हुन सकेन । संसदको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा आइतबार मन्त्रालयले पेस गरेको संशोधित प्रतिवेदनमा समितिका सदस्यहरूले आशंका गरेपछि अध्ययनका लागि भन्दै बैठक स्थगित गरिएको हो ।
२. गाईजात्रा मनाइयो
काठमाडौँ उपत्यकामा आइतबार गाईजात्रा पर्व मनाइएको छ । एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा यो पर्व मनाउने गरिन्छ ।
३. रास्वपाले रुपन्देही–३ मा कसलाई बनाउला उम्मेदवार ?
रुपन्देही–३ मा हुन लागेको उपनिर्वाचनमा रास्वपाले उम्मेदवारका लागि ९ जनाको सूची सार्वजनिक गरेको छ । ती ९ जनामध्येबाट उम्मेदवारको टुङ्गो लगाउन प्रक्रिया अघि बढाइएको छ । यद्यपि, रास्वपाको उम्मेदवार छनोट विधिमा ती ९ जना नै अस्वीकृति हुन सक्ने प्रावधानसमेत छ । त्यो अवस्थामा उम्मेदवार छान्न फेरि नयाँ प्रक्रिया सुरु गर्नुपर्ने हुन सक्छ ।
४. मधेसमा सवारी दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या बढेको बढ्यै
मधेस प्रदेशका ८ जिल्लामा सवारी दुर्घटना र त्यसबाट भएको मानवीय क्षतिको सङ्ख्या बर्सेनि बढ्दै गएको छ । राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, पथलैयाका अनुसार ३ वर्ष यता सवारी दुर्घटनाको सङ्ख्या लगातार बढ्दै गएको हो ।
५. कर्णालीका ३५ प्रतिशत महिला घरमै हुन्छन् सुत्केरी
कर्णालीको सामाजिक विकास मन्त्रालयले प्रदेशका महिलाको स्वास्थ्य र सामाजिक अवस्थाको चिन्ताजनक चित्र सार्वजनिक गरेको छ । सुरक्षित सुत्केरीदेखि बालविवाहसम्मका तथ्याङ्क मन्त्रालयले सार्वजनिक गरेको हो ।
६. बानियाँले पाउलान् विश्वासको मत ?
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँ साउन २७ गते प्रदेश सभाबाट विश्वासको मत लिने तयारीमा छन् । यद्यपि, उनलाई आफ्नै पार्टीबाट विश्वासको मत पाउन सकस बढ्दो छ । आफैँले संसदीय दलको नेताबाट विस्थापन गरेका बहादुर सिंह लामा नै बानियाँका लागि चुनौती बनेका छन् । आफ्ना पक्षका तीन जनालाई मन्त्री नियुक्त नगरे सामूहिक राजीनामा दिनेसम्मको तयारीमा लामा पक्ष जुटेको छ ।
७. दोस्रो तहका कम्युनिस्ट नेताहरू छलफलमा
विभिन्न कम्युनिस्ट पार्टीका दोस्रो तहका नेताहरू निरन्तरजसो छलफलमा जुटेका छन् । सोही क्रममा पछिल्लो पटक नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठबिच भेटवार्ता भएको छ।
८. मन्त्री हेरफेरबारे कांग्रेस–एमाले छलफलमा
केपी शर्मा ओली नेतृत्वको सरकारमा केही मन्त्री हेरफेरका लागि कांग्रेस र एमालेका शीर्ष नेताहरूबिच छलफल भएको छ ।
९. आर्यघाटमै मानव हड्डी किनबेच
पशुपति आर्यघाटमा जलाउँदै गरेको शवबाट हड्डी चोरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । शव जलाउने जिम्मा लिएका काभ्रे घर भएका गणेश ढकाल र उनलाई सहयोग गर्दै आएका उदयपुरका विनायक मैनालीले शुक्रबार साँझ शवको हड्डी निकालेर बेचेको आरोप छ ।
१०. माओवादीमा एजेण्डा बिर्सिएर व्यक्ति केन्द्रित बहस
नेकपा माओवादी केन्द्रको हालै सम्पन्न स्थायी समिति बैठकमा अध्यक्ष प्रचण्डले १० वटा एजेण्डा प्रस्तुत गरे पनि ती एजेण्डा पन्छाएर व्यक्ति केन्द्रित बहसमै समय खर्च गरियो । यसबारे रातोपाटीले विशेष सामग्री तयार पारेको छ ।
११. कैलाली कारागारमा तनाब कायमै
शुक्रबार साँझदेखि कैदी बन्दीले नियन्त्रणमा लिएको कैलाली कारागार अझै प्रशासनको नियन्त्रणमा आउन सकेको छैन । कारागारमा शुक्रबार राति भएको झडपमा एक जनाको मृत्यु र ४९ जना घाइते भएपछि प्रशासनले अहिलेसम्म नियन्त्रणमा लिन नसकेको हो ।
१२. लखेटेर लडाएपछि १३ वर्षीय बालिकाको सामूहिक बलात्कार
दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–८ मा दुई युवकले राति लखेटेर लडाएपछि एक १३ वर्षीय बालिकाको सामूहिक बलात्कार गरेको घटना प्रकाशमा आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने विरूद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण