शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१२ बजे १२ समाचार: ‘कुलिङ अफ पिरियड’मा एक्लियो एमाले, शिक्षा विधेयकमा अझै जुट्न सकेन सहमति

सोमबार, ०२ भदौ २०८२, २३ : ५१
सोमबार, ०२ भदौ २०८२

सारांश

  • एमाले ‘कुलिङ अफ पिरियड’ मा एक्लिएको छ भने गौर हत्याकाण्डमा उपेन्द्र यादवमाथि अनुसन्धान हुने भएको छ।
  • शिक्षा विधेयकमा सहमति जुट्न सकेन भने दुर्गा प्रसाईंले राजनीतिक दल खोल्ने घोषणा गरेका छन्।
  • रवि लामिछानेको स्वास्थ्यमा समस्या देखिएको छ भने दुई सुरक्षा निकायका प्रमुखले भदौमा अवकाश पाउने भएका छन्।

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ–

१. ‘कुलिङ अफ पिरियड’मा एक्लियो एमाले

‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ को दफा ८२ को उपदफा ४ मा रहेको निजामती कर्मचारीको ‘कुलिङ अफ पिरियड’को प्रावधानमा सत्ताको नेतृत्वकर्ता नेकपा एमाले राष्ट्रिय सभामा एक्लिएको छ।

२. गौर हत्याकाण्डमा उपेन्द्र यादवमाथि अनुसन्धान हुने

सर्वोच्च अदालतले १९ वर्ष अघि भएको गौर हत्याकाण्डमा छानबिन गरी कारबाहीको माग गर्दै दायर रिटमा परमादेश जारी गरेको छ । २७ माओवादी कार्यकर्ताको हत्या भएको सो घटनामा उपेन्द्र यादव नेतृत्वको तत्कालीन मधेसी जनअधिकार फोरमका नेता–कार्यकर्ता संलग्न रहेको दाबी गरिँदै आएको छ । सर्वोच्च अदालतको परमादेशसँगै सो घटनाको अनुसन्धानका लागि बाटो खुलेको छ ।

३. शिक्षा विधेयकमा अझै जुट्न सकेन सहमति

प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सोमबार बसेको बैठकमा पनि विद्यालय शिक्षासम्बन्धी विधेयकमा सहमति जुट्न सकेन । सिंहदरबारस्थित समितिको हलमा बसेको बैठकमा शिक्षा मन्त्रालयका तर्फबाट पेस भएको प्रस्तावमा सांसदहरूले असहमति जनाएका हुन् ।

४. दुर्गा प्रसाईंले गरे दल खोल्ने घोषणा

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राजनीतिक दल खोल्ने घोषणा गरेका छन् । सोमबार पत्रकार सम्मेलन गर्दै उनले आफू व्यवसायी भए पनि देश र जनताको अवस्था टुलुटुलु हेरेर बस्न नसकेकाले राजनीतिक दल खोल्ने निश्चय गरेको बताए ।

५. ओलीको भारत भ्रमणको सम्भावित एजेन्डाबारे छलफल गरेर फर्किए भारतीय विदेश सचिव

नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव सोमबार स्वदेश फर्किएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको सम्भावित एजेन्डाबारे छलफल गरेर उनी स्वदेश फर्किएका हुन् ।

६.  रवि लामिछानेको स्वास्थ्यमा समस्या

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको स्वास्थ्यमा समस्या देखिएको छ । हालै भैरहवाबाट स्थानान्तरण गर्दै नख्खु कारागारमा ल्याइएका लामिछानेको स्वास्थ्यमा सोमबार समस्या देखिएको हो । कारागारमै चिकित्सकको टोली पुगेर उनको स्वास्थ्य चेकजाँच गरेको छ । 

७. किन मौन छन् क्यान अध्यक्ष चन्द ?

गत साउन २० गते रातोपाटीको एक भिडियो सेयर गर्दै राष्ट्रिय क्रिकेट टोलीका खेलाडी करण केसीले नेपाल टी–ट्वान्टी लिगको पैसा खेलाडीहरूले अझै नपाएको उल्लेख गरेका थिए । 

करणले सामाजिक सञ्जालमा लेखेका थिए– ‘नेपाल टी–२० लिगलाई कसले दियो क्लिन चिट ? खेलाडीले अझै पैसा पाएका छैनन् ।’ त्यसपछि क्यान अध्यक्ष चन्दले खेलाडीको बाँकी पैसा चाँडै दिने बताएका थिए । 

८. राजु गोर्खाली: २०४९ देखि पक्राउ पर्दै छुट्दै

गुण्डा नाइके राजु गोर्खाली ‘राजेन्द्र’ अहिले भद्रकालीस्थित काठमाडौँ प्रहरीको हिरासतमा छन् । आइतबार चन्द्रागिरीस्थित चोभारबाट पक्राउ परेका गोर्खालीलाई अदालतले ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । उनी २०४९ देखि नै विभिन्न आरोपमा पक्राउ पर्दै छुट्दै आएका थिए ।

९. विद्या भण्डारीले भनिन्– म एमालेकै कार्यकर्ता हुँ

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू एमालेकै कार्यकर्ता रहेको दाबी गरेकी छन् । उनले एमालेकै नीति तथा कार्यक्रम अनुसार आफू अघि बढ्ने बताएकी छन् ।

१०. दुई सुरक्षा निकायका प्रमुखले भदौमा अवकाश पाउने

प्रहरी महानिरीक्षक र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गरी दुई सुरक्षा निकायका प्रमुखले भदौमा अवकाश पाउँदैछन् ।

११. महाकाली सिँचाइ आयोजना 

कञ्चनपुर र कैलालीका किसानको भाग्य बदल्ने सपना बोकेर दुई दशकअघि राष्ट्रिय गौरवको महाकाली सिँचाइ आयोजना सुरु भएको थियो । तर निर्माण सुरु भएको २० वर्षसम्म पनि अलपत्र अवस्थामै छ ।

१२. जडीबुटी खेतीमा किसानको रुचि तर सरकारी लगानी न्यून

बाराका किसानहरू जडीबुटी खेतीतर्फ आकर्षित छन् । कतिपयले धान बाली भित्र्याएर जडीबुटी खेती गरिरहेका छन् । यद्यपि सरकारी लगानी न्यून भएको र आवश्यक नीतिगत व्यवस्थामा समेत सरकारले चासो नदिएका कारण जडीबुटी खेती ओझेलमा परेको छ । यसबारे रातोपाटीले विशेष सामग्री तयार पारेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप