शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१२ बजे १२ समाचार: गौर हत्याकाण्डमा परमादेशसँगै जसपा नेपाल सशङ्कित, विद्या भण्डारीलाई रोक्ने प्रयास !

बुधबार, ०४ भदौ २०८२, ०० : ००
बुधबार, ०४ भदौ २०८२

सारांश

  • सर्वोच्च अदालतले गौर हत्याकाण्डमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसहित विरुद्ध अनुसन्धान अघि बढाउन परमादेश जारी गरेको छ।
  • पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा व्यापक भ्रष्टाचार भएको आरोपसहित छानबिन समितिले प्रतिवेदन बुझाएको छ।
  • सरकारले शुक्रकीट तथा अण्डा दान प्रक्रियालाई व्यवस्थित बनाउन नयाँ मापदण्ड लागु गरेको छ।

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ–

१. गौर हत्याकाण्डमा परमादेशसँगै जसपा नेपाल सशङ्कित

सर्वोच्च अदालतले जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवलगायतविरुद्ध रौतहटको गौर हत्याकाण्डको विषयमा अनुसन्धान अघि बढाउन भन्दै परमादेश जारी गरेसँगै त्यसबारेमा सो पार्टीले कानुनविद्सँग छलफल गरेको छ । 

२. विद्या भण्डारीलाई रोक्ने प्रयास !

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी मंगलबार दिउँसो विराटनगरको पाञ्चालीस्थित एमाले मोरङको कार्यालयमा पुगिन् । कार्यालय परिसरमा जम्मा भएका कार्यकर्तामाझ मोरङका एमाले उपाध्यक्ष सागर थापाले उनलाई रातो गुलाबको फूल हातमा दिए । 

३. पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

साढे २ वर्षअघि उद्घाटन भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा व्यापक भ्रष्टाचार भएको आरोप सहित प्रतिनिधि सभाको छानबिन समितिले प्रतिवेदन बुझायो ।

समितिले विमानस्थल निर्माणको क्रममा लागत अस्वाभाविक रूपमा बढेको, ठेक्का प्रक्रियामा अनियमितता भएको र गुणस्तरमा समेत प्रश्न उठाएको छ ।

४. निशानामा उपसभामुख

सरकारको नेतृत्व गर्दै आएको नेकपा एमाले र सत्ता साझेदार दल नेपाली कांग्रेसले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने प्रक्रिया अघि बढाउने तयारी गरेका छन् । उपसभामुख रानाले साढे दुई वर्ष अगाडि लेखेको पत्रलाई आधार बनाएर उनीहरूले संविधानको धारा ९१ को उपधारा ६ (ग) अनुसार उपसभामुखलाई हटाउन खोजेका हुन् ।

मंगलबार बिहानैबाट सत्तारुढ प्रमुख दल नेपाली कांग्रेस र नेकपा एमालेले आफ्ना सांसदहरूलाई संसदीय दलमा बोलाएर धमाधम हस्ताक्षर गराए । हस्ताक्षर किन भन्ने अधिकांश सांसदलाई थाहा नै थिएन । तर मध्याह्न हुँदै गएपछि धेरैले थाहा पाए– उपसभामुख इन्दिरा राना मगरलाई हटाउने सुरसार थियो । 

५. नाडा अटो शोको रौनक

यस वर्षको नाडा अटो शो आजदेखि सुरु भएको छ । २०५५ सालदेखि सुरु भएको नाडा अटो शोको १७ औँ संस्करण नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको आयोजनामा मंगलबार काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको हो । 

६. बैंकको नाफा

आर्थिक वर्ष २०८१/८२ मा नेपालका वाणिज्य बैंकहरूले ७१ अर्ब १८ करोड ४४ लाख रुपैयाँ नाफा आर्जन गरे । यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४३.६८ प्रतिशत बढी हो । अघिल्लो आर्थिक बैंकहरूले तिनै बैंकहरूले ४९ अर्ब ५४ करोड ५४ लाख रुपैयाँ नाफा कमाएका थिए ।

७. कृषि क्षेत्र विकास कार्यक्रम

चार वर्ष अघिसम्म भेरीगंगा नगरपालिका–११, चिप्लेका अधिकांश किसानका लागि खेतीपाती र पशुपालन केवल जीवन धान्ने माध्यम थियो । स्थानीय राधिका बुढाका अनुसार चार वर्ष अघिसम्म प्रायः घरमा भैंसी थिएनन् । भएकाहरूले पनि घरमा दुध खानका लागि मात्र एउटासम्म भैंसी पाल्थे । 

८. नयाँ मापदण्ड

निःसन्तान दम्पतीका लागि शुक्रकीट तथा अण्डा दान प्रक्रियालाई थप व्यवस्थित र सुरक्षित बनाउन सरकारले नयाँ मापदण्ड लागु गरेको छ । नयाँ मापदण्डमा पुरुष र महिला दाताका लागि फरक–फरक नियमहरू तोकिएका छन्, जसले दान प्रक्रियाको प्रकृति र दाताको स्वास्थ्यलाई केन्द्र राखेर बनाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

९. सडक मर्मत 

चाडपर्वमा त्यसै पनि मानिसको आवतजावत बढी हुन्छ । दसैँ, तिहार, छठ जस्ता मुख्य चाडपर्व नजिकिँदै जाँदा राजधानी काठमाडौँलाई मुख्य राजमार्गहरु भने बाढी पहिरोले प्रभावित छन् । 

१०. घरबहाल कर

सर्वोच्च अदालतले घरबहाल कर संकलनको एकल अधिकार स्थानीय तहमा निहित रहने फैसला सुनाएसँगै संघीय सरकारको लामो समयदेखिको हस्तक्षेप अन्त्य भएको छ । गएको जेठ २० गते सर्वोच्चले गरेको यो फैसलामा टेकेर  स्थानीय तहहरूले चालु आर्थिक वर्षदेखि घर बहाल कर संकलन गर्न पाउने बाटो खुला भएको छ । 

११. खेलकुद

१२. प्रभु साहका कुरा
आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य प्रभु साह पछिल्ला दिनमा संसदभित्र र बाहिर दुवै ठाउँमा कठोर अभिव्यक्ति दिइरहन्छन् । प्रधानमन्त्रीदेखि सत्तारुढ दलसम्मका नीतिगत निर्णयप्रति उनले निरन्तर प्रहार गर्दै आएका छन् । आलोचनालाई व्यक्तिगत प्रतिशोध ठान्नेहरूलाई उनी स्पष्ट जबाफ दिन्छन्– मसँग सत्ता छैन तर सत्य छु ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप