शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

रुसी वैज्ञानिकहरूले बनाए क्यान्सरविरोधी खोप

सोमबार, २३ भदौ २०८२, १७ : ०१
सोमबार, २३ भदौ २०८२

सारांश

  • रुसले क्यान्सरविरुद्धको नयाँ र प्रभावकारी खोप तयार पारेको छ, जसले उपचारमा नयाँ आशा जगाएको छ।
  • एमआरएनएमा आधारित यो खोपले क्यान्सर कोषहरूलाई लक्षित गरी नष्ट गर्न सक्ने क्षमता राख्दछ।
  • खोपले स्वास्थ्य मन्त्रालयबाट अन्तिम स्वीकृतिको प्रतीक्षा गरिरहेको छ र यसलाई इम्युनोथेरापीको अर्को पुस्ताको रूपमा हेरिएको छ।

मस्को । वर्तमान समयको सबैभन्दा तीव्र गतिमा बढ्दो गम्भीर स्वास्थ्य समस्याहरू मध्ये एक हो, क्यान्सर । यो विश्वभर मृत्युको प्रमुख कारण पनि हो । हरेक वर्ष लाखौं मानिसहरू क्यान्सरबाट मरिरहेका छन् ।

बद्लिँदै गइरहेको जीवनशैली, जंक फुड, धूम्रपान–मदिरा र वायु प्रदूषणका कारण क्यान्सरको जोखिम निरन्तर बढ्दै गएको छ । आधुनिक औषधि र नयाँ प्रविधिहरूले पहिलेको तुलनामा यस रोगको जोखिम घटाएको छ । यसको उपचार पनि अहिले सजिलो भएको छ तर, ग्रामीण क्षेत्रहरूमा स्क्रिनिङ र उपचारमा कठिन पहुँचका कारण यो रोग र यसबाट हुने मृत्यु अझै पनि चिन्ताको विषय बनेको छ । 

नयाँ खोप, लक्षित थेरापी, इम्युनोथेरापी जस्ता आधुनिक उपचार विधिहरूले क्यान्सर उपचारलाई सजिलो बनाउन मद्दत गरिरहेका छन् । यस क्रममा, रूसले क्यान्सर विरुद्धको लडाइँमा नयाँ र अत्यधिक प्रभावकारी खोप तयार गर्ने जानकारी दिएको छ ।

संघीय चिकित्सा तथा जैविक एजेन्सीका प्रमुख भेरोनिका स्कभोट्र्साेभाका अनुसार, वैज्ञानिकहरूको टोलीले क्यान्सरको लागि प्रभावकारी खोप तयार गरेको छ । धेरै वर्षको प्रिक्लिनिकल परीक्षण सफलतापूर्वक पूरा गरेपछि खोप अब प्रयोगको लागि तयार छ । 

यो एउटा एमआरएनएमा आधारित खोप हो जुन क्यान्सर बिरामीहरूको लागि वरदान साबित हुन सक्छ । क्लिनिकल परीक्षणहरूमा, यसको प्रभावकारिता र सुरक्षा सय प्रतिशत पाइएको थियो । क्लिनिकल परीक्षणमा एन्टेरोमिक्स नामक खोप ठुला ट्युमर भएका बिरामीहरूको आकार घटाउन र क्यान्सर कोषहरू नष्ट गर्न प्रभावकारी देखिएको छ । यो खोपले क्यान्सर रोगको उपचारको लागि नयाँ आशा दिएको छ । रूसको राष्ट्रिय चिकित्सा अनुसन्धान रेडियोलोजिकल केन्द्रले एन्जेलहार्ट इन्स्टिच्युट अफ मोलिक्युलर बायोलोजीको सहकार्यमा यो खोप विकास गरेको हो ।

स्थानीय रुसी मिडियामा छापिएका खबरका अनुसार यो खोपले अब स्वास्थ्य मन्त्रालयबाट अन्तिम स्वीकृतिको लागि मात्र पर्खिरहेको छ । रिपोर्टहरू अनुसार एन्टेरोमिक्स कोभिड–१९ खोपमा सफलतापूर्वक प्रयोग गरिएको उही एमआरएनए प्रविधिमा आधारित पहिलो क्यान्सर खोप हो ।

यसलाई अर्काे पुस्ताको इम्युनोथेरापी समाधानको रूपमा हेरिएको छ । यो खोप विशेष गरी क्यान्सर कोषहरूलाई लक्षित गर्न र तिनीहरूलाई सटीकताका साथ नष्ट गर्न डिजाइन गरिएको हो । यसले विश्वभरका लाखौँ क्यान्सर बिरामीहरूलाई नयाँ आशा दिन सक्ने विज्ञहरू बताउँछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप