नेताको कम्पनीको ढिलाइले जनतालाई सास्ती, राप्रपाले महाधिवेशन मिति तय गर्न बैठक बोलायो
सारांश
- मेची राजमार्गको विभिन्न खण्ड बाढीले बगाउँदा इलाम र आसपासका क्षेत्र सडक सञ्जालबाट विच्छेद भएका छन्।
- राप्रपाले महाधिवेशनको मिति तय गर्न केन्द्रीय समितिको बैठक बोलाएको छ, जसमा कात्तिक २७ र २८ गते बैठक बस्ने निर्णय भएको छ।
- जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडका घटनामा संलग्न व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको छ, जसमा बुद्ध मूर्ति चोरी गर्ने र एसएलआर लुट्ने व्यक्ति पनि छन्।
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ–
१. नेताको कम्पनीको ढिलाइले जनतालाई सास्ती
गत असोज १८ र १९ गते आएको अविरल वर्षा र पहिरोले मेची राजमार्गको विभिन्न खण्ड बगाउँदा इलाम सडक सञ्जालबाट लगभग विच्छेद भएको छ । मेची राजमार्गको वैकल्पिक सडक नहुँदा अहिले इलाममात्र नभएर उक्त सडक प्रयोग गर्नुपर्ने पाँचथर र ताप्लेजुङवासीले समेत निकै सास्ती भोग्नुपरेको छ ।
२. राप्रपा बैठक
महाधिवेशनको मिति टुंगो लगाउन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । बुधबार अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको कार्यसम्पादन समितिको बैठकले कात्तिक २७ र २८ गते काठमाडौंमा केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।
३. सभामुख र दल बैठक
विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूमध्ये नेकपा एमाले बाहेक पुनस्र्थापनाका पक्षमा देखिएनन् । सभामुख देवराज घिमिरेले बुधबार बिहान राखेको बैठकमा प्रतिनिधिसभा पुनस्र्थापनामा दलहरुले रुचि देखाएनन् । प्रतिनिधिसभा पुनस्र्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ ।
४. एमाले केन्द्रीय समिति बैठकमा ओली
नेकपा एमालेका अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३ र २४ गतेको घटनालाई लोकतान्त्रिक व्यवस्था र संविधानमाथि आन्तरिक र बाह्य षड्यन्त्रको भयानक र त्रासदीपूर्ण आक्रमण भनेका छन् ।
५. जेनजी आन्दोलनपछि प्रहरी
भदौ २४ गतेको जेनजी प्रदर्शनका क्रममा काठमाडौँ उपत्यकासहित देशभरका प्रहरी कार्यालयहरुमा आगजनी भयो । त्यसबाट ७४ वटा प्रहरी भवन पूर्णरुपमा क्षति भए भने २२२ भवनमा आंशिक क्षति पुगेको प्रहरी आन्तरिक प्रतिवेदनमा उल्लेख छ ।
६. आगजनी गर्नेको पहिचान कहिले ?
भदौ २४ को जेनजी आन्दोलनका क्रममा आगजनीबाट सर्वोच्च अदालतसहित देशभर २३ वटा अदालत क्षतिग्रस्त भए । अदालत क्षतिग्रस्त बन्दा नियमित प्रकृतिको मुद्दाको सुनुवाइ प्रभावित बन्न पुगेको थियो ।
७. मालपोतमा ढड्डाको रिकभरी
भदौ २४ को जेनजी आन्दोलनमा क्रममा जलाइएका मालपोत कार्यालयका डकुमेन्ट नष्ट भए । मालपोतका प्रमाण ‘रिकभरी’ गर्ने सम्बन्धमा देखिएको अन्योललाई कम गर्न भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले एउटा नीतिगत व्यवस्था गर्यो ।
८. धितोपत्र बोर्ड
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठको राजीनामा माग गरेको छ । इप्पानले जलविद्युत आयोजनाहरुको आईपीओ निष्कासनमा अनुमति दिन बिचौलियामार्फत कमिसन मागेको आरोप लागिसकेकाले तत्काल राजीनामा दिन माग गरे ।
९. खेलकुद
नेपाली राष्ट्रिय क्रिकेट टोली आईसीसी टी–ट्वान्टी विश्वकप २०२६ मा छनोट भएको छ । बुधबार भएको एसिया र इस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत यूएईले सामोआलाई हराएसँगै नेपाल विश्वकपमा पुगेको हो ।
१०. कर्णाली प्रदेश
कर्णालीका प्रदेश प्रमुख यज्ञराज जोशीले केन्द्र सरकारले दिएको निर्देशन पालना गर्दै आफ्नो सचिवालय खारेज गरेका छन् ।
११. जेनजी आन्दोलन र अपराध
जेनजी अगुवा अर्जुन शाहीलाई प्रहरीले पक्राउ गरेको छ । बुधबार साँझ उनलाई कोटेश्वरबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक एवं सूचना अधिकारी पवन भट्टराईले बताए ।
जेनजी प्रदर्शनको क्रममा प्रहरीको एसएलआर ‘सेल्फ लोडिङ राइफल’ लुट्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–१३ कुसुन्ती घर भएका ३६ वर्षीय राजु परियार उर्फ सम्राट् छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको घरबाट बुद्ध मूर्ति चोरेको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ ।
नेकपा माओवादी केन्द्र निकट भातृ संगठन वाईसीएल नेपाल र अखिल (क्रान्तिकारी) ले संयुक्त रूपमा पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक देवेन्द्र सुवेदी र अधिवक्ता बालकृष्ण न्यौपानेविरुद्ध साइबर ब्युरोमा उजुरी दिएका छन् ।
१२. जुम्ली स्याउ निर्यात
जुम्लाबाट यो सिजनमा ३३ करोड ७ लाख ५० हजार रुपैयाँ बराबरको स्याउ निर्यात भएको छ । यो रेकर्ड भदौ र असोज महिनाको मात्र हो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण