बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

छठ पर्वले देशवासीलाई राष्ट्रियताको भावले अभिप्रेरित गरोस् : उपराष्ट्रपति यादव

सोमबार, १० कात्तिक २०८२, ०६ : ४३
सोमबार, १० कात्तिक २०८२

सारांश

  • उपराष्ट्रपति रामसहाय प्रसाद यादवले छठ पर्वले राष्ट्रियताको भाव जगाओस् भनी शुभकामना दिएका छन्।
  • उनले छठ पर्वलाई राष्ट्रिय एकता र सद्भावको पर्वको रूपमा वर्णन गर्दै यसले देशलाई समृद्ध बनाउन सकोस् भने।
  • उपराष्ट्रपतिले छठ पर्वको धार्मिक अनुष्ठान र यसको नयाँ पुस्तामा हस्तान्तरण हुनु सकारात्मक भएको बताए।

काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले छठ पर्वले देशवासीलाई राष्ट्रियताको भावले अभिप्रेरित गरोस् भनी कामना गरेका छन् ।

छठ महापर्व–२०८२ को अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले भनेका छन्, “छठ महापर्वले राष्ट्रिय एकता र अखण्डताको सूत्रलाई बलियो र थप सुदृढ बनाउँदै सम्पूर्ण नेपालीलाई सद्भाव, प्रेम र मेलमिलापको बन्धनमा बाँध्न सकोस्, यो पर्वले मुलुकलाई समृद्धि र समुन्नतिको बाटोमा अगाडि बढाउनका लागि सम्पूर्ण देशवासीलाई उच्च राष्ट्रियताको भावले अभिप्रेरित गरोस् भन्ने कामनाका साथ पुनः हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु ।”

उपराष्ट्रपति यादवले छठ पर्वलाई प्रकृतिसँगको प्रगाढ प्रेम र आस्थाको प्रतीक उल्लेख गर्दै नहाय–खाय, खरना, अस्ताउँदो सूर्यलाई अर्घ्य र उदाउँदो सूर्यलाई अर्घ्य जस्ता धार्मिक अनुष्ठानका साथ मनाइने यो पर्व नयाँ पिँढीमा पुस्तान्तरण हुँदै जानु सकारात्मक भएको बताएका छन् । छठ पर्वले हामीलाई खराब आचरण, व्यवहार र विचार त्याग्न प्रेरित गर्ने उनको भनाइ छ ।

सन्देशमा भनिएको छ, “अस्ताउँदो र उदाउँदो सूर्यदेवको पूजाआराधना गर्नु यो पर्वको विशेषता हो, सम्पूर्ण पृथ्वीलाई ऊर्जा र जीवन प्रदान गर्ने सूर्य देवता तथा परिवारजनको सुदीर्घ स्वास्थ्य प्रदान गर्ने छठी मैँयाको आराधनाले हामीलाई जीवनको स्रोतप्रति कृतज्ञ हुन सिकाउँदछ ।” 

निर्जला व्रत बसी नदी, तलाउ र जलाशयका पवित्र घाटहरूमा उभिएर अर्घ्य अर्पण गर्ने श्रद्धालुहरूको भक्तिभाव एवं आस्थाले मन, वचन र कर्ममा पवित्रता र शुद्धताको सञ्चार गर्ने विषय पनि शुभकामना सन्देशमा समावेश छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप