शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
रातोपाटी ब्रिफिङ

१० बजे १० समाचार : दल दर्ताको तयारीमा कुलमान, बालेनविरुद्ध ‘सुकुमबासी कार्ड’ खेल्दै दुर्गा प्रसाईं

आइतबार, २३ कात्तिक २०८२, २२ : ००
आइतबार, २३ कात्तिक २०८२

सारांश

  • कुलमान घिसिङले राजनीतिक दल दर्ताको तयारी गर्दैछन्, जसको नाम 'नेपाल जनसेवा' रहने सम्भावना छ।
  • कांग्रेसमा महाधिवेशनको मिति र क्रियाशील सदस्यतामा विवाद चलिरहेको छ, जसले गर्दा महाधिवेशन तत्काल नहुने देखिएको छ।
  • प्रधानमन्त्रीलाई विभिन्न व्यक्तिहरूले भेटेर विभिन्न मागहरू राखे, जसमा डा. केसीको दश बुँदे ज्ञापनपत्र पनि समावेश छ।

आज २०८२ कात्तिक २३ गते आइतबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ–

आजका मुख्य समाचारमा दल दर्ताको तयारीमा कुलमान, क्रियाशील सदस्यता नटुङ्ग्याइ महाधिवेशनको बहसमा कांग्रेस, प्रधानमन्त्रीसमक्ष थरीथरीका माग, आफूमात्र बोलेर महाधिवेशन सक्ने ओलीको रणनीति, रास्वपाभित्र ‘रिफर्म’को विषयले हलचल, बालेनविरुद्ध सुकुमबासी कार्ड खेल्दै दुर्गा प्रसाईं लगायत छन् ।

१. दल दर्ताको तयारीमा कुलमान
कुलमान घिसिङ राजनीतिक दल दर्ताको तयारीमा जुटेका छन् । उनले सोमबार निर्वाचन आयोगमा दल दर्ता गर्नेगरी तयारी गरिरहेको स्रोतले जनाएको छ ।

२. क्रियाशील सदस्यता नटुङ्ग्याइ महाधिवेशनको बहसमा कांग्रेस
नेपाली कांग्रेसभित्र नियमित महाधिवेशन कि विशेष महाधिवेशन भन्नेबारे बहस चलिरहेको छ । महाधिवेशनको मितिबारे पनि अलग–अलग प्रस्ताव आइरहेको छ । यद्यपि, कतिपय जिल्लामा कांग्रेसको क्रियाशील सदस्यताको विवाद अझै टुङ्गिन सकेको छैन ।

३. प्रधानमन्त्रीसमक्ष थरीथरीका माग
प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर विभिन्न माग राख्नेको ओइरो लाग्न थालेको छ । आइतबारमात्र प्रधानमन्त्री कार्कीलाई भेटेर संविधानसभाका चार सभासददेखि लिएर अभियन्ता डा. गोविन्द केसीसम्मले विभिन्न माग राखेका छन् ।

४. आफूमात्र बोलेर महाधिवेशन सक्ने ओलीको रणनीति
नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन आगामी मंसिर २७, २८ र २९ गते काठमाडौँमा आयोजना हुँदैछ । जेनजी आन्दोलनपछि हुन लागेको एमाले महाधिवेशनलाई पार्टीभित्र र बाहिरसमेत चासोका साथ हेरिएको छ । तेस्रो कार्यकाल अध्यक्ष बन्न प्रयासरत केपी शर्मा ओलीले महाधिवेशनमा आफूमात्र बोल्ने, अरु कसैलाई बोल्न नदिने रणनीति अपनाउन चाहे पनि कतिपयले उनलाई चुनौती दिने तयारी थालेका छन् ।

५. रास्वपाभित्र ‘रिफर्म’को विषयले हलचल 
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)भित्र ‘रिफर्म’को विषयले हलचल ल्याएको छ । चितवनमा सम्पन्न केन्द्रीय समितिको विस्तारित बैठकमा पार्टी रिफर्म गर्नुपर्ने विषयलाई नेतृत्व तहले बेवास्ता गरेको देखियो भने कतिपयले यसलाई मुख्य मुद्दाका रूपमा उठाएका थिए ।

६. बालेनविरुद्ध ‘सुकुमबासी कार्ड’ खेल्दै दुर्गा प्रसाईं
मेडिकल व्यवसायी दुर्गा प्रसाईं आइतबार काठमाडौँको मनोहरा सुकुम्बासी बस्तीमा पुगेका छन् । उनले भेला भएका सुकुमबासीहरूलाई सम्बोधन गर्दै काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध लड्न आफूले सहयोग गर्ने बताएका छन् ।

७. मधेस प्रदेश प्रमुखको कार्यालय अगाडि विरोध प्रदर्शन
नयाँ सरकार गठनका लागि आह्वान गर्न ढिला गरेको भन्दै लोसपा नेपालले आइतबार मधेस प्रदेश प्रमुखको कार्यालय अगाडि विरोध प्रदर्शन गरेको छ ।

८. समावेशी आयोगका करारका कर्मचारी नहटाउन अन्तरिम आदेश
सर्वोच्च अदालतले राष्ट्रिय समावेशी आयोगमा करारमा नियुक्त कर्मचारीहरूलाई पदबाट नहटाउन अन्तरिम आदेश जारी गरेको छ ।

९. प्रहरीमाथि आक्रमण गर्ने तथा हतियार लुट्नेहरू रिहा 
भदौ २४ गतेको जेनजी प्रदर्शनका क्रममा प्रहरीमाथि आक्रमण गर्दै हतियार लुटपाटमा संलग्नहरूलाई धरौटीमा छाड्न आदेश भएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्काको इजलासले तीन जनालाई धरौटी र एक जनालाई सामान्य तारेखमा छाड्ने आदेश दिएको हो ।

१०. फुटेर गएकाहरूले मान्लान् उपेन्द्र यादवको आह्वान ?
कात्तिक २० गते जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले विभिन्न कालखण्डमा पार्टी छाडेका नेता कार्यकर्तालाई संकोच नमानी ‘पुरानै घर’मा फर्किन आह्वान गरे । केन्द्रीय समिति बैठकलाई सम्बोधनका क्रममा उनले गरेको आह्वान जसपा नेपालमात्रै नभएर मधेसी जनअधिकार फोरम नेपाल हुँदादेखि छुट्टिएर गएकाहरुलाई पनि हो भन्ने देखिन्छ । तर फुटेर गइसकेकाहरूले उपेन्द्रको आह्वानलाई मान्लान् त भन्नेबारे चासो बढेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप