शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
रातोपाटी ब्रिफिङ

१० बजे १० समाचार : मुख्यमन्त्री नियुक्ति विवादपछि मधेस प्रदेश प्रमुख बर्खास्त, प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त

सोमबार, २४ कात्तिक २०८२, २२ : ००
सोमबार, २४ कात्तिक २०८२

आज २०८२ कात्तिक २४ गते सोमबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ–
आजका मुख्य समाचारमा मुख्यमन्त्री नियुक्ति विवादपछि मधेस प्रदेश प्रमुख बर्खास्त, प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त, झाँक्री र श्रेष्ठ एमालेमै फर्किए, कांग्रेसमा प्रतिनिधि सभा पुनर्स्थापनाका लागि हस्ताक्षर अभियानले तनाब, नेपाली कम्युनिस्ट पार्टीमा ३५ सदस्यीय सचिवालय हुने, कोशीमा एमालेका मन्त्री फेर्ने तयारी लगायत छन् ।

१. मुख्यमन्त्री नियुक्ति विवादपछि मधेस प्रदेश प्रमुख बर्खास्त
मुख्यमन्त्री नियुक्ति विवादपछि सरकारले मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई बर्खास्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले भण्डारीलाई बर्खास्त गर्दै सो पदमा सुरेन्द्रलाल कर्णलाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

प्रदेश प्रमुख भण्डारीले प्रदेश सभाका अधिकांश दलका नेताले गरेको आग्रह विपरीत एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन् । बिरामीको बहानामा जनकपुरधाम छाडेकी उनले बर्दिबासस्थित एक होटलमा यादवलाई मुख्यमन्त्री पदको शपथ गराएपछि दलहरू विरोधमा उत्रिएका थिए । 

२. प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त
सरकारले प्रहरी महानिरीक्षकमा दानबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले वरीयतामा पहिलो नम्बरमा रहेका अतिरिक्त महानिरीक्षक कार्कीलाई महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको हो । 

३. झाँक्री र श्रेष्ठ एमालेमै फर्किए
चार वर्षपछि नेतृ रामकुमारी झाँक्री र कृष्णकुमार श्रेष्ठ (किसान) लगायतका नेता एमालेमै फर्किएका छन् । झाँक्री र श्रेष्ठ २०७८ सालमा एमाले विभाजन हुँदा नेकपा एकीकृत समाजवादीतिर लागेका थिए ।

४. कांग्रेसमा प्रतिनिधि सभा पुनर्स्थापनाका लागि हस्ताक्षर अभियानले तनाब
विघटित प्रतिनिधि सभा पुनर्स्थापनाका लागि श्यामकुमार घिमिरेले हस्ताक्षर संकलन अभियान सुरु गरेपछि नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई तनाब थपिएको छ । विघटित प्रतिनिधि सभामा कांग्रेसको प्रमुख सचेतक रहेका घिमिरेको यस कदमलाई संस्थापन पक्षकै केही नेताहरूसहित डा. शेखर कोइराला नेतृत्वको इतर समूह र महामन्त्री गगन थापा नेतृत्वको समूहले सार्वजनिक रूपमै विरोध गरेका छन् ।

५. नेपाली कम्युनिस्ट पार्टीमा ३५ सदस्यीय सचिवालय हुने
कात्तिक १९ गते १० वाम दल मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीले केन्द्रदेखि स्थानीय तहसम्म नेताहरूको व्यवस्थापनका लागि कार्यदल बनाउने भएको छ । दैनिक कार्य सम्पादनका लागि ३५ जना आसपासको सचिवालय बनाउने तयारी भएको बताइएको छ ।

६. कुलमानको दल ‘उज्यालो नेपाल’ पार्टी 
लोडसेडिङ अन्त्य गरेर ख्याति कमाएका कुलमान घिसिङले ‘उज्यालो पार्टी’मार्फत राजनीति अघि बढाउने भएका छन् । उनको दल दर्ताको तयारी भइरहेको छ ।

७. कोशीमा एमालेका मन्त्री फेर्ने तयारी
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एमालेबाट सहभागी भएका मन्त्रीहरूलाई परिवर्तन गर्ने अन्तिम तयारी गरेका छन् । नेकपा एमाले कोशी प्रदेशका इन्चार्ज शेरधन राईले यसअघि नै मन्त्रीमण्डल पुनः गठन गर्न पार्टीले निर्देशन दिइसकेको बताए ।

८. सवारी लाइसेन्स छपाइ सुरु भए पनि घट्ने छैन लाइन
वषौँदेखि रोकिएका सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) छपाइको काम अन्ततः सरकारले सुरक्षण मुद्रण केन्द्रमार्फत थालेको छ । तत्कालका लागि अत्यावश्यक काम परेकाहरूले मात्र लाइसेन्स पाउने भएका छन् । राजस्व तिरेर वर्षौंदेखि कुरिरहेका लाखौँ सेवाग्राहीले भने आफ्नो लाइसेन्स हात पार्न अझै लामो समय कुर्नुपर्ने निश्चित छ ।

९. निकोलस भुसाललाई हाजिर जमानीमा रिहा गर्न आदेश
सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरण रिटमा कमल भुसाल उर्फ निकोलस भुसाललाई हाजिर जमानीमा छाड्ने आदेश गरेको छ । भुसालले दिएको बन्दीप्रत्यक्षीकरण रिटमा सोमबार सुनुवाइ गर्दै न्यायाधीश नहकुल सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले यस्तो आदेश गरेको हो ।

१०. मधेस केन्द्रित दल किन भए सशंकित ?
सरकार प्रतिनिधि सभा निर्वाचनको तयारीमा रहेको वेला मधेस केन्द्रित दलहरूले विभिन्न आशङ्का प्रकट गरेका छन् । उनीहरूले जेनजी आन्दोलन चुनावका लागिमात्र नभएर आमूल परिवर्तनका लागि भएको भन्दै २०८४ हुनुपर्ने चुनाव ०८२ सालमै गराउनुबाहेक आन्दोलनको कुनै उपलब्धि नदेखिएको टिप्पणी गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप