शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
रातोपाटी ब्रिफिङ

१० बजे १० समाचार : सिंगापुरबाट फर्किएलगत्तै देउवा सक्रिय, आयोगमा दल दर्ताको चहलपहल

आइतबार, ३० कात्तिक २०८२, २२ : ००
आइतबार, ३० कात्तिक २०८२

आज २०८२ कात्तिक ३० गते आइतबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ–

आजका मुख्य समाचारमा सिंगापुरबाट फर्किएलगत्तै देउवा सक्रिय, आयोगमा दल दर्ताको चहलपहल, राष्ट्रिय सभा र प्रतिनिधि सभाको निर्वाचन कार्यतालिका सार्वजनिक, नेकपाले देशभर एकता सन्देश सभा गर्ने, प्रतिनिधि सभा पुनर्स्थापनाको पक्षमा कांग्रेस नजाने, पहिलो त्रैमासिकमा कर्जा प्रवाह सुस्त लगायत छन् ।

१. सिंगापुरबाट फर्किएलगत्तै देउवा सक्रिय 
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सिंगापुरबाट फर्किएलगत्तै सक्रियता बढाएका छन् । पार्टीभित्र महाधिवेशनको विषयमा भइरहेको विवाद सुल्झाउन उनले सक्रियता बढाएका हुन् ।

२. आयोगमा दल दर्ताको चहलपहल
निर्वाचन आयोगमा नयाँ दल दर्ताको चहलपहल निकै बढेको छ । नयाँ दल दर्ताका लागि आयोगमा २८ वटा निवेदन पेस भएको छ ।

३. राष्ट्रिय सभा र प्रतिनिधि सभाको निर्वाचन कार्यतालिका सार्वजनिक
निर्वाचन आयोगले राष्ट्रिय सभा र प्रतिनिधि सभा निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । राष्ट्रिय सभाका लागि पुस २३ र प्रतिनिधि सभाका लागि माघ ६ गते उम्मेदवारी मनोनयन दर्ता गर्ने गरी आयोगले कार्यतालिका सार्वजनिक गरेको हो ।

४. नेकपाले देशभर एकता सन्देश सभा गर्ने
विभिन्न दलबिच एकताबाट बनेको नेपाली कम्युनिस्ट पार्टीले देशभर एकता सन्देश सभा गर्ने भएको छ । यो पार्टीले विशेष अन्तर पार्टी निर्देशिकासमेत जारी गर्ने भएको छ ।

५. प्रतिनिधि सभा पुनर्स्थापनाको पक्षमा कांग्रेस नजाने 
नेपाली कांग्रेसले आफू प्रतिनिधि सभा पुनर्स्थापनाको पक्षमा नजाने प्रस्ट पारेको छ । सभामुख देवराज घिमिरेलाई भेटेर कांग्रेसले आफ्नो यो धारणा प्रकट गरेको हो । एमाले भने प्रतिनिधि सभा पुनर्स्थापनाको मागदाबीसहित सर्वोच्च अदालत जाने तयारीमा छ ।

६. पहिलो त्रैमासिकमा कर्जा प्रवाह सुस्त
चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा बैंकहरूको कर्जा प्रवाहमा सुस्तता देखिएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी प्रतिवेदनमा निक्षेप परिचालनको संरचनामा पनि ठुलो फेरबदल आएको छ ।

७. एक लाख ३० हजार म्यादी प्रहरी भर्ना गरिने 
आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा म्यादी प्रहरी भर्ना गर्ने निर्णय गरिएको छ । आइतबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले म्यादी प्रहरी भर्ना गर्ने निर्णय गरेको हो । निर्वाचनका लागि १ लाख ३० हजार म्यादी भर्ना गर्ने निर्णय गरिएको गृह मन्त्रालयका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए ।

८. जग्गा कित्ताकाटको न्यूनतम क्षेत्रफल तोकियो
सरकारले भूउपयोग नियमावली, २०७९ लाई संशोधन गर्दै भूउपयोग (तेस्रो संशोधन) नियमावली, २०८२ जारी गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयद्वारा नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार यस संशोधनमा बाँझो जमिनलाई उपयोगमा ल्याउन ‘भूमि बैंक’ को अवधारणा ल्याएको छ । त्यस्तै, आवासीय तथा व्यावसायिक क्षेत्रमा हुने कित्ताकाटलाई नियमन गर्न न्यूनतम क्षेत्रफल तोकिदिएको छ ।

९. सेनाले जिम्मा लिएका आयोजना सुस्त
निर्माणका हिसाबले सबैभन्दा जटिल र चुनौतीपूर्ण मानिएका राष्ट्रिय गौरवका आयोजनाहरूको जिम्मेवारी नेपाली सेनालाई छ । काठमाडौँ–तराई द्रुतमार्ग, कर्णाली करिडोर, चीन जोड्ने रणनीतिक सडकदेखि चुरे संरक्षणलगायत चुनौतीपूर्ण आयोजना सेनाले निर्माण गरिरहेको छ । सेनाले निर्माणको जिम्मा पाएका काठमाडौँ–तराई द्रुतमार्ग र दार्चुला–टिंकर सडकजस्ता आयोजनाको प्रगति भने निराशाजनक छ ।

१०. नेपाल ट्रस्टका पूर्वसचिव कार्की पक्राउ
प्रहरीले नेपाल ट्रस्टका पूर्वसचिव अर्जुन कार्कीलाई पक्राउ गरेको छ । ट्रस्टको जग्गा भाडामा अनियमितताको आरोपमा उनलाई पक्राउ गरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप