शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
रातोपाटी ब्रिफिङ

रातोपाटी ब्रिफिङः हेर्नुहोस् शुक्रबारका प्रमुख समाचार

शनिबार, १३ मङ्सिर २०८२, ०० : ०१
शनिबार, १३ मङ्सिर २०८२

काठमाडौँ । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती रातोपाटी ब्रिफिङमा १२ बजे १२ समाचार लिएर हाजिर भएका छौँ–

१. भूमिसम्बन्धी अध्यादेश

सरकारले सोमबार भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधनका लागि अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गर्‍यो । बैठक सकिएलगत्तै सरकारका कार्यवाहक प्रवक्ताका रूपमा रहेका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले सञ्चारकर्मीसँग कुरा गर्दै अध्यादेश जारी गर्न राष्ट्रपतिलाई सिफारिस गरिएको जानकारी दिए ।

मन्त्री पुनले निर्णय सार्वजनिक गरेपनि मन्त्रिपरिषद्को सार्वजनिक निर्णय सूचीमा भने अध्यादेशको विषय समावेश गरिएको देखिएन । सोही निर्णय सूचीमा उल्लेख नभएको उक्त अध्यादेश चार दिन बितिसक्दा पनि राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेका छैनन् ।

निर्वाचन प्रयोजनका लागि आवश्यक कानुनी व्यवस्था गर्न पठाइएका अध्यादेश बाहेक अन्य अध्यादेश स्वीकृत नगर्ने नीति अनुसार भूमिसम्बन्धी अध्यादेश पनि अहिलेसम्म विचाराधीन अवस्थामा राखिएको बताइन्छ । यसअघि सरकारले पठाएको संवैधानिक परिषद् कार्यसञ्चालन सम्बन्धी अध्यादेश समेत पेन्डिङमै रहेको पृष्ठभूमिमा यस्तो अध्यादेश पनि जारी नहुने सम्भावना बढेपछि सरकारले यससम्बन्धी निर्णय औपचारिक रूपमा सार्वजनिक गर्न नचाहेको जस्तो देखिन्छ ।

२. जेनजीसँग सम्झौताको तयारी

प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका अगुवा प्रतिनिधिसँग शुक्रबार छलफल गरेकी छन् । सो क्रममा सरकारले अघि बढाइरहेको जेनजीसँगको सम्झौताको मसौदालाई चाँडो अन्तिम रूप दिन सम्बद्ध निकायलाई उनले निर्देशन दिइन्।

३. एकतासभा

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले कम्युनिस्ट पार्टीमा कुनै पुच्छर राख्न आवश्यक नभएको बताएका छन् । सुदूरपश्चिमको धनगढीमा शुक्रबार नेकपाले गरेको एकता सन्देश सभामा सम्बोधन गर्दै प्रचण्डले नेपाली कम्युनिस्ट पार्टी सबैको विचार अट्न सक्ने पार्टी भएको बताएका हुन् । 

४. पूर्वाधार एम्बुलेन्स: बालेनको ’फ्लप’, कुलमानको ‘स्टन्ट’ !

बालेन्द्र शाह (बालेन) ले काठमाडौं महानगरपालिकाको मेयर उम्मेदवार बन्दै गर्दा चुनावी घोषणापत्रमै ‘पूर्वाधार एम्बुलेन्स’ चलाउने उल्लेख गरेका थिए । २०७९ को स्थानीय तहको निर्वाचनमा बालेन काठमाडौं महानगरको मेयरमा निर्वाचित पनि भए । महानगरको नीति तथा कार्यक्रम र बजेटमा ‘पूर्वाधार एम्बुलेन्स’लाई समेटे । तर ठुलो तामझामका साथ घोषणा भएको यो प्रोजेक्ट अहिले अलपत्र अवस्थामा छ ।

५. एनपीएल

विराटनगर किङ्सले दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा कर्णाली याक्समाथि जित निकालेको छ ।

शुक्रबार भएको खेलमा कर्णाली याक्सलाई ३ विकेटले हराउँदै प्रतियोगितामा चौथो जित निकालेको हो । त्रिवि क्रिकेट मैदानमा कर्णाली याक्सले दिएको १६१ रनको लक्ष्य पछ्याएको विराटनगरले १९ ओभर ५ बलमा ७ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो ।

विराटनगरका लागि बसिर अहमदले नट आउट ६२ रनको अर्धशतकीय पारी खेले । ४३ बल खेलेका उनले ३ चौका र ३ छक्का प्रहार गरे ।

६. कांग्रेसमा किचलो

नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले अनेक प्रयास गर्दा पनि महाधिवेशनसम्बन्धी विवाद सुल्झिन सकेन । सभापति शेरबहादुर देउवाले गत असोज २८ गते केन्द्रीय कार्यसमिति बैठक सुरु गर्दै उपसभापति खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए ।

७. एमाले महाधिवेशन

नेकपा एमालेको ११ औँ महाधिवेशन नजिकिँदै गर्दा अध्यक्ष केपी शर्मा ओली र उनलाई चुनौती दिएका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबिच नेता तानातान सुरु भएको छ ।

शुक्रबार अपराह्न नेता तानातानको त्यही दृश्य एकाएक भाइरल हुन पुग्यो । गुन्डुबाट बाहिरिएको सूचनामा एमालेका १८ मध्ये मध्यमार्गी धारमा रहेका सात पदाधिकारी ओलीतिर खुलेको सन्देश समेटिएको थियो ।

शुक्रबार काठमाडौँमा भएको छलफल र बैठकबाट ‘एमालेका ७ मध्यमार्गी पदाधिकारी ओलीको पक्षमा खुले’ भनेर आएका समाचारले थप अर्को विवाद जन्माएको छ। खुले भनिएकै केही नेताले गुन्डुको त्यो प्रयासलाई मिडिया ट्रायल पनि भनेका छन् ।

८.  लामामाथि कारबाही

नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगममा कार्यरत क्याप्टेन विजय लामामाथि कारबाही गरेको छ । उडान सञ्चालन मापदण्ड पालना नगरेको भन्दै उनीमाथि उडानमा प्रतिबन्ध लगाउने गरी कारबाही गरिएको हो ।

 ९. मुद्दा हेर्दाहेर्दैमा

मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवविरुद्धको मुद्दा आज पनि हेर्दाहेर्दैमा राखिएको छ । 

न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको इजलासमा आज मुद्दाको सुनुवाइ हुँदा नसकिएकाले १५ गतेको लागि हेर्दाहेर्दैमा अर्को पेसी तोकिएको हो ।

१०. कर्मचारीकै हातमा परराष्ट्रको बागडोर

अढाई महिनादेखि परराष्ट्रमन्त्रीको कुर्सी खाली छ । विभिन्न मुलुकबाट फिर्ता बोलाइएका राजदूतहरू परराष्ट्रमन्त्रीको कार्यकक्षमा दिन कटाएर फर्कने गरेका छन् ।

११. कुलमानको पार्टी

कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी मङ्सिर १७ गते औपचारिक रूपमा घोषणा हुने भएको छ । शुक्रबार पत्रकार सम्मेलन गरेर १७ गते, दिउँसो १ बजेदेखि ४ बजेसम्म प्रज्ञा भवन, कमलादी काठमाडौँमा घोषणासभा हुने जानकारी गराइएको हो ।

१२. रास्वपा बैठक

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आयोग र विभागहरूमा १५ जना मनोनयन गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको सचिवालयको बैठकले पार्टीको आयोग तथा केन्द्रीय विभागहरूमा १५ जना मनोनयन गर्ने निर्णय गरिएको प्रवक्ता मनिष झाले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप