शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
राताेपाटी ब्रिफिङ

१० बजे १० समाचार : सानेपामा लफडादेखि राष्ट्रिय सभा निर्वाचनमा तालमेलसम्म

मङ्गलबार, २२ पुस २०८२, २२ : ००
मङ्गलबार, २२ पुस २०८२

आज २०८२ पुस २२ गते मंगलबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ–

  • राष्ट्रिय सभा निर्वाचन

माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचन प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच भागबण्डा मिलेको छ । सहमति अनुसार कांग्रेसले ७, एमाले ७, नेकपाले ३ र जसपा नेपालले एक सिट पाउने छ ।

  • एमाले सचिवालय बैठक

 नेकपा (एमाले) प्रतिनिधिसभा निर्वाचनको तयारीमा होमिएको छ। मंगलबार बसेको पार्टीको सचिवालय बैठकले निर्वाचनलाई लक्षित गर्दै घोषणापत्र मस्यौदा समिति र निर्वाचन परिचालन कमिटी गठन गरेको हो । 

  • कांग्रेस बैठक

नेपाली कांग्रेसले तालमेल गरी राष्ट्रिय सभा निर्वाचनमा जाने निर्णय गरेको छ । मंगलबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले अन्य राजनीतिक दलहरुसँग तालमेल गरी निर्वाचनमा जाने निर्णय गरेको मुख्यसचिव कृष्ण प्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

  • महाधिवेशन विवाद

नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिमाथि मुर्दावादको नारा लागेको छ । मंगलबार निधि पार्टी केन्द्रीय कार्यालयमा प्रवेश गर्न खोज्दा विशेष महाधिवेशन पक्षधरले अवरोध गरेका थिए । 

 नेपाली कांग्रेसका महामन्त्री गगन थापाविरुद्ध कांग्रेस कार्यकर्ताहरूको एक समूहले काठमाडौँको कोटेश्वर चोकमा प्रदर्शन गरेको छ ।

नेपाली कांग्रेसका इतर समूहका नेता डा. शेखर कोइरालाले विशेष महाधिवेशन सहमतिको आधारमा केन्द्रीय समितिले नै आह्वान गर्नु पर्ने बताएका छन् । मंगलबार बिहान आफ्नै विशालनगरस्थित सम्पर्क कार्यालयमा भेट्न पुगेका संस्थापन पक्षीय ३० केन्द्रीय सदस्यसँग डा. कोइरालाले सहमतिमा विशेष महाधिवेशन गर्ने भए पनि माघ ६ गते पछि बोलाउँदा उपयुक्त हुने बताए ।

  • राजीनामा दिनुस्

प्रधानमन्त्री सुशीला कार्कीले तीन जना मन्त्रीलाई राजीनामा दिन आग्रह गरेकी छन् । राजनीतिक गतिविधिमा केन्द्रीत रहेको पाइएको भन्दै प्रधानमन्त्रीले ऊर्जामन्त्री कुलमान घिसिङ, खेलकुदमन्त्री बब्लु गुप्ता र सञ्चारमन्त्री जगदीश खरेललाई राजीनामा दिन सुझाएको एक मन्त्रीले रातोपाटीलाई जानकारी दिए । 

  • न्यायालय

काठमाडौँ महानगरपालिकाका पूर्वप्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन् । विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले परियारसहित सबैलाई सफाइ दिएको हो ।

विशेष अदालतले गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोप लागेका नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेललाई अदालतमा झिकाउने आदेश जारी गरेको छ ।

प्रतिनिधिसभा विघटन बदर गरेको सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ । तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले हस्ताक्षर गरी पाँच वर्षपछि फैसलाको पूर्णपाठ हालै सार्वजनिक भएको हो । 

  • कोशीमा मन्त्रिपरिषद् पुनर्गठन

कोशी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । मुख्यमन्त्री हिक्मत कार्कीको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङ्गले मंगलबार मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् ।

  • नयाँ संसद् भवन

आगामी निर्वाचनपछि प्रतिनिधिसभा सञ्चालनका लागि सिंहदरबार परिसरमा निर्माणाधीन नयाँ संसद् भवन तयार नहुने निश्चित भएको छ । निर्माण कार्यको जिम्मा लिएका व्यवसायीले भवन सम्पन्न गर्न थप ९ महिना माग्दै निवेदन दिएका छन् । 

  • भू–राजनीति

 ल्याटिन अमेरिकाका दुई शीर्ष नेतालाई अमेरिकामा मुद्दा चलाइयो । दुवैमाथि सरकारलाई भ्रष्ट बनाएको अनि सयौं टन कोकिन अमेरिका भित्र्याउन राज्य शक्तिको प्रयोग गरेकोलगायत आरोप लगाइएको थियो । 

  • खाद्य स्वच्छता तथा गुणस्तर ऐन

नेपालको हिमाली तथा पहाडी भेगको मौलिक पहिचानका रूपमा रहेको छुर्पीको उत्पादन, प्रशोधन र निर्यातलाई व्यवस्थित बनाउन नेपाल सरकारले कडा गुणस्तर मापदण्ड कार्यान्वयनमा ल्याएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप