काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन राजधानीको भृकुटीमण्डपमा जारी छ । विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पेस गरेको प्रतिवेदनमाथि ९ समूहमा छलफल चलिरहेको छ । छलफलपछि नेतृत्व चयन प्रक्रिया थालेर मंगलबार महाधिवेशन सक्ने तयारी गरिएको छ ।
काठमाडाैँ । नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक विवाद समाधानका लागि पार्टीभित्र पहल थालिएको छ ।
जारी विशेष महाधिवेशसँगै उत्पन्न संकट समाधानको प्रयासस्वरूप विशेष महाधिवेशन पक्षधरको तर्फबाट सभापति शेरबहादुर देउवा समूहसँग औपचारिक वार्ता गर्न चार सदस्यीय समिति गठन गरिएको छ । समितिमा प्रदीप पौडेल, मधु आचार्य, देवराज चालिसे र गुरुराज घिमिरे रहेको एक नेताले बताए ।
त्यसैगरी, देउवा समूहको तर्फबाट स्वयम् सभापति देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्का वार्तामा सहभागी हुने तय भएको छ । दुवै पक्षबीच छिट्टै वार्ता गरेर सहमतिको बिन्दु खोज्ने र पार्टीलाई एकताबद्ध रूपमा अगाडि बढाउने प्रयास गरिने जनाइएको छ ।
काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा आइतबारदेखि जारी विशेष महाधिवेशनको कार्यतालिका संशोधन गरिएको छ ।
नेपाली कांग्रेसको दोस्राे विशेष महाधिवेशन पुस २७ र २८ गतेका लागि आयोजना गरिएको थियो ।
साेमबार बन्दसत्र सुरू भएको र विभिन्न प्रतिवेदन उपरको छलफल लम्बिएकाले महाधिवेशनको कार्यतालिका संशोधन गरिएको दोस्रो विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका संयोजक मनोजमणि आचार्यले बताए ।
‘मचाहिँ बालेन शाहको ठुलो फ्यान’ जुम्लाकी जेनजी संगीता हमालले फ्याट्ट भनिन् । राजनीतिमा निकै रुचि राख्ने हमाल हालसम्म कुनै पनि राजनीतिक दलसँग आबद्ध छैनन्, तर उनमा परिवर्तनको हुटहुटी भने छ ।
अनेकथरी राजनीतिक पार्टी र नेताका भाषण सुन्दासुन्दै हमाल वाक्क भइसकेकी छन् । धेरै अपेक्षा गरेर फेरि निराश बन्न उनलाई पटक्कै मन छैन । ‘नेताहरूले पिछडिएको क्षेत्रको समस्या बुझेनन्,’ कर्णालीदेखि अध्ययनकै लागि राजधानीमा बसिरहेकी हमाल भन्दै थिइन्, ‘नेताहरूले अनावश्यक भाषण ठोक्नुभन्दा जनतालाई डेलिभरी दिनुपर्छ ।’
जेनजी विद्रोहपछि राजनीतिक दलहरूमा पुस्तान्तरण भएको हेर्ने तीव्र चाहना छ हमालको । यसो भन्दै गर्दा भर्खरै उदाएका नयाँ राजनीतिक दलप्रति उनको त्यति ठुलो अपेक्षा भने छैन । उनले एउटै कुरा दोहोर्याइन्, ‘जनतालाई डेलिभरी दिनुपर्छ ।’ पुराना पार्टीहरूले अब जनतालाई निराश नबनाइदिऊन् भन्ने उनको कामना छ । जुन कुरामा धेरै आशा राखिन्छ, त्यही कुराले निराश बनाइरहेको उनलाई महसुस भएको छ ।
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको आह्वानमा काठमाडौँको भृकुटीमण्डपमा चलिरहेको विशेष महाधिवेशनको बन्दसत्रमा तीन प्रतिवेदन पेस भए ।
अधिवक्तासमेत रहेका महासमिति सदस्य नारायण भट्टराईले विशेष महाधिवेशनको कार्यविधि, महामन्त्री शर्माले 'बदलिएको देश/बदल्नुपर्ने कांग्रेस सद्भाव, सुशासन र समुन्नतिको नवीन यात्रा' शीर्षकमा र अर्का महामन्त्री थापाले समसामयिक राजनीतिक प्रस्ताव शीर्षकमा प्रतिवेदन पेस गरे ।
पेस हुनेबित्तिकै हलले पास गरेको कार्यविधिमा ५ (घ)मा विशेष केन्द्रीय महाधिवेशन २०७८ (मंसिर २४ देखि २८)बाट निर्वाचित मौजुदा केन्द्रीय कार्यसमितिको पदावधि समाप्त भइसकेकोले केन्द्रीय कार्यसमितिको विघटन गर्ने र १५औँ महाधिवेशन सम्पन्न नहुँदासम्म 'नयाँ केन्द्रीय समितिको निर्वाचन' भन्ने वाक्यांश परेपछि कांग्रेस फुटको सँघारमा पुग्यो भन्ने चिन्ता र चासो महाधिवेशनस्थलमै देखियो ।
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको बन्दसत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ । सोमबार कांग्रेस महामन्त्री गगन थापाले समसामयिक राजनीतिक प्रस्ताव पेस गरे भने अर्का महामन्त्री विश्वप्रकाश शर्माले संकल्प प्रस्ताव पेस गरेका छन् ।
मंगलबारसम्म लम्बिने विशेष महाधिवेशनले नीतिका साथै कांग्रेसको नेतृत्व नै परिवर्तन गर्ने बताइएको छ । रातोपाटीले सोमबार महाधिवेशन स्थलमा भेटेका प्रतिनिधिहरूले कांग्रेसको नेतृत्व परिवर्तन भएरै छाड्ने बताए ।
काठमाडाैँ । नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले पार्टीलाई विभाजन गर्ने दिशामा कोही पनि जान नहुने बताएका छन् ।
सोमबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले पार्टीलाई कसरी बलियो बनाउने भन्नेबारेमा सबैले सोच्नुपर्ने बताउनु भयो । उहाँले मेरो गोरुको बाह्रै टक्का जस्तो गरी कोही पनि जान नहुने बताए ।
पार्टीलाई निर्वाचनमा फेरि ठुलो पार्टी बनाउने गरी अघि बढ्नुपर्ने बताए । सभापति शेरबहादुर देउवाले एकजुट भएर कांग्रेस अघि बढ्नुपर्ने बताएको उनले जानकारी दिए । उनले भृकुटीमण्डपमा गएर पनि केही संवाद गरेर पार्टी एकता हुने भए त्यसबारेमा पनि छलफल गर्न सकिने बताए ।
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विशेष महाधिवेशन पक्षधरसँग छलफल गर्ने तयारी गरेका छन् ।
सोमबार आफूनिकट नेताहरूसँग छलफल गर्दै सभापति देउवाले पार्टीलाई एकताबद्ध गर्न महाधिवेशन पक्षधरसँग छलफल गर्ने बताएका हुन् ।
सभापति देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग छलफल गर्ने निष्कर्ष निकालिएको नेताहरूले बताएका छन् ।
काठमाडौँ । नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरहरुले महाधिवेशनमा सहभागी भई हस्ताक्षर गर्ने महाधिवेशन प्रतिनिधिहरुको संख्या ७० प्रतिशत पुर्याउने दाबी गरेका छन् । सोमबार साँझ सञ्चारकर्मीहरुसँग कुरा गर्दै महाधिवेशन पक्षधरहरुले यसबारे जानकारी गराएका हुन् ।
पत्रकार सम्मेलनमा बोल्दै विशेष महाधिवेशन पक्षधर नेता सुवास पोखरेलले आइतबार विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्नेहरुको संख्या २ हजार ६ सय ६२ रहेकोमा सोमवार ६.२४ प्रतिशतले बढेको बताए। उनले विशेष महाधिवेशन पक्षधर महाधिवेशन प्रतिनिधिहरुको संख्या ७० प्रतिशत पुर्याएर देखाइदिने बताए ।
मंगलवार नेतृत्व चयनका लागि प्रक्रिया शुरु हुने पनि उनले जानकारी दिए । उनका अनुसार मंगलवार निर्वाचन, अनुशासन, केन्द्रीय समिति लगायतका समितिहरु भंग गरिनेछ ।
काठमाडौँ । नेपाली कांग्रेस विशेष महाधिवेशनको प्रस्तावमा बुढीगण्डकी आयोजना निर्माण एजेन्डाको रूपमा आएको छ ।
महामन्त्री विश्वप्रकाश शर्माले उक्त आयोजना गैह्र आवासीय नेपाली र निजी क्षेत्रको साझेदारीमा बनाउने गरी जीपीपीए मोडल प्रस्ताव गरेको हो ।
प्रतिवेदनमा उक्त परियोजना निर्माणका लागि ‘रेडि टु टेक अफ’ स्थितिमा रहेको भन्दै फेवातालभन्दा १५ गुणा ठुलो ताल बन्ने, १२ सय मेगावाटको विद्युत् उत्पादन हुने, नेप्लिज फल्स निर्माण गरेर पर्यटनलाई बल पुग्ने, बगेको पानी चितवनमा सङ्कलन गरेर मधेसको पिउने पानी, सिँचाई र सुख्खा समस्या हल हुने भएकोले यस्तो परियोजना निर्माण सुरु गरेर नागरिकमा आशा जगाउन ढिलाइ गर्नु हाम्रो गल्ती रहेको बताइएको छ ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको आह्वानमा आइतबारदेखि सुरु भएको नेपाली कांग्रेसको विशेष महाधिवेशन राजधानीको भृकुटीमण्डपमा जारी छ । महाधिवेशनबाट नयाँ नेतृत्व नै चयन गर्ने तयारी भइरहँदा सभापति शेरबहादुर देउवा पक्षले भने महाधिवेशन नै अवैधानिक भएको जिकिर गर्दै आएको छ । विशेष महाधिवेशनमा सहभागिता नजनाएको देउवा पक्षका नेता तथा कांग्रेस प्रवक्ता डा. प्रकाश शरण महतसँग रातोपाटीले गरेको कुराकानीको सम्पादित अंश-
तपाईंहरुको सहभागिता बिनै भएको विशेष महाधिवेशनले आफ्नो कार्यविधि बनायो, केन्द्रीय कार्यसमिति पनि भंग गरेको छ। १५औँ महाधिवेशनले नयाँ कार्यसमिति चयन गर्ने बेलासम्म अर्को कार्यसमिति चयन गर्ने समेत भनिएको अवस्थामा यो सबै कार्य विधानसम्मत हुन्छ कि हुँदैन ?
विशेष अधिवेशनको बोलावट नै विधान सम्मत छैन भनेर हामीले केन्द्रीय कार्यसम्पादन समितिले निर्णय गरिसकेका छौँ। यो बिना आधार गरेको होइन। किनभने जब पहिला महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरे, माग के थियो भने नियमित अधिवेशन हुनुपर्छ । त्यो नभएमा विशेष भन्ने आशयमा उहाँहरूको हस्ताक्षर थियो। त्यो हुनाले हामीले सहमतिबाटै नियमित अधिवेशन गर्ने निर्णय गर्यौँ।
काठमाडौँ । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि माइकल रामचन्द्र अर्यालले काठमाडौँको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनलाई समर्थन गरेका छन् ।
मकवानपुर निवासी अर्यालले सोमबार प्रतिबद्धता पत्र सार्वजनिक गर्दै महाधिवेशनस्थल नगई कांग्रेसको दोस्रो विशेष महाधिवेशनलाई समर्थन गरेका हुन् ।
उनले भनेका छन्,'नेपाली कांग्रेसको १४औँ महाधिवेशनको महाधिवेशन प्रतिनिधि हुँ । बदलिएको परिस्थितिमा पार्टीको विशेष महाधिवेशन हुनुपर्ने निष्कर्षका साथ विशेष कारण खुलाई विशेष महाधिवेशन माग गर्ने २४८८ निवेदनकर्तामध्ये म पनि एक हस्ताक्षरकर्ता हुँ ।'
काठमाडाैँ । नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले वर्तमान राजनीतिक संकट टार्नको लागि सर्वपक्षीय गोलमेच सम्मेलन गर्नुपर्ने बताएका छन् । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले जेनजी, नयाँ उदाएका शक्ति र राजनितिक दलको बिचमा गोलमेच सम्मेलन गर्नुपर्ने बताएका हुन् ।
उक्त सम्मेलनको नेतृत्व नेपाली कांग्रेसले गर्नुपर्ने उनको भनाइ छ । उनले अहिले राष्ट्रिय एकताको खाँचौ औँल्याए । कांग्रेसको नेतृत्वमा सबैलाई लिएर अगाडी बढ्नुपर्ने उनको भनाइ छ ।
उनले भने, ‘सर्वसम्वत, सर्वदलीय जेनजीदेखि लिएर धेरै शक्तिहरु अहिले आएको छ, उनीहरुको गोलमेच सम्मेलन नेपाली कांग्रेसले गर्नुपर्छ । सबैलाई लिएर नेपाली कांग्रेसले नेतृत्व लिएर अगाडि बढ्नुपर्छ । यो महाधिवेशनले आफ्नो विधि विधानअनुसार निर्णय गर्नुपर्छ । त्यो निर्णयलाई कांग्रेसको विधानअनुसार मान्नुपर्छ । अहिले राष्ट्रिय एकताको खाँचो छ ।’
काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन मंगलबारसम्म लम्बिने भएको छ । दुई महामन्त्रीका प्रतिवेदनमाथि छलफल चलिरहँदा निष्कर्षमा पुग्न बाँकी रहेपछि बैठक मंगलबारसम्म लम्बिएको हो ।
विशेष महाधिवेशन प्रचार प्रसार उपसमितिका सदस्य सचिव माधवप्रसाद चम्लागाईंले बैठक मंगलबारसम्म लम्बिएको बताए ।
मंगलबार नै नेतृत्व चयन थालिने समेत उनले बताए । उनले भने, ‘महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पेस गरेका प्रतिवेदनमाथिको छलफल घनिभूत रूपमा चलिरहेको छ । यो क्रम मंगलबार पनि चल्नेछ । त्यसपछि मात्र नेतृत्व चयन प्रक्रिया अगाडि बढ्ने छ ।'
काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टी विभाजनतिर गएको भन्दै तत्काल मिलाउन सभापति शेरबहादुर देउवालाई सुझाव दिएका छन्।
देउवा निवास महाराजगञ्जमा सोमबार पुगेर कोइरालाले देउवालाई यस्तो सुझाव दिएका हुन् । देउवा गुटको बैठक जारी रहेकै बेला अरू तीन जना नेतासहित कोइराला महाराजगञ्ज पुगेका थिए।
बैठकमा सहभागी कोइराला समूहको एक नेताले पार्टी फुटतिर गएकाले कोइरालाले सभापतिलाई मिलाउन आग्रह गरेको रातोपाटीलाई बताए ।
काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा आइतबारदेखि जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माकाे प्रतिवेदन र चार विषयमा छलफल गर्न गठित ९ समूहका संयाेजक ताेकिएका छन् ।
समूहमा कोशी प्रदेशबाट मेदती सिटौला, मधेश प्रदेशबाट चन्द्रशेखर यादव, बागमती प्रदेशबाट वीरेन्द्र सिंह समूहगत छलफलमा छन् । त्यस्तै गण्डकी प्रदेशबाट रेशम बानियाँ, लुम्बिनी प्रदेशबाट भुवन श्रेष्ठ, कर्णाली प्रदेशबाट नारायण भट्टराई र सुदूरपश्चिम प्रदेशबाट भरत खड्का छन् । त्यसैगरी उपत्यकाबाट प्रमोदहरी गुरागाईँ एवं भ्रातृ तथा शुभेच्छुक सङ्गठन,जनसम्पर्कबाट केशव निरौला र सीता सापकोटा सहभागी छन् ।
यी समूहहरूले मुख्य चार वटा विषयमा केन्द्रित रहेर आफ्ना सुझाव र धारणा राख्नेछन्। छलफलका लागि तय गरिएका विषयहरूमा समसामयिक राजनीति, नीति र नेतृत्व, शासकीय सुधार र विधान संशोधन रहेका छन्।
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अग्रसरतामा काठमाडौँको भृकुटीमण्डपमा आइतबारदेखि विशेष महाधिवेशन जारी छ । सोमबार सुरु भएको बन्दसत्रमा महामन्त्रीद्वयका प्रतिवेदन र चार विषयमा छलफल गर्न ९ वटा समूह गठन गरिएको छ ।
प्रचार प्रसार समितिका संयोजक सुवास पोखरेलका अनुसार महामन्त्रीद्वयका प्रतिवेदन र चार विषयमा छलफल गर्न ९ वटा समूह गठन गरिएको हो ।
ती समूहहरूले मुख्य चार वटा विषयमा केन्द्रित रहेर आफ्ना सुझाव र धारणा राख्नेछन्। छलफलका लागि तय गरिएका विषयहरूमा समसामयिक राजनीति, नीति र नेतृत्व, शासकीय सुधार र विधान संशोधन रहेका छन्।
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत राजधानीको भृकुटीमण्डपमा बन्दसत्र सुरु भएको छ । ८८ वर्षीय महाधिवेशन प्रतिनिधि श्याम कुमार खड्काको अध्यक्षतामा सोमबार बन्दसत्र सुरु भएको हो ।
यस्तै बन्दसत्रको कार्यक्रम किशोरदत्त बरालले कार्यक्रम सञ्चालन गर्नेछन् भने नारायण भट्टराईले हललाई कार्यविधि पढेर सुनाउने जानकारी दिइएको छ ।
यसअघि ओमकार प्रसाद श्रेष्ठको अध्यक्षतामा बन्दसत्र हुने भनिएपनि उनीभन्दा ज्येष्ठ सदस्य खड्का रहेको पाइएपछि उनकै अध्यक्षतामा बन्दसत्र सुरु गरिएको आयोजक समितिको भनाइ छ । खड्का काठमाडौँ–५ महाधिवेशन प्रतिनिधि बनेका हुन् ।
काठमाडौँ । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निवास क्षेत्रमा सुरक्षा बढाइएको छ । बुढानीलकण्ठ नगरपालिका–७ हात्तिगौंडा, हेपाली हाइटस्थित खड्काको निवास क्षेत्रमा बाक्लो सङ्ख्यामा प्रहरी परिचालन गरिएको हो ।
नेपाली कांग्रेसका महामन्त्रीद्ववय गगन थापाले र विश्वप्रकाश शर्माले भृकुटीमण्डपमा आइतबारदेखि विशेष महाधिवेशन आयोजना गरेका छन् । विशेष महाधिवेशनमा आज बन्दसत्र सुरु हुँदैछ । कांग्रेसका बहुमत प्रतिनिधि विशेष महाधिवेशनमा सहभागी छन् ।
सुरक्षा सचेतना अपनाएर खड्काको निवास क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको उपत्यका प्रहरी कार्यालयका एक जना अधिकृतले रातोपाटीलाई बताए । उनले भने, ‘पूर्व सावधानी अपनाएर उहाँको निवास क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन गरिएको हो ।’ खड्का पूर्व उपप्रधानमन्त्री समेत हुन् ।
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको आफ्नो गुटको आकस्मिक बैठकमा शेखर कोइराला समूहका चार नेता पनि सहभागी भएका छन् ।
देउवाले सोमबार दिउँसो ३ बजेका लागि आफ्नो निवास महाराजगन्जमा गुटको बैठक बोलाएका थिए । आकस्मिक बैठक चलिरहेका बेला डा. शेखर कोइरालाको नेतृत्वमा जीवन परियार, बद्री पाण्डे र डा. मिनेन्द्र रिजाल पुगेका हुन्। देउवा गुटको तर्फबाट कार्यवाहक पूर्णबहादुर खड्का र प्रवक्ता डा. प्रकाशशरण महतलगायतका नेताहरू सहभागी छन् ।
काठमाडौँ । नेपाली कांग्रेसको विशेषमहाधिवेशनमा पार्टीको आगामी कार्यदिशा र नेतृत्वका विषयमा छलफल सुरु भएको छ। महाधिवेशनको बन्द सत्रमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माका प्रस्तावहरू पेस गरिएसँगै प्रतिनिधिहरू समूहगत छलफलमा जुटेका हुन्।
प्रचार प्रसार समितिका संयोजक सुवास पोखरेलका अनुसार महाधिवेशनमा सहभागी प्रतिनिधिहरूलाई ९ वटा समूहमा विभाजन गरिएको छ। ती समूहहरूले मुख्य चारवटा विषयमा केन्द्रित रहेर आफ्ना सुझाव र धारणा राख्नेछन्। छलफलका लागि तय गरिएका विषयहरूमा समसामयिक राजनीति, नीति र नेतृत्व, शासकीय सुधार र विधान संशोधन रहेका छन्।
आज दिउँसोको खानापछिको समूहगत छलफलबाट प्राप्त सुझावहरूलाई महाधिवेशनमा पेस गरिने उनले बताए । संयोजक पोखरेलले महाधिवेशन अझै तीन दिनसम्म लम्बिन सक्ने संकेत गरेका छन्। उनले भने, 'हामीले प्रस्तावहरू पेस गरिसकेका छौँ, अब समूहगत छलफल र त्यसपछि नेतृत्व चयनको प्रक्रिया अगाडि बढ्छ।'
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको विशेष महाधिवेशनमा सहभागी हुन सभापति शेरबहादुर देउवालाई फेरि आग्रह गरेका छन्। काठमाडौँको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमा आफ्नो राजनीतिक प्रस्ताव पेस गर्ने क्रममा थापाले विधानसम्मत ढंगले आयोजना गरिएको यस कार्यक्रममा सहभागी हुन सभापति देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहितका नेताहरूलाई आह्वान गरेका हुन्।
उनले यो पार्टीको आधिकारिक र विधानसम्मत कार्यक्रम भएको दाबी गर्दै यसलाई कसैले पनि अवैधानिक भन्न नसक्ने जिकिर गरे। महामन्त्री थापाले देशभरका नेता तथा कार्यकर्ताहरू विशेष महाधिवेशनमा सहभागी हुन इच्छुक भए पनि नेतृत्वसँग डराएर आउन नसकेको टिप्पणी गरे।
थुप्रै साथीहरूले आफूलाई सम्पर्क गरेर आउने इच्छा देखाएको तर जिल्लाका नेताहरूको डरका कारण खुल्न नसकेको उनको भनाइ छ। उनले देशमा आशाको सञ्चार गराउनका लागि पनि कांग्रेस जागेर अघि बढ्नुपर्नेमा जोड दिए। थापाले यो कुनै अलग समूहको नभई पार्टीकै हितका लागि आयोजना गरिएको कार्यक्रम भएकाले बन्दसत्रबाटै शीर्ष नेताहरूलाई सहभागी हुन अनुरोध भइरहेको जानकारी दिए।
काठमाडाैँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्नका लागि आफ्नो पार्टीले सशक्त भूमिका निर्वाह गर्ने बताएका छन् । नेपाली कांग्रेस सो निर्वाचनमा सहभागी हुने र त्यसलाई भव्यताका साथ सफल पार्न लागिपर्ने महामन्त्री थापाको भनाइ थियो ।
काठमाडौँको भृकुटीमण्डपमा जारी पार्टीको विशेष महाधिवेशनमा बोल्दै उनले निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न पनि सरकारलाई सचेत गराए । महामन्त्री थापाले भने ,‘नेपाली कांग्रेस पार्टी फागुन २१ को निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित हुनुपर्छ भन्ने मान्यता राख्छ । र भव्यताका साथ नेपाली कांग्रेस पार्टी यो निर्वाचनलाई सफल बनाउने कुरामा आफनो भूमिका निर्वाह गर्दछ । हामी निर्वाचनमा सोहीअनुसार सहभागी हुन्छौँ भन्ने कुरा यहाँ राखेको छु ।’
महामन्त्री थापाले निर्वाचन प्रणालीमा सुधारको आवश्यकतामा पनि जोड दिए । –न्युज एजेन्सी नेपाल