मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
कांग्रेसको नीति र नेता बदल्ने घोषणा [सबै अपडेट एकैठाउँमा ]
LIVE UPDATES

LIVE UPDATES : कांग्रेसको नीति र नेता बदल्ने घोषणा [सबै अपडेट एकैठाउँमा ]

आइतबार, २७ पुस २०८२, १९ : ००
Live

सारांश

  • काठमाडौंमा संस्थापन समूहको असहयोगका बाबजुद बहुमत प्रतिनिधिहरूको समर्थनमा कांग्रेसको विशेष महाधिवेशन हुँदैछ।
  • आइतबार राजधानीको भृकुटीमण्डपमा महाधिवेशन उद्घाटनको तयारी भइरहेको छ।
  • यो समाचार कांग्रेसको विशेष महाधिवेशन सम्बन्धी अपडेट हो।

काठमाडौँ । संस्थापन समूहको असहयोगका बिच बहुमत महाधिवेशन प्रतिनिधिको समर्थनमा नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्‍घाटन सत्र सम्पन्न भएको छ। आइतबार राजधानीको भृकुटीमण्डपमा विशेष महाधिवेशनको उद्घाटन भएको हो । उद्घाटन समारोहमा नेताहरुको अब कांग्रेसको नीति र नेता बदल्ने घोषणा गरेका छन् । 

ज्वालालाई जागृत राखिराख्न डढ्न तयार छौँ

पछिल्लो समयमा यत्रो लामो समयसम्म टसमस नगरिकन एउटा प्रतिबद्धताका साथमा राजनीतिक कार्यक्रममा भाषण सुनेर यति लामो समयसम्म बसेको पछिल्लो समयमा कतै पनि देखेको थिइनँ । तपाईंहरूको यो उपस्थितिले पनि देखाउँछ– यो महाधिवेशन त्यसै विशेष हुँदै छैन । यसको नाम मात्र विशेष होइन, यसलाई हामीले विशेष बनाएर टुङ्ग्याउनु छ ।

अघि महामन्त्री विश्वप्रकाश शर्मा र मैले यहाँ मञ्चबाट तल ओर्लिएर नेताहरूको तस्बिरमा माल्यार्पण गर्‍यौँ, दियो बाल्यौँ र गमलामा पानी हालेर यसको उद्घाटन गर्‍यौँ । हामीलाई खुसी लागेको होइन । हामी त्यो उद्घाटन आज हाम्रो पार्टी सभापतिलाई आएर गरेको हेर्न चाहन्थ्यौँ । हाम्रो कार्यवाहक सभापति पनि यहाँ उपस्थित हुनुभएको चाहन्थ्यौँ । त्यसो हुन सकेन । कतिलाई बाहिरबाट हेर्दै गर्दाखेरि आज नेपाली कांग्रेसभित्रको यो झगडा भइरहेको छ भन्ने पनि लागिरहेको होला । नेपाली कांग्रेसभित्रको संघर्षको कारणले गर्दा, पार्टीभित्रको सत्ताको संघर्षले, शक्तिको संघर्षको कारणले गर्दा आज यहाँभित्र कोही उपस्थित भएको, कोही उपस्थित नभएको दृश्य यहाँभित्र देख्नुपरेको भन्ने लागिरहेको होला । तर कुरा त्यो होइन । यो संघर्ष नै हो । तर यो शक्तिको संघर्ष होइन । यो पार्टीभित्रको सत्ताको संघर्ष पनि होइन । यो विचारको संघर्ष हो यो । यो मूल्य र मान्यताको संघर्ष हो । 

भाद्र २३ र २४ गते गैरन्यायिक हत्या पनि भयो । २४ गते ठुलो उपद्रो पनि भयो । आपराधिक कामहरू पनि भए, घुसपैठ पनि भए । त्यसको बारेमा कानुनसम्मत ढंगले छानबिन भइरहेको छ, दोषीले त्यसको सजाय पनि पाउला । तर त्यो एउटा घटना हो । भाद्र २३ र २४ गते त्यति मात्र भएको होइन । भाद्र २३ र २४ गते जेन्जीहरूले मात्र होइन, नेपालका लाखौँ लाख नर–नारीहरूले सडकमा आएर, घरमा बसेर रिस पोखेका हुन्, आक्रोश व्यक्त गरेका हुन्, आफ्नो असन्तुष्टि व्यक्त गरेका हुन् । कोसँग व्यक्त गरेको? सरकारसँग । अनि त्यो सरकारमा को थियो? हामी थियौँ । कोसँग व्यक्त गरेको? संसदसँग । त्यो संसदमा को थियौँ? हामी थियौँ । व्यक्तिगत रूपमा रिसाएको होइन, हाम्रो कामसँग रिसाएको । भ्रष्टाचारसँग रिसाएको, कुशासनसँग रिसाएको, बेथिति सँग रिसाएको । राजाको छोरा राजा हुने व्यवस्था फालेर बनेको गणतन्त्रमा नेपो बेबीहरूको राज देखेर रिस उठेकै हो । चित्त दुखाएकै हो, असन्तुष्ट भएकै हो । 

कांग्रेस विशेष महाधिवेशन : बन्दसत्रकाे समय सर्‍याे

काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र सोमबार बिहान १० बजेदेखिमात्र हुने भएको छ । 

यसअघि बिहान ८ बजेदेखि हुने भनिए पनि महाधिवेशन प्रतिनिधिको दर्ता गर्ने क्रम बाँकी रहेको र खाजाको समय पनि छुट्टाइएकाले दुई घण्टा ढिला गरी बन्द सत्र हुन लागेको हो ।

व्यवस्थापन उपसमिति अन्तर्गत प्रचार प्रसार संयोजक सुवास पोखरेलका अनुसार बिहान ८ बजेदेखि दर्ता र खाजाको क्रम सुरु हुनेछ भने १० बजेदेखि बन्द सत्र चालु हुनेछ । 

गगनको विद्रोह, कार्यकर्तामा ‘आशा’

काठमाडौँ । आइतबार भृकुटीमण्डपको प्राङ्गणमा एउटा फरक दृश्य थियो । नेपाली कांग्रेसको इतिहासमा यसअघि धेरै अधिवेशन भए, धेरै नारा लागे । तर आइतबार महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको आह्वानमा सुरु भएको यो ‘दोस्रो विशेष महाधिवेशन’ केवल एउटा राजनीतिक कार्यक्रम मात्र थिएन, यो त एउटा पुस्ताले अर्को पुस्तासँग मागेको आफ्नो भविष्यको हिसाब–किताब थियो । पार्टीको संस्थापन पक्षले यसलाई ‘अवैधानिक’ भनिरहँदा, विधानको धारा १७ (२) को आधार देखाउँदै आएका कार्यकर्ताको आँखामा भने एउटा छुट्टै चमक थियो ‘रुपान्तरण’को चमक । 

महाधिवेशनमा देशभरबाट आएका प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया बिहानदेखि नै सुरु भएको थियो । आयोजकहरूका अनुसार ६० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिको सहभागिता रहने अपेक्षा गरिएको छ । प्रतिनिधि दर्ता शुल्क प्रतिव्यक्ति एक हजार रुपैयाँ तोकिएको छ । महाधिवेशनले पार्टीको नेतृत्व परिवर्तन, नीतिगत पुनरवलोकन, संरचनागत सुधारलगायतका एजेन्डामा छलफल गर्ने जनाइएको छ । उद्घाटन सत्रपछि बन्द सत्र सुरु हुने र महाधिवेशन सोमवारसम्म चल्ने कार्यक्रम छ । 

'समय फेरियो अब गगन नै हुन नेता’

जनआक्रोसलाई सम्बोधन गर्न विशेष महाधिवेशन बोलाइएको हो : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जनताका असन्तुष्टि सुन्न र सम्बोधन गर्न पार्टीको विशेष महाधिवेशन बोलाइएको बताएका छन् । 

कांग्रेस विशेष महाधिवेशन पक्षधरको आह्वानमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा देखिएको जनआक्रोसलाई राजनीतिक दलहरुले सम्बोधन गर्नुपर्ने धारणा व्यक्त गरे ।

उनले भने, “आन्दोलनका क्रममा कांग्रेसको सहभागिता रहेको सरकारसँग जनता रिसाएका हुन्, आक्रोश पोखेका हुन् । नवयुवा भ्रष्टाचार, कुशासन र बेतिथिसँग रिसाएका हुन् । राजा फालेर ल्याएको गणतन्त्रमा नेपाबेवीको राज देखेर रिसाएका हुन्, चित्त दुखाएका हुन्, असन्तोष व्यक्त गरेका हुन् । ती आवाज सुन्न विशेष अधिवेशन बोलाइएको हो ।”

‘नेतृत्वको लोकप्रियता कायम राख्न ‘ग्रेसफुल एक्जिट’ अनिवार्य सर्त’

काठमाडौँ | नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको अबको मुख्य लक्ष्य सद्भाव, सुशासन र समुन्नति हुनुपर्नेमा जोड दिएका छन्। विशेष महाधिवेशन पक्षधरको आह्वानमा काठमाडौँमा सुरु भएको दोस्रो विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले पार्टीलाई फुटबाट जोगाएर अझ सशक्त बनाउने संकल्प व्यक्त गरे।

महामन्त्री शर्माले नेतृत्वको लोकप्रियता कायम राख्न 'ग्रेसफुल एक्जिट' (सम्मानजनक बहिर्गमन) अनिवार्य सर्त भएको टिप्पणी गरे। उनले नेतृत्वले आफूले गरेका राम्रा कामको जस लिने मात्र नभई कमजोरीहरू सच्याउन पनि तयार हुनुपर्ने धारणा राखे। विशेष महाधिवेशन प्रतिनिधिहरू अनुशासित रहेको चर्चा गर्दै उनले यो भेलाले कुनै आवेगमा नभई विवेकपूर्ण निर्णय गरेर देश र पार्टीको हितमा काम गर्ने विश्वास दिलाए।

जेनजी आन्दोलनले उठाएका सुशासनका मागहरूलाई कांग्रेसले नै सम्बोधन गर्न सक्ने दाबी गर्दै शर्माले बदलिएको परिस्थिति अनुसार पार्टी पनि बदलिएर अघि बढ्नुपर्ने बताए। उनले गत भदौ २३ र २४ गतेका घटना र त्यसक्रममा गुमेका जीवनका बारेमा गम्भीर छानबिन हुनुपर्ने माग समेत गरे। सरकारमा बस्नेहरूले जनतामा विश्वास जगाउन नसकेकै कारण युवाहरूको आन्दोलन चर्किएको उनको विश्लेषण थियो।

‘बहुमत प्रतिनिधि जहाँ छन्, वास्तविक पार्टी त्यहीँ हुन्छ’

काठमाडौँ | नेपाली काँग्रेसका नेता एवं पूर्वअर्थमन्त्री महेश आचार्यले पार्टीको विशेष महाधिवेशन पक्षधरको विजय भएको उद्घोष गरेका छन्। राजधानीमा सुरु भएको विशेष महाधिवेशनलाई सम्बोधन गर्दै उनले देशभरका महाधिवेशन प्रतिनिधिहरूको उत्साहजनक उपस्थितिले विधिको शासन चाहनेहरूको जित भएको दाबी गरे।

आचार्यले पार्टीको संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षधरको सम्बन्धलाई नदी र पुलको संज्ञा दिँदै रोचक टिप्पणी गरे। उनले पार्टी नेतृत्व (पुल) र आम कार्यकर्ता (नदी) अलग भएर बस्न नसक्ने तर्क गरे। ‘पार्टीको नेता पुल एकातिर लिएर उभिने अनि मेची-महाकालीका प्रतिनिधिहरू नदीको रूपमा अर्कातिर हुने अवस्था रहन सक्दैन,’ उनले भने, ‘नदी र पुल सधैँ सँगै हुनुपर्छ, बहुमत प्रतिनिधि जहाँ छन्, वास्तविक पार्टी त्यहीँ हुन्छ।’

उनले यो महाधिवेशनले पार्टीभित्र विधान र विधिको पुनर्स्थापना गरेको जिकिर गरे। अबका दिनमा पार्टी हिजोको जस्तो ढर्रामा नचल्ने र कुनै पनि पदाधिकारीले बहुमत प्रतिनिधिको भावनालाई बेवास्ता गर्ने आँट गर्न नसक्ने उनको चेतावनी थियो। विधानअनुसार पार्टी चलाउनुपर्छ भन्ने मान्यता राख्नेहरूका लागि यो उपस्थिति एउटा बलियो आधार बनेको उनले बताए।

पार्टी सभापतिलाई बन्द सत्रलाई सम्बोधन गर्न आग्रह

काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री फर्मुल्ला मन्सुरले पार्टीको चालु विशेष अधिवेशनको भोलि हुने बन्द सत्रमा उपस्थित भई सम्बोधन गरी पार्टीलाई एकताबद्ध तुल्याउन पार्टी सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।

भृकुटीमण्डपमा आयोजित पार्टीको विशेष महाधिवेशनलाई सम्बोधन गर्दै नेता सुरेन्द्र चौधरीले विशेष महाधिवेशनले पार्टीमा देखिएका सबैखाले समस्या समाधान हुने विश्वास गरे।

पार्टीका केन्द्रीय सदस्य महेश आचार्यले विशेष महाधिवेशनले पार्टी विधानसम्मत ढङ्गले चल्नुपर्छ भन्ने स्पष्ट सन्देश दिएको बताउनुभयो । यस अधिवेशनले पार्टीभित्र अरूको कुरा सुन्न नचाहने प्रवृत्तिलाई परास्त गरेको उनले बताए । 

साँझपख यस्तो देखियो कांग्रेसको महाधिवेशनस्थल, तस्बिरहरू

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटनसत्र सम्पन्न भएको छ । आइतबार काठमाडौँको भृकुटीमण्डपमा उद्घाटनसत्र सम्पन्न भएको हो । सोमबार बिहान ८ बजेदेखि बन्दसत्र सुरु हुनेछ । 

13-e099be6a-a35d-46d5-87fc-fa6a470c267f14-fa26cccc-c219-4d14-b57d-cb289ac8a9a915-fc77394d-b15a-4fe4-8460-1eb354438070

01-0bd6b57c-38ab-4033-ab39-7737e2764c1702-5be7b1f6-ac29-47f5-b788-cbf6b254ed7e03-8efbb8ee-f08d-43c6-aa23-1640cdbc13e504-74e85d7f-0b94-4131-b102-a2c5a4093e3e05-98ef834c-d873-40e0-b78c-69a8a6a9cbe406-441d0d9b-7b0b-4bcd-b1de-65d57aa390e407-529d32cd-541c-4ec0-8e13-ce9510a4eb6508-601d54a9-6231-4eed-acaf-bd92463df4d209-986e7a92-802c-482d-8c07-eb0d42908b0a10-44988390-7024-45dc-b257-0dc108baa19811-b31777ca-e965-4968-9cba-20f3118b2c2c12-c4441a51-d57f-46da-b313-2a8f67ff90a1

रूपान्तरणको यात्रामा कांग्रेस : देउवा रोकिँदा रोकिएनन् कार्यकर्ता

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहितको संस्थापन पक्ष र डा. शेखर कोइराला समूहको बहिस्कारकाबिच नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन सुरु भएको छ । 

बदलिँदो परिस्थितिमा पार्टीको नीति, नेतृत्व र कार्यशैली बदल्नुपर्छ भन्ने मान्यताका साथ महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा काठमाडौँको भृकुटीमण्डपमा विशेष महाधिवेशन उद्घाटन गरिएको हो । 

कांग्रेसको हाल कायम रहेका १४ पदाधिकारीमा तीन पदाधिकारीबाहेक सबैले विशेष महाधिवेशन बहिस्कार गरे । मञ्चमा दुई महामन्त्रीबाहेक सहमहामन्त्री फरमुल्लाह मन्सुर मात्रै देखिए । 

महासङ्कटमा देउवा, उतारचढावपूर्ण राजनीतिक इतिहास

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आफ्नो राजनीतिक जीवनको उत्तरार्द्धमा महासङ्कटमा फसेका छन् । पार्टीको निर्णयलाई चुनौती दिँदै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पक्षधरले विशेष महाधिवेशन बोलाएपछि देउवा सङ्कटमा फसेका हुन् ।

कांग्रेसको इतरपक्षले आइतबार र सोमबार काठमाडौँमा बोलाएको विशेष महाधिवेशनले नीतिगत निर्णय गर्छ कि नयाँ नेतृत्व नै चयन गर्छ भन्ने स्पष्ट खाका बाहिर आइसकेको छैन । यद्यपि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नीति र नेेतृत्व दुबै परिवर्तन हुने संकेत गरिसकेका छन् । 

भदौ २३ र २४ मा जेनजी विद्रोहका बेला आफ्नै निवासमा निर्घात कुटाइ खाएका देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिए पनि विशेष महाधिवेशनको माग टार्न सकेनन् । जेनजी विद्रोहपछि उत्पन्न विशेष परिस्थितिको समीक्षा गर्न असोज २८ गते बोलाएको केन्द्रीय कार्यसमिति बैठकमा उपसभापति खड्कालाई कार्यवाहक सभापति तोकेर उपचारका लागि सिंगापुर पुगेका उनी स्वदेश फर्किएलगत्तै फेरि सक्रिय भए ।

कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सोमबार बिहानदेखि सुरु हुने

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गतको बन्दसत्र भोलि (सोमबार) बिहान ८ बजेबाट सुरु हुने भएको छ । 

विशेष महाधिवेशन पक्षधर नेता मनोजमणी आचार्यले बिहान ८ बजेबाट बन्दसत्र सुरु हुने उद्घाटन सत्रको अन्त्यमा जानकारी दिए ।

बन्दसत्रमा महाधिवेशन प्रतिनिधिहरूले नीति र नेतृत्व परिवर्तन गर्ने बताएका छन् ।

गगन थापालाई पत्नी अञ्जनाको भावनात्मक सन्देश : जोखिम ठुलो छ, तर तिमी एक्लो छैनौ

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाकी पत्नी डा अञ्जना केसीले गगनलाई सम्बोधन गर्दै सामाजिक सञ्जालमा एक भावनात्मक सन्देश लेखेकी छन्। 

उनले आइतबार फेसबुकमा स्ट्याटस लेख्दै गगनले उठाइरहेको कदममा ठुलो जोखिम रहेको भए पनि उनी एक्लो नरहेको बताएकी छन्। अञ्जनाले सुन्दर नेपालको सपना देख्ने अनगिन्ती नागरिकको साथ गगनसँग रहेको उल्लेख गरेकी छन्।

अञ्जनाले लेखेकी छन्, 'मलाई थाहा छ दाउ धेरै उच्च छ र तपाईँले लिइरहनुभएको जोखिमको गहिराइ म बुझ्छु। तर कृपया यो जान्नुहोस्, तपाईँ एक्लो हुनुहुन्न। भोलिको सुन्दर नेपालको सपना देख्ने अनगिन्ती मानिसहरूको आशा र समर्थन तपाईंको साथमा छ।’

कांग्रेस दास र लासहरूको पार्टी होइन : महामन्त्री थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस लास र दासहरूको पार्टी नभएको दाबी गरेका छन् । 

आइतबार काठमाडौँमा सुरु भएको पार्टीको विशेष महाधिवेशनलाई सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन् । 

‘कांग्रेस दास र लासहरूको पार्टी होइन,’ महामन्त्री थापाले भने, ‘कांग्रेस ज्युँदो मानिसहरूको पार्टी हो । यहाँ प्रश्न मरेको छैन ।’ 

कांग्रेसको नीति र नेता बदल्ने गगन थापाको घोषणा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको नीति र नेतृत्व बदलिने घोषणा गरेका छन् ।

आइतबार भृकुटीमण्डपमा कांग्रेस विशेष महाधिवेशनलाई सम्बोधन गर्दै महाधिवेशन प्रतिनिधिहरुले नै नीति र नेतृत्व बदल्न चाहेको बताए । 

उनले यस्तो अवस्थामा यो विषय कहाँ गएर टुंगिन्छ भन्ने आफूलाई पनि थाहा नभएको भन्दै कांग्रेस पार्टीका नेता कार्यकर्ता कसैको दास नभएको बताए ।

‘नेपो बेवी’हरूको राजदेखि नागरिक रिसाएका हुन् : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसभित्र सत्ताको सङ्घर्ष नभएर विचारको सङ्घर्ष भइरहेको बताएका छन् । 

आइतबार काठमाडौँमा सुरु भएको कांग्रेसको विशेष महाधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले महाधिवेशनमा सभापति र कार्यवाहक सभापति नहुँदा कतिपयले शक्ति सङ्घर्ष भइरहेको भनेर बुझिरहेपनि त्यो सङ्घर्ष सत्ता र शक्तिको नभई मूल्य र मान्यताको सङ्घर्ष भएको बताएका हुन् । 

‘पार्टीभित्रको सत्ता र शक्तिको सङ्घर्षले गर्दा कोही उपस्थित भएको र नभएको भन्ने लागिरहेको होला । यो विचार, मूल्य र मान्यताकाे सङ्घर्ष हो’, थापाले भने । 

कांग्रेसलाई टुक्र्याएर होइन, सिङ्गो पार्टी र देशको नेतृत्व गर्ने गरी अघि बढ्छौँ : विश्वप्रकाश शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीलाई विभाजन नलगी देशको नेतृत्व गर्ने गरी अघि बढ्ने बताएका छन् । 

आइतबार भृकुटीमण्डपमा विशेष महाधिवेशनलाई सम्बोधन गर्दै उनले कांग्रेसलाई टुक्र्याउने प्रयास नभई सिङ्गो पार्टीको नेतृत्व गर्ने उद्देश्यसहित आफूहरू अघि बढिरहेको बताए । 

“हामी सिङ्गो कांग्रेसको नेतृत्व गर्ने गरी अघि बढ्छौँ । सिङ्गो देशलाई नेतृत्व गर्ने दिशामा काम गर्छौँ,” शर्माले आइतबार विशेष महाधिवेशनलाई सम्बोधन गर्दै भने । 

विश्वप्रकाशको घोषणा : २ पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाउने पद्धतिकाे विकास गर्छाैँ

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट प्रस्ताव पारित गरेर दुई पटक भन्दा बढी कसैले पनि प्रधानमन्त्री बन्न नपाउने निर्णय गर्ने बताएका छन् । 

भृकुटीमण्डपमा आइतबार सुरु भएको नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन् । 

‘हामी विशेष महाधिवेशनबाट प्रस्ताव पारित गरेर ल्याउँछौ । यो देशमा अब कांग्रेस भित्रको होस् वा बाहिरको होस् कसैले पनि दुई पटक भन्दा बढी प्रधानमन्त्री बन्न नपाउने पद्धतिको निर्णय गर्छौ’, महामन्त्री शर्माले भने । 

कांग्रेसलाई बदल्ने छाैँ, हामी पनि बदलिने छौँ : विश्वप्रकाश शर्मा

काठमाडाैँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेस अब पुरानै ढङ्गबाट अघि बढ्न नसक्ने बताएका छन् । 

आइतबारबाट सुरु भएको विशेष महाधिवेशनलाई भृकुटीमण्डपमा सम्बोधन गर्दै महामन्त्री शर्माले नेतृत्वबाट कमजोरी भएको र त्यसको हिस्सा आफूहरूले पनि लिने भन्दै पुरानै ढंगले नयाँ यात्रा गर्न नसकिने बताएका हुन् । 

‘पुरानै ढङ्गले नयाँ यात्रा गर्न सकिँदैन । नयाँ परिस्थितिमा मनस्थिति र सोच पनि बदल्नुपर्छ’, शर्माले भने, ‘यो देशको मौसम खराबीलाई बुझेपछि बदलिएको मौसमलाई बदल्न नयाँ ढङ्गले जाने मनोविज्ञानमा छौ ।’ 

'भोलिदेखि नयाँ कांग्रेस हुनेछ'

काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री फरमुल्लाह मन्सुरले भदौ २३ र २४ को घटनापछि पार्टीलाई नयाँ शिराबाट अघि बढाउनुपर्छ भनेर नेतृत्वलाई भन्दा सुनुवाइ नभएपछि विशेष महाधिवेशन निम्त्याएको बताएका छन् । 

आइतबार काठमाडौँमा सुरु भएको विशेष महाधिवेशनमा शुभकामना मन्तव्य राख्दै मन्सुरले यस्तो बताएका हुन् । साथै उनले विशेष महाधिवेशनमा मेची महाकालीबाट प्रतिनिधि सहभागी भएकाले अव नयाँ कांग्रेस बनाउने सपना पुरा हुने बताए । 

‘भोलिको बन्द सत्रबाट कांग्रेसले नयाँ नीति लिनेछ । नयाँ कांग्रेस हुनेछ र नयाँ उत्साह थपिनेछ’,मन्सुरको भनाइ छ । उनले कांग्रेस सभापति शेरबहादुर देउवालाई भोलीको बन्द सत्रमा उपस्थिति जनाएर कांग्रेस एक ढिक्का भएको सन्देश दिन पनि आग्रह गरे ।

विशेष महाधिवेशन : महामन्त्रीदेखि केन्द्रीय सदस्यसम्म को–को भए सहभागी ?

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन केही बेर अघिबाट काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको छ । केन्द्रीय समितिले विशेष महाधिवेशनलाई स्वीकार नगरेकाले सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्कादेखि अधिकांश पदाधिकारी उपस्थित छैनन् ।

महाधिवेशन स्थलमा पदाधिकारीबाट महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फरमुल्लाह मन्सुर सहभागी छन् । त्यस्तै, पूर्वउपसभापति गोपालमान श्रेष्ठ, पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी तथा कांग्रेसका पूर्वमहामन्त्री तथा पूर्वसभामुख तारानाथ रानाभाट पनि सहभागी छन् । 

केन्द्रीय सदस्यहरू प्रदीप पौडेल, चन्द्र भण्डारी, भरत शाह, बहादुरसिंह लामा, प्रतिमा गौतम, प्रकाश स्नेही रसाइली, अजयबाबु शिवाकोटी, ध्रुव वाग्ले, अर्जुन जोशी, डा. डिला सङ्ग्रौला पन्त, महेश आचार्य, तारामान गुरुङ, मधु आचार्य, मुक्ता यादव, पुष्पा भुसाल, आङगेलु शेर्पा, अमृत अर्याल, गोपाल दहित, मोहन आचार्य, महेन्द्रकुमार राय

कांग्रेसलाई समाप्त हुन नदिन नेतृत्व परिवर्तन गर्न चाहेका हौँ : प्रदीप पौडेल

काठमाडाैँ । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पार्टी नेतृत्वले विशेष महाधिवेशन पक्षधरलाई पार्टी फुटाउन खोजेको आरोप लगाएको बताएका छन् । उनले देशभरबाट आएका महाधिवेशन प्रतिनिधिहरुलाई अपमान गर्दै पार्टी संस्थापन पक्षले उनीहरुमाथि पार्टी फुटाउन खोजेको आरोप लगाएको जिकिर गरेका हुन् ।

आइतबारबाट काठमाडौँमा सुरु भएको पार्टीको विशेष महाधिवेशनमा बोल्दै नेता पौडेलले नेपाली काँग्रेसको भविष्यका लागि पार्टी नेतृत्व परिवर्तन गर्न आफूहरु लागि परेको बताए । उनले कांग्रेसको भविष्य समाप्त हुन नदिन पनि आफूहरुले विशेष महाधिवेशन बोलाएको समेत बताए ।

नेता पौडेलले भने, ‘नेतृत्व रक्षाका लागि कांग्रेसको भविष्य समाप्त गर्ने कि कांग्रेसको भविष्यको निम्ति नेपाली कांग्रेसको नेतृत्व फेर्ने ? यो हाम्रो हातमा छ । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि साथीहरु उहाँहरुले कांग्रेसका निम्ति जिवन समर्पित गर्नुभयो । कसैले राज्यको पद प्राप्त गर्नु भएनहोला । तर उहाँहरुले नेपाली कांग्रेसमा आफ्नो जीवन समर्पित गर्नुभएको छ । उहाँहरुलाई कांग्रेस फुटाउनु छैन । उहाँहरुलाई कांग्रेस बलियो बनाउनुछ । उहाँहरुलाई कांग्रेसलाई एकतावद्ध गर्नुछ । त्यसैले आदरणीय महाधिवेशन प्रतिनिधिहरुले विशेष महाधिवेशन माग गर्दा उहाँहरुलाई अपमान गरेर कांग्रेस फुटाउन लागेको भनेर भन्न पाँदैन । ’

कांग्रेस कसैले फोडेर फुट्दैन : मधु आचार्य

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्यले नेपाली कांग्रेसले विशेष महाधिवेशन बोलाएपछि गलत भाष्य स्थापित गर्न खोजेको भन्दै महाधिवेशनले पार्टी पनि नफुट्ने र चुनावमा पनि असर नगर्ने दाबी गरेका छन् । 

आइतबार काठमाडौँमा सुरु भएको विशेष महाधिवेशनमा शुभकामना मन्तव्य राख्दै आचार्यले यस्तो दाबी गरेका हुन् । विशेष महाधिवेशन नेपाली कांग्रेसका प्रतिनिधिहरूको सार्वभौम अधिकार भएको भन्दै उनले उपस्थित जनसागरकै कारण पार्टी थप एकताबद्ध हुने बताए । 

‘पार्टी विभाजित हुन्छ रे, निर्वाचनमा असर गर्छ भन्ने कुरा गलत हो । यो जनसागरले प्रमाणित गरेको छ । कांग्रेस कसैले फोडेर फोडिँदैन’, आचार्यको भनाइ छ ।

महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनबाट नेतृत्व परिवर्तन गर्छन् : केदार कार्की

काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले  नेतृत्व परिवर्तन गर्न पाउनु पर्ने बताएका छन् । 

आइतबार काठमाडौँको भृकुटी मण्डपमा सुरु भएको विशेष महाधिवेशनको उद्घाटन सत्रमा धारणा राख्दै कार्कीले आफूले छानेको नेतृत्व परिवर्तन गर्न पाउनुपर्छ भनेर विशेष महाधिवेशनमा आएको बताए । 

‘हामीले छानेको नेतृत्व परिवर्तन गर्न पाउनुपर्छ भनेर यहाँ आएको हौँ । परिवर्तन गरेर जान्छौँ’ कार्कीले भने ।  

नेपाली कांग्रेस गुट र कृपाबाट मुक्त हुनुपर्छ : नेतृ भुसाल

काठमाडौँ । नेपाली कांग्रेसकी नेतृ पुष्पा भुसालले नेपाली कांग्रेस गुट र कृपाबाट मुक्त हुनुपर्ने बताएकी छन् । 

आइतबार काठमाडौँमा सुरु भएको विशेष महाधिवेशनमा शुभकामना मन्तव्य राख्दै भुसालले कांग्रेसका कोही पनि नेता कार्यकर्ता विधानभन्दा बाहिर जान नसक्ने बताएकी हुन् । 

साथै उनले कांग्रेसलाई कम्युनिस्टबाट समेत मुक्त गर्नुपर्ने धारणा राखिन् । ‘नेपाली कांग्रेस अब गुट र कृपाबाट अलग हुनुपर्छ । हामी गुट र कृपा मान्दैनौँ’, भुसालले भनिन् ‘कांग्रेसलाई कम्युनिस्टबाट पनि मुक्त गर्नुपर्छ ।’

देउवा पक्षका ३० केन्द्रीय सदस्य विशेष महाधिवेशनमा सहभागी

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा सभापति शेरबहादुर देउवा समूह भनेर चिनिएका ३० जना केन्द्रीय सदस्य सहभागी भएका छन् । 

केन्द्रीय सदस्य पुष्पा भुसालले आफूसहित देउवा समूहका ३० जना केन्द्रीय सदस्य विशेष महाधिवेशनमा सहभागी भएको जानकारी दिइन् । 

पार्टीलाई विधि र थितिमा अघि बढाउन आफूहरु विशेष महाधिवेशनमा सहभागी भएको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया