शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
राष्ट्रियसभा निर्वाचन [सबै अपडेट एकैठाउँमा]
LIVE UPDATES

LIVE UPDATES : राष्ट्रियसभा निर्वाचन [सबै अपडेट एकैठाउँमा]

आइतबार, ११ माघ २०८२, १८ : १५
Live

राष्ट्रियसभामा २०८२ फागुन २० गतेदेखि रिक्त हुने पदका लागि सातै प्रदेशमा मतदान जारी छ । कोशी प्रदेशमा खस आर्यतर्फको एउटा पदमा निर्विरोध भएकोले बाँकी १७ पदका लागि मतदान सुरु भएको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए । 

कोशी प्रदेशका खस आर्यतर्फका उम्मेदवार नेपाली कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका हुन् । बाँकी १७ पदका लागि सातै प्रदेशका मतदानस्थलमा मतदान सुरु भएको हो ।

कांग्रेस–एमाले गठबन्धनमा धोखाधडी, उल्लेख्य फ्लोर क्रस !

विराटनगर । कोशी प्रदेशको राष्ट्रियसभा निर्वाचनमा कांग्रेस–एमाले गठबन्धनका प्रदेश सांसद र पालिकाका प्रतिनिधिहरूबाटै धोकाधडी भएको छ । उल्लेख्य सांसद र पालिका प्रमतिनिधिहरूले नेकपाका उम्मेदवारलाई मत दिइएको पाइएको हो । 

यद्यपि कोशी प्रदेशबाट गठबन्धनका उम्मेदवारहरू नै विजयी भए । निर्वाचनमा महिला तर्फ नेकपा एमालेकी उम्मेदवार रोशनी मेचे निर्वाचित भइन् भने दलित तर्फ गठबन्धनकै सोम पोर्तेल विजयी भए । विजयी उम्मेदवार मेचेले ७ हजार १७३ मत प्राप्त गरी विजयी बन्दा पोर्तेलले ७ हजार ४२३ मत प्राप्त गरे, तर मतदानका क्रममा भने कांग्रेस एमालेका पालिकाका २५ जना उम्मेदवारले नेकपाकी महिला उम्मेदवार नमिता न्यौपानेलाई मतदान गरे । यस्तै प्रदेशका कांग्रेस–एमाले गठबन्धनका ५ जना सांसदले नेकपालाई मतदान गरे । 

कोशी प्रदेशसभाअन्तर्गत ८७ सांसदहरू मतदानमा सहभागी भए । जसमध्ये एमालेकी मेचेलाई ६४ जनाले मात्रै मतदान गरेका हुन् । जबकि कांग्रेस र एमालेको सांसद संख्या ६९ जना हो, त्यसमध्ये कांग्रेसकी लिलाकुमारी राई र एमालेकी यशोदा कायस्थ अनुपस्थित रहे । उपस्थित रहेका ६७ मध्ये ३ जनाले भने नेकपाकी उम्मेदवार नमिता न्यौपानेलाई मतदान गरेको तथ्याङ्कले बताउँछ । 

राष्ट्रिय सभामा निर्वाचितहरूलाई प्रमाणपत्र वितरण

बुटवल । लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्य निर्वाचनमा निर्वाचितहरूलाई प्रमाणपत्र वितरण गरिएको छ । 

आइतबार खुलातर्फबाट निर्वाचित चन्द्र बहादुर केसी, महिलातर्फ राम कुमारी झाँक्री र अपाङ्गतर्फ  वासुदेव घिमिरेलाई प्रमाणपत्र प्रदान गरिएको हो । 

उनीहरू कांग्रेस–एमाले गठबन्धनबाट साझा उम्मेदवार बनेका थिए । निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरका निर्वाचितहरूलाई प्रमाणपत्र प्रदान गरिएको बताए ।

मधेस प्रदेशमा गठबन्धनका उम्मेदवार विजयी

जनकपुरधाम । आइतबार सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचनमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । 

आज नै सार्वजनिक गरिएको मतपरिणाम अनुसार एमालेकी महिलातर्फ रेखा झा र अल्पसंखयकतर्फ कांग्रेसका रञ्जित कर्ण,दलिततर्फ धर्मेन्द्र पासवान र अन्य कलष्टरतर्फ जसपाका महन्थ ठाकुर विजयी भएका हुन् । 

यस्तो छ मतपरिणाम 

सुदूरपश्चिमबाट राष्ट्रिय सभामा निर्वाचित लीला र खम्मबहादुर को हुन् ?

धनगढी । सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभामा दुई जनालाई पठाइएको छ । आइतबार सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभामा सत्तारुढ गठबन्धनका तर्फबाट नेकपा (एमाले) की लीला कुमारी भण्डारी र नेपाली कांग्रेसका खम्मबहादुर खाती विजयी भएका छन् ।

प्रदेश निर्वाचन कार्यालय धनगढीमा भएको मतदान र त्यसपछिको मतगणना अनुसार दुवै उम्मेदवार फराकिलो मतान्तरसहित विजयी भएका हुन् ।

प्रदेश निर्वाचन अधिकारी प्रेमराज भट्टका अनुसार महिला समूहबाट उम्मेदवार बनेकी एमालेकी लीला कुमारी भण्डारीले ३ हजार ९ सय ८४ मतभार प्राप्त गरिन् । 

सुदूरपश्चिममा एमालेबाट लीलाकुमारी भण्डारी र कांग्रेसका खम्मबहादुर खाती विजयी

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशबाट राष्ट्रियसभा सदस्यमा नेकपा (एमाले)की लीलाकुमारी भण्डारी र नेपाली कांग्रेसका खम्मबहादुर खाती विजयी भएका छन्। प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेमराज भट्टका अनुसार महिला समूहबाट एमालेकी भण्डारीले ३ हजार ९८४ मतभार प्राप्त गर्दै विजयी भएकी हुन् । उनकी प्रतिद्वन्द्वी नेपाली कम्युनिस्ट पार्टीकी रोजी बस्नेतले १ हजार ६ सय ७६ मतभार प्राप्त गरिन्।

यसैगरी, अन्य समूहबाट नेपाली कांग्रेसका खम्मबहादुर खाती ३ हजार ९ सय ६९ मतसहित विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी नेकपाका टिकाराम जैशीले १ हजार ८०५ मत प्राप्त गरेका थिए।

निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ५३ र पालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्षको मतभार १९ निर्धारण गरिएको थियो।

लुम्बिनीमा गठबन्धनका उम्मेदवार विजयी

बुटवल । लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेस र नेकपा (एमाले) का उम्मेदवारहरू विजयी भएका छन् । उनीहरुले गठबन्धन गरेका थिए । 

आइतबार सम्पन्न निर्वाचनमा खुलातर्फ कांग्रेसका चन्द्रबहादुर केसी, महिलातर्फ एमालेकी रामकुमारी झाँक्री र अपाङ्गता अशक्ततर्फ कांग्रेसका वासुदेव घिमिरे (जङ्गली) विजयी भएको प्रदेश निर्वाचन कार्यालय लुम्बिनीका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिए ।

निर्वाचनमा घिमिरेले नेकपाका उम्मेदवार सर्जन विकलाई  पराजित गर्दै राष्ट्रिय सभामा स्थान सुरक्षित गरेका हुन् । 

३३ वर्षको सङ्घर्ष, वडा सदस्यदेखि सांसदको यात्रामा देवकोटा

हेटौँडा । राष्ट्रियसभा सदस्य पदको निर्वाचनमा बागमती प्रदेश तर्फबाट गीता देवकोटा विजयी भएकी छिन् । उनले कुल ६ हजार २३९ मत सहित नेकपाकी सरोजकुमारी झालाई पराजित गरेकी हुन् ।

चितवन रत्ननगर नगरपालिकाकी स्थानीय देवकोटा ३३ वर्षअघि नेपाली कांग्रेसको साधारण सदस्यबाट सक्रिय राजनीति सुरु गरेकी थिइन् । वि.सं. २०२८ सालमा चितवनमा जन्मिएकी देवकोटाले व्यक्तिगत जीवनका सामाजिक चुनौतीहरूलाई चिर्दै संसद्को यात्रा तय गरेकी हुन् । 

रत्ननगर नगरपालिका–१४, डुम्री चोक निवासी देवकोटालाई ३२ वर्षे राजनीतिक यात्रामा पहिलो पटक चुनावी प्रतिस्पर्धामा उत्रिएकी हुन् । पञ्चकन्या माध्यमिक विद्यालयबाट औपचारिक शिक्षा सुरु गरेकी देवकोटा २०४४ सालदेखि नै राजनीतिमा आबद्ध भएकी थिइन् ।

को हुन् राष्ट्रिय सभामा निर्वाचित डा. प्रेम दंगाल ?

मकवानपुर । राष्ट्रिय सभा निर्वाचनमा बागमती प्रदेशबाट निर्वाचित भएका डा. प्रेम दंगाल नेकपा एमाले भित्र एक बौद्धिक र जुझारु नेताका रूपमा चिनिन्छन् ।

करिब चार दशक लामो राजनीतिक र प्राज्ञिक यात्रा तय गरेका दंगाल अब राष्ट्रको माथिल्लो सदन ‘राष्ट्रिय सभा’ मा नीति निर्माताको भूमिकामा देखिने छन् । 

दंगालले बागमती प्रदेश तर्फको अन्य क्लस्टरमा नेकपाका प्रेम प्रसाद सापकोटा (राजेन्द्र)लाई पराजित गर्दै जित निकालेका हुन दंगालले ६ हजार २०५ मत पाउँदा सापकोटाले २ हजार ५४१ मत पाए ।

गण्डकीमा प्रलोपाको ‘नो भोट’, जनप्रतिनिधिले नै दिन जानेनन् मत

पोखरा । राष्ट्रियसभा निर्वाचन अन्तर्गत गण्डकीमा भएको मतदानमा प्रगतिशील लोकतान्त्रिक पार्टीका सांसदले मतपत्र खाली छोडिदिएका छन् ।  ‘कसैलाई पनि समर्थन छैन भन्ने संकेत हो । पर्ख र हेरको अवस्थामा छु । पहिचान प्रस्ट गर्नका लागि हो,’ प्रलोपा सांसद फणीन्द्र देवकोटाले भने । 

उनले मतपत्र खाली छोडेका छन् भने थप अर्का सांसदले दिएको मत बदर भएको छ । उनले चिन्हमा मत दिनुपर्नेमा नाममा दिएका हुन् । पालिकातर्फ १ जनाले तारा नाममा चिन्ह लगाएका छन् भने अर्का एक जनाले सूर्य र तारा दुवैमा चिन्ह लगाएका छन् । 

खुलातर्फ पनि १ मतपत्र खाली थियो भने अर्का एकजना सांसदले चुनाव चिन्हमा दिनुपर्ने मत रुखको नाममा दिएका छन् । पालिकातर्फ पनि एक जनाले तारा नाममा मत दिएका कारण बदर भएको छ । 

बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी

मकवानपुर । राष्ट्रिय सभा सदस्य निर्वाचनमा बागमती प्रदेश तर्फको २ सिटमा भएको निर्वाचनमा गिता देवकोटा र डा. प्रेम प्रसाद दंगाल विजयी भएका छन् । 

नेकपा एमाले र नेपाली कांग्रेस गठबन्धनबाट चुनाव लडेका देवकोटा र दंगालले नेकपाका उम्मेदवारलाई पराजित गरेका हुन् ।

महिला क्लस्टरमा कांग्रेसका देवकोटाले ६ हजार २३९ मत सहित निर्वाचन जितेकी हुन् । उनले प्रदेश सभा सदस्य तर्फ ६० र स्थानीय तहतर्फ १६१ मत पाइन ।

गण्डकीमा गठबन्धनका उम्मेदवार विजयी

पोखरा ।  राष्ट्रियसभा निर्वाचन अन्तर्गत गण्डकीबाट दुवै पदमा गठबन्धन उम्मेदवार विजयी भएका छन् । अन्यमा कांग्रेसका जगत तिमिल्सिना र महिलामा एमालेकी सम्झना देवकोटा विजयी भएका हुन् । 

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार अन्य समूहमा नेपाली कांग्रेसका उम्मेदवार तिमिल्सिनाले निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीका कपिल लामालाई ४ हजार ९२ मतभारको फराकिलो अन्तरले पराजित गरे । 

तिमिल्सिनाले ५ हजार ३३ मतभार पाउँदा लामाले ९ सय ४१ मतभार पाएका छन् । जनमोर्चाका शंकरप्रसाद बरालले ७६ मतभार पाए । तिमिल्सिनाले प्रदेश सभातर्फ ४८ मत (२ हजार ५ सय ४४ मतभार) र स्थानीय तहतर्फ १ सय ३१ मत (२ हजार ४ सय ८९ मतभार) पाएका हुन् । 

गण्डकीमा खुलाबाट कांग्रेसका तिमिल्सिना विजयी

पोखरा । राष्ट्रियसभा निर्वाचन अन्तर्गत गण्डकीमा भएको निर्वाचनमा अन्य क्लष्टरबाट कांग्रेसका जगत तिमिल्सिना विजयी भएका छन् । उनले ५ हजार ३३ मतभार पाए ।

गण्डकीका २ सय २८ मतदातामध्ये २ सय २३ मत खसेको थियो । मतदानमा सहभागी नभएकामध्ये राप्रपाका २ जना सांसद र सत्ता गठबन्धनका ३ जना पालिका प्रतिनिधि छन् । 

यसरी हिसाब गर्दा सत्ता गठबन्धनका उम्मेदवारले ५ हजार १ सय ५ मतभार पाउनुपर्नेमा तिमिल्सिनाले ७२ मतभार कम पाएका हुन् । यद्यपि, मुख्य निर्वाचन अधिकृतको कार्यालयले परिणाम सार्वजनिक गरिसकेको छैन ।

राष्ट्रियसभा सदस्य निर्वाचन : मधेस प्रदेशमा पनि मतगणना सुरु

जनकपुरधाम । मधेस प्रदेशमा पनि राष्ट्रियसभा सदस्य निर्वाचनको मतगणना सुरु भएको छ । केहीबेर अघि मतगणना सुरु भएको हो ।

गण्डकीबाट महिलामा सम्झना देवकोटा विजयी

पोखरा । राष्ट्रियसभा निर्वाचन अन्तर्गत गण्डकीबाट महिला क्लष्टरमा एमालेकी सम्झना देवकोटा विजयी भएकी छिन् । एमालेबाट उम्मेदवार बनेकी उनले ५ हजार १४ मतभार पाइन् ।

गण्डकीका २ सय २८ मतदतामध्ये २ सय २३ मत खसेको थियो । मतदानमा सहभागी नभएकामध्ये राप्रपाका २ जना सांसद र सत्ता गठबन्धनका ३ जना पालिका प्रतिनिधि छन् । 

यसरी हिसाब गर्दा सत्ता गठबन्धनका उम्मेदवारले ५ हजार १ सय ५ मतभार पाउनुपर्नेमा देवकोटाले ९१ मतभार कम पाएकी हुन् ।

राष्ट्रियसभा निर्वाचन : ३० सांसदले गरेनन् मतदान

काठमाडौँ । आइतबार सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचनमा मतदाता रहेका सात प्रदेशका ३० जना सांसद मतदानमा सहभागी नभएको पाइएको छ । यद्यपि निर्वाचन आयोगले ९५.६८ प्रतिशत मत खसेको जनाएको छ । 

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेश सांसद र स्थानीय तहका प्रमुख उपप्रमुख मतदाता रहने गरेका छन् ।  निर्वाचन आयोगका अनुसार आइतबार भएको राष्ट्रियसभा सदस्य निर्वाचनमा कोशी प्रदेशका ९२ प्रदेशसभा सदस्यमध्ये ८७ सदस्य मात्र मतदानमा सहभागी भएका छन् । 

त्यस्तै, मधेस प्रदेशका एक सय सदस्यमध्ये ९९ सदस्य मतदानमा सहभागी भएका छन् । सबैभन्दा धेरै बागमती प्रदेशका प्रदेश सांसद मतदानमा सहभागी भएनन् । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार बागमतीमा रहेका १०४ जना प्रदेश सांसदमध्ये ८९ जना सांसद मात्र मतदानमा सहभागी भएका छन् । 

कर्णालीमा कांग्रेस-एमालेका उम्मेदवार विजयी

सुर्खेत । कर्णालीमा राष्ट्रियसभाका दुई पदका लागि भएको निर्वाचनमा गठबन्धन दल कांग्रेस-एमालेका उम्मेदवारहरू विजयी भएका छन् । अन्य कलस्टरबाट उम्मेदवार बनेका कांग्रेसका ललितजंग शाही र महिलातर्फ उम्मेदवार रहेकी एमालेकी मिनासिं रखाल निर्वाचित भएकी हुन् ।

नेकपाका दुवै उम्मेदवार पराजित भए ।  आइतबार बिहानदेखि सुरु भएको मतदानमा ९६.४६ मत खसेको थियो । उनका अनुसार, कुल १९८ मतदाता सङ्ख्यामध्ये १९१ मत खसेको छ ।

प्रदेश सभातर्फ ४० प्रदेश सभा सदस्यमध्ये ३९ जनाले मतदान गरेका छन् भने १ जनाले मत हालेनन् । स्थानीय तहतर्फ १५८ मतदाता सङ्ख्यामध्ये १५२ मत मात्रै खसेको थियो । स्थानीय तहका ६ जना जनप्रतिनिधिहरूले मत खसालेका छैनन् ।

राष्ट्रियसभा निर्वाचन : कोशी प्रदेशमा रोशनी मेचे विजयी

विराटनगर । कोशी प्रदेशमा राष्ट्रिय सभा निर्वाचनमा महिलातर्फ रोशनी मेचे विजयी भएकी छन् । मेचे ७१७३ मतभारसहित विजयी भएकी हुन् ।

उनलाई नेकपाकी नमिता न्यौपानेले चुनौती दिएकी थिइन् ।

प्रदेशसभा सदस्य अन्सारी, मेयरद्वय साह र पाण्डेले गरेनन् मतदान

जनकपुर। आइतबार भएको राष्ट्रियसभा सदस्य निर्वाचनमा मधेस प्रदेशसभाका एक सदस्य र दुई मेयरले मतदान गरेनन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रदेशसभा सदस्य विमला अन्सारीले मतदान गरिनन् । पूर्वमन्त्री समेत रहेकी उनी महोत्तरी ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका रिजमान अन्सारीकी श्रीमती हुन् । 

त्यस्तै, जनकपुर उपमहानगरपालिकाका मेयर मनोज साहले मतदान गरेनन् । महोत्तरीको मनरशिसवा नगरपालिकाका मेयर मोहन पाण्डेले पनि मतदान नगरेको पाइएको छ । 

मधेसमा १०० प्रदेश सांसदमध्ये ९९ जना र २६४ स्थानीय तहका प्रमुख उपप्रमुखमध्ये २४२ जनाले मतदान नगरेको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

बागमती, लुम्बिनी र कर्णालीमा पनि मतगणना सुरु

काठमाडौँ । राष्ट्रिय सभा निर्वाचन अन्तर्गत बागमती, लुम्बिनी र कर्णाली प्रदेशमा पनि मतगणना सुरु भएको छ । यसअघि कोशी र गण्डकीमा मतगणना सुरु भएको थियो ।

राष्ट्रिय सभा सदस्य पदका लागि आइतबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको थियो । मतदान सम्पन्न भएसँगै मतगणना सुरु गरिएको हो ।

बागमतीमा २, लुम्बिनीमा ३ र कर्णालीमा दुई सिटका लागि निर्वाचन भएको हो ।

राष्ट्रिय सभा निर्वाचन : कोशी र गण्डकीमा मतगणना सुरु

काठमाडौँ । राष्ट्रिय सभा निर्वाचन अन्तर्गत कोशी र गण्डकी प्रदेशमा मत गणना सुरु भएको छ । निर्वाचन अन्तर्गत आइतबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समयावधि तोकिएको थियो । मतदान गर्ने समयावधि सकिएसँगै मत गणना कार्य सुरु गरिएको हो ।

कोशीमा स्थानीय तहका २५८ र प्रदेश सभाका ८७ जनाले मतदान गरेका छन् । कोशीमा स्थानीय तहका २६७ र प्रदेश सभाका ९२ जना मतदाता थिए ।

यस्तै गण्डकीमा प्रदेश सभातर्फ ५७ र स्थानीय तहतर्फ १६६ जनाले मतदान गरेका छन् । 

राष्ट्रियसभा निर्वाचन : मतपरिणामको पर्खाइ

विराटनगर । राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत कोशी प्रदेशबाट ८७ जना प्रदेशसभा सदस्य र २५८ जना स्थानीय तहका पदाधिकारीले मतदान गरेका छन् । 

राष्ट्रियसभा निर्वाचन कार्यालयका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार बिहान ९ बजेदेखि भएको मतदानमा स्थानीय तहका २५८ जना र प्रदेशसभाका ८७ जनाले मतदान गरेका हुन् । 

कोशी प्रदेशमा ९२ जना प्रदेश सांसद र २६७ जना पालिकाका प्रतिनिधि मतदाता थिए । मतदान नगर्नेहरूमा काँग्रेसकी लिलाकुमारी राई र एमालेकी यशोदा कायस्थ, राप्रपाका सविना बजगाईँ, निमसरी राजवंशी, गोपालबहादुर विश्वकर्माले मतदान गरेनन् ।

कर्णालीमा राप्रपा सांसद शाहीले गरिन् राष्ट्रिय सभा निर्वाचन बहिस्कार

सुर्खेत । कर्णाली प्रदेश सभाकी सांसद सन्तोषी शाहीले राष्ट्रिय सभा निर्वाचन बहिस्कार गरेकी छिन् ।

दुई पदका लागि आइतबार कर्णालीमा भएको मतदानमा उनी सहभागी नभएकी हुन् । शाही राप्रपाबाट समानुपातिक प्रदेश सभा सांसद हुन् ।

४० प्रदेश सभा सदस्यमध्ये राष्ट्रिय सभाका लागि ३९ मत खसेको थियो ।

कर्णालीमा ९६.४६ मत मात्रै खस्यो, ७ जनाले गरेनन् मतदान

सुर्खेत । बिहान ९ बजेदेखि सुरु भएको राष्ट्रिय सभा निर्वाचनको मतदान सम्पन्न भएको छ । जस अन्तर्गत कर्णालीमा ९६.४६ मत मात्रै खसेको प्रदेश निर्वाचन अधिकृत लालबहादुर गुरुङले रातोपाटीलाई बताए ।

उनका अनुसार, कुल १९८ मतदाता संख्यामध्ये १९१ मत खसेको छ । प्रदेश सभातर्फ ४० प्रदेश सभा सदस्यमध्ये ३९ जनाले मतदान गरेका छन् भने १ जनाले मत हालेनन् ।

स्थानीय तहतर्फ १५८ मतदाता संख्यामध्ये १५२ मत मात्रै खसेको उनले बताए । स्थानीय तहका ६ जना जनप्रतिनिधिहरूले मत खसालेका छैनन् ।

राष्ट्रिय सभा निर्वाचन : लुम्बिनीमा २८६ मत खस्यो, ५ जनाले गरेनन् मतदान

बुटवल । राष्ट्रिय सभा लागि लुम्बिनी प्रदेशमा शतप्रतिशत मत खसेको छ । आइतबार दिउँसो ३ बजेसम्मको समयावधिमा उक्त संख्यामा मत खसेको हो । 

प्रदेश सभा सदस्यतर्फ ३० महिला र ४८ पुरुष गरी ७८ जनाले मतदान गरेका छन् । त्यस्तै स्थानीय तह तर्फ ८५ महिला र १२३ पुरुष गरी २०८ मत खसेको छ । 

निर्वाचन कार्यालयले प्रदेश सभा र स्थानीय तह गरी २८६ जना मतदाता रहेको जनाएको छ । यहाँ ३ सिटको लागि ८ जनाले उम्मेदवारी दिएका छन् ।

राष्ट्रिय सभा निर्वाचन : मधेस प्रदेशमा ३४१ मत खस्याे

जनकपुरधाम । राष्ट्रिय सभा निर्वाचन अन्तर्गत मधेस प्रदेशमा ३४१ मत खसेको छ । आइतबार दिउँसो ३ बजेसम्म तोकिएको मतदानमा उक्त संख्यामा मत खसेको हो । 

राष्ट्रिय सभा सदस्यका लागि स्थानीयतर्फ २६४ मा २४२ मत खसेको हो । जसमध्ये १२५ पुरुष र ११७ महिलाले मत खसालेका हुन् । 

त्यस्तै प्रदेशमा १ सय मध्ये ९९ मत खसेको छ । जसमध्ये ३९ महिला र ६० पुरुषले मत खसालेका छन् । नेपाल सङ्घीय समाजवादी पार्टीका सांसद बिमला अन्सारी  भने अनुपस्थित रहिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया