बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

‘कान्तारा’ को नक्कल महँगो साबित, रणवीर सिंहविरुद्ध एफआईआर

बिहीबार, १५ माघ २०८२, ११ : ५५
बिहीबार, १५ माघ २०८२

सारांश

  • बलिउड अभिनेता रणवीर सिंहविरुद्ध हिन्दु धार्मिक भावना र कर्नाटकको 'चावुन्डी दैव' परम्पराको अपमान गरेको आरोपमा एफआईआर दर्ता भएको छ।
  • सन् २०२५ मा गोवामा आयोजित फिल्म फेस्टिभलमा रणवीरले गरेको अभिनय र अभिव्यक्तिलाई लिएर अधिवक्ताले उजुरी दिएका हुन्।
  • रणवीरले 'चावुन्डी दैव' लाई 'महिला भूत' भनेर सम्बोधन गरेको र धार्मिक भावनामा चोट पुर्‍याएको आरोप लागेको छ, जसको सुनुवाइ अप्रिल ८ मा हुनेछ।

बेंगलुरु। बलिउड अभिनेता रणवीर सिंहविरुद्ध हिन्दु धार्मिक भावना र कर्नाटकको पवित्र ‘चावुन्डी दैव’ परम्पराको अपमान गरेको आरोपमा बेंगलुरुको हाई ग्राउन्ड्स पुलिस स्टेसनमा एफआईआर दर्ता भएको छ । 

सन् २०२५ नोभेम्बर २८ मा गोवामा आयोजित अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको एक कार्यक्रममा अभिनेता सिंहले दिएको अभिव्यक्ति र उनको अभिनयलाई लिएर अधिवक्ता प्रशान्त मेथलले यो उजुरी दर्ता गराएका हुन्।

उजुरीमा रणवीरले मञ्चमा पन्जुरली र गुलिगा दैवसँग सम्बन्धित पवित्र भावभङ्गीको भद्दा र अपमानजनक तरिकाले नक्कल गरेको उल्लेख छ। साथै, उनले तटीय कर्नाटकमा शक्तिको प्रतीकका रूपमा पूजिने ‘चावुन्डी दैव’ लाई ‘महिला भूत’  भनेर सम्बोधन गरेकोमा कडा आपत्ति जनाइएको छ। 

दैवलाई भूत भन्नु धार्मिक आस्थामाथिको प्रहार भएको उजुरीकर्ताको तर्क छ। यो मामला अहिले अदालतमा पुगिसकेको छ र अप्रिल ८ का लागि सुनुवाइको मिति तय गरिएको छ।

घटनाको मुख्य जड फिल्म कान्तारासँग जोडिएको छ। फिल्म फेस्टिभलमा रणवीरले कान्ताराका निर्देशक तथा अभिनेता ऋषभ शेट्टीको उपस्थितिमा उक्त फिल्मको क्लाइमेक्स सिनको नक्कल गरेका थिए। 

उनले ऋषभलाई सम्बोधन गर्दै ‘जब तिम्रो शरीरमा महिला भूत प्रवेश गर्छ, त्यो सट उत्कृष्ट थियो’ भन्दै व्यङ्ग्यात्मक अभिनय गरेका थिए। भिडियोमा ऋषभ शेट्टीले उनलाई रोक्ने प्रयास गरेको देखिए पनि रणवीरले ठट्टा जारी राखेका थिए। 

सामाजिक सञ्जालमा यो भिडियो भाइरल भएपछि उनको चर्को आलोचना भएको थियो। यसअघि गोवाको पणजीमा पनि हिन्दु जनजागृति समितिले उनीविरुद्ध उजुरी दिएको थियो। 

विवाद बढ्दै गएपछि रणवीरले आफ्नो आधिकारिक इन्स्टाग्राममार्फत सार्वजनिक माफी मागिसकेका छन् । उनले आफ्नो उद्देश्य केवल ऋषभको अभिनयको प्रशंसा गर्नु रहेको र कसैको संस्कृति वा परम्परालाई ठेस पुर्‍याउने नियत नभएको स्पष्ट पारेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप