शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

विश्वकपमा अफगानिस्तानसँग न्युजिल्याण्डको बदला

आइतबार, २५ माघ २०८२, १४ : ४५
आइतबार, २५ माघ २०८२

सारांश

  • टी-२० विश्वकपमा न्युजिल्याण्डले अफगानिस्तानलाई ५ विकेटले पराजित गर्‍यो।
  • न्युजिल्याण्डका टिम सेफर्टले सर्वाधिक ६५ रन बनाए भने ग्लेन फिलिप्सले ४२ रनको योगदान दिए।
  • अफगानिस्तानका गुलबदिन नाइबले सर्वाधिक ६३ रन बनाए भने न्युजिल्याण्डका लोकी फर्गुसनले २ विकेट लिए।

चेन्नई । टी–२० विश्वकपमा समूह डी अन्तर्गत आइतबार भएको खेलमा न्युजिल्याण्डले अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको छ । अफगानिस्तानले प्रस्तुत गरेको १ सय ८३ रनको लक्ष्य न्युजिल्याण्डले १७.५ ओभरमा ५ विकेटको क्षतिमा पछ्यायो । न्युजिल्याण्डका लागि ओपनर टिम सेफर्टले सर्वाधिक ६५ रनको योगदान दिए ।

उनले ४२ बलमा ७ चौका र ३ छक्का प्रहार गरे । ग्लेन फिलिप्सले २५ बलमा ७ चौका र १ छक्काको मद्दतले ४२ रनको योगदन दिए । मार्क च्यापम्यानले १७ बलमा २८ रन जोडे भने डेरल मिचेलले नटआउट रहँदै २५ रन र कप्तान मिचेल स्यान्टनरले १७ रन बनाउँदै टोलीलाई जित दिलाए ।

अफगानिस्तानका लागि मुजिब उर रहमानले ४ ओभरमा ३१ रन खर्चेर २ विकै६ लिए । रासिद खान, मोहम्मद नाबी र अजमतुल्लाह ओमरजाईले १-१ विकेट लिए । यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ८२ रन बनाएको थियो । टोलीका लागि गुलबदिन नाइबले सर्वाधिक ६३ रन बनाए ।

उनले मात्र ३५ बलमा ३ चौका र ४ छक्का हिर्काए ।  सदिकुल्लाह अतलले २४ बलमा २ चौकाको मद्दतले २९ रन जोडे भने ओपनर रहमानुल्लाह गुरबाजले २२ बलमा २७ रन बनाए । उनले २ चौका र १ छक्का प्रहार गरे । डार्विस रसुलीले १३ बलमा २० रनको योगदान दिए । उनले १ चौका र १ छक्का प्रहार गरे ।

खेलको अन्त्यतिर अजमतुल्लाह ओमरजाईले ७ बलमा १४ रन तथा मोहम्मद नाबीले समान बलमा १० रन हिर्काए । न्युजिल्याण्डका लागि लोकी फर्गुसनले ४ ओभरमा ४० रन खर्चेर २ विकेट लिए । म्याट हेनरी, जेकब डफी र रचिन रवीन्द्रले १-१ विकेट लिए ।

टी– २०  दुवै टोलीबिचको अन्तिम भिडन्त गत विश्वकपमा भएको थियो, जसलाई अफगानिस्तानले ८४ रनले आफ्नो पक्षमा पारेको थियो। उक्त खेलमा अफगानिस्तानको १५९ रनको जवाफमा न्युजिल्याण्ड ७५ रनमै अलआउट भएको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप