सुदूरपश्चिमका उम्मेदवारका कस्ता छन् घोषणापत्र ?
सारांश
- सुदूरपश्चिममा निर्वाचनका लागि २ सय ८ जना चुनावी प्रतिस्पर्धामा छन्, जसमा पुराना र नयाँ अनुहार छन्।
- उम्मेदवारहरूले चुनावी घोषणापत्रमार्फत विकास, स्वास्थ्य, शिक्षा, र रोजगारीका एजेन्डाहरू सार्वजनिक गरेका छन्।
- धनगढीमा फाप्ला क्रिकेट रङ्गशाला र विमानस्थल स्तरोन्नति जस्ता पुरानै मुद्दाहरूलाई नयाँ रूपमा प्रस्तुत गरिएको छ।
धनगढी । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सुदूरपश्चिममा २ सय १० जनाको उम्मेदवारी परेको थियो। जसमध्ये दुई जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएसँगै २ सय ८ जना चुनावी भिडन्त छन्।
भिडन्तमा पुराना र नयाँ अनुहार, स्वतन्त्रदेखि स्थापित दलका उम्मेदवारसम्म छन्। यी २ सय ८ जना सबैका आ–आफ्ना चुनावी एजेन्डाहरू छन्। अहिले आफूले चुनाव जितेपछि गर्ने कामको आश्वासन बाँड्दै जनताको मन जित्ने कोसिसमा उम्मेदवारहरू रहेका छन्।
उम्मेदवारहरूले आफ्ना एजेन्डालाई समेटेर चुनावी घोषणापत्र सार्वजनिक गरिरहेका छन्। ती घोषणापत्रका बाचा र प्रतिबद्धताहरू यसअघिका उम्मेदवारले गरेका उस्तै पुराना पनि छन् भने केही नयाँ पनि छन्। केही उम्मेदवारहरूको घोषणापत्र यस्ता छन्।
सुदूरपश्चिमको राजधानी तथा मुख्य व्यापारिक केन्द्र धनगढी समेटिएको कैलाली निर्वाचन क्षेत्र नम्बर ५ अहिले प्रदेशकै बढी चर्चाको केन्द्र बनेको छ। यहाँ पुराना र नयाँबीच मुख्य प्रतिस्पर्धा हुने आङ्कलन गरिएको छ।
नेपाली कांग्रेसबाट उम्मेदवार बनेका नरनारायण शाह (मनु) ले धनगढीमा आफ्नो घोषणापत्र सार्वजनिक गर्दै विकासमा आफूलाई केन्द्रित गरेका छन्। उनको मुख्य एजेन्डा भनेको शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय र फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको पूर्णता हो। यसका साथै पश्चिम सेती, पञ्चेश्वर परियोजना, दैजीछेला र हरैया सेज विशेष आर्थिक क्षेत्रलाई समेत उनले छुटाएका छैनन्।
यही क्षेत्रमा नेपाली कम्युनिस्ट पार्टीकाबाट उम्मेदवार छन् प्रेमबहादुर आले। पछिल्ला निर्वाचनमा डोटीबाट विजयी भएर मन्त्रीसमेत भइसकेका आले यस पटक निर्वाचन लड्न धनगढी आएका हुन्। अघिल्लो निर्वाचनमा डोटीका नागरिकलाई दिइरहेको विकासको आश्वासन अहिले कैलाली क्षेत्र नम्बर ५ का जनतालाई बाँडिरहेका छन्।
उनले धनगढीको विकासमा आफ्नो आवश्यकता देखेको कारण सार्दै यस पटक आफ्नो कार्यक्षेत्र फेरेका हुन्। आफू मन्त्री हुँदा विमानस्थल विस्तारका लागि दुई अर्ब पाँच करोड रुपैयाँ व्यवस्थापन गरेको तर आफू हटेपछि आयोजना रोकिएको दाबी गर्दै उनले अब त्यसलाई कार्यान्वयन गरिछाड्ने प्रतिबद्धता जनाएका छन्। शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा एमबिबिएस लगायतका शैक्षिक कार्यक्रम सञ्चालन गर्ने, बझाङ–चैनपुर हुँदै उरै नाका जोड्ने छोटो दूरीको सडक बनाउने उनको प्राथमिकतामा छन्।
यसैगरी नदी कटान नियन्त्रण, हरियाली तथा तटबन्ध, महिला तथा थारुहरूको अधिकारलाई उनले आफ्नो २० बुँदे घोषणापत्रमा समेटेका छन्।
यस्तै कैलाली क्षेत्र नम्बर ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार आनन्दबहादुर चन्दलाई यसपटकको निर्वाचनमा चासोको रूपमा हेरिएको छ। अमेरिकाको पढाइ र प्राध्यापन पेसा छाडेर उनी राजनीतिमा आएका हुन्।

‘कैलाली–५ लाई देशकै उत्कृष्ट बनाउँछु’ भन्ने उनको भनाइ छ। सहरी र ग्रामीण स्वास्थ्य प्रणालीको विकास गरेर ग्रामीण स्याटेलाइट क्लिनिक स्थापना गर्ने, सिकलसेलको औषधि तथा रोजगारीको लागि ‘शिक्षा, सिप र उद्यमशीलतालाई एकीकृत गर्ने’ उनको एजेन्डा छ। उनले पनि फाप्ला क्रिकेट रङ्गशाला र धनगढी विमानस्थलको स्तरोन्नतिलाई आफ्ना घोषणाको आधार बनाएका छन्।
यही क्षेत्रबाट उम्मेदवार बनेका यज्ञराज ढुङ्गानाले पनि युवालक्षित तथा स्मार्ट कार्यक्रमहरू अघि सारेका छन्। धनगढीलाई उपमहानगरबाट महानगरमा स्तरोन्नति गर्ने, आईटी सेवा तथा स्वास्थ्य बीमा कार्यक्रमलाई विस्तार गर्ने र ‘एक युवा, एक रोजगार’ भन्ने एजेन्डा उनले अघि सारेका छन्। यस्तै कैलाली–५ मै उज्यालो पार्टीबाट उम्मेदवार बनेका चन्द्र साउदले वैचारिक बहससहित कुलमान घिसिङको ब्रान्ड प्रयोग गर्दै दशकौँका कमैया तथा भूमिहीन सुकुम्वासीको पुनर्वास र समस्या समाधान गर्ने प्रतिबद्धता अघि सारेका छन्।
५० लाख रुपैयाँभन्दा कम लगानीका साना व्यवसायलाई ५० प्रतिशत सहुलियत ऋण दिने र सहकारी पीडितको समस्यालाई कानुनी तरिकाले समाधान गर्ने उनको प्रतिबद्धता छ । यस्तै उनले सनातन हिन्दु धर्मको संरक्षण र उत्थानका लागि प्रदेशस्तरीय पुस्तकालयको एजेन्डा समेत अघि सारेका छन्।
यसैगरी कैलाली निर्वाचन क्षेत्र नं. ५ बाट स्वतन्त्र उम्मेदवारी दिएका प्यारेलाल रानाले पनि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरिसकेका छन् ।
यस्तै स्वतन्त्रबाट यही निर्वाचन क्षेत्रबाट उम्मेदवार बनेका प्यारेलाल रानाले पनि जनताको आधारभूत आवश्यकता सुनिश्चित गर्न कुनै कसर बाँकी नराख्ने घोषणा गरेका छन्। पारदर्शी र भ्रष्टाचारमुक्त शासन व्यवस्था स्थापनामा मुख्य जोड दिँदै कृषि उत्पादन र मल सिँचाइको व्यवस्थापनमा विशेष जोड दिने उनको घोषणा छ।
यस्तै कृषि उत्पादनको उचित मूल्याङ्कन र बजार प्रवर्द्धन, फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणमा विशेष दबाब, सुदूरपश्चिम प्रदेशको पहिचान स्वाभिमान र सांस्कृतिक पर्यटन विकासका लागि साझा सांस्कृतिक मञ्चलाई संस्थागत गरी सङ्घीय सरकारको नियमित योजनामा समेट्ने उनको भनाइ छ।
प्रदेशको पहाडी जिल्ला डोटीबाट पूर्व मुख्यमन्त्री त्रिलोचन भट्ट चुनावी मैदानमा छन्। प्रदेश सरकारको नेतृत्व सम्हाल्दा गरेका निर्णयहरूलाई आफ्नो उपलब्धिका रूपमा प्रस्तुत गर्दै उनले निर्वाचित भएपछि चीन–नेपाल–भारत त्रिदेशीय फास्ट ट्र्याकलाई प्रभावकारी रूपमा अघि बढाउने एजेन्डा अघि सारेका छन्। खुटियादेखि डोटीको दिपायल हुँदै बझाङको उरै भन्ज्याङ (चीन) जोड्ने फास्ट ट्र्याकलाई उनले मुख्य योजनाका रूपमा राखेका छन्।
आफू मुख्यमन्त्री हुँदा १०० किलोमिटर सडक कालोपत्रे, ५० शय्याको अस्पताल स्थापना र पश्चिम सेती आयोजना अघि बढाउन महत्त्वपूर्ण भूमिका खेलेको दाबी गर्दै उनले यही कुरालाई पनि भोट माग्ने आधार बनाएका छन्। प्रदेशमा विकासको आधार तयार पारे पनि पछिल्ला सरकारले त्यसलाई निरन्तरता नदिएको उनको भनाइ छ। रोकिएका योजना सम्पन्न गर्ने प्रतिबद्धतासहित उनले ती विषयलाई घोषणापत्रमा समेटेका छन्।
उता बैतडीबाट प्रतिनिधि सभाको निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार परमानन्द भट्टले ग्रामीण पीडालाई मूल महत्त्व दिँदै बसाइसराइ रोक्ने मुद्दालाई अघि सारेका छन्। आफू जिविस सभापति हुँदा गरेका विकास निर्माणका कार्यहरूलाई उनले समेटेका छन्। च्वाँगढ क्षेत्र, दुदिलाखान, दोगडाकेदारका मार्गलाई जोड्दै नागरिकको बसाइसराइ रोक्न गाउँमा होमस्टे सञ्चालन गर्ने, वन्यजन्तु (बँदेल र बाँदर) को आतंक नियन्त्रण गर्ने र आम्दानीका लागि टिमुर, बेसार, अदुवा खेती गर्ने विकल्प उनले अघि सारेका छन्। जडीबुटी तथा खानी (फलामखानी, चुनढुङ्गा) उत्खननले समग्र बैतडीको विकास तथा रोजगारीको नयाँ नक्सा कोर्दै उनले जनतालाई आश्वासन दिएका छन्।

यसैगरी कैलाली निर्वाचन क्षेत्र नम्बर–२ कृषिमा केन्द्रित मुद्दा देखिएको छ। एमालेका उम्मेदवार सूर्यबहादुर थापाले आफ्नो घोषणापत्र ‘हरित अभियान’मा आधारित बनाएका छन्। सुदूरपश्चिममा पाइने जडीबुटीको व्यावसायिक रोपण, राजाकाँडामा फलफूल बगैँचा परियोजना, एभोकाडो खेती, ड्रिप सिँचाइ प्रणाली र हाइटेक तरकारी जोन उनका प्रमुख एजेन्डा हुन्। पाँच वर्षभित्र ८ हजारलाई रोजगारी र २० हजार परिवारलाई आत्मनिर्भर बनाउने लक्ष्य उनले अघि सारेका छन्। पालिकाबीच सडक सञ्जाल विस्तार, चिसापानी–राजकाँडा केबलकार, जलविहार तथा वन–वातावरणमैत्री कार्यक्रमसमेत घोषणापत्रमा समेटिएका छन्।
यही क्षेत्रबाट उम्मेदवार बनेका नेपाली कम्युनिष्ट पार्टीका नन्दबहादुर साउद (राजेन्द्र) ले उद्यम र रोजगारीलाई प्राथमिकतामा राखेका छन्। ‘सिपवान युवा, श्रम सम्मान’ नारासहित उनले थारु संग्रहालयको विस्तार, होमस्टे प्रवर्द्धन, बलचौर सडक सञ्जाल सुधार र डुडेझारी औद्योगिक क्षेत्र सञ्चालन जस्ता योजनाहरू अघि सारेका छन्।
त्यस्तै कैलाली क्षेत्र नम्बर ४ र १ को चुनावी प्रतिस्पर्धा पनि चासोको विषय बनेको छ। कैलाली–४ का प्रतिनिधि सभा सदस्य उम्मेदवार लेखराज भट्टले स्वास्थ्य सेवा सुधार, औषधि व्यवस्थापन, शिक्षा तथा शीत भण्डार निर्माणलाई प्राथमिकतामा राखेका छन्। विगतका कामलाई आधार बनाएर उनले रोजगारमूलक तालिम, तटबन्ध निर्माण र पूर्वाधार विकाससँग आफ्ना एजेन्डा जोडेका छन्।
कैलाली १ का कांग्रेस उम्मेदवार जनकराज चौधरीका एजेन्डा भने भिन्न प्रकृतिका छन्। ‘शिक्षा नै लोकतन्त्र तथा विकासको आधार’ भन्दै उनले रानी जमरा कुलरिया परियोजनालाई समेटेका छन्। ‘पढौँ र कमाऔं’ एवम् वैदेशिक रोजगारबाट फर्किएका युवाका लागि उद्यम गर्न बजेटको व्यवस्था गर्ने बताएका छन्।
टीकापुर अस्पताललाई १ सय शय्याको बनाएर युवाहरूलाई नीतिगत रूपमै अघि बढाउने उनको घोषणा छ।
त्यस्तै कैलाली ३ का उम्मेदवार नेपाली कांग्रेसका भीम बडुवालले ‘कान्द्रा नदी कोरिडोर’ लाई केन्द्रमा राखेर ३८ किलोमिटरको बहुउद्देश्यीय परियोजनालाई राष्ट्रिय गौरवको रूपमा स्थापना गर्ने लक्ष्य राखेका छन्।
कञ्चनपुर क्षेत्र नम्बर-२ कडा प्रतिस्पर्धाको क्षेत्र हो। एमालेका वचनबहादुर सिंहले सेवा वितरणका लागि घर–घरमा डिजिटल प्रविधिको योजना तयार पारेका छन्। नमुना विद्यालय, २ दर्जनभन्दा बढी सडक पिच र सार्वजनिक कार्यालयमा डिजिटल गुनासो व्यवस्थापन सहितको ‘हाइटेक प्रशासन’ र भ्रष्टाचारमुक्त बनाउने उनका मुख्य नारा छन्।
वेदकोट, शुक्लाफाँटा र कलुवापुरसमेत समेटेर उनले ३८ बुँदे घोषणापत्र ल्याएका छन्। वन्यजन्तुको नियन्त्रण र जङ्गली जनावरबाट पीडित सुकुम्बासीलाई क्षतिपूर्ति दिने नीतिगत मापदण्डले यहाँको तत्कालीन समस्या समाधानको आङ्कलन गरिएको छ। साथै नदी कटान र दीर्घकालीन योजनाका कारण प्रतिस्पर्धा रोचक बनेको छ।
फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम, गेटा मेडिकल कलेज (राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय), धनगढी विमानस्थल स्तरोन्नति तथा पश्चिम सेती जलविद्युत आयोजना जस्ता विषय नयाँ होइनन्। यी एजेन्डा बोकेर पछिल्ला करिब २० वर्षदेखि नेताहरूले चुनाव जित्दै आएको धनगढीका स्थानीय मोतीराज पन्त बताउँछन्।
उनका अनुसार यी मुद्दा अहिले राजनीतिक रूपमा अनिवार्यजस्तै बनिसकेका छन्। केही उम्मेदवारका घोषणापत्र हेर्दा सूचना प्रविधि, डिजिटलाइजेशन र युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्ने विषय यस पटक नयाँ रूपमा प्रस्तुत भएको उनको भनाइ छ।
महेन्द्रनगरका राजाराम विकका अनुसार अघिल्ला दशकमा चुनाव जितेर सत्तामा पुगेका पुराना नेताहरूले पुरानै मुद्दालाई नयाँ आवरणमा दोहोर्याएका छन्। चुनावका बेला सार्वजनिक गरिने घोषणापत्र प्रायः कागजमै सीमित हुने र कार्यान्वयनमा कमजोर देखिने प्रवृत्ति दोहोरिएको उनको टिप्पणी छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतका राहुल र प्रियंका गान्धीले गरे मोदी निवासबाहिर प्रदर्शन
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण