चित्रबहादुरको गृह जिल्लामै जनमोर्चाको जमानत जफत
सारांश
- राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको गृह जिल्ला बागलुङमा रास्वपा विजयी भयो, जनमोर्चाले जमानत जोगाउन सकेन।
- नेकपासँगको गठबन्धनले पनि जनमोर्चालाई चुनाव जित्न मद्दत गरेन, सुशील खड्का विजयी हुँदा अधिकारीले थोरै मत पाए।
- समानुपातिकतर्फ थ्रेसहोल्ड कटाउन नसक्ने अवस्थामा पुगेको जनमोर्चाले प्रत्यक्षतर्फ पनि सिट जित्न सकेन, आठ उम्मेदवारको जमानत जफत भयो।
बागलुङ । नेपाली राजनीतिमा फरक छवि बनाएका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीकै गृह जिल्ला बागलुङमा यसपालिको निर्वाचन राष्ट्रिय स्वतन्त्र पार्टीले जित्यो । जनमोर्चाले आधार इलाका मान्दै आएको बागलुङमा प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र जनमोर्चाबिच गठबन्धन भएको थियो । गठबन्धनबाट जनमोर्चाका कृष्णप्रसाद शर्मा अधिकारी चुनावी मैदानमा थिए ।
चित्रबहादुरको विरासत जोगाउन चुनावी मैदानमा उत्रिएका अधिकारीले जमानत जोगाउनसमेत सकेनन् । अघिल्लो निर्वाचनमा बलियो शक्ति मानिने कांग्रेससँगको गठबन्धनमा बागलुङ–१ बाट जित हात पारेका चित्रबहादुर यस पटक चुनावी ‘रेस’भन्दा बाहिर रहे । यद्यपि उनको समानुपातिक सूचीमा नाम छ । अघिल्लो पटक नै समानुपातिकमा ‘थ्रेसहोल्ड’ कटाउन नसकेको जनमोर्चालाई यस पटक पनि हम्मेहम्मे पर्ने देखिएको छ ।
दुई पार्टी मिल्दा पनि जमानत जोगाउन नसक्दा जनमोर्चाको राजनीतिक भविष्य कतातिर जाला भन्ने प्रश्न उठ्न थालेको छ । पकड मानिएकै क्षेत्रमा जमानत जफत हुनुले जनमोर्चाको तल्लो तहसम्मै तरङ्ग पैदा भएको छ ।
- नेकपासँगको गठबन्धनले पनि जोगाएन जमानत
यही फागुन २१ मा सम्पन्न निर्वाचनमा बागलुङ–१ मा रास्वपाका सुशील खड्का २० हजार ९२७ मत लिएर विजयी हुँदा नेकपा–जनमोर्चा गठबन्धनका अधिकारीले चार हजार ५२१ मतमात्रै पाए । अधिकारीले पाएको उक्त मतले जमानत जोगाउन सकेन ।
कुल सदर मतको १० प्रतिशत प्राप्त नगरेमा जमानत जफत हुने व्यवस्था छ । यस क्षेत्रमा ४७ हजार ६१ सदर मत थियो । जमानत जोगाउन कम्तीमा पनि चार हजार ७०७ मत आवश्यक पर्दछ । लामो समय चित्रबहादुरकै सचिवालयमा बसेर काम गरेर अधिकारी दुई पार्टीसँग मिल्दा जित निकाल्ने आशमा थिए ।
दोस्रो हुने नेपाली कांग्रेसका भीमबहादुर श्रीस रानाले ११ हजार ९४४ मत पाउँदा तेस्रो स्थानमा रहेको नेकपा एमालेका हिराबहादुर केसीले ८ हजार ६४० मत मात्रै पाए ।
समानुपातिक मतलाई हेर्दा पनि जनमोर्चाको मत निकै कम देखिन्छ । समानुपातिक मतका आधारमा हेर्दा राष्ट्रिय जनमोर्चाले क्षेत्र नम्बर १ मा ३ हजार ५९७ मत लिएर पाँचौँ स्थानमा परेको छ ।
यस क्षेत्रमा रास्वपाले २२ हजार ८५९, दोस्रो नेपाली कांग्रेस भएको छ । कांग्रेसले १० हजार १८५ पाएको छ । तेस्रो स्थानमा नेकपा एमाले छ । एमालेले ७ हजार १४७ मत पाएको छ ।
चौथो स्थानमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) छ । नेकपाले १ हजार ९१९ र राप्रपाले ९४३ मत पाएको छ ।
- अब संसद्मा देखिएलान् त चित्रबहादुर ?
२०५१ सालदेखि नै राष्ट्रिय जनमोर्चा चुनावमा होमिँदै आएको पाइन्छ । २०५१ र २०५६ को निर्वाचनमा जनमोर्चाले बागलुङका विभिन्न क्षेत्रमा जित हासिल गरेको थियो । त्यसपछि पनि चित्रबहादुर केसी समानुपातिक सांसद भए ।
२०७२ सालमा केपी शर्मा ओली प्रधानमन्त्री हुँदा उनी उपप्रधानमन्त्री भएका थिए । ०७९ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा कांग्रेसको बलमा अन्तिम पटक संघीय सांसद बनेका चित्रबहादुरलाई अब संसद्मा देख्न पाउने सम्भावना न्यून छ । यस पटक प्रत्यक्ष निर्वाचनबाट भागेका उनको समानुपातिक सूचीमा नाम छ ।
हालसम्मको मत परिणाम हेर्दा जनमोर्चाले २६ हजारभन्दा बढी मत पाएको छ । समानुपातिकतर्फ नै ‘थ्रेसहोल्ड’ कटाउन नसक्ने अवस्थामा पुगेको जनमोर्चाले प्रत्यक्षतर्फ एक सिट पनि नजितेको अवस्थामा समानुपातिक प्रतिनिधित्वसमेत पाउन सक्दैन ।
०७९ सालमा भएको स्थानीय तह निर्वाचनमा राष्ट्रिय जनमोर्चाले जैमिनी नगरपालिकामा प्रमुख, बरेङ गाउँपालिकामा अध्यक्ष, काठेखोला गाउँपालिका र बडिगाड गाउँपालिकामा उपाध्यक्ष पाएको छ । जिल्लाका केही वडामा अध्यक्ष पाएको छ ।
- जनमोर्चासहित आठ उम्मेदवारको जमानत जफत
बागलुङ क्षेत्र नम्बर १ मा यसपालि ११ जना उम्मेदवार थिए । त्यसमध्ये आठ उम्मेदवारको जमानत जफत भएको छ । कुल सदर मतको १० प्रतिशत प्राप्त नगरेपछि जनमोर्चा, राप्रपा, श्रम संस्कृति पार्टी, प्रलोपा, नेशनल रिपब्लिक नेपाल, मंगोल नेशनल अर्गनाइजेशन, नेपाली कम्युनिस्ट पार्टी (माओवादी) र नेपाल मानवतावादी पार्टीका उम्मेदवारको जमानत जफत भएको हो ।
राप्रपाका कल्याण आचार्यले ५२३, श्रम संस्कृति पार्टीका लालबहादुर घर्तीले २५४, प्रलोपाका चित्र सापकोटाले ६०, मंगोल नेशनल अर्गनाइजेशनका गुमा कुमारी रानाले ४०, नेपाली कम्युनिस्ट पार्टी (माओवादी)का टेक बहादुर केसीको ८०, नेपाल मानवतावादी पार्टीका भक्तबहादुर विकले २४ मत पाएका छन् ।
यस क्षेत्रमा ९८ हजार ४६ मतदाता थिए । त्यसमध्ये ४८ हजार ९३२ मत खसेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजासहितको प्रजातन्त्र'को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
-
पोखराको फोहोर फाल्ने ठाउँमा भेटियो ग्रिनेट
-
इरानले भन्यो, ‘कुवेत विमानस्थलमाथिको आक्रमणमा अमेरिकी प्रतिरक्षा प्रणालीको हात’
-
कांग्रेसमा ३ लाख ७५ हजारको क्रियाशील सदस्यता अद्यावधिक
-
विराटनगर महानगरपालिकाका सबै वडा पूर्णखोप सुनिश्चित
-
एमालेको २ दिने कार्यशाला : सदस्यता नवीकरणको म्याद थप्न सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण