ट्राफिक नियम मिच्दा फिनल्याण्डका अर्बपतिलाई १ लाख २० हजार युरो जरिवाना
सारांश
- फिनल्याण्डका व्यवसायी एन्डर्स विक्लोफले तीव्र गतिमा गाडी चलाउँदा १ लाख २० हजार युरो जरिवाना तिरेका छन्।
- विक्लोफले ३० किलोमिटरको गति सीमा भएको स्थानमा ५९ किलोमिटरको गतिमा गाडी चलाएका थिए।
- फिनल्याण्डमा ट्राफिक जरिवाना व्यक्तिको आम्दानी र सम्पत्तिमा आधारित हुने गर्दछ।
हेल्सिन्की । फिनल्याण्डका चर्चित व्यवसायी ७९ वर्षीय एन्डर्स विक्लोफले तीव्र गतिमा गाडी चलाएको भन्दै १ लाख २० हजार युरो जरिवाना तिर्नुपरेको छ। वार्षिक ३५ करोड युरोभन्दा बढीको कारोबार गर्ने विक्लोफ होल्डिङ एबीका संस्थापक उनले प्रतिघण्टा ३० किलोमिटरको गति सीमा भएको ठाउँमा ५९ किलोमिटरको गतिमा गाडी चलाएपछि यो मोटो रकम तिर्नुपरेको हो।
फिनल्याण्डको बाल्टिक सागरस्थित ओल्याण्ड टापुमा स्पोर्ट्स कार चलाइरहेका बेला उनी प्रहरीको फन्दामा परेका थिए। फिनल्याण्डमा गति सीमाभन्दा २० किलोमिटर प्रतिघण्टा बढी गतिमा गाडी चलाउनुलाई गम्भीर अपराध मानिन्छ।
त्यहाँ ट्राफिक जरिवानाको रकम चालकको आम्दानी र सम्पत्तिका आधारमा तय गरिन्छ। धनी व्यक्तिले नियम मिच्दा बढी जरिवाना तिर्नुपर्ने यो अनौठो कानुनी प्रावधानका कारण विक्लोफले यति ठूलो रकम तिर्नुपरेको हो।
विक्लोफले यो जरिवानालाई चुपचाप स्वीकार गरेका छन्। उनले फिनल्याण्डको अखबार न्या ओल्याण्डसँग कुरा गर्दै गल्ती स्वीकार गरेको र त्यसमा भन्नु केही नरहेको बताए। ३० किलोमिटरभन्दा बढीको गतिमा चलाएको भए चालक अनुमति पत्र (लाइसेन्स) नै निलम्बन हुने प्रावधान रहेकाले आफ्नो लाइसेन्स जोगिएकोमा उनले खुसी व्यक्त गरे।
विक्लोफका लागि यो पहिलो महँगो गल्ती भने होइन। सन् २०२३ मा पनि उनले यस्तै ठूलो रकमको जरिवाना तिरेर चर्चा कमाएका थिए। उनले विगत १३ वर्षमा ट्राफिक नियम उल्लंघन गरेबापत मात्रै झन्डै ४ लाख युरो जरिवाना तिरिसकेका छन्।
यद्यपि, विश्वकै सबैभन्दा महँगो ट्राफिक जरिवानाको कीर्तिमान भने अर्कै व्यक्तिको नाममा छ। सन् २०१० मा स्विट्जरल्याण्डमा एक स्विडेनी चालकले १२० किलोमिटरको गति सीमा भएको ठाउँमा २९० किलोमिटरको गतिमा गाडी चलाएपछि करिब १० लाख डलर जरिवाना तिरेका थिए। त्यहाँ पनि जरिवानाको रकम चालकको आम्दानी र कुल सम्पत्तिका आधारमा निर्धारण गरिएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण