शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

रातोपाटी ब्रिफिङ : प्रदेशमा सरकार बनाउन र केन्द्रमा जोगाउन दौडधुप

बिहीबार, २१ पुस २०७९, २२ : ०७
बिहीबार, २१ पुस २०७९

काठमाडौं । आज मिति २०७९ पुस महिनाको २१ गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा प्रस्तुत गरिएको छ–

१. विश्वासको मत माग्दै प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुस २६ गते विश्वासको मत लिने भएपछि त्यसको तयारीमा सत्ता गठबन्धन जुटेका छन् । विश्वासको मत पाएर सरकार टिकाउने रस्साकस्सीमा लाग्दै गर्दा माओवादीले नेपाली कांग्रेससँग समेत विश्वासको मत लिएको खबर बाहिरिएको छ । प्रचण्ड नेतृत्वको सरकारमा राजावादीदेखि विभिन्न नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीसमेतको समर्थन रहेको छ । यस्तै जसपा र एकीकृत समाजवादीलाई समेत समेटेर अघि बढ्ने प्रचण्डको योजना छ ।

२. छ वटा प्रदेशमा सरकार गठनको आह्वान

सात प्रदेशमध्ये ६ वटा प्रदेशमा नयाँ सरकार गठन गर्न प्रदेश प्रमुखले समय तोकेर आह्वान गरेका छन् । नयाँ सरकार गठनका लागि प्रदेश १ मा पुस २४ को समय तोकिएको छ भने बागमती र गण्डकीमा पुस २५ गतेसम्म दाबी पेस गर्न भनिएको छ । त्यसै गरी लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा पुस २७ गते ५ बजेभित्र मुख्यमन्त्रीका लागि प्रक्रिया पुर्‍याएर दाबी गर्न प्रदेश प्रमुखहरूले आह्वान गरेका छन् । मधेस प्रदेशमा भने अहिलेसम्म सरकार गठनका लागि आह्वान भैसकेको छैन ।  यससँगै ती प्रदेशसमा सरकार बनाउन दौडधूप र लबिङ सुरु भएको छ ।

३. सुनसान हुन्छन् वैदेशिक रोजगार कार्यालय

कुनै कार्यालयमा दैनिक ३ हजारभन्दा बढी मानिसको भिड भयो भने कस्तो होला भन्ने अनुभूति गर्न पासपोर्ट बनाउने, सवारी चालक अनुमतिपत्र बनाउने ठाउँमा सहजै गर्न सकिन्छ ।

आजभन्दा केही महिना अगाडिसम्म यस्तै भिड र सास्ती वैदेशिक रोजगार कार्यालयमा पनि हुन्थ्यो । दैनिक ३ हजारभन्दा बढी व्यक्ति ताहाचलस्थित वैदेशिक रोजगार कार्यलयमा जम्मा हुन्थे । कोही श्रम स्वीकृतिका लागि पुगेका हुन्थे भने कोही नवीकरण तथा अन्य कामका लागि ।

वैदेशिक रोजगार कार्यालयमा हिजोआज भने सुनसान देखिन्छ । वैदेशिक रोजगार विभागले त्यहाँबाट हुने सबै काम अनलाइन मार्फत हुने बनाएपछि भिड अन्त्य भएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशन दिएपछि राहदानी विभागको सफ्टवेयर व्यवस्थापनको जिम्मा लिएको आइडिमिया कम्पनीले आफ्ना उच्च तहका प्राविधिकलाई नेपाल पठाएको छ । त्रिपुरेश्वरस्थित राहदानी विभागको सफ्टवेयरमा समस्या देखिएको भन्दै विभागले पूर्ण सेवा दिन नसकिने सूचना जारी गरेपछि प्रधानमन्त्री कार्यालयले तत्परता लिँदै सफ्टवेयर प्रणालीको अनुगमन र निरीक्षण गरेपछि कम्पनीले आफ्ना विशेषज्ञ पठाएको हो ।

५. यादवले मागे छुट्टै कार्यालय

माओवादी केन्द्रको चुनाव चिन्ह हँसिया हथौडा लिएर निर्वाचित भएका नेपाल समाजवादी पार्टीका सांसद महेन्द्र राय यादवले संघीय संसद सचिवालय छुट्टै कार्यकक्ष मागेका छन् । यादवले आफ्ना पिए सत्यप्रकाश यादवलाई कार्यकक्ष मिलाउनका लागि सचिवालय पठाएका थिए ।

६. आईसीसीको टोली नेपालमा

राजधानीमा जारी नेपाल टी–२० लिगमा पछिल्लो समय देखिएको विवाद र घटनाक्रमबारे बुझ्न आइसिसीको टोली नेपाल आएको छ । सोही क्रममा आइसिसीको टोलीले बिहीबार राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङलाई भेटेको छ ।

बुधवार साँझ नेपाल आएको आइसिसीको टोलीले बिहीबार दिउँसो राखेपका सदस्यसचिव टंकलाल घिसिङसँग भेटवार्ता गरेको हो । यसअघि टोलीले विमानस्थलबाट सोझै कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा निरीक्षण गरेको थियो । त्यसपछि सहभागी टोलीका प्रतिनिधिसँग भेट गर्दै आवश्यक रिपोर्ट लिएको थियो ।

७. एकीकृत समाजवादीको नीति

प्रधानमन्त्री प्रचण्डलाई नेकपा एकीकृत समाजवादीले परिस्थिति हेरेर विश्वासको मत दिने भएको छ । पार्टी सचिवालय बैठकपछि बोल्दै पार्टी प्रचार विभाग प्रमुख खतिवडाले सबै परिस्थितिको आकलन गरेर मात्रै विश्वासको मत दिने नदिने निर्णय हुने बताए ।

८. रवि लामिछाने प्रकरणमा प्रशासनको पत्र

जिल्ला प्रशासन कार्यालय काठमाडौँले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादका विषयमा छानबिन भइरहेको जवाफ सर्वोच्च अदालतमा पठाएको छ । महान्यायाधिवक्ताको कार्यालयमार्फत गत पुस १८ गते सर्वोच्च अदालतमा पठाइएको लिखित जवाफमा लामिछानेको नागरिकताका विषयमा छानबिन भइरहेको उल्लेख छ ।

यसैगरी जिल्ला प्रशासन कार्यालय काठमाडौँमा ‘टाइम कार्ड’ लागु गरिएको छ । बिहीबारबाट जिल्ला प्रशासन कार्यालयले दिने १० प्रकारका सेवामा टाइम कार्ड लागु गरिएको काठमाडौँका प्रजिअ घनश्याम उपाध्यायले रातोपाटीलाई बताए ।

९. सेयर बजार

लामो समयको अन्तरालपछि बिहीबार सेयर बजार कारोबार ५ अर्बमाथि कटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन नेप्से सूचक १८.०९ अङ्कले बढ्दै २१४३.९३ विन्दुमा पुग्दा ५ अर्ब ४ करोड ७ लाख रुपैयाँको कारोबार भएको हो । 

१०. यो पनि

जनता समाजवादी पार्टी नेपाल (जसपा)ले सरकारको न्यूनतम साझा कार्यक्रम बनाउने जिम्मेवारी पार्टीका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठको नेतृत्वमा गठन भएको वार्ता समितिलाई दिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिएका छन् । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेका कारण सोहिबमाजिक मूल्य समायोजन गरी मूल्य कटौती गर्न प्रधानमन्त्री प्रचण्डले निर्देशन दिएका हुन् ।

त्रिभुवन विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव चैत ५ गते हुने भएको छ । त्रिवि विद्यार्थी कल्याण परिषद्को बैठकले स्ववियु चुनाव चैत ५ गते गर्ने निर्णय गरेको हो । 

सरकारी कार्यालयका वरपर रहेका बिचौलिया नियन्त्रणका लागि काठमाडौँ प्रहरीले अपरेसन सुरु गरेको छ । बिहीबार मात्रै काठमाडौँ प्रहरीले ४० भन्दा बढी बिचौलियालाई पक्राउ गरेको काठमाडौँ प्रहरीले जनाएको छ । 

काठमाडौं महानगरपालिकाको सामाजिक विकास विभागमा विकास सहायताका लागि २ सय ४ वटा प्रस्ताव पेश भएका छन् । ४ करोड ४५ लाख रुपैयाँका कार्यक्रमका लागि प्रस्ताव आह्वान गर्दै मंसिर १ गते सार्वजनिक सूचना प्रकाशन गरिएको थियो ।

काठमाडौंको शंखरापुर नगरपालिका वडा नम्बर–३ जहरसिंह पौवा, बोझिनीमा  आन्दोलनरत स्थानीयमाथि प्रहरीले ज्यादती गरेको छ ।  निर्माण गर्न लागिएको अपर तामाकोसी जलविद्युत आयोजनाको विद्युत् प्रसारण लाइनको सबस्टेसन सो स्थानबाट अन्यत्र सार्न माग गर्दै ५ दिनदेखि आन्दोलन गरिरहेका स्थानीयको घर घर पुगेर ज्यादती गरेको स्थानीय विजया कुमारी वाइवाले जानकारी दिइन् ।

नेपाली सेनाका उपरथी प्रेम प्रकाश शाहीमाथि सेनाले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । पुस १९ मा उनलाई सैनिक प्रहरीले नियन्त्रणमा लिएको थियो ।

पाल राष्ट्र बैंकले चालु पुँजी कर्जा मार्गदर्शन संशोधन गरेपछि नेपाल उद्योग वाणिज्य महासंघले मिश्रित प्रतिक्रिया दिएको छ । राष्ट्र बैंकले बुधवार कात्तिकदेखि लागू मार्गदर्शनलाई संशोधन गर्दै केही खुकुलो बनाएको थियो । महासंघले संशोधनबारे ढिलो गरी मिश्रित प्रतिक्रिया जनाएको हो ।

पोखरा तथा पोखरा आसपासका क्षेत्रमा इन्टरनेट सेवा अवरुद्ध भएको सेवाप्रदायकहरूले बताएका छन् । इन्टरनेट सेवाप्रदायकले नेपाल विद्युत प्राधिकरणले विद्युत सेवा अवरुद्ध गरेकाले पोखरामा इन्टरनेटको सेवा अवरुद्ध भएको जनाएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप