शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

दिनभरका शीर्ष समाचार : ४५ लाख बुझाएर घर फर्के बालकृष्ण खाण

शुक्रबार, २९ मङ्सिर २०८०, २२ : ३५
शुक्रबार, २९ मङ्सिर २०८०

काठमाडौँ । आज मिति २०८० साल मंसिर महिनाको २९ गते शुक्रबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुत ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ–

बालकृष्ण रिहा

पूर्व गृहमन्त्री बालकृष्ण खाँण ७ महिनापछि थुनामुक्त भएका छन् । नक्कली शरणार्थी प्रकरणमा उच्च अदालत पाटनको आदेशमा उनी रिहा भएका हुन् । उनलाई बिहीबार अदालतले ३० लाख धरौटीमा छाड्न आदेश दिएकामा शुक्रबार आवश्यक प्रक्रिया पुरा गरेर रिहा भएका हुन् ।

अदालतले मागेको ३० लाख धरौटी बुझाएपछि उनलाई सम्पत्ति शुद्धीकरण र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उपस्थित गराइएको थियो । जसअनुसार सम्पत्ति शुद्धीकरणले १५ हजार धरौटीमा छाड्ने आदेश दियो भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट उनी साधारण तारेख पाए ।

यससँगै उनी अदालत र सम्पत्ति शुद्धीकरण गरी दुई ठाउँमा ४५ लाख बुझाएर घर फर्किएका छन् ।नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगेको आरोपमा प्रहरीले खाँणलाई २७ वैशाखमा पक्राउ गरेको थियो ।

भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउँछु भनेर ठगेको मुद्दामा खाणलाई उपस्थित गराउन सम्पत्ति शुद्धीकरण र अख्तियारले यसअघि नै कारागारमा पत्र पठाएका थिए ।

प्रस्तावित न्ययाधीशको सुनुवाइ

सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश अब्दुल अजिज मुसलमानले सर्वोच्च अदालतमा बढेको मुद्दा चाप घटाउने एकमात्र उपाय न्यायाधीशले तोकिएको समयभरि काम गर्नुपर्ने बताएका छन् ।  शुक्रवार संसदीय सुनुवाइ समितिको बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै उनले न्यायाधीशहरुले इमान्दार भएर समय पालना गर्दै काम गरे मुद्दाको चाप घट्ने बताए ।

प्रस्तावित न्यायाधीश सारङ्गा सुवेदीमाथिको संसदीय सुनुवाइ सकिएको छ । शुक्रबार संसदीय सुनुवाइ समितिमा सांसदहरुले सुवेदीमाथि उजुरीकर्ताहरुको तर्फबाट र आफ्नो तर्फबाट विभिन्न प्रश्न गरे । यद्यपि उनलाई अनुमोदन गर्ने वा नगर्नेबारे निर्णय भने भइसकेको छैन ।

राष्ट्रियसभा निर्वाचनमा दल दर्ता

आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि १२ वटा राजनीतिक दलले दल दर्ताको निवेदन दिएका छन् । दल दर्ताको अन्तिम दिन शुक्रबारसम्ममा १२ दलले निवेदन दिएको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।

कांग्रेसको निर्णय

नेपाली कांग्रेसले एक महिने  ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गर्ने भएको छ । शुक्रबार पार्टी कार्यालय सनेपामा बसेको कार्यसम्पादन समितिको बैठकले एक महिने अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

कांग्रेसको महासमिति बैठक फागुन ७ गतेदेखि १० गते सम्म हुने भएको छ ।  शुक्रवार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महासमिति बैठक फागुन ७ देखि १० गतेसम्म गर्ने निर्णय गरेको नेता रमेश लेखकले जानकारी दिए । 

महानगर दिवस

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सङ्घीय कानुन निर्माणमा सरकारको प्राथमिकता दिएको बताएका छन् । २९ औँ महानगर दिवसको अवसरमा काठमाडौँ महानगरपालिकाले काठमाडौँमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले कानुन निर्माण पश्चात् स्थानीय तह र सङ्घीयता अझै बलियो हुने विश्वास गरे ।

उच्च अदालत पाटनले सुर्तीजन्य पदार्थ बिक्री रोक्ने काठमाडौँ महानगरपालिकाको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।

उच्च अदालत पाटनका न्यायाधीशद्वय जनक पाण्डे र ब्रजेश प्याकुरेलको संयुक्त इजलासले शुक्रबार श्रीराम टोबाको उद्योग समेतबाट दायर भएको रिट निवेदनमाथि सुनुवाइ गर्दै यस्तो आदेश जारी गरेको हो ।

पेट्रोलियम पदार्थको मूल्य गिरावट

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको भाउ प्रतिलिटर ३ रुपैयाँ घटाएको छ ।

 मंसिर ३० गते बिहान ००.०१ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।

सरकारको मर्जर र एफपीओमा कर लगाउने निर्णय लागू हुँदा एकै दिन ११ अर्ब ३ करोड रुपैयाँ कर संकलन भएको छ ।

यो पनि...

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पहिचान पक्षधरप्रति लक्षित गर्दै कालो झन्डा देखाएर र हिंसात्मक आन्दोलन गरेर समस्या समाधान नहुने बताएका छन् । शुक्रवार तेह्रथुमको म्याङ्लुङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पहिचान पक्षधरको नाम उल्लेख नगरी भने–‘कालो झन्डा देखाएर, हिंसात्मक आन्दोलन गरेर समस्याको समाधान हुँदैन । लोकतान्त्रिक विधिबाट माग पुरा गर्नुपर्छ ।’ अध्यक्ष ओलीले नेकपा एमालेमाथि जनताको भरोसा रहेको भन्दै भने ‘भावनात्मक आवेग छोड्नोस्, शान्तिपूर्ण छलफल गर्नुपर्छ ।’

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राईले भ्रष्टाचार विरुद्धको संयुक्त राष्ट्रसङ्घीय महासन्धिका पक्ष राष्ट्रहरूको दसौँ सम्मेलनमा सम्बोधन गरेका छन् । संयुक्त राज्य अमेरिकाको एटलान्टा सहरमा मङ्सिर २५ देखि २९ गतेसम्म सञ्चालन भएको सम्मेलनमा उनले नेपालको तर्फबाट सम्बोधन गरेका हुन् ।

देशमा फेरि नयाँ दल खुल्न लागेकोबारे चर्चा परिचर्चा सुरु हुन थालेको छ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह, धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलगायतको सक्रियतामा नयाँ पार्टी खुल्न लागेको चर्चा सुरु भएको हो । दुबै मेयर स्वतन्त्र लौरो चिह्नमा चुनाव लडेर स्थानीय सरकारको नेतृत्वमा पुगेका हुन् ।

गृह मन्त्रालयले मातहतका २५ अधिकारीहरूको सरुवा एवम् पदस्थापन गरेको छ ।

 त्यसमध्ये पाँच जना गृह मन्त्रालयमा सहसचिवका रूपमा सरुवा तथा पदस्थापन  भएका छन् भने एक जना कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागको महानिर्देशकका रूपमा सरुवा भएका छन् । बाँकी सबै प्रमुख जिल्ला अधिकारीको रूपमा सरुवा तथा पदस्थापन भएका छन् ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले सरकारलाई दिएको समर्थन फिर्ता गरी संघर्षको कार्यक्रम घोषणा गर्न आग्रह गरेका छन् ।

सामाजिक सुरक्षा कोष सञ्चालक समिति सदस्यमा रोजगारदाताको तर्फबाट राजनसिंह भण्डारी नियुक्त भए । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले मंसिर पहिलो साता उनलाई सदस्य समितिको सदस्यमा नियुक्त गरेका थिए । उनी मन्त्रीका नातेदार हुन् ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप