बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय
ब्रिफिङ

रातोपाटी ब्रिफिङ: यस्ता छन् आजका ‘टपटेन’ समाचार

आइतबार, ०८ पुस २०८०, २३ : ५१
आइतबार, ०८ पुस २०८०

आज २०८० पुस ८ गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

आजका मुख्य समाचारमा संक्रमणकालीन न्याय टुङ्ग्याउन प्रमुख दलका शीर्ष नेताबिच छलफल, सन्दीप लामिछानेविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा, १४ किलो सुन तस्करीबारे यस्तो छ छानबिन समितिको निष्कर्ष, सांसद कोइरीको निलम्बन फुकुवा, एमालेको संकल्प यात्रा ः एक छाक खानामा सरदर ३ लाख ९८ हजार खर्च, लुम्बिनीका नवनियुक्त दुई मन्त्रीले लिए शपथ, खानेपानी मन्त्री र पर्यटन मन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन लगायत छन् ।

१. संक्रमणकालीन न्याय टुङ्ग्याउन प्रमुख दलका शीर्ष नेताबिच छलफल
संक्रमणकालीन न्याय टुङ्ग्याउन प्रमुख दलका शीर्ष नेताहरुबिच छलफल भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबिच आइतबार संक्रमणकालीन न्याय सम्बन्धी विधेयकलाई सहमतिमै अगाडि बढाउनेबारे छलफल भएको हो ।

२. सन्दीप लामिछानेविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा
क्रिकेटर सन्दीप लामिछानविरुद्धको जबरजस्ती करणीको मुद्दामा ‘हेर्दहेर्दै’ मा राखिएको छ । आइतबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा सुरु भएको सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’ मा राखिएको हो ।

३. १४ किलो सुन तस्करीबारे यस्तो छ छानबिन समितिको निष्कर्ष
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको १४ किलो सुन तस्करी प्रकरणका सम्बन्धमा गठित छानबिन समितिले आफ्नो प्रतिवेदन सार्वजनिक गरेको छ । समितिले १४ किलो अवैध सुन ल्याउने व्यक्तिहरूको ट्राभल हिस्ट्री अध्ययन तथा कल डिटेल एनालाइसिस गरी संलग्न व्यक्तिहरूको पहिचान गर्ने कार्यादेश पाएको थियो ।

४. सांसद कोइरीको निलम्बन फुकुवा
नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीको निलम्बन फुकुवा भएको छ । आइतबार संसद् सचिवालयले कोइरीको निलम्बन फुकुवा गरेको हो । यसअघि आइतबार नै सांसद कोइरीले निलम्बन फुकुवाको माग गर्दै संसद् सचिवालयमा निवेदन दिएका थिए ।

५. एमालेको संकल्प यात्रा : एक छाक खानामा सरदर ३ लाख ९८ हजार खर्च
नेकपा एमालेले हालै सम्पन्न गरेको संकल्प यात्रामा एक छाक खानाका लागि सरदर ३ लाख ९८ हजार रुपैयाँ खर्च गरेको छ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबार सञ्चारकर्मीहरुसँग अन्तरक्रिया गर्दै यस्तो जानकारी दिएका हुन् । 

६. लुम्बिनीका नवनियुक्त दुई मन्त्रीले लिए शपथ
लुम्बिनी प्रदेशका नवनियुक्त दुई मन्त्रीले शपथ ग्रहण गरेका छन् । शनिबार नियुक्त भएका मन्त्रीहरू कृष्णा केसी र सरोज थापालाई आइतबार प्रदेश प्रमुख अमिक शेरचनले शपथ ग्रहण गराएका हुन् । केसीलाई सहरी विकास मन्त्रालय र थापालाई उद्योग तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइने भएको छ ।

७. खानेपानी मन्त्री र पर्यटन मन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार खानेपानी मन्त्री र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीलाई विभिन्न विषयमा निर्देशन दिएका छन् । दुवै मन्त्रालयको संयुक्त ब्रिफिङ र छलफलमा प्रधानमन्त्री प्रचण्डले जनसरोकारका विभिन्न विषयमा आवश्यक निर्देशन दिएका हुन् ।

८. यातायात पूर्वाधार र सहरी विकासमा उल्लेख्य काम भएको सरकारको दाबी
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त भएको मंगलबार एक वर्ष पुग्दैछ । एक वर्षको अवधिमा सरकारले सडक र यातायात पूर्वाधारका क्षेत्रमा उल्लेख्य नतिजा हासिल गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले दाबी गरेको छ ।

९. कृष्णप्रसाद भट्टराईको शताब्दी जन्मदिवसका अवसरमा कांग्रेसको कार्यक्रम
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीले कृष्णप्रसाद भट्टराईको विषयमा खोजीनिती गर्ने बताएका छन् । ‘सन्त नेता’को छवि बनाएका भट्टराईको शताब्दी जन्म दिवसको अवसरमा आइतबार पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा देउवाले भट्टराईको विषयमा जानकारी दिन पार्टीले पुस्तक सार्वजनिक गर्ने बताए ।

१०. कोशीमा सभामुख चयनमा ढिलाइ
कोशी प्रदेशसभाको सभामुख चयन प्रक्रिया पुनः लम्बिएको छ । दलहरूबिच यसअघि पुसको दोस्रो हप्ताभित्रमा सभामुख चयन प्रक्रिया सुरु गर्ने मौखिक सहमति बनेको थियो । तर, अहिलेसम्म सभामुख चयन प्रक्रिया कहिलेदेखि सुरु हुन्छ भन्ने विषयमा कुनै निष्कर्ष निस्किएको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप