सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

दिनभरका शीर्ष समाचार : माओवादीलाई कांग्रेसको धोकादेखि गठबन्धनमा हलचलसम्म

बिहीबार, ११ माघ २०८०, २२ : २४
बिहीबार, ११ माघ २०८०

काठमाडौँ । आज मिति २०८० साल माघ महिनाको ११ गते बिहीबार । आजको दिन राष्ट्रियसभा निर्वाचनमय भयो भने निर्वाचनमा सत्ता गठबन्धन र एमालेबीच प्रतिस्पर्धा भएकामा एक स्थानबाहेक सबैमा गठबन्धनले नै विजय हासिल गर्यो ।

तर, कोशी प्रदेशमा गठबन्धनबाट कांग्रेसको उम्मेदवार विजयी भएपनि माओवादी केन्द्रका उम्मेदवार भने पराजित बनेसँगै तरंग उत्पन्न भएको छ । नतिजालाई लिएर माओवादीका नेताहरुले कांग्रेसबाट धोका भएको टिप्पणी गर्न सुरु गरिसकेका छन् । रातोपाटी ब्रिफिङमा यस्ता छन्, आज दिनभरका प्रमुख समाचार शीर्षक–

कोशीबाहेक गठबन्धनको क्लिन स्विप

निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक गरेको छ ।  आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेललेकाअनुसार कोशी प्रदेशमा रिक्त दुई समूहमा निर्वाचन भएकोमा महिला समूहतर्फ नेकपा एमालेकी रुकमिणी कोइराला कूल ५०८६ मतभार प्राप्त गरी निर्वाचित भएकी छन् ।  कोशी प्रदेशको अन्य समूहतर्फ नेपाली काँग्रेसका कृष्णप्रसाद सिटौला कूल ५२९२ मतभार प्राप्त गरी निर्वाचित भएका छन् ।

मधेश प्रदेशमा रिक्त दुई समूहमा निर्वाचन भएकोमा महिला समूहतर्फ जनता समाजवादी पार्टी, नेपालकी पूजा चौधरी कूल ७९२३ मतभार प्राप्त गरी विजयी हुँदा मधेश प्रदेशको अन्य समूहतर्फ काँग्रेसका आनन्दप्रसाद ढुंगाना कूल ७३७० मतभार प्राप्त गरी निर्वाचित भएका छन् ।

यसैगरी बागमती प्रदेशमा रिक्त चार समूहमा निर्वाचन भएकोमा महिला समूहतर्फ काँग्रेसकी बिष्णुदेवी पुडासैनी कूल ६६२२ मतभार, दलित समूहतर्फ नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका घनश्याम रिजाल कूल ६५१२ मतभार र अपागंता भएका व्यक्ति वा अल्पसङ्ख्यक समूहतर्फ नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र का श्रीकृष्णप्रसाद अधिकारीले  कूल ६३८३ मतभार तथा अन्य समूहतर्फ काँग्रेसका जितजगं बस्नेत ६५३१ मतभार प्राप्त गरी निर्वाचित भएका छन् ।

यसैगरी गण्डकी प्रदेशमा प्रदेशमा रिक्त तीन समूहमा निर्वाचन भएकोमा महिला समूहतर्फ माओवादी केन्द्रकी मनरुपा शर्मा कूल ३६६० मतभार प्राप्त गरी निर्वाचित हुँदा अपागंता भएका व्यक्ति वा अल्पसङ्ख्यक समूहतर्फ काँग्रेसका पदमबहादुर परियार ३७७४ मतभार तथा अन्य समुदायतर्फ काँग्रेसकै किरणबाबु श्रेष्ठ कूल ३८०८ मतभार प्राप्त गरी निर्वाचित भएको शर्माले जानकारी दिए ।

यसैगरी लुम्बिनी प्रदेशमा रिक्त दुई समूहमा निर्वाचन भएकोमा महिला समूहतर्फ  काँग्रेसकी विष्ण्कुमारी सापकोटा कूल ५४३५ मतभार प्राप्त गरी निर्वाचित भइन् । यसैगरी लुम्विनी प्रदेशकै अन्य समूहतर्फ माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदीले कूल ५४३५ मतभार प्राप्त गरी निर्वाचित भए ।

यसैगरी कर्णाली प्रदेशमा रिक्त तीन समूहमा निर्वाचन भएकोमा महिला समूहतर्फ एकीकृत समाजवादीकी सावित्री मल्ल कूल ३७२२  मतभार प्राप्त गरी निर्वाचित हुँदा त समूहतर्फ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का विष्णुबहादुर विश्वकर्मा कूल ३८१७ मतभार तथा अन्य समूहतर्फ कांग्रेसका कृष्णबहादुर रोकाया कूल ३८७० मतभार प्राप्त गरी निर्वाचित भए ।

यसैगरी सुदूरपश्चिम प्रदेशमा रिक्त तीन समूहमा निर्वाचन भएकोमा महिला समूहतर्फमाओवादी केन्द्रकी  रेनु चन्द कूल ४४५३ मतभार प्राप्त गरी निर्वाचित भइन् । यसैगरी  अपागंता भएका व्यक्ति वा अल्पसङ्ख्यक समूहतर्फ कांग्नारेसका रायणदत्त भट्ट कूल ४४१९  मतभार तथा अन्य समूहतर्फका नेपाली काँग्रेसका बलदेव बोहरा कूल ४३२८ मतभार प्राप्त गरी निर्वाचित भए । कोशीमा माओवादी केन्द्रका उम्मेदवारबाहेक सबै गठबन्धनले जितेको हो ।

कांग्रेसबाट माओवादीलाई धोका !

कोशी प्रदेशमा राष्ट्रियसभा निर्वाचनको परिणाम निकै रोचक आएको छ । सत्तारुढ गठबन्धनको मतभार बढी हुँदाहुँदै एमालेकी रुक्मिणी कोइरालाले अप्रत्साशित जित निकालिन् । माओवादी केन्द्रकी उम्मेदवार चम्मा कार्की हारेसँगै कांग्रेसले माओवादीलाई धोका दिएको भन्दै टिकाटिप्पणी सुरु भएको छ ।

माओवादीको असन्तुष्टि

माओवादी केन्द्र कोशी प्रदेशका अध्यक्ष हर्कबहादुर नेम्वाङले कोशी प्रदेशमा कांग्रेससँगको सहकार्य भंग हुने बताएका छन् । बिहीबार भएको राष्ट्रियसभा निर्वाचनमा गठबन्धनबाट उम्मेदवार रहेकी चम्पा कार्की पराजित भएपछि नेम्वाङले कांग्रेससँग सहकार्य तोड्ने चेतावनी दिएका हुन् ।

के भन्छन् सिटौला ?

यता नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले नेकपा एमालेका कार्यकर्ताको विद्रोहले आफूले चुनाव जितेको बताएका छन् । बिहीबार भएको राष्ट्रिय सभा निर्वाचनमा विजयी भएपछि उनले आफूलाई एमालेका केही मतदाताले विद्रोह गरेर मत दिएकोले चुनाव जितेको प्रतिक्रिया दिएका हुन् । उनले आफू राष्ट्रिय राजनीतिमा खडा हुँदा घेराउ गर्ने प्रवृत्ति हाबी हुने गरेको पनि बताए ।

बदलियो राष्ट्रियसभामा समीकरण

आगामी फागुन २१ पछि राष्ट्रिय सभामा दलीय हैसियत फेरिने भएको छ । फागुन २१ मा पदावधि सकिने मनोनीत बाहेक १९ सांसदका लागि आज भएको निर्वाचनमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाको गठबन्धनले १८ सिट जितेको छ ।

जसमा कांग्रेसका १०, माओवादीका ५, नेकपा एकीकृत मसाजवादीका २ र जनता समाजवादी पार्टीका १ जना निर्वाचित भएका छन् । कोशी प्रदेशमा गठबन्धनमा भोटक्रस हुँदा एक सांसद गुमाएपनि राष्ट्रियसभामा सत्तारुढ माओवादी केन्द्र पहिलो दलका रूपमा स्थापित भएको छ ।

जसले बहिस्कार गरे

गत वर्ष स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित तीन जना मेयरले राष्ट्रियसभा निर्वाचनको मतदान बहिस्कार गरेका छन् । काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र शाह ‘बालेन’, धरान उपमहानगरपालिका मेयर हर्क राई ‘साम्पाङ’ र धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल ‘गोपी’ले मतदान बहिस्कार गरेका हुन्  ।

कमजोर कूटनीति–विदेशी सेनामा नेपाली

सरकारले नेपाली नागरिकलाई बेलायती र भारतीय सेनामा मात्र भर्ना हुने कानुनी प्रबन्ध मिलाएको छ । तर, गैरकानुनी रूपमा कति नेपाली कुन कुन देशको सेनामा आबद्ध भए भन्ने तथ्याङ्क सरकारका कुनै निकायसँग छैन ।

गैरकानुनी रूपमा करिब आधा दर्जन मुलुकको सेनामा नेपाली नागरिक आबद्ध भएको सैन्यविद्ले रातोपाटीलाई बताएका छन् ।

अमेरिका, फ्रान्स, ब्रुनाई, रसिया, युक्रेन, सिंगापुरलगायतका देशको सेनामा नेपाली संलग्न रहेको पाइएको सैन्यविद् डा। प्रेमसिंह बस्न्यातले जिकिर गरेका छन् । सैनिक इतिहासमा विद्यावारिधि गरेका नेपाली सेनाका पूर्व सहायक रथी बस्न्यात नेपालको परराष्ट्र नीति विपरीत ती देशको सेनामा नेपाली आबद्ध रहेको दाबी गर्छन् ।

सेयर बजार

नेपाल स्टक एक्सचेञ्ज मा आज बिहीबार ३.९४ अंकको गिरावट आएको छ । आज बढेर सुरु भएपनि कारोबार अवधिमा घटबढ हुँदै अन्तिममा घटेरै बन्द भएको हो । परिसूचक २०८८ अंकबाट कारोबार खुलेको थियो ।

यो पनि...

मधेस प्रदेश सरकारप्रतिको समर्थन फिर्ता लिएको जनमत पार्टीले मधेसमा आफ्नै नेतृत्वमा सरकार गठन गर्ने पहल थालेको छ । गठबन्धनबिच जनता समाजवादी पार्टी ९जसपा०ले पहिलो एक वर्ष, त्यसपछिका दुई वर्ष जनमत पार्टी र अन्तिम दुई वर्ष नेपाली कांग्रेसले मधेस सरकारको नेतृत्व गर्ने सहमति भएको जनमत पार्टीको दाबी छ ।

त्रिभुवन विश्वविद्यालयबाट प्रदान गरिने शैक्षिक प्रमाणपत्रहरू अनलाइनमार्फत प्राप्त गर्न सकिने भएको छ । यही माघ १५ गतेदेखि लागू हुनेगरी त्रिवि परीक्षा नियन्त्रण कार्यालयले अनलाइन मार्फत शैक्षिक प्रमाणपत्र उपलब्ध गराउने गरी तयारी गरेको हो ।

पूर्व जनमुक्ति सेनाका ब्रिगेड कमान्डर जीतमान पुन ‘मार्सल’लाई प्रहरीले पक्राउ गरेको छ । पूर्वी रुकुम घर भएका मार्सल काठमाडौँको मच्छेगाउँबाट पक्राउ परेका हुन् ।

नेकपा (माओवादी केन्द्र)को विधान अधिवेशनमा करिब २२ लाख खर्च हुने अनुमान गरेको छ । माओवादीले फागुनको (१–३) सम्म प्रज्ञा भवन कमलादीमा प्रथम विधान अधिवेशनका लागि तीन दिनको हल बुकिङ भइसेको केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए ।

आफ्ना ओपनर ब्याट्सम्यान अनिल शाहले उत्कृष्ट शतकीय पाली खेलेपछि मधेस प्रदेशले प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको बिहीबारको खेलमा गण्डकी प्रदेशलाई एक सय ४५ रनको विशाल अन्तरले हराएको छ ।

थप समाचार लिंक

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप