सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

दिनभरका शीर्ष समाचार : गगन–विश्वप्रकाशको मतभेददेखि कृष्ण कँडेल अदालतसम्म

शुक्रबार, ०४ फागुन २०८०, २२ : २२
शुक्रबार, ०४ फागुन २०८०

आज मिति २०८० फागुन महिनाको ४ गते शुक्रबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको रात्रीकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ मा प्रस्तुत गरिएको छ ।
 कांग्रेस बैठक
नेपाली कांग्रेस केन्द्रीय समिति बैठकले महासमितिमा पेस गर्ने तीन वटै प्रतिवेदन प्राप्त सुझावलाई समावेश गरी परिर्माजनसहित पेस गर्ने गरी पास गरेको छ ।
बिहीबारको केन्द्रीय समिति बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले सांगठनिक र अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रस्ताव प्रस्तुत गरेका थिए ।

नेपाली कांग्रेसमा नयाँ धार निर्माणमा जुटिरहेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबिच राजनीतिक दृष्टिकोणमा मतभेद देखिएको छ । आसन्न महासमिति बैठकका लागि तयार पारिएको थापाको सांगठनिक र शर्माको समसामयिक राजनीतिक प्रस्तावमा राजनीतिक गठबन्धनप्रतिको हेराइमा फरक देखिएको हो ।

अदालतमा कँडेल 
कृष्ण कँडेल र कलाकार शर्मिला श्रेष्ठसहितको विवाद अदालत पुगेको छ ।  कँडेलले शर्मिला श्रेष्ठलगायत विरुद्ध काठमाडौँ जिल्ला अदालतमा गाली  बेइज्जतीको मुद्दा दर्ता गराएका छन् । विभिन्न सामाजिक सञ्जालमा लाइभ तथा पत्रकार सम्मेलन गरी आफ्नो र आफूले सञ्चालन गर्दै आएको इन्द्रेणी सांस्कृतिक समाज केन्द्र तथा संस्थामा आबद्ध कर्मचारी र कलाकारहरूका विरुद्धमा आरोप लागेको भन्दै कँडेलले जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता गराएका हुन् ।

समस्यामा ज्वाला
ललितपुरको बालकुमारीमा २ जनाको मृत्यु हुनेगरी भएको घटनाको मुख्य जिम्मेवार भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला भएको निष्कर्ष निकालिएको छ । 
पूर्वन्यायाधीश शेखरप्रसाद पौडेल नेतृत्वको जाँचबुझ आयोगले घटनाको मुख्य जिम्मेवार मन्त्री ज्वाला भएको ठहर गरेको हो । ज्वालापछि सो क्षेत्रको अपरेशन कमाण्डरको भूमिकामा रहेका डीएसपी उमेश लम्साल र ज्वालाकै पीएसओ जिम्मेवार रहेको जाँचबुझ आयोगले औँल्याएको छ । यस्तो रिपोर्टले ज्वाला समस्यामा परेका छन् । 

उपकुलपति कस्तो ?
शिक्षाविद् प्राडा विद्यानाथ कोइरालाले उपकुलपति नियुक्तिका लागि लोक सेवा आयोगलेझैँ दरखास्त आह्वान गर्न नहुने बताउँछन् । आफूहरूले विगतदेखि नै प्रधानमन्त्री कुलपति हुने व्यवस्था अन्त्य हुनुपर्ने, विश्वविद्यालयलाई बोर्ड अफ ट्रष्टीजबाट चलाउन दिनुपर्ने लगायतका विषय उठान गर्दै आएको उनको भनाइ छ ।

हाकिममाथि दुर्व्यवहार
उद्योग विकास संस्थान (डीडीसी) का महाप्रबन्धक सञ्जीव झामाथि शुक्रबार दुव्र्यवहार भएको छ । क्रान्तिकारी युवा संगठन नेपालले झामाथि कालोमोसो दलेर दुव्र्यवहार गरेको हो ।

बचाउमा अर्थमन्त्री
अर्थमन्त्री डा.प्रकाश शरण महतले आफूले प्रधानमन्त्रीसँग छलफल गरेर नै बजेटको अनुमानित खर्चको आकार घटाइएको दाबी गरेका छन् । 
बुधबार बजेटबारे प्रस्ट पार्न मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै अर्थमन्त्री महतले प्रधानमन्त्रीसँग छलफल र समन्वय गरेर नै बजेटको अनुमानित खर्चको आकार घटाएको दाबी गरेका हुन् । 

दाङ घटना
दाङको घोराहीस्थित दामोदर चोकमा प्रहरीका सहायक हवल्दार यमबहादुर झाँक्रीले गोली हानेर पत्नी धनमाया थापाको हत्या गरे । धनमाया पनि प्रहरी जवान हुन् ।

सहायक हवल्दार झाँक्री कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र नेपालगञ्जमा कार्यरत छन् । यमबहादुरले हत्या गर्ने ‘योजना’ बनाएर नै तालिम केन्द्रबाट पेस्तोल लगेको भेटिएको छ । प्रहरी सहायक निरीक्षक ‘असई’ भन्दा तलका प्रहरीले पेस्तोल बोक्न पाउँदैनन् । तर, यमबहादुरले जिन्सीमा कार्यरत हवल्दारलाई फकाएर पेस्तोल लगेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।

र, यो पनि 
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को संशोधन विधेयकको मस्यौदा तयार पारेको छ । मस्यौदामा सुधार गर्नुपर्ने विषयका बारेमा उसले सरोकारवाला निकायसँग सुझाव मागेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले मन्त्रालयको कार्यकक्षमा आफैँ सरसफाइ गरेका छन् । उनले सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दै बिहानी पख आफ्नै कार्यकक्ष शृङ्गार गरेको उल्लेख गरेका छन् ।

बागमती प्रदेशसभा बैठक फागुन १५ गतेका लागि आह्वान गर्ने तयारी गरिएको छ । प्रदेश सरकारले आगामी १५ गतेदेखि प्रदेशसभाको हिउँदे अधिवेशन आह्वान गर्ने तयारी गरेको हो ।

थप समाचार

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप