शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे, १० समाचार

सोमबार, १० वैशाख २०८१, २१ : ५९
सोमबार, १० वैशाख २०८१

आज २०८१ वैशाख १० गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

आजका मुख्य समाचारमा ओली–प्रचण्ड पार्टी एकताको विपक्षमा, कतारका शेख भोलि आउँदै, इलाम–२ ः उपनिर्वाचनको चहलपहल उत्कर्षमा, एमालेलाई देउवाको प्रश्न– मदन भण्डारीको हत्यारा पत्ता लगाउन कसले रोकेको छ ?, लगानी आकर्षित गर्न ऐन संशोधन गर्दै सरकार, मधेसमा माओवादीभित्रको गुटबन्दी झाङ्गिँदै, लोसपाको केन्द्रीय समितिबाट हटाइए राजेन्द्र महतो र अनिल झा, शिक्षामन्त्रीको निर्देशन कार्यान्वयन हुन सकेन लगायत छन् ।

१. ओली–प्रचण्ड पार्टी एकताको विपक्षमा
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तत्काल पार्टी एकताको विपक्षमा देखिएका छन् । सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा एकै मञ्चमा उभिएर उनीहरूले तत्काल पार्टी एकता नहुने प्रस्ट पारेका हुन् ।

२. कतारका शेख भोलि आउँदै
कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी भोलि (मङ्गलबार) नेपाल भ्रमणका क्रममा काठमाडौँ आउँदैछन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले विमानस्थलमा पुगेर स्वागत गर्ने भएका छन् । 


३. इलाम–२ : उपनिर्वाचनको चहलपहल उत्कर्षमा
वैशाख १५ गते हुने उपनिर्वाचनको चहलपहल इलाम–२ मा उत्कर्षमा पुगेको छ । उम्मेदवारहरू मतदाता रिझाउन घरदैलोमा व्यस्त छन् ।

४. एमालेलाई देउवाको प्रश्न– मदन भण्डारीको हत्यारा पत्ता लगाउन कसले रोकेको छ ?
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जननेता मदन भण्डारीको हत्यारा पत्ता लगाउन कसले रोकेको छ भन्दै एमालेलाई प्रश्न गरेका छन् । नेकपाको हीरक महोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो प्रश्न गरेका हुन् ।

५. लगानी आकर्षित गर्न ऐन संशोधन गर्दै सरकार
सरकारले स्वदेशी र विदेशी लगानी आकर्षित गर्ने लक्ष्यसहित ९ ऐनमा संशोधन गर्दै अध्यादेश जारी गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ९ वटा कानुनलाई अध्यादेशमार्फत संशोधन गर्ने निर्णय गरेको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मन्त्रिपरिषद्को बैठकमा कानुन संशोधनको प्रस्ताव पेस गरेको थियो । 

६. मधेसमा माओवादीभित्रको गुटबन्दी झाङ्गिँदै
नेकपा माओवादी केन्द्रले चैत १५ गतेदेखि चैत मसान्तसम्म पूर्व झापादेखि पश्चिम मधेससम्म हुलाकी सडक हुँदै तराई मधेस जागरण अभियान चलाउने निर्णय गरेको थियो । तर चैत ८ गते माओवादीले सो कार्यक्रम स्थगित भएको घोषणा ग¥यो । माओवादी केन्द्रले तयारी नपुगेका कारण अभियान स्थगित गरिएको भने पनि मुख्यतः मधेस प्रदेशमा पार्टीभित्र देखिएको विवाद नै प्रमुख कारण रहेको नेताहरू बताउँछन् ।

७. लोसपाको केन्द्रीय समितिबाट हटाइए राजेन्द्र महतो र अनिल झा 
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले पार्टीका वरिष्ठ नेताद्वय राजेन्द्र महतो, अनिलकुमार झालगायत २९ जनालाई केन्द्रीय समितिबाट हटाएर ३५ जनालाई मनोनीत गरेको छ । नेता महतो र झालगायत केही नेताले पार्टी छाडिसकेका छन् भने केही सम्पर्कमा नरहेको र दुई जनाको निधन भइसकेको छ ।

८. शिक्षामन्त्रीको निर्देशन कार्यान्वयन हुन सकेन
अनुमतिविना विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने विद्यालयलाई कारबाही गर्न शिक्षा मन्त्रालयको उदासीनता देखिएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको निर्देशन अनुसार मन्त्रालयले अनुमतिविना विदेशी कार्यक्रम सञ्चालन गरिरहेका विद्यालयमा विद्यार्थी भर्ना नगर्न भनेको थियो । 

९. २२९ स्थानीय तहमा छैनन् प्रमुख प्रशासकीय अधिकृत
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार देशभरका ७५३ पालिकामध्ये २२९ पालिकामा प्रमुख प्रशासकीय अधिकृत रिक्त छन् । यीमध्ये कतिपय निमित्तको भरमा चलेका छन् भने कतिपयमा खाली छ । मन्त्रालयले दिएको विवरण अनुसार १२२ नगरपालिका यतिबेला प्रमुख प्रशासकीय अधिकृतविहीन छन् । यस्तै, ९७ गाउँपालिका र ९ वटा उपमहानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत रिक्त छन् । 

१०. मुख्यमन्त्री नियुक्ति सम्बन्धमा दुई वटा प्रदेशको मुद्दा अदालतमा विचाराधीन
मुख्यमन्त्री नियुक्ति सम्बन्धमा सुदूरपश्चिम र गण्डकी प्रदेशसँग सम्बन्धित मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । सर्वोच्चले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुक्ति सम्बन्धी सक्कल फाइल मगाएको छ भने गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्तिविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’ मा राखेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप