शनिबार, २४ जेठ २०८२
ताजा लोकप्रिय
राजधानीमा एमाले र राजावादीको प्रदर्शन, एकैठाउँमा सबै अपडेट हेर्नुहोस्
Live Updates

LIVE UPDATES : राजधानीमा एमाले र राजावादीको प्रदर्शन, एकैठाउँमा सबै अपडेट हेर्नुहोस्

बिहीबार, १५ जेठ २०८२, १७ : २०
Live

काठमाडौँ । देशमा गणतन्त्र स्थापना भएको १७ वर्ष पूरा भएको छ । विसं २०६५ जेठ १५ गते जननिर्वाचित संविधानसभाको पहिलो बैठकले २४० वर्षदेखि नेपालमा कायम रहेको निरङ्कुश राजतन्त्रको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो । 

 सोही ऐतिहासिक दिनको सम्झनालाई चिरस्थायी बनाउन गणतन्त्र दिवस मनाउने गरिएको छ । तर, यही गणतन्त्र दिवसको दिन राजावादी समूहले व्यवस्थाकै विरुद्ध राजधानीमा प्रदर्शन गरेको छ । 

‘राजतन्त्र पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’को आयोजनामा राजधानीको शान्तिबाटिका क्षेत्रमा बिहीबार दिउँसो २ बजेपछि प्रदर्शन गरिएको हो । राजावादी समूहले बिहीबारदेखि वर्तमान व्यवस्थाविरुद्ध आजैदेखि अनिश्चितकालसम्म आन्दोलन गर्ने बताउँदै आएको छ । पहिलो दिन राजावादी समूह विभिन्न स्थानबाट र्‍याली सुरु गरेर शान्तिबाटिकामा भेला भएका थिए ।

यता गणतन्त्रलाई उत्सवको रूपमा बनाउने भन्दै नेकपा एमालेले समेत बिहीबार नै प्रदर्शनको सम्पन्न गरेको छ । एमालेलाई प्रशासनले दिउँसो २ बजेसम्म प्रदर्शन गरेको हो । एमालेले भृकुटीमण्डप क्षेत्रमा प्रदर्शन  गरेको हो । 

रातोपाटी लाइभ अपडेटमा स्वागत छ-

राजावादीको प्रदर्शनस्थलबाट पक्राउ पर्नेको संख्या ५ पुग्यो

काठमाडौँ । बिहीबारको राजावादीले आयोजना गरेको प्रदर्शनमा घुसपैठ भएको आरोपमा शान्तिबाटीका क्षेत्रबाट पक्राउ पर्नेहरूको सङ्ख्या ५ पुगेको छ । 

पक्राउ पर्नेमा पर्वत घर भएका घनश्याम न्यौपाने, भारतीय नागरिक वृज मोहन राय, कैलाली घर भएका शिवराज जैसी, नुवाकोट घर भएका आशिष लामा र डोटीका पारस राणा छन् । 

२२ वर्षीय न्यौपानेलाई भिडियो खिचेको आरोपमा सिटी प्रहरीले पक्राउ गरेर काठमाडौँ प्रहरीलाई बुझाएको हो । वृज मोहन र शिवराज जैसीलाई राप्रपाका कार्यकर्ताले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका हुन् । 

राजावादीको प्रदर्शनमा घुसपैठ भएको भन्दै ३ जना नियन्त्रणमा

काठमाडौँ । काठमाडौँमा जारी राजावादीको प्रदर्शनमा घुसपैठ भएको भन्दै प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएको छ । उनीहरूलाई प्रदर्शनकारीहरूले प्रहरीको जिम्मा लगाएका हुन् । 

उनीहरूमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए । पक्राउ पर्नेमा उदयपुर घर भएका ४५ वर्षीय भक्तबहादुर कार्की, पर्वत घर भएका २२ वर्षीय घनश्याम न्यौपाने र भारतीय नागरिक २३ वर्षीय वृजमोहन राय छन् । उनीहरू शान्तिबाटिका र भोटाहिटीबाट पक्राउ परेका हुन् ।

आन्दोलनको पहिलो दिन यस्तो भयो राजावादीको प्रदर्शन

काठमाडौँ । राजावादी समूहले बिहीबार राजधानीमा प्रदर्शन गरेका छन् । राजतन्त्र फर्काउने उद्देश्यका साथ राजावादी समूहले बिहीबारदेखि अनिश्चितकालीन आन्दोलनको घोषणा गरेका छन् । 

जसअनुसार पहिलो दिनको प्रदर्शन राजधानीको शान्तिबाटिका क्षेत्रमा शान्तिपूर्ण ढंगले सम्पन्न भएको राप्रपाका प्रवक्ता सगुन लावतीले बताए । उनले आन्दोलन निरन्तर हुने जानकारी दिँदै आज पहिलो दिनको आन्दोलनमा संयुक्त जनआन्दोलन समितिका संयोजक  नवराज सुवेदीसहित विभिन्न राजावादी दल र संघसंस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो । 

राजावादीहरू छाता र राष्ट्रिय झन्डासहित सडकमा आएका थिए । सो क्रममा उनीहरुले राजतन्त्रको पक्षमा नाराबाजी गरेका थिए । 

आकाशबाट यस्तो देखियो राजावादीको आन्दोलन, तस्बिरहरू

काठमाडौँ । राजावादी समूहले बिहीबार राजधानीमा राजसंस्थाको मागसहित प्रदर्शन गरेका छन् । 

राजधानीको शान्तिबाटिकामा भेला भएर राजावादीले प्रदर्शन गरेका हुन् । प्रदर्शन आफ्नो माग पूरा नभएसम्म आन्दोलन नरोकिने राजावादी समूहको भनाइ छ । 

उक्त प्रदर्शनको ड्रोनबाट खिचिएको तस्बिर हेर्नुहोस्:

राजावादी आन्दोलनको दृश्य : राष्ट्रिय झन्डा र छातासहित गणतन्त्रविरुद्ध नारा

काठमाडौँ । राजावादी समूहले बिहीबारदेखि वर्तमान व्यवस्थाविरुद्ध आन्दोलन सुरु गरेका छन् । बिहीबार राजधानीको शान्तिबाटिकामा भेला भएर राजावादी समूहले गणतन्त्रविरुद्ध नाराबाजी गरेका छन् । 

कतिपय राजावादीले राष्ट्रिय झन्डा बोकेका छन् भने कतिपयले चाहिँ छाता बोकेका छन् । राजावादीले आन्दोलनमा छातालाई ब्रान्ड नै बनाउने कोसिस गरेका छन् । 

नवराज सुवेदी नेतृत्वको राजावादी समूहले राजतन्त्र पुनर्स्थापना नभएसम्म आन्दोलन जारी रहने बताएको छ । 

राजावादीको आन्दोलनमा झडप, चोरीको आरोपमा कुटपिट

काठमाडौँ । राजावादीको आन्दोलनमा झडप भएको छ । रत्नपार्कबाट र्याली सुरू भएपछि एकअर्काबिच झडप भएको हो । सिक्री चोरेको भन्दै एक व्यक्तिमाथि कुटपिट भएको हो । 

राजावादी प्रदर्शनमा झन्डै २ हजार सशस्त्र प्रहरी परिचालन

काठमाडौँ । गणतन्त्रको विरोधमा राजावादीहरूले आयोजना गरेको प्रदर्शनमा सशस्त्र प्रहरीका झन्डै दुई हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नेतृत्वमा गणतन्त्रको विरोधमा शान्तिबाटिका क्षेत्रमा प्रदर्शन आयोजना गरिएको छ । बिहीबार मध्यान्ह २ बजेपछि प्रदर्शन गर्ने गरी जिल्ला प्रशासन कार्यालय काठमाडौँले राप्रपालाई अनुमति दिएको छ ।

महत्त्वपूर्ण प्रतिष्ठान र प्रदर्शनमा भिड नियन्त्रण गर्न सशस्त्र प्रहरी बलका करिब २ हजार सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला सुरक्षा समितिका एक जना अधिकृतले रातोपाटीलाई बताए । सशस्त्र प्रहरी बल नेपालको नम्बर–९ बाहिनीले सुरक्षा योजना सहित आफ्नो सुरक्षाकर्मी परिचालन गरेको हो ।

 

रत्नपार्कमा एम्बुलेन्स, अधिकारकर्मी खटिए अनुगमनमा

काठमाडौँ । गणतन्त्रवादी र राजावादीको प्रदर्शनलाई मध्यनजर गर्दै रत्नपार्कस्थित शान्ति वाटिका आसपासमा मानवअधिकारवादीको उल्लेख्य उपस्थिति देखिएको छ । साथै उक्त क्षेत्रमा एम्बुलेन्स समेत तैनाथ राखिएको छ । 

एकै दिन गणतन्त्रको पक्षमा नेकपा एमालेले र त्यसको विरोधमा राप्रपालगायत राजावादीहरूले प्रदर्शन गरेपछि मानवअधिकारकर्मीहरू अनुगमनमा खटिएका हुन् । 

एमालेले गणतन्त्रको पक्षमा आयोजना गरेको सांस्कृतिक कार्यक्रम अन्तर्गत र्याली निकालिसकेको छ भने राजावादीहरूले दिउँसो २ बजेपछि प्रदर्शन गर्दैछन् ।

एमालेले पहिलो पटक गणतन्त्रलाई उत्सवका रूपमा मनायो

काठमाडौँ । नेकपा एमालेले गणतन्त्र स्थापना भएको १८ वर्ष भएको अवसरमा पहिलो पटक गणतन्त्रलाई उत्सवका रूपमा मनाएको छ । 

गणतन्त्र दिवसका अवसरमा एमालेले विभिन्न स्थानबाट आ–आफ्नो भेषभूषा, सांस्कृतिक झाँकीसहित र्‍यालीको आयोजना गरेको हो । 

भृकुटीमण्डपबाट सुरु भएको र्‍याली विभिन्न स्थान हुँदै रत्नपार्क पुगेर समापन भएको थियो । गणतन्त्र स्थापना दिवसका अवसरमा पहिलो पटक उत्सवका रूपमा काठमाडौँ लगायत देशभर विभिन्न कार्यक्रमको आयोजना गरिएको एमाले महासचिव शंकर पोखरेलले जानकारी दिए । प्रतिक्रियावादी तत्त्वहरूले गणतन्त्रलाई चुनौती दिन खोजेका बेला एमालेले उत्सवका रूपमा मनाएको भन्दै उनले यसलाई कब्जाको भाषाका रूपमा नबुझ्न आग्रह गरे । 

मैतीदेवीमा राजेन्द्र लिङ्देनको नेतृत्वमा जुलुस

काठमाडौँ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले मैतीदेवीमा जुलुसको नेतृत्व गरेका छन् । 

वर्तमान व्यवस्थाविरुद्ध राजावादी समूहले राजधानीमा आन्दोलन गर्दा लिङ्देनले सो क्षेत्रको नेतृत्व गरेका हुन् । 

राजावादी समूह अहिले विभिन्न स्थानबाट जुलुस निकालेर अहिले शान्तिबाटिकामा पुगेर आन्दोलन सुरु गरेका छन् । 

गणतन्त्रमाथिको प्रहारविरुद्ध एकजुट भएर प्रतिवाद गर्नुपर्छ: प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्रमाथिको प्रहारविरुद्ध एकजुट भएर प्रतिवाद गर्नुपर्ने बताएका छन् । 

गणतन्त्र दिवसका अवसरमा माओवादी निकट नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनले बिहीबार काठमाडौँमा आयोजना गरेको जनसांस्कृतिक कार्यक्रममा प्रचण्डले अहिले गणतन्त्रमाथि प्रश्न उठाउने निरर्थक दुष्प्रयास भइरहेको भन्दै यसविरुद्ध एकजुट भएर प्रतिवाद गर्नुपर्ने बताएका हुन् । 

गणतन्त्र दिवस कुनै क्षेत्र वा पार्टी विशेषको नभई आम जनताको बलिदानीबाट प्राप्त भएको उपलब्धि भएको उनले बताए । प्रचण्डले गणतन्त्रको रक्षा गर्नु र यस मार्फत जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउनका लागि प्रयत्न गर्नु अहिलेको ऐतिहासिक आवश्यकता भएको धारणा राखे । 

शान्तिबाटिकामा भेला हुन थाले राजावादी, तस्बिरहरू

काठमाडौँ । वर्तमान व्यवस्थाविरुद्ध प्रदर्शनका लागि राजावादी समूह राजधानीको शान्तिबाटिकामा भेला हुन थालेका छन् । 

संयुक्त जनआन्दोलन समितिको अगुवाइमा बिहीबार राजावादीले शान्तिबाटिकामा प्रदशर्न गर्न लागेका हुन् । 

स्थानीय प्रशासनले राजावादी समूहलाई दिउँसो २ बजेपछि प्रदर्शनको समय दिएको छ । सोहीअनुसार राजधानीका विभिन्न स्थानबाट र्‍यालीसहित राजावादी समूह भेला हुन सुरु भएको हो।  

शान्तिवाटिका क्षेत्रमा ४ हजार प्रहरी परिचालन, महत्त्वपूर्ण प्रतिष्ठानको सुरक्षामा खटियो सशस्त्र

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गणतन्त्रको विरोधमा शान्तिवाटिका क्षेत्रमा प्रदर्शन गर्दैछ । बिहीबार मध्यान्ह २ बजेपछि प्रदर्शन गर्ने गरी जिल्ला प्रशासन कार्यालय काठमाडौँले राप्रपालाई अनुमति दिएको छ ।

नेकपा (एमाले)ले काठमाडौँको भृकुटीमण्डपमा प्रदर्शन गरिरहेको छ । नेकपा (एमाले)ले भृकुटीमण्डप र टुँडिखेल क्षेत्रमा झाँकीसहितको सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्न जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएको छ । दिउँसो २ बजेसम्म एमालेको प्रदर्शन पूरा गर्नुपर्नेछ ।

सुरक्षा चुनौतीका कारण दुई समूहलाई भेट हुन नदिने गरी सुरक्षा रणनीति तय गरिएको जिल्ला सुरक्षा समितिका एक जना अधिकृतले रातोपाटीलाई बताए । राप्रपाले शक्ति प्रदर्शन गर्न खोजेको शान्तिवाटिका क्षेत्रमा ४ हजार प्रहरी परिचालन गर्ने गरी सुरक्षा रणनीति तयार गरिएको छ । सशस्त्र प्रहरीलाई चाहिँ महत्त्वपूर्ण प्रतिष्ठानको सुरक्षामा परिचालन गर्ने निर्णय गरिएको काठमाडौँ जिल्ला सुरक्षा समितिका अधिकृतहरू बताउँछन् । ती अधिकृत भन्छन्, ‘सशस्त्रलाई विमानस्थल लगायत महत्त्वपूर्ण प्रतिष्ठानको सुरक्षामा केन्द्रित गरिएको छ ।’

एमालेको र्‍याली धमाधम भृकुटीमण्डप केन्द्रित हुँदै (तस्बिरहरू)

काठमाडौँ ।  नेकपा एमालेले आयोजना गरेको गणतन्त्र उत्सवका लागि विभिन्न ठाउँबाट झाँकीसहितको र्‍याली कार्यक्रमस्थल भृकुटीमण्डप पुगिरहेको छ।

गणतन्त्र उत्सव  र्‍याली पद्मकन्या क्याम्पस, बागबजार अगाडिबाट, अनामनगरसहित विभिन्न स्थानबाट आ–आफ्नो भेसभुसा,सांस्कृतिक झाकी र्‍यालीसहित प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा पुगेका हुन् । 

भृकुटीमण्डपबाट बृहत् र्‍याली रत्नपार्कमा पुगेर सम्बोधनसहित समापन हुने कार्यक्रम रहको छ ।

सिफलबाट राजावादी जुलुसको नेतृत्व कमल थापा र नवराज सुवेदीले गर्दै (तस्बिरहरु)

काठमाडौँ । आज राजावादी समूहले गणतन्त्रका विरुद्ध राजधानीमा जनप्रदर्शन गर्दैछ ।

‘राजतन्त्र पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’को आयोजनामा राजधानीको शान्तिबाटिका क्षेत्रमा बिहीबार दिउँसो २ बजेपछि प्रदर्शन गर्न लागेको हो । राजावादी समूह विभिन्न स्थानबाट र्‍याली सुरु गरेर शान्तिबाटिकामा भेला भेला हुँदैछन् ।

हेर्नुहोस् तस्बिरहरु :

यस्तो छ प्रधानमन्त्री ओलीको सम्बोधनको पूर्णपाठ

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना लागि आफैँले नेता छनोट गर्न पाउने सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको विकल्प नरहेको बताएका छन् ।  

गणतन्त्र दिवसका २०८२ को उपलक्ष्यमा टुँडिखेलमा आयोजित विशेष समारोहलाई  सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हरेक नागरिकको आत्मसम्मान सुरक्षित रहने गणतान्त्रिक व्यवस्थाको विकल्प अरू हुन नसक्ने बताएका हुन् ।

 पूर्णपाठ :

गणतन्त्रात्मक शासन व्यवस्थाको विकल्प छैन : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना लागि आफैँले नेता छनोट गर्न पाउने सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको विकल्प नरहेको बताएका छन् ।  गणतन्त्र दिवसका २०८२ को उपलक्ष्यमा टुँडिखेलमा आयोजित विशेष समारोहलाई  सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हरेक नागरिकको आत्मसम्मान सुरक्षित रहने गणतान्त्रिक व्यवस्थाको विकल्प अरू हुन नसक्ने बताए ।

गणतान्त्रिक शासन व्यवस्थामा शिक्षा, स्वास्थ्य, उद्यम, रोजगारी पूर्वाधारलगायतका क्षेत्रमा अतुलनीय उपलब्धिसहित परिवर्तन भएको उल्लेख गर्दै उनले गणतन्त्रलाई अझ सुदृढ र बलियो बनाउन हामी सबै एक हुनुपर्नेमा जोड दिए ।

प्रधानमन्त्रीले भने, ‘सुशासन, पारदर्शिता र उत्तरदायित्व गणतान्त्रि व्यवस्थाको मेरुदण्ड हो, हामी त्यसलाई बलियो बनाउन लागेका छौँ । समृद्ध नेपाल सुखी नेपाली को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न लागिपरेका छौँ ।’

अब दलीय र समूहगत स्वार्थभन्दा माथि उठ्नुपर्छ : सुवेदी

काठमाडौं । वर्तमान व्यवस्था विरोधी संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले वर्तमान राष्ट्रिय परिस्थिति गम्भीर बनेको भन्दै सबै दल र समूहलाई स्वार्थभन्दा माथि उठ्न आग्रह गरेका छन्।

संयुक्त जनआन्दोलन समितिको तर्फबाट बिहीबार जारी विज्ञप्तिमा सुवेदीले देशमा विद्यमान चौतर्फी संकट सतही प्रयासले समाधान नहुने बताए । 'राष्ट्र, राष्ट्रियताको पक्षमा सबै नेपाली एकजुट हुन जरुरी छ,' विज्ञप्तिमा उल्लेख छ।

उनले सनातन हिन्दु अधिराज्य सहित संवैधानिक राजसंस्थाको पुनर्स्थापना र बहुदलीय प्रजातन्त्रको पक्षमा व्यापक जनसमर्थन रहेको दाबी गर्दै नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र लगायत सम्पूर्ण दलहरूलाई राष्ट्रिय हितमा एकजुट हुन आग्रह समेत गरेका छन्।

आन्दोलनमा आएका राजावादीलाई आवागमनमा बाधा उत्पन्न गरिएको आरोप

काठमाडौँ । राप्रपाले आन्दोलनका लागि काठमाडौँ आएका राजावादीलाई आवागमनमा बाधा उत्पन्न गर्ने प्रयास भएको आरोप लगाएको छ । 

राप्रपा प्रवक्ता मोहन श्रेष्ठले नौबिसे हुँदै काठमाडौँ आइरहेकारुलाई रोक्ने, अनावश्यक सोधपुछ गर्ने र आवागमनमा बाधा उत्पन्न गरिएको सूचना प्राप्त भएको बताए ।

‘राजसंस्था पक्षधरहरूको आजबाट हुने आन्दोलनमा सहभागी हुन नौबिसे हुँदै काठमाडौँ आइरहेका विभिन्न भूगोलका राष्ट्रवादी साथीहरूलाई रोक्ने, अनावश्यक सोधपुछ गर्ने र आवागमनमा बाधा उत्पन्न गरिएको भन्ने सुचना आएको छ। त्यसो नगर्न र सहज वातावरण बनाउन जिम्मेवारीपूर्वक प्रशासनको ध्यानाकर्षण गराउँदछ’, उनले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन् । 

गणतन्त्र हामीले प्राप्त गरेका होइनौँ, अर्जन गरेका हौँ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र प्राप्त गरेको नभई आर्जन गरेको बताएका छन् । गणतन्त्र दिवस मूल समारोह समितिले काठमाडौँको टुँडिखेलमा गणतन्त्र दिवस २०८२ का अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लामो सघर्ष, हजारौँ दिदीबहिनी दाजुभाइहरूको बलिदान र  नेपाली जनताको अथक मेहनतबाट २०६५ साल जेठ १५ गते देशमा लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको स्मरण गरे । 

‘गणतन्त्र– हामीले प्राप्त गरेका होइनौँ, अर्जन गरेका हौँ–  हजारौँ जनताको बलिदानबाट र त्यागबाट’, प्रधानमन्त्रीले भने,  ‘मुकुटको हुकुमी आदेशबाट सञ्चालन हुने राज्य प्रणाली भत्काएर जनताको मुटुले गरेको निर्णयबाट देश चल्ने प्रणाली स्थापित गरेका हौँ ।’

प्रधानमन्त्री ओलीले हाम्रो समाजले हासिल गरेको त्यस गौरवपूर्ण दिवसको मूल्य कहिल्यै बिर्सनु नहुने र नबिर्सने बताए । 

एमालेको ‘गणतन्त्र उत्सव’ र्‍याली, कहाँबाट हुन्छ सुरु ?

काठमाडौँ । गणतन्त्र स्थापना भएको १८ वर्ष भएको अवसरमा पहिलो पटक नेकपा (एमाले) ले गणतन्त्रलाई उत्सवका रूपमा मनाउन र्‍याली निकाल्ने तयारी गरिरहेको छ । भृकुटीमण्डप, बागबजार र रत्नपार्क आसपासमा एमाले नेता कार्यकर्ताहरू पुग्न थालेका छन् । 

गणतन्त्र उत्सव  र्‍याली पद्यमकम्या क्याम्पस, बागबजार अगाडिबाट, अनामनगरसहित विभिन्न स्थानबाट आ–आफ्नो भेसभुसा,सांस्कृतिक झाकी र्‍यालीसहित प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा भेला भएर पुग्नेछ ।  भृकुटीमण्डपवबाट बृहत र्‍याली रत्नपार्कमा पुगेर सम्बोधन सहित समापन हुने कार्यक्रम रहको छ ।

‘गणतन्त्र उत्सवका र्‍यालीका लागि भेला भइरहेका छौँ, गणतन्त्र स्थापना दिवसका अवसरमा पहिलो पटक उत्सवका रूपमा मनाउन लागिएको हो’, नेकपा (एमाले) का प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले भने, ‘सुरुमा र्‍याली सुरु भएर भृकुटीमण्डपमा भेला हुन्छौ, वृहत्  र्‍यालीसहित रत्नपार्कस्थित शान्तिबाटिकामा पुगेर गणतन्त्र सम्बोधन हुनेछ ।’  

टुँडिखेलभित्र भीभीआईपीको गणतन्त्र दिवस, बाहिरबाट चिह्याउँदै जनता (फोटोफिचर)

काठमाडौँ । १८औँ गणतन्त्र दिवस बिहीबार राजधानीको टुँडिखेलमा मनाइएको छ । विसं २०६५ जेठ १५ गते जननिर्वाचित संविधानसभाको पहिलो बैठकले २४० वर्षदेखि नेपालमा कायम रहेको निरङ्कुश राजतन्त्रको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो । 

सोही दिनको स्मरणमा हरेक वर्ष जेठ १५ गते गणतन्त्र दिवस मनाउने गरिएको हो।  सोही दिवसको अवसरमा बिहीबार सैनिक मञ्च टुँडिखेलभित्र भीभीआईपीको सहभागितामा गणतन्त्र दिवस मनाइयो  ।

तर, यस्तो राष्ट्रिय पर्व हेर्न सर्वसाधारणले पहुँच पाउँदैनन् । जनताले ल्याएको गणतन्त्र भनेर हरेक पटक नेताहरूको भाषणमा सुनिने गरेतापनि टुँडिखेलको बार बाहिरबाट पनि सर्वसाधारणलाई भीभीआइपीको गणतन्त्र हेर्न कडाइ गरिन्छ । तैपनि प्रहरीलाई छल्दै सर्वसाधारणले बारबाट चिह्याउँदै भित्रको गणतन्त्र दिवसको तामझाम हेरिरहेको देखिन्थ्यो । 

टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (तस्बिरहरू)

काठमाडौँ । काठमाडौँको टुँडिखेलमा गणतन्त्र मनाइएको छ । गणतन्त्र दिवस मूल समारोह समितिको आयोजनामा विशेष कार्यक्रम भइरहेको छ ।

उक्त समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानसेनापति अशोक सिग्देल, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल, सरकारका मन्त्रीहरू, सांसदहरू, उच्चपदस्थ कर्मचारी, कूटनीतिक नियोगका प्रतिनिधिहरू सहभागी छन् ।  समारोहमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीले विभिन्न कला कौशल प्रस्तुत गरिरहेका छन् ।

494831982_4205950556294635_2179555897740533853_n494834017_1344700376595362_6528963906492023037_n494834615_29812220235059788_3203675670538426048_n495046601_24500351172900631_8069096041642679470_n

आन्दोलन छाडेर राप्रपाका सांसद बजेट भाषणमा सहभागी हुने

काठमाडौँ । राजावादी समूहले बिहीबार राजधानीको शान्तिबाटिका क्षेत्रमा तय गरेको आन्दोलनमा राप्रपाका सांसदहरू केहीबेर मात्रै सहभागी हुने भएका छन् । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ नेता पशुपति शमशेर राणा, उपाध्यक्ष बुद्धिमान तामाङ, प्रवक्ता ज्ञानेन्द्र शाहीलगायतका नेताहरू आन्दोलनमा केहीबेर सहभागी भएर संसद बैठकमा सहभागी हुने भएका हुन् । 

संसदीय दलका प्रमुख सचेतक समेत रहेका ज्ञानेन्द्र शाहीले आफूहरू आन्दोलनका साथै संसद बैठकमा पनि सहभागी हुने बताए । 

राप्रपा समेत सहभागी राजावादी समूहको आन्दोलन दिउँसो २ बजेदेखि सुरु हुँदैछ । तर, ३ बजेदेखि संघीय संसदमा आर्थिक वर्ष २०८२/०८३ को बजेट भाषण हुनेछ । सोही बजेट भाषणमा सहभागी हुनका लागि पार्टीका सांसदहरू बीचमै आन्दोलन छाडेर संसद बैठकमा सहभागी हुन लागेका हुन् । 

राजावादीले शान्तिबाटिका क्षेत्रमा प्रदर्शन गर्दै

काठमाडौँ । राजावादी समूहले बिहीबार राजधानीको शान्तिबाटिका क्षेत्रमा प्रदर्शन गर्ने भएका छन् । वर्तमान व्यवस्थाको विरोधमा राजावादीले ‘संयुक्त जनआन्दोलन समिति’को अगुवाइमा बिहीबारदेखि आन्दोलन तय गरेको हो। 

समितिमा राप्रपा, राप्रपा नेपालसहितका राजावादी तथा हिन्दुवादी सङ्घसंस्थाहरू रहेको राप्रपाका प्रवक्ता सगुन लावतीले जानकारी दिए । हिन्दुराष्ट्र र राजसंस्थाको पुनर्स्थापना, संघीयताको खारेजी, भ्रष्टाचारको अन्त्यलगायतको माग राखेर अनिश्चितकालीन आन्दोलन गर्न लागिएको उनको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया