शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१२ बजे १२ समाचार: ओलीलाई जर्सी उपहारदेखि माधव नेपाललाई झाँक्रीको पत्रसम्म

शुक्रबार, २० असार २०८२, ०० : ००
शुक्रबार, २० असार २०८२

काठमाडौँ । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा १२ बजे १२ समाचार लिएर हाजिर भएका छौँ–

१. रामकुमारीको पत्र

नेकपा एकीकृत समाजवादी पार्टीकी नेतृ रामकुमारी झाँक्रीले पार्टीकै जिम्मेवार पदाधिकारीले  ‘बडीसेमिङ’ गरेर आफ्ना विरुद्ध हिंसात्मक ढङ्गले बोलिरहेको आरोप लगाएकी छन् । बिहीबार पार्टी अध्यक्ष माधवकुमार नेपाललाई एक पत्र लेख्दै झाँक्रीले असार १४ गते आफूले युवा संघ लुम्बिनी प्रदेशको भेलामा राखेका विचारहरूको सम्बन्धमा यसरी हिंसात्मक ढङ्गले बोलिरहेको बताएकी हुन् ।

२. मन्त्री बर्खास्त

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेका छन्। बिहीबार प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेका हुन्।

३. पक्राउ

गायिका एलिना चौहानलाई सामाजिक सञ्जालमार्फत गालीगलौज गरेको आरोपमा पक्राउ परेका गुञ्जन राई विरुद्ध तीन दिन म्याद थप भएको छ । बिहीबार काठमाडौँ जिल्ला अदालतले राईलाई तीन दिन हिरासतमा राख्न आदेश दिएको हो ।

गायिका चौहानले आफूलाई गालीगलौज गर्नेहरूलाई कानुनी दायरामा ल्याउन माग गर्दै ब्युरोमा उजुरी दिएकी थिइन् ।

४. उपनिर्वाचनको तयारी

कात्तिक १७ गते हुने रुपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दुवैले तयारी थालेका छन् ।

राप्रपाबाट निर्वाचन प्रतिनिधिसभाका सांसद दीपक बोहराको निधनपछि रिक्त भएको उक्त क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।

५.  सर्वोच्चको फैसला

सर्वोच्च अदालतले अध्यादेशमार्फत २०७७ माघ २१ गते र २०७८ असार १० गते गरी दुई चरणमा गरिएका संवैधानिक आयोगका ५२ वटै पदाधिकारीको पद जोगाएको छ ।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुँडाल र नहकुल सुवेदीको संवैधानिक इजलासले १५ वटा रिज खारेज गर्दै सबै नियुक्तिलाई वैधानिकता दिएको हो ।

६. जर्सी उपहार

पेद्रो मार्टिन दे मिगेलले प्रधानमन्त्री ओलीलाई स्वागतका क्रममा क्लबको ७ नम्बर जर्सी उपहार दिएका थिए । केपी ओली नाम अंकित उक्त उपहारमा पाएको ७ नम्बरको जर्सी उनले रंगशाशलामै प्रदर्शन गर्दैै फोटो समेत खिचाएका थिए ।

७. सेनाका दुई अधिकारी बर्खास्त

सैनिक विशेष अदालतले सहायक रथी रोशन खड्का र मेजर बोधराज कार्कीलाई सेवाबाट बर्खास्त गर्ने फैसला सुनाएको छ ।

अदालतले सैनिक कल्याणकारी कोषमा भ्रष्टाचार गरेको ठहर गर्दै सहायक रथी खड्का र मेजर कार्कीलाई भविष्यमा सरकार सेवामा अयोग्य नठहरिने गरी बर्खास्त गर्ने फैसला गरेको सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले जानकारी दिए । 

८. विद्यालय शिक्षा विधेयक

विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभाअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा अड्किएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल शिक्षक महासंघबिच अस्थायी शिक्षकको स्थायी प्रक्रिया र शिक्षक बढुवा प्रणालीजस्ता मुख्य विषयमा सहमति जुट्न नसक्दा विधेयक पारित हुन नसकेको हो ।

९. अर्थ समिति

बिहीबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) संशोधन विधेयकमाथि छलफल गरेको छ । समितिले बाफिया विधेयकको विषयमा निरन्तर रूपमा छलफल गरिरहेको छ ।

१०. बागमती बजेट

बागमती प्रदेशसभा बैठक शुक्रबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको छ ।

दलहरूबिच बजेट माथिको विवाद समाधान गर्न ८ बुँदे सहमति भएसँगै बिहीबार साँझ ६ः४५ बजे सञ्चालन भएको प्रदेशसभा बैठक शुक्रबार बिहान ११ बजेसम्म स्थगित भएको हो ।

११. अस्तव्यस्त त्रिवि

त्रिभुवन विश्वविद्यालय (त्रिवि) विगत एक महिनादेखि तालाबन्दी र आन्दोलनले अस्तव्यस्त बनेको छ । त्रिविका आंशिक प्राध्यापक तथा विद्यार्थीहरूले लगाएको तालाका कारण उपकुलपति, रेक्टर, रजिष्ट्रार र सेवा आयोगको कार्यालयको कामकारबाही ठप्प बनेको छ ।

१२. सेयर बजार

सेयर बजार परिसूचक नेप्से लगातार पाँचौँ दिन बढेको छ । साताको पहिलो दिन आइतबारदेखि नै बढ्न सुरु गरेको नेप्सेले पाँचौँ दिन पनि निरन्तरता दिएको हो ।

थप समाचार

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप