१२ बजे १२ समाचार : माओवादीले विप्लवसँग एकता गर्ने, सिन्धुली फर्कियाे हायू परिवार
सारांश
- सांसदहरूले बहुविवाहलाई कानुनी मान्यता दिने प्रस्तावको विरोध गरेका छन्।
- कक्षा १२ को परीक्षामा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् भने ३८.८३ प्रतिशत अनुत्तीर्ण भए।
- इन्द्रबहादुर बानियाँले बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गरेका छन्, भने दुर्गा प्रसाईं धरौटीमा रिहा भएका छन्।
काठमाडौँ । रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा स्वागत छ–
१. सांसदहरूको चर्को विरोध
मुलुकी अपराध संहिता लागु भएको दिन अर्थात् २०७५ भदौ १ बाट पूर्ण रूपमा रोक लगाइएको बहुविवाहलाई सरकारले वैधता दिन लागेको भन्दै सदनमा सांसदहरूले चर्को विरोध गरेका छन् ।
२. कक्षा १२ मा ६१.१७ प्रतिशत उत्तीर्ण
कक्षा १२ को नतिजामा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । सोमबार साँझ राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् भने ३८.८३ विद्यार्थीको नतिजा ‘एनजी’ (ननग्रेड) आएको छ ।
३. बागमतीमा बानियाँले पेस गरे मुख्यमन्त्रीमा दाबी
बागमतीको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नवनिर्वाचित नेता इन्द्रबहादुर बानियाँले दाबी पेस गरेका छन् । सोमबार प्रदेश प्रमुखसमक्ष उनले कांग्रेस र नेकपा एमालेका सांसदको समर्थनसहित दाबी पेस गरेका हुन् । त्यसअघि मुख्यमन्त्री पदबाट बहादुर सिंह लामाले राजीनामा दिएपछि प्रदेश प्रमुखले मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका थिए ।
४. दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न अदालतको आदेश
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई उच्च अदालत पाटनले धरौटीमा रिहा गर्न आदेश दिएको छ । प्रसाईंलाई बैंकिङ कसुरमा २५ लाख र राजावादी प्रदर्शनमा हिंसा मच्चाएको सम्बन्धी कसुरमा ३ लाख गरी जम्मा २६ लाख धरौटी तोकिएको हो । धरौटी बुझाएर उनी सोमबार राति नै रिहा भएका छन् ।
५. माओवादी स्थायी कमिटी बैठकको यस्तो छ निर्णय
नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक सोमबार सम्पन्न भएको छ । बैठकले विभिन्न समसामयिक निर्णय गरेको छ ।
६. पोखराबाट सिन्धुली फर्कियो हायु परिवार
सिन्धुलीको गोलन्जोरस्थित आफ्नो घरबार छाडेर पोखरा आएको हायु परिवार सोमबार सिन्धुली फर्किएको छ । सुरुमा बेपत्ता भएको भनिएको सो परिवार पोखरामा फेला परेको थियो । गोलन्जोर गाउँपालिका–६ का वडा अध्यक्ष रविन श्रेष्ठको साथमा हायु परिवारलाई गाउँ फर्काइएको हो ।
७. राप्रपाको इतर समूहले बनायो रणनीति
सोमबार राजधानीको हात्तीसारमा बसेको बैठकमार्फत राप्रपाको इतर समूहले रणनीति बनाएको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले केन्द्रीय समितिबाट पछिल्लो समय गरेका निर्णयलाई उल्ट्याउन प्रयास गर्ने निर्णय इतर समूहको बैठकले गरेको छ ।
८. ‘कुलिङ पिरियड’बारे छानबिन समितिले बुझाउन सकेन प्रतिवेदन
‘संघीय निजामती सेवा विधेयकको दफा ८२ मा राखिएको ‘कुलिङ अफ पिरियड’ सम्बन्धी व्यवस्थामा भएको छेडखानीबारे छानबिन गर्न बनेको संसदीय विशेष छानबिन समिति’ले सोमबार प्रतिवेदन बुझाउन सकेन । सत्तारुढ प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा एमालेबिच नै कुरा मिल्न नसक्दा समितिले प्रतिवेदनलाई टुङ्ग्याउन नसकेको हो ।
९. बिजुलीका कुरा
हितेन्द्र शाक्य कार्यकारी निर्देशक भएर आएपछि नेपाल विद्युत् प्राधिकरणको विद्युत् चुहावट बढेको छ । नेपाल विद्युत् प्राधिकरणको आर्थिक वर्ष २०८१/८२ को तथ्यांकले यस्तो अवस्था देखाएको हो । यो अवधिमा अधिकांश वितरण केन्द्रको चुहावट बढेको छ ।
१०. दोहोरो अंकले बढ्यो नेप्से
साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १६ अंकले बढेर २८७५ विन्दुमा पुगेको हो ।
११. कारबाहीमा कान्छारामको कम्पनी
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको भीआईपी क्षेत्रका सडक निर्माणमा चरम लापरबाही गरेको भन्दै कर्णाली प्रदेश सरकारले नेपाली कांग्रेसका सांसद एवं पूर्वराज्यमन्त्री पूर्णबहादुर तामाङ ‘कान्छाराम’को निर्माण कम्पनीलाई कारबाही गरेको छ ।
१२. प्रदेश अस्पताललाई किन बनाउन थालियो ‘स्वास्थ्य विज्ञान प्रतिष्ठान’ ?
कर्णाली प्रदेश सरकारले वीरेन्द्रनगरस्थित प्रदेश अस्पताललाई ‘स्वास्थ्य विज्ञान प्रतिष्ठान’ बनाउने प्रक्रिया अघि बढाएको छ । प्रतिष्ठान बनाउनु कति उचित हो भन्नेबारे रातोपाटीले स्पेशल स्टोरी तयार पारेको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण